सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

थिस्सलोनिकीहरू र तिमोथीलाई लेखेको पत्रका विशेषताहरू

थिस्सलोनिकीहरू र तिमोथीलाई लेखेको पत्रका विशेषताहरू

यहोवाको वचन जीवित छ

थिस्सलोनिकीहरू र तिमोथीलाई लेखेको पत्रका विशेषताहरू

थिस्सलोनिकीमा गएको बेला पावलले स्थापना गरेको नयाँ मण्डलीले सुरुदेखि नै विरोधको सामना गर्दै आएको छ। त्यसैले, सायद ३० वर्ष पनि नलागेका जवान तिमोथीबाट त्यहाँको राम्रो रिपोर्ट सुनेपछि पावल थिस्सलोनिकीको मण्डलीलाई प्रशंसा र प्रोत्साहनको पत्र लेख्न उत्प्रेरित हुन्छन्‌। सम्भवतः इस्वी संवत्‌ ५० तिर लेखिएको यो पत्र पावलले लेखेका प्रेरित लेखोटहरूमध्ये पहिलो हो। त्यसको केही समयपछि तिनले थिस्सलोनिकीका ख्रीष्टियानहरूलाई दोस्रो पत्र लेख्छन्‌। यसपालि, तिनले कसै-कसैले राख्दै आएको गलत दृष्टिकोणलाई सच्याउँछन्‌ र भाइहरूलाई विश्‍वासमा स्थिर रहन अर्ती दिन्छन्‌।

त्यसको झन्डै दस वर्षपछि पावल म्यासिडोनियामा छन्‌ र तिमोथी चाहिं एफिससमा। पावलले तिमोथीलाई एफिससमै बसेर मण्डलीमा भएका झूटा शिक्षकहरू विरुद्ध आध्यात्मिक युद्ध लड्‌न प्रोत्साहन दिन्छन्‌। इस्वी संवत्‌ ६४ मा रोममा भएको आगलागीपछि ख्रीष्टियानहरूमाथि आइपरेको सतावटको बेला पावलले तिमोथीलाई दोस्रो पत्र लेख्छन्‌। यो तिनको प्रेरित लेखोटहरूमध्ये अन्तिम हो। पावलका यी चार पत्रहरूमा दिइएको सल्लाह र प्रोत्साहनबाट आज हामी लाभ उठाउन सक्छौं।—हिब्रू ४:१२.

‘जागा रहो’

(१ थिस्स. १:१–५:२८)

थिस्सलोनिकीहरूको “विश्‍वासको काम र प्रेमको परिश्रम, र आशाको धीरज”-को लागि पावल तिनीहरूको प्रशंसा गर्छन्‌। आफ्नो लागि तिनीहरू ‘आशा, आनन्द, र घमण्डको मुकुट’ हो भन्छन्‌।—१ थिस्स. १:३; २:१९.

पुनरुत्थानको आशाद्वारा एउटाले अर्कोलाई सान्त्वना दिन प्रोत्साहन दिएपछि पावल यस्तो लेख्छन्‌: “प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ।” तिनीहरूलाई ‘जागा रहन’ र होशियार हुन उनी सल्लाह दिन्छन्‌।—१ थिस्स. ४:१६-१८; ५:२, ६.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

४:१५-१७, NRV—“प्रभुलाई आकाशमा भेट्‌न” कसलाई ‘बादलमा उठाइलगियो’ अनि यो घटना कसरी हुन्छ? यी उठाइलगिनेहरू, ख्रीष्ट आफ्नो उपस्थितिको दौडान राज्य शक्‍तिमा आउँदा जीवितै रहेका अभिषिक्‍त ख्रीष्टियानहरू हुन्‌। तिनीहरूले अदृश्‍य स्वर्गीय स्थानमा ‘प्रभुलाई भेट्‌छन्‌।’ तर यसको लागि तिनीहरू पहिला मर्नुपर्छ र आत्मिक प्राणीको रूपमा पुनरुत्थान हुनुपर्छ। (रोमी ६:३-५; १ कोरि. १५:३५, ४४) ख्रीष्टको उपस्थिति सुरु भइसकेको छ, त्यसैले अहिले मर्ने अभिषिक्‍त ख्रीष्टियानहरू मृत अवस्थामा रहिरहँदैनन्‌। तिनीहरूलाई उठाइलगिनेछ अर्थात्‌ तुरुन्तै ब्यूँताइनेछ।—१ कोरि. १५:५१, ५२.

५:२३“तिमीहरूका [अर्थात्‌ भाइहरूका] आत्मा, प्राण र शरीर . . . सुरक्षित रहनेछन्‌” भनी पावलले प्रार्थना गर्नुको अर्थ के थियो? पावलले थुप्रै सदस्यहरू मिलेर बनेको ख्रीष्टियान मण्डलीको आत्मा, प्राण र शरीरलाई संकेत गर्दैथिए र यसमा थिस्सलोनिकीमा भएका आत्म-अभिषिक्‍त ख्रीष्टियानहरू पर्थ्यो। मण्डलीलाई सुरक्षित राख्नु भनेर मात्र प्रार्थना गर्नुको सट्टा तिनले मण्डलीको “आत्मा” मतलब मण्डलीको मानसिक झुकावलाई सुरक्षित राख्न प्रार्थना गरे। तिनले यसको “प्राण” अर्थात्‌ अस्तित्व र “शरीर” अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियानहरूको संयुक्‍त शरीरको लागि पनि प्रार्थना गरे। (१ कोरि. १२:१२, १३) यसरी, पावलले मण्डलीको कत्तिको चिन्ता गर्थे, यस प्रार्थनाबाट स्पष्ट हुन्छ।

हाम्रो लागि पाठ:

१:३, ७; २:१३; ४:१-१२; ५:१५. सल्लाह दिने एउटा प्रभावकारी तरिका भनेको आवश्‍यक प्रशंसाका साथै अझै राम्रो गर्न प्रोत्साहन दिनु हो।

४:१, ९, १०. यहोवाका उपासकहरूले आध्यात्मिक प्रगति गरिरहनुपर्छ।

५:१-३, ८, २०, २१. परमेश्‍वरको दिन एकदमै नजिक भएकोले हामी “विश्‍वास र प्रेमको छातीको पाता र मुक्‍तिको आशाको टोप पहिरेर सचेत” रहनुपर्छ। यसबाहेक, परमेश्‍वरको भविष्यसूचक वचन बाइबलमा गहिरो ध्यान दिनुपर्छ।

“स्थिर रहो”

(२ थिस्स. १:१–३:१८)

पावलले पहिलो पत्रमा लेखेका कुरालाई मण्डलीका कसै-कसैले बंगाएर “प्रभु येशू ख्रीष्टको आगमन [“उपस्थिति,” NW]” अहिल्यै हो भन्‍न थाल्छन्‌। यस दृष्टिकोणलाई सच्याउन पावलले ख्रीष्टको उपस्थिति भन्दा ‘पहिले’ के हुनुपर्छ भनी बताउँछन्‌।—२ थिस्स. २:१-३.

पावल यस्तो अर्ती दिन्छन्‌: “स्थिर रहो, र . . . जे-जे तिमीहरूले शिक्षा पाएका छौ, सो ग्रहण गर।” साथै “बेकायदासँग चल्ने, . . . हरेक भाइबाट अलग होओ” भनी तिनीहरूलाई आज्ञा दिन्छन्‌।—२ थिस्स. २:१५; ३:६.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:३, —“पापको मानिस” को हो र त्यसलाई कसरी निर्मूल पारिनेछ? यहाँ भनिएको “मानिस”-ले चर्चका पादरीवर्गलाई बुझाउँछ। ती दुष्ट विरुद्ध परमेश्‍वरको न्याय घोषणा गर्ने र ती कार्यान्वयन गर्न आज्ञा दिने “वचन” अर्थात्‌ परमेश्‍वरको मुख्य प्रवक्‍ता येशू ख्रीष्ट हुनुहुन्छ। (यूह. १:१) त्यसैकारण येशूले आफ्नो “मुखको सासले [क्रियाशील शक्‍तिले]” पापको मानिसलाई निर्मूल पार्नुहुनेछ भनेर भन्‍न सकिन्छ।

२:१३, १४—अभिषिक्‍त ख्रीष्टियानहरू कसरी ‘सुरुदेखि नै मुक्‍तिको लागि चुनिएका’ छन्‌? परमेश्‍वरले स्त्रीको सन्तानले शैतानको शिर कुच्याउने उद्देश्‍य राख्नुभएदेखि नै अभिषिक्‍त जनहरू समूहको रूपमा छानिए। (उत्प. ३:१५) तिनीहरूले पूरा गर्नैपर्ने आवश्‍यकताहरू, तिनीहरूले गर्ने काम र तिनीहरूले सामना गर्ने परीक्षाबारे पनि यहोवाले उल्लेख गर्नुभयो। यसैकारण उहाँले ‘यसैको निम्ति’ भन्‍नुभयो।

हाम्रो लागि पाठ:

१:६-९. परमेश्‍वरले आफ्नो न्याय कार्यान्वयन गर्नुहुँदा छानी-छानी गर्नुहुन्छ।

३:८-१२. परमेश्‍वरको दिन नजिकै छ भन्दैमा आफ्ना आवश्‍यकताहरू पूरा गर्न काम नगर्ने बहाना बनाउनु हुँदैन। केही नगरी हात बाँधेर बस्दा अल्छे बन्‍न सक्छौं र “अर्काको कुरामा हात हाल्ने” हुन सक्छौं।—१ पत्रु. ४:१५.

“तिमीलाई सुम्पिएको जो छ, त्यसको हिफाजत गर”

(१ तिमो. १:१–६:२१)

“असल लडन्तको युद्ध गर्नसक। विश्‍वास र सुविवेक थामिराख” भनी पावल तिमोथीलाई सल्लाह दिन्छन्‌। नियुक्‍त पुरुषहरूमा हुनुपर्ने योग्यता प्रेरित पावलले औंल्याउँछन्‌। पावल तिमोथीलाई “अशुद्ध . . . दन्त्यकथाहरूलाई इन्कार गर” भनी निर्देशन दिन्छन्‌।—१ तिमो. १:१८, १९; ३:१-१०, १२, १३; ४:७.

पावल लेख्छन्‌: “बूढा मानिसलाई नहप्काऊ [अर्थात्‌, “आलोचना नगर्नू,” NW]।” तिनी तिमोथीलाई यस्तो पनि भन्छन्‌: “अशुद्ध वकवादबाट र ज्ञान कहलिएको झूटा विरोधबाट फर्केर तिमीलाई सुम्पिएको जो छ, त्यसको हिफाजत गर।”—१ तिमो. ५:१; ६:२०.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१८; ४:१४—तिमोथीको सन्दर्भमा कस्ता “अगमवाणी” गरिएका थिए? पावल आफ्नो दोस्रो मिसनरी यात्राको दौडान लिस्त्रामा हुँदा तिनले प्रेरणा पाएर तिमोथीले पछि ख्रीष्टियान मण्डलीमा खेल्ने भूमिकाबारे ती केही भविष्यवाणी गरेका हुन सक्छन्‌। (प्रेरि. १६:१, २) यी “अगमवाणी”-को आधारमा मण्डलीका बूढा प्रधानहरूले जवान तिमोथीमा “हात राखिदिए” र तिनलाई खास सेवाको लागि खटाए।

२:१५—स्त्रीले कसरी “बालक जन्ममा . . . सुरक्षा पाउनेछन्‌”? बच्चा जन्माउने, बच्चाको स्याहार-सुसार गर्ने र घर चलाउने जस्तो कामले स्त्रीलाई “कुरौटे, अरूको काममा हात हाल्ने” हुनबाट “सुरक्षा” दिन्छ।—१ तिमो. ५:११-१५.

३:१६—ईश्‍वरीय भक्‍तिको पवित्र रहस्य के हो? यहोवाको सार्वभौमिकताप्रति मानिस पूर्णतया आज्ञाकारी हुन सक्छ कि सक्दैन भन्‍ने कुरा वर्षौंसम्म रहस्यको कुरा थियो। मृत्युसम्मै परमेश्‍वरप्रति पूर्णतया निष्ठा कायम राखेर येशूले यसको जवाफ दिनुभयो।

६:१५, १६—यी शब्दहरू यहोवा परमेश्‍वरलाई लागू हुन्छ कि येशू ख्रीष्टलाई? यी शब्दहरू तिनीहरूले प्रकट हुने भनेका व्यक्‍ति अर्थात्‌ येशू ख्रीष्टमा लागू हुन्छ। (१ तिमो. ६:१४) राजा र प्रभुको रूपमा शासन गर्ने मानिसहरूको तुलनामा येशू मात्रै “अद्वितीय अधिराज” हुनुहुन्छ र उहाँसँग मात्र “अमरत्व” छ। (दानि. ७:१४; रोमी ६:९) उहाँ अदृश्‍य स्वर्गमा उक्लनुभएदेखि पृथ्वीका कोही मानिसले उहाँलाई शाब्दिक आँखाले ‘देख्न सक्‍तैन।’

हाम्रो लागि पाठ:

४:१५. हामी ख्रीष्टियान भएको धेरैअघि होस्‌ वा भर्खरै, प्रगतिशील हुने प्रयास गर्नुपर्छ र आध्यात्मिक प्रगति गरिरहनुपर्छ।

६:२. हामीलाई सँगी विश्‍वासीले नै काममा राखेका छन्‌ भने कुनै पनि तरिकामा तिनको फाइदा उठाउनुको सट्टा मण्डली बाहिरका मानिसहरूकोमा भन्दा अझ राजीखुसीले काम गर्नुपर्छ।

“वचन प्रचार गर, समय र बेसमयमा तयार रह”

(२ तिमो. १:१–४:२२)

कठिन समयको लागि तिमोथीलाई तयार पार्न पावल यस्तो लेख्छन्‌: “परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्‍ति, प्रेम र आत्मसंयमको आत्मा दिनुभएको छ।” तिमोथीलाई यस्तो सल्लाह दिइएको छ: “प्रभुका सेवकले झगडा गर्नु हुँदैन, तर सबैप्रति भला, सिकाउनसक्ने” हुनुपर्छ।—२ तिमो. १:७; २:२४.

“तिमी चाहिं यो कसबाट सिकेका हौ, सो जानेर आफूले सिकेका र निश्‍चय भएका कुराहरूमा लागिरह” भनी पावल तिमोथीलाई अर्ती दिन्छन्‌। धर्मत्यागी शिक्षाहरू फैलिरहेकोले पावल जवान निरीक्षक तिमोथीलाई यस्तो सल्लाह दिन्छन्‌: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह, . . . दोष देखाइदेऊ, हप्काऊ, अर्ती देऊ।”—२ तिमो. ३:१४; ४:२.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:१३—“पक्का कुराहरूको नमूना” के हो? “पक्का कुराहरू” भनेको “प्रभु येशू ख्रीष्टका वचनहरू” अर्थात्‌ साँचो ख्रीष्टियान शिक्षाहरू हुन्‌। (१ तिमो. ६:३) येशूका शिक्षा र काम परमेश्‍वरको वचनअनुरूप थियो। त्यसैले बृहत्‌ अर्थमा “पक्का कुराहरू”-ले सम्पूर्ण बाइबल शिक्षालाई बुझाउँछ भनेर पनि भन्‍न सकिन्छ। यी शिक्षाहरूले परमेश्‍वर हामीबाट के चाहनुहुन्छ भनेर बुझ्न मदत गर्छ। बाइबलबाट सिकेका कुरा लागू गरेर हामी यी कुराहरू पक्रिराख्छौं।

४:१३—“चर्मपत्रहरू” के हुन्‌? रोमको कैदमा रहँदा पावलले हिब्रू धर्मशास्त्रको केही अंश अध्ययनको लागि मगाएका हुन सक्छन्‌। धर्मशास्त्रको केही अंश पपाइरसमा लेखिएको हुन सक्ने भए तापनि अरू अंश चर्मपत्रमा लेखिएका थिए।

हाम्रो लागि पाठ:

१:५; ३:१५. तिमोथीले ख्रीष्टमा विश्‍वास गर्न सक्नु अर्थात्‌ आफ्नो सबै गतिविधि विश्‍वासअनुसार गर्न सक्नुको प्रमुख कारण तिनले बालक छँदा पाएको धर्मशास्त्रीय शिक्षा थियो। परमेश्‍वर र आफ्नो छोराछोरीप्रतिको यो जिम्मेवारी कसरी पूरा गरिरहेका छन्‌ भनी आमाबाबुले गम्भीरतापूर्वक सोच्नु कत्ति महत्त्वपूर्ण छ!

१:१६-१८. सँगी विश्‍वासीहरूले परीक्षाको सामना गर्नुपर्दा, सतावट भोग्नुपर्दा वा तिनीहरू कैदमा पर्दा हामी तिनीहरूको लागि प्रार्थना गरौं र सक्दो मदत गरौं।

२:२२. विशेषगरि जवान ख्रीष्टियानहरू आध्यात्मिक कुराको लागि समय नै नहुनेगरि बडिबिल्डिङ, खेलकुद, संगीत, मनोरञ्जन, सोख, यात्रा र बेकारको गफमा तल्लीन हुनुहुँदैन। (w08 9/15)

[पृष्ठ ११-मा भएको चित्र]

प्रेरित पावलले लेखेका पत्रहरूमध्ये कुनचाहिं अन्तिम हो?