परिवार आनन्दमय बनाउने तरिकाहरू
परिवार आनन्दमय बनाउने तरिकाहरू
सासू-ससुरासित राम्रो सम्बन्ध राख्ने
जेनी a भन्छिन्: मेरी सासूले म मन नपरेको कुरा मौका पाउनेबित्तिकै व्यक्त गरिहाल्नुहुन्थ्यो। तर अर्कोतर्फ मेरो आमाबाबु पनि रायनसित उस्तै व्यवहार गर्नुहुन्थ्यो। वास्तवमा मेरो आमाबाबुले अरू कसैसित यस्तो छुच्चो व्यवहार गरेको मैले देखेकी थिइनँ। हामी दुईमध्ये कसैको आमाबाबु घरमा आउनु हामी दुवैको लागि टाउको दुखाइको कारण बन्न थालेको थियो।
रायन भन्छन्: मेरी आमा आफ्ना छोराछोरीको लागि कोही पनि लायकका छैनन् भन्ने सोच्नुहुन्थ्यो। त्यसैले सुरुदेखि नै जेनीको गल्ती भेट्टाउन थाल्नुभयो। अनि जेनीको आमाबाबुले पनि मसित त्यस्तै गर्नुहुन्थ्यो। उहाँहरू मलाई सधैं होच्याउनुहुन्थ्यो। समस्या के हो भने यस्तो घटनापछि जेनी र म आ-आफ्नो आमाबाबुको वकालत गर्थ्यौं र एकअर्काको आलोचना गर्थ्यौं।
सासू-ससुरासितको कचिङ्गललाई हास्य-कलाकारहरूले ठट्टामा उडाउने भए तापनि वास्तविक जीवनमा भने यो ठट्टाको विषय होइन। भारतमा बस्ने रीना नाउँकी एक श्रीमती यसो भन्छिन्, “मेरी सासूले वर्षौंसम्म हाम्रो वैवाहिक जीवनमा दखल पुऱ्याउनुभयो। सासूलाई केही भन्न नमिल्ने भएकोले म आफ्नो भएभरको रिस आफ्नो श्रीमान्लाई पोखाउँथें। यस्तो देखिन्थ्यो कि उहाँले असल श्रीमान् र असल छोरा हुनुबीच निरन्तर छनौट गर्नुपर्थ्यो।”
किन केही सासू-ससुराले आफ्नो विवाहित छोरा वा छोरीको जीवनमा हस्तक्षेप गर्छन्? माथि उल्लेख गरिएकी जेनी एउटा सम्भाव्य कारण बताउँछिन्। तिनी भन्छिन्, “कुनै जवान अनि अनुभवहीन व्यक्तिले आफ्नो छोरा वा छोरीको जिम्मा लिन लागेको कुरा स्वीकार्न उहाँहरूलाई गाह्रो भएको हुन सक्छ।” रीनाका श्रीमान् दिलिप अर्को थप कारण बताउँछन्, “छोराछोरीको पालनपोषण गरेका र तिनीहरूका लागि त्यागहरू गरेका आमाबाबुले आफूहरूलाई महत्त्व दिन छाडेको महसुस गर्न सक्छन्। आफ्ना छोरा वा छोरीसित विवाहलाई सफल बनाउन चाहिने बुद्धि पुगिसकेको छैन भनेर आमाबाबुलाई साँचो चिन्ता लागेको पनि हुन सक्छ।”
साँच्चै भन्ने हो भने, कहिलेकाहीं दम्पतीहरू आफैले सासू-ससुरालाई हस्तक्षेप गर्न निम्त्याउँछन्। उदाहरणको लागि, अस्ट्रेलियाका एक विवाहित दम्पती माइकल र लिआनेलाई विचार गर्नुहोस्। माइकल भन्छन्, “लिआनेको परिवार एकदमै घनिष्ठ थियो अनि उनीहरू सबै नै आफ्नो कुरा खुलेर बताउँथे। त्यसैले हाम्रो विवाहपछि हामी दुई मिलेर गर्नुपर्ने निर्णयको लागि तिनी आफ्नो बुबाको राय माग्थिन्। हो, उहाँ धेरै अनुभवी हुनुहुन्थ्यो तर मकहाँ आउनुको सट्टा आफ्नो बुबाकहाँ गएकोमा मेरो चित्त दुख्थ्यो।”
स्पष्टत: सासू-ससुराको विषय वैवाहिक जीवनमा तनावको कारण बन्न सक्छ। तपाईंको वैवाहिक जीवनमा नि? तपाईंहरू दुवैको आ-आफ्नो सासू-ससुरासित कस्तो सम्बन्ध छ? खडा हुन सक्ने दुई चुनौती र तपाईंले गर्न सक्ने कुरा विचार गर्नुहोस्।
चुनौती नं. १: तपाईंको श्रीमान् वा श्रीमती आफ्नो आमाबाबुसित चाहिनेभन्दा बढी नजिक देखिन्छन्। लुइस नाउँ गरेका स्पनेका एक श्रीमान् भन्छन्, “मेरी श्रीमती हामी तिनको आमाबाबुको घर नजिकै बसेनौं भने उहाँहरूप्रति अवफादार भइरहेका हुन्छौं भन्ने महसुस गर्थिन्।” तिनी अझै यसो भन्छन्, “हाम्रो छोरा जन्मेपछि मेरो आमाबाबु दिनहुँ जसो नै हाम्रो घरमा आउनुहुन्थ्यो र मेरी श्रीमतीलाई तनाव हुन्थ्यो। यसले गर्दा कयौं पटक हामीबीच भनाभन हुन्थ्यो।”
विषय: वैवाहिक प्रबन्धबारे वर्णन गर्दै बाइबल भन्छ, समयमा “मानिसले आफ्ना आमा-बाबुलाई छोड्छ, र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, औ तिनीहरू एउटै जीउ हुन्छन्।” (उत्पत्ति २:२४) “एउटै जीउ” हुनु भनेको सँगै बस्नु मात्र होइन। यसको मतलब श्रीमान् अनि श्रीमती मिलेर एउटा नयाँ परिवार बन्नु हो जसले पहिलाको परिवारले भन्दा बढी प्राथमिकता पाउँछ। (१ कोरिन्थी ११:३) हो, श्रीमान्-श्रीमती दुवैले अझै पनि आफ्नो आमाबाबुको आदर गर्नुपर्छ र अक्सर यसमा उहाँहरूलाई ध्यान दिनु समावेश छ। (एफिसी ६:२) तर आफ्नो श्रीमान् वा श्रीमतीले यो जिम्मेवारी निर्वाह गरेको तरिकाले गर्दा आफूलाई वास्ता नगरिएको महसुस हुन्छ भने नि?
तपाईं के गर्न सक्नुहुन्छ? परिस्थितिलाई निष्पक्ष भएर नियाल्नुहोस्। के तपाईंको श्रीमान् वा श्रीमती साँच्चै नै चाहिनेभन्दा बढी घनिष्ठ भएका हुन् अथवा आफ्नो आमाबाबुसित तपाईंको त्यस्तै सम्बन्ध नभएकोले पो त्यस्तो लागेको हो कि? कुरा त्यसो हो भने, यस परिस्थितिप्रति तपाईंको दृष्टिकोणमा तपाईंको पारिवारिक पृष्ठभूमिले कस्तो असर पार्न सक्छ? केही हदसम्म तपाईं डाही हुनुभएको हो कि?—हितोपदेश १४:३०; १ कोरिन्थी १३:४; गलाती ५:२६.
यस्ता प्रश्नहरूको जवाफ दिन इमानदारीसाथ आत्म-परीक्षण गर्नुपर्ने हुन्छ र वास्तवमा त्यसो गर्नु महत्त्वपूर्ण छ। यदि सासू-ससुराको विषयलाई लिएर तपाईं श्रीमान् अनि श्रीमती सधैं झगडा गर्नुहुन्छ भने झगडाको कारण तपाईंको सासू-ससुरा होइन, तपाईंहरू दुईबीचको सम्बन्ध हो।
कुनै पनि श्रीमान्-श्रीमतीले एउटा विषयलाई ठ्याक्कै उही दृष्टिकोणले हेर्दैनन्। त्यसैले थुप्रै वैवाहिक सम्बन्धमा समस्या सृजना हुन्छ। के तपाईं विषयवस्तुलाई आफ्नो जोडीको दृष्टिकोणबाट हेर्ने प्रयास गर्न सक्नुहुन्छ? (फिलिप्पी २:४; ४:५, NW) मेक्सिकोमा बस्ने एड्रियन नाउँका एक श्रीमान्ले यसै गरे। तिनी भन्छन्, “मेरी श्रीमती हुर्केको पारिवारिक वातावरण राम्रो थिएन। त्यसैले मैले सासू-ससुरासित नजिकको सम्बन्ध राखिनँ। अन्ततः वर्षौंसम्म मैले उहाँहरूसितको भेटघाटलाई ठ्याप्पै बन्द गरें। यसले गर्दा हाम्रो वैवाहिक जीवनमा नकारात्मक असर पाऱ्यो किनभने मेरी श्रीमती अझै पनि तिनको परिवारसित नजिक हुन चाहन्थिन्, विशेषगरि आफ्नी आमासित।”
समयको अन्तरालमा एड्रियन यस मामिलामा सन्तुलित भए। तिनी भन्छन्, “मेरी श्रीमती तिनका आमाबाबुसित ज्यादै नजिक हुँदा त्यसले भावनात्मक रूपमा तिनमा नराम्रो प्रभाव पार्छ भनेर मलाई थाह छ, तर सम्बन्धै नराख्दा पनि समस्या खडा हुन्छ। मैले सम्भव भएसम्म आफ्ना सासू-ससुरासित फेरि राम्रो सम्बन्ध बनाउने र त्यसलाई कायम राख्ने प्रयास गरेको छु।” b
यसो गरे कसो होला? तपाईं अनि तपाईंको जोडीले आफ्नो सासू-ससुराबारे चित्त नबुझेको कुरा लेख्नुहोस्। सम्भव भए, “मलाई यस्तो लाग्छ . . . ” भनेर वाक्य सुरु गर्नुहोस्। त्यसपछि कागज साटासाट गर्नुहोस्। अनि एकअर्कालाई चित्त नबुझेको कुरा समाधान गर्नको लागि राम्रो तरिका सँगै मिलेर छलफल गर्नुहोस्।
चुनौती नं. २: तपाईंको सासू-ससुराले सोध्दै नसोधे पनि यसो गर्नुपर्छ/उसो गर्नुपर्छ भनी सरसल्लाह दिएर तपाईंको वैवाहिक जीवनमा हस्तक्षेप गरिरहन्छन्।
काजकस्तानमा बस्ने नेल्या नाउँकी एक श्रीमती यसो भन्छिन्, “विवाहपछि हामी सात वर्ष श्रीमान्को परिवारसँगै बस्यौं। हामीले बच्चाबच्ची हुर्काएको तरिकाका साथै मैले पकाएको खाना र मैले गरेको सरसफाइको विषयलाई लिएर सधैं खटपट भइरहन्थ्यो। मैले यो विषयमा श्रीमान् र सासूसित कुरा गरें तर यसले गर्दा झगडा झन् पो चर्कियो!”विषय: विवाहपछि तपाईं आफ्नो आमाबाबुको अधीनमा हुनुहुन्न। बरु, बाइबल भन्छ, “हरेक मानिसको [“पुरुषको,” NW] शिर ख्रीष्ट हुनुहुन्छ, औ स्त्रीको शिर पुरुष” अर्थात् तिनको श्रीमान् हो। (१ कोरिन्थी ११:३) निस्सन्देह, माथि उल्लेख गरिएझैं श्रीमान्-श्रीमती दुवैले आफ्ना आमाबाबुको आदर गर्नुपर्छ। वास्तवमा हितोपदेश २३:२२ यसो भन्छ: “तँलाई जीवन दिने तेरो बाबुका वचन सुन्, औ आफ्नी आमा वृद्ध हुँदा तिनलाई तुच्छ नठान्।” तर तपाईंको आमाबाबु वा सासू-ससुराले सीमा नाघेर आफ्नो विचार लाद्न खोज्नुहुन्छ भने नि?
तपाईं के गर्न सक्नुहुन्छ? समानुभूतिको भाव राखेर, उहाँहरूले त्यसरी हस्तक्षेप गरेको जस्तो देखिनु पछाडिको मनसाय बुझ्ने कोसिस गर्नुहोस्। सुरुमा उल्लेख गरिएका रायन भन्छन्, “कुनै-कुनै अवस्थामा, छोराछोरीको जीवनमा अझै पनि आफ्नो महत्त्व छ भनेर आमाबाबुले थाह पाउनु आवश्यक छ।” त्यस्तो हस्तक्षेप जानाजानी गरिएको नहोला अनि यस्तो अवस्थामा “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर” भन्ने बाइबलको सल्लाह लागू गरेर समस्या सँभाल्न सकिन्छ। (कलस्सी ३:१३) तर तपाईंको सासू-ससुराको हस्तक्षेप तपाईं श्रीमान्-श्रीमतीबीच झगडा गराउने हदसम्म पुग्यो भने के गर्ने?
केही दम्पतीहरूले आफ्ना आमाबाबुसितको सम्बन्धमा सीमा तोक्न सिकेका छन्। यसको मतलब यो होइन कि तपाईंले तोकेको सीमाबारे उहाँहरूलाई बताउनुपर्छ। c अक्सर तपाईंले आफ्नो कार्यबाटै तपाईंको जीवनमा आफ्नो जोडीले प्राथमिकता पाउँछ भनेर स्पष्ट पार्न सक्नुहुन्छ। उदाहरणको लागि, जापानमा बस्ने मासायुकी नाउँका एक श्रीमान् भन्छन्: “आमाबाबुले आफ्नो विचार व्यक्त गरे भने पनि तुरुन्तै सहमति नजनाउनुहोस्। तपाईंले एउटा नयाँ परिवार बसाल्दै हुनुहुन्छ भनेर मनमा राख्नुहोस्। त्यसैले पहिला तपाईंको जोडीलाई त्यो सल्लाह कस्तो लाग्छ बुझ्नुहोस्।”
यसो गरे कसो होला? आमाबाबुको कस्तो हस्तक्षेपले तपाईं दुईबीच झगडा भइरहेको छ तोकेरै कुरा गर्नुहोस्। कस्ता सीमाहरू तोक्न सकिन्छ र आमाबाबुलाई आदर देखाउँदै त्यसअनुसार कसरी चल्न सकिन्छ, सँगै बसेर लेख्नुहोस्।
सासू-ससुराको मनसाय बुझेर र उहाँहरूसितको झगडालाई श्रीमान्-श्रीमतीबीचको झगडाको कारण बन्न नदिएर उहाँहरूसितको थुप्रै झगडा कम गर्न सकिन्छ। यसबारे जेनी भन्छिन्: “कहिलेकाहीं हामी दुई जना आफ्ना आमाबाबुको कुरा हुँदा भावनामा आउँथ्यौं। अनि यसबाट के स्पष्ट हुन्छ भने, आफ्नो आमाबाबुको असिद्धताबारे कुरा गर्दा सजिलै एकअर्काको चित्त दुख्न सक्छ। तर पछि गएर हामीले सासू-ससुराको असिद्धतालाई लिएर जानाजानी एकअर्कालाई घोचपेच गर्नुको सट्टा सामना गरिरहेको समस्यासित जुझ्न सिक्यौं। फलतः हामी श्रीमान्-श्रीमतीको रूपमा झनै नजिक भएका छौं।” (w10-E 02/01)
[पादटिप्पणीहरू]
a केही नाउँहरू परिवर्तन गरिएका छन्।
b पक्कै पनि, यदि आमाबाबु विशेषगरि पश्चात्ताप नगरी गम्भीर खराब आचरणमा लागिरहन्छन् भने परिवारको सम्बन्ध एकदमै बिग्रन सक्छ अनि यसो हुँदा आपसी सम्बन्ध सीमित हुन्छ नै।—१ कोरिन्थी ५:११.
c कहिलेकाहीं तपाईंले आफ्नो आमाबाबु वा सासू-ससुरासित खुलस्त कुराकानी गर्नुपर्ने हुन सक्छ। कुरा त्यसो हो भने, आदर र नम्र भावसहित कुराकानी गर्नुहोस्।—हितोपदेश १५:१; एफिसी ४:२; कलस्सी ३:१२.
आफैलाई सोध्नुहोस् . . .
▪ मेरो सासू-ससुरामा कस्ता राम्रा गुणहरू छन्?
▪ म आफ्नो जोडीलाई बेवास्ता नगरिकन कसरी आमाबाबुको आदर गर्न सक्छु?