सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ

येशू थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुन्छ

“रोटी भाँचिसकेपछि [येशूले] चेलाहरूलाई दिनुभयो र चेलाहरूले भीडलाई बाँडे।”—मत्ती १४:१९.

१-३. बेथसेदा नजिकै येशू ठूलो भीडलाई कसरी खुवाउनुहुन्छ? व्याख्या गर्नुहोस्। (शीर्षकसँगैको चित्र हेर्नुहोस्)

यो दृश्य कल्पना गर्नुहोस्। (मत्ती १४:१४-२१ पढ्नुहोस्) घटना इस्वी संवत्‌ ३२ को निस्तार चाडभन्दा केही समयअघिको मात्र हो। गालील समुद्रको उत्तरी तटमा पर्ने बेथसेदा नजिकैको एकान्त ठाउँमा मानिसहरू येशू र उहाँका चेलाहरूको पछि लागेर आइपुगेका छन्‌। यसरी आउनेहरूमा आइमाई र साना केटाकेटीबाहेक लगभग ५,००० पुरुष छन्‌।

त्यस भीडलाई देखेर येशू टिठाउनुहुन्छ। त्यसैले त्यहाँ भएका बिरामीहरूलाई निको पार्नुहुन्छ र उनीहरूलाई परमेश्वरको राज्यबारे थुप्रै कुरा सिकाउनुहुन्छ। साँझ पर्न थालेकोले मानिसहरू नजिकै गाउँबस्तीतिर जाऊन्‌ र आफ्नो निम्ति खानेकुरा किनून्‌ भनेर चेलाहरू चाहन्छन्‌। त्यसकारण उनीहरूलाई पठाइदिन चेलाहरू येशूसित आग्रह गर्छन्‌। तर येशू तिनीहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” उहाँको कुरा सुन्दा चेलाहरू पक्कै छक्क पर्छन्‌ किनकि खानेकुराको नाममा तिनीहरूसित पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्‌।

भीडदेखि टिठाएर येशू एउटा चमत्कार गर्नुहुन्छ। सुसमाचारको पुस्तकका चारै जना लेखकले रेकर्ड गरेको चमत्कार यो मात्र हो। (मर्कू. ६:३५-४४; लूका ९:१०-१७; यूह. ६:१-१३) भीडलाई पचास-पचास र सय-सयको समूह बनाएर हरियो घाँसमा बसाउन येशू आफ्ना चेलाहरूलाई अह्राउनुहुन्छ। प्रार्थना गरेपछि उहाँ रोटी भाँच्न र माछा भाग लगाउन थाल्नुहुन्छ। त्यसपछि खानेकुरा सीधै भीडलाई दिनुको सट्टा ‘चेलाहरूलाई दिनुहुन्छ र चेलाहरूले भीडलाई बाँड्छन्‌।’ सबैले टन्न खान्छन्‌ तर खानेकुरा अझै उब्रन्छ। हेर्नुहोस् त, येशू आफ्ना थोरै चेलामार्फत हजारौंलाई खुवाउनुहुन्छ! *

४. (क) येशू आफ्ना अनुयायीहरूका लागि विशेषगरि कस्तो प्रकारको भोजन प्रबन्ध गर्न इच्छुक हुनुहुन्थ्यो र किन? (ख) यो र यसपछिको लेखमा हामी के छलफल गर्नेछौं?

 विशेषगरि येशू आफ्ना अनुयायीहरूलाई आध्यात्मिक भोजन दिन अर्थात्‌ तिनीहरूलाई परमेश्वरको वचनमा पाइने सत्य सिकाउन  इच्छुक हुनुहुन्थ्यो। बाइबलले सिकाउने सत्य सिकेमा तिनीहरूले अनन्त जीवन पाउन सक्छन्‌ भनेर उहाँलाई थाह थियो। (यूह. ६:२६, २७; १७:३) भीडलाई देखेर टिठाउनुभएकोले नै येशू तिनीहरूलाई रोटी र माछा खुवाउन उत्प्रेरित हुनुभएको थियो। यही गुणले गर्दा उहाँ आफ्ना अनुयायीहरूलाई सिकाउन धेरै समय खर्च गर्न तयार हुनुभयो। (मर्कू. ६:३४) तर पृथ्वीमा आफूले बिताउने समय थोरै मात्र बाँकी छ, त्यसपछि स्वर्ग फर्कनुपर्छ भनेर उहाँलाई थाह थियो। (मत्ती १६:२१; यूह. १४:१२) येशूले पृथ्वीका अनुयायीहरूलाई स्वर्गबाट कसरी प्रशस्त आध्यात्मिक भोजन दिइरहनुहुनेथियो? भीडलाई खुवाएको बेलामा जस्तै थोरै मानिसमार्फत धेरैलाई खुवाउनुहुनेथियो। तर ती थोरै मानिस को हुनेथिए? प्रथम शताब्दीका थुप्रै अभिषिक्त अनुयायीलाई खुवाउन येशूले कसरी थोरै मानिस प्रयोग गर्नुभयो, पहिला त्यो बुझौं। त्यसपछि अर्को लेखमा हामी प्रत्येकको लागि महत्त्वपूर्ण यो प्रश्न छलफल गर्नेछौं: आज हामीलाई आध्यात्मिक भोजन खुवाउन ख्रीष्टले प्रयोग गरिरहनुभएका थोरै मानिसलाई हामी कसरी चिन्न सक्छौं?

थोरै मानिसमार्फत हजारौंलाई खुवाइयो ( अनुच्छेद ४ हेर्नुहोस्)

येशू थोरैलाई रोज्नुहुन्छ

५, ६. (क) आफ्नो मृत्युपछि पनि अनुयायीहरूले आध्यात्मिक भोजन पाइरहून्‌ भनेर येशूले कस्तो गम्भीर निर्णय गर्नुभयो? (ख) आफ्नो मृत्युपछि प्रेषितहरूले निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण भूमिकाको लागि येशूले तिनीहरूलाई कसरी तयार पार्नुभयो?

परिवारका जिम्मेवार शिरले आफ्नो मृत्यु भइहाले पनि परिवारका सदस्यहरूको बिचल्ली नहोस् भनेर विभिन्न प्रबन्ध मिलाउँछन्‌। त्यसैगरि येशू, जो पछि गएर ख्रीष्टियन मण्डलीको शिर हुनुभयो, उहाँले आफ्नो मृत्युपछि आफ्ना अनुयायीहरूले आध्यात्मिक हेरचाह पाइरहून्‌ भनेर विभिन्न प्रबन्ध मिलाउनुभयो। (एफि. १:२२) उदाहरणको लागि, आफ्नो मृत्यु हुनुभन्दा लगभग दुई वर्षअघि येशूले एउटा गम्भीर निर्णय गर्नुभयो। उहाँले ती थोरै मानिसलाई रोज्न थाल्नुभयो जसलाई प्रयोग गरेर उहाँले पछि धेरैलाई खुवाउनुहुनेथियो। उहाँले कसरी यसो गर्नुभयो, विचार गर्नुहोस्।

पूरै रात प्रार्थना गरेर बिताएपछि येशूले आफ्ना चेलाहरूलाई बोलाउनुभयो र तिनीहरूमध्येबाट १२ जनालाई प्रेषितको रूपमा छान्नुभयो। (लूका ६:१२-१६) त्यसपछिका दुई वर्ष उहाँले विशेषगरि यी १२ जनासित धेरै समय बिताउनुभयो अनि आफ्नो वचन र उदाहरणद्वारा तिनीहरूलाई सिकाउनुभयो। तिनीहरूले थुप्रै कुरा सिक्न बाँकी छ भनेर उहाँलाई थाह थियो। वास्तवमा त्यसबेला तिनीहरू “चेला” भनेरै चिनिन्थे। (मत्ती ११:१; २०:१७) उहाँले तिनीहरूलाई व्यक्तिगत सल्लाह दिनुभयो अनि प्रचारकार्यको लागि विस्तृत तालिम दिनुभयो। (मत्ती १०:१-४२; २०:२०-२३; लूका ८:१; ९:५२-५५) येशूले आफ्नो मृत्युपछि र आफू स्वर्ग गएपछि तिनीहरूले निर्वाह गर्नुपर्ने महत्त्वपूर्ण भूमिकाको लागि तिनीहरूलाई तयार पारिरहनुभएको थियो।

७. प्रेषितहरूको मुख्य काम के हुनेथियो भन्ने कुराको छनक येशूले कसरी दिनुभयो?

प्रेषितहरूको भूमिका के हुनेथियो? तिनीहरूले “निरीक्षण गर्ने . . . कार्यभार” सम्हाल्नेछन्‌ भन्ने कुरा इस्वी संवत्‌ ३३, पेन्तिकोसको दिन नजिकिंदै जाँदा स्पष्ट भयो। (प्रेषि. १:२०) तर तिनीहरूको मुख्य काम के हुनेथियो? पुनर्जीवित हुनुभएका येशूले प्रेषित पत्रुससित कुराकानी गर्दा यसको छनक दिनुभयो। (यूहन्ना २१:१, २, १५-१७ पढ्नुहोस्) येशूले पत्रुसलाई “मेरा साना भेडाहरूलाई खुवाऊ” भन्नुहुँदा अन्य केही प्रेषित पनि साथमै थिए। धेरैलाई आध्यात्मिक भोजन दिने थोरै मानिसमध्ये आफ्ना प्रेषितहरू पनि हुनेछन्‌ भनेर येशूले ती शब्दहरूद्वारा सङ्केत गर्नुभयो। येशू आफ्ना “साना भेडाहरू”-लाई कत्ति धेरै माया गर्नुहुन्छ, त्यो पनि यसबाट थाह हुन्छ। *

पेन्तिकोसको दिनदेखि धेरैलाई खुवाउने काम सुरु हुन्छ

८. नयाँ विश्वास अँगालेकाहरूले ख्रीष्टले प्रयोग गरिरहनुभएको माध्यमलाई स्वीकारेको कुरा कसरी देखाए?

पुनर्जीवित हुनुभएका ख्रीष्टले आफ्ना अन्य अभिषिक्त चेलाहरूलाई खुवाउन इस्वी संवत्‌ ३३, पेन्तिकोसको दिनदेखि प्रेषितहरूलाई प्रयोग गर्नुभयो। (प्रेषित २:४१, ४२ पढ्नुहोस्) त्यस दिन  पवित्र शक्तिद्वारा अभिषेक भएका यहूदी तथा धर्म परिवर्तन गरेर यहूदी भएकाहरूले येशूले प्रयोग गर्नुभएको त्यस माध्यमलाई सजिलै स्वीकारे। तिनीहरू “प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे।” नयाँ विश्वास अँगालेका यी मानिसहरू आध्यात्मिक भोजनको औधी तृष्णा गर्थे। अनि तिनीहरूलाई त्यस्तो भोजन कहाँ पाइन्छ भनेर राम्ररी थाह थियो। तिनीहरू येशूको वचन र कामबारे थाह पाउन अनि उहाँबारे धर्मशास्त्रमा बताइएको कुराको अर्थ राम्ररी बुझ्न प्रेषितहरूमा भर पर्थे। *प्रेषि. २:२२-३६.

९. प्रेषितहरूले आफ्नो मुख्य जिम्मेवारी नबिर्सेको कुरा कसरी देखाए?

येशूका भेडाहरूलाई खुवाउने आफ्नो मुख्य जिम्मेवारी प्रेषितहरूले कहिल्यै बिर्सेनन्‌। उदाहरणको लागि, भर्खरै स्थापित मण्डलीमा एउटा संवेदनशील र फूट ल्याउन सक्ने मामिला खडा भयो। त्यसलाई तिनीहरूले कसरी सम्हाले, विचार गर्नुहोस्। चाखलाग्दो कुरा, त्यो मामिला खानेकुराको विषयमा थियो। हरेक दिन खाना बाँड्दा हिब्रूभाषी विधवाहरूले आफ्नो भाग पाउँथे तर ग्रीकभाषी विधवाहरूले भने पाउँदैनथे। ती प्रेषितहरूले यो संवेदनशील मामिला कसरी सुल्झाए? “यस महत्त्वपूर्ण काम”-को निरीक्षण गर्न “बाह्र प्रेषितले” सात जना योग्य भाइहरू नियुक्त गरे। ती प्रेषितहरूमध्ये धेरैले येशूले चमत्कारपूर्ण तरिकामा भीडलाई खुवाउँदा खानेकुरा बाँड्ने काममा भाग लिएको हुनुपर्छ। तर अहिले भने तिनीहरूले आध्यात्मिक भोजन खुवाउने कामलाई अझ महत्त्वपूर्ण ठाने। त्यसैले तिनीहरू “परमेश्वरको वचन सिकाउने काममा समर्पित” भए।—प्रेषि. ६:१-६.

१०. ख्रीष्टले यरूशलेममा भएका प्रेषित र एल्डरहरूलाई कुन काममा प्रयोग गर्नुभयो?

१० इस्वी संवत्‌ ४९ मा त्यतिखेर जीवितै रहेका प्रेषितहरू र केही योग्य एल्डरहरू मिलेर परिचालक निकाय बन्यो। बाइबलमा तिनीहरूलाई “यरूशलेममा भएका प्रेषित र एल्डरहरू” भनिएको छ। (प्रेषित १५:१, २ पढ्नुहोस्) मण्डलीको शिरको रूपमा ख्रीष्टले योग्य पुरुषहरूको यस सानो समूहलाई प्रयोग गर्नुभयो। तिनीहरूले सैद्धान्तिक मामिलाहरू सुल्झाउनुका साथै परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने र सिकाउने काममा नेतृत्व लिनेथिए।—प्रेषि. १५:६-२९; २१:१७-१९; कल. १:१८.

११, १२. (क) प्रथम शताब्दीका मण्डलीहरूलाई खुवाउन येशूले मिलाउनुभएको प्रबन्धलाई यहोवाले आशिष्‌ दिनुभयो भनेर केले देखाउँछ? (ख) आध्यात्मिक भोजन दिन ख्रीष्टले प्रयोग गर्नुभएको माध्यमलाई कसरी सजिलै चिन्न सकिन्थ्यो?

११ प्रथम शताब्दीका मण्डलीहरूलाई खुवाउन येशूले मिलाउनुभएको प्रबन्धलाई के यहोवाले आशिष्‌ दिनुभयो? पक्कै दिनुभयो। हामी किन यसो  भन्न सक्छौं? प्रेषितको पुस्तक यसो भन्छ: “तिनीहरू [प्रेषित पावल र तिनका सहयात्रीहरू] जुन-जुन सहर जान्थे, त्यहाँ-त्यहाँ यरूशलेमका प्रेषित र एल्डरहरूले गरेको फैसला सुनाएर ती पालन गर्नू भनी बताउँथे। यसरी मण्डलीमा हुनेहरूको विश्वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गयो।” (प्रेषि. १६:४, ५) हो, तिनीहरूले यरूशलेममा भएको परिचालक निकायलाई वफादार भई साथ दिएकोले नै मण्डलीहरूमा त्यस्तो वृद्धि भयो। मण्डलीलाई खुवाउन येशूले मिलाउनुभएको प्रबन्धलाई यहोवाले आशिष्‌ दिनुभयो भनेर यसले प्रमाण दिंदैन र? यो कुरा कहिल्यै नबिर्सौं, यहोवाको आशिष्‌ छ भने मात्र उहाँका जनहरूको वृद्धि हुन्छ र तिनीहरूबीच शान्ति छाउँछ।—हितो. १०:२२; १ कोरि. ३:६, ७.

 १२ अहिलेसम्मको छलफलबाट हामीले के बुझ्यौं भने भीडलाई खुवाउन येशूले जुन तरिका प्रयोग गर्नुभयो, आफ्ना अनुयायीहरूलाई आध्यात्मिक भोजन खुवाउन पनि त्यही तरिका प्रयोग गर्नुभयो। त्यो हो: उहाँले थोरै मानिसमार्फत धेरैलाई खुवाउनुभयो। आध्यात्मिक भोजन दिन उहाँले प्रयोग गर्नुभएको माध्यम सजिलै चिन्न सकिन्थ्यो। हुन पनि परिचालक निकायका सुरुका सदस्यहरू अर्थात्‌ प्रेषितहरूले यहोवाको साथ आफूले पाएको कुराको प्रमाण दिन सक्थे। प्रेषित ५:१२ भन्छ: “प्रेषितहरूले मानिसहरूमाझ थुप्रै चमत्कार र आश्चर्यजनक कार्य गर्दै रहे।” * त्यसैले ख्रीष्टियन बनेकाहरूले यस्तो सोच्नुपर्ने कारण नै थिएन: ‘ख्रीष्टले कोमार्फत आफ्ना भेडाहरूलाई खुवाइरहनुभएको छ?’ तर प्रथम शताब्दीको अन्तसम्ममा अवस्था परिवर्तन भइसकेको थियो।

मण्डलीलाई खुवाउन येशूले कसलाई प्रयोग गरिरहनुभएको छ, प्रथम शताब्दीमा स्पष्टै देखिन्थ्यो ( अनुच्छेद १२ हेर्नुहोस्)

सामा धेरै तर गहुँ थोरै

१३, १४. (क) मण्डलीमाथि हुने आक्रमणबारे येशूले कस्तो चेतावनी दिनुभयो र उहाँको वचन कहिलेदेखि पूरा हुन थाल्यो? (ख) कुन दुईवटा समूहबाट आक्रमण हुनेथियो? (नोट हेर्नुहोस्)

१३ ख्रीष्टियन मण्डलीमाथि आक्रमण हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। सामा र गहुँको भविष्यसूचक दृष्टान्तमा येशूले गहुँको (अभिषिक्त ख्रीष्टियनहरू) बीच-बीचमा सामा (नक्कली ख्रीष्टियनहरू) छरिनेछ भनेर चेतावनी दिनुभएको थियो। बाली काट्ने बेलासम्म अर्थात्‌ यस “युगको आखिरी समय”-सम्म यी दुवैलाई सँगै बढ्न दिइनेछ भनेर पनि उहाँले बताउनुभएको थियो। (मत्ती १३:२४-३०, ३६-४३) नभन्दै येशूको वचन पूरा हुन थाल्यो। *

१४ प्रथम शताब्दीमा धर्मत्याग देखा पर्न थालिसकेको थियो। तर येशूका वफादार प्रेषितहरूले त्यसलाई “रोकिराखे।” तिनीहरूले मण्डलीमा झूटा शिक्षाको असर पर्न दिएनन्‌। (२ थिस्स. २:३, ६, ७) तर अन्तिम प्रेषितको मृत्युपछि धर्मत्याग सबै मण्डलीमा फैलियो र सयौं वर्षसम्म गहुँ र सामा सँगसँगै बढे। त्यतिखेर सामा धेरै तर गहुँ थोरै भए। नियमित रूपमा आध्यात्मिक भोजन प्रदान गर्ने कुनै निश्‍चित वा सङ्गठित माध्यम नै भएन। तर यो अवस्था परिवर्तन हुनेथियो। कहिले?

बाली काट्ने बेला खुवाउने काम कसले गर्ने थियो?

१५, १६. बाइबल स्टुडेन्ट्सले लगनशील भई अध्ययन गरेकोले कस्तो नतिजा निस्क्यो? कुन प्रश्न खडा हुन्छ?

१५ गहुँ र सामा सँगसँगै बढ्ने समयको अन्ततिर केही मानिसले बाइबलले सिकाउने सत्यप्रति चासो देखाउन थाले। जस्तै, सन्‌ १८७० को दशकमा निष्कपट मनले सत्यको खोजी गरिरहेको एउटा सानो समूह अर्थात्‌ त्यतिबेला बाइबल स्टुडेन्ट्स भनिने समूह एक साथ भेला भयो। उनीहरूले बाइबल कक्षाहरू सञ्चालन गर्न थाले। उनीहरूले सञ्चालन गरेको कक्षाहरू कुनै पनि चर्चसित सम्बन्धित थिएन। ती निष्कपट बाइबल स्टुडेन्ट्सले नम्र अनि होसियार हुँदै बाइबलको अध्ययन गरे।—मत्ती ११:२५.

१६ ती बाइबल स्टुडेन्ट्सले लगनशील भई अध्ययन गरेकोले नतिजा राम्रो भयो। ती वफादार पुरुष तथा स्त्रीहरूले बाइबल साहित्यहरू छापे अनि त्यसलाई टाढा-टाढासम्म वितरण गरे। यसरी उनीहरूले झूटा शिक्षाहरूको पर्दाफास गरे अनि आध्यात्मिक  सत्य फैलाए। उनीहरूको कामले सत्य कुराका लागि भोकाइरहेका र तिर्खाइरहेका थुप्रै मानिसको मन जित्यो। त्यसकारण एउटा रोचक प्रश्न खडा हुन्छ: सन्‌ १९१४ अघिका ती बाइबल स्टुडेन्ट्स के ख्रीष्टले आफ्ना भेडाहरूलाई खुवाउन प्रयोग गर्नुभएको माध्यम थिए? थिएनन्‌। किनकि त्यतिखेर अझै पनि गहुँ र सामा सँगसँगै बढिरहेका थिए र आध्यात्मिक भोजनको प्रबन्ध गर्न ख्रीष्टले प्रयोग गर्नुहुने माध्यम अझै तयार भइसकेको थिएन। सामारूपी नक्कली ख्रीष्टियनहरूलाई गहुँरूपी साँचो ख्रीष्टियनहरूबाट अलग्याउने समय अझै आएको थिएन।

१७. सन्‌ १९१४ देखि कस्ता उल्लेखनीय घटना हुन थाले?

१७ अघिल्लो लेखमा सिकेझैं बाली काट्ने बेला सन्‌ १९१४ मा सुरु भयो। त्यस वर्षदेखि थुप्रै उल्लेखनीय घटना हुन थाले। येशू राजा हुनुभयो र अन्तको दिन सुरु भयो। (प्रका. ११:१५) सन्‌ १९१४ देखि १९१९ को सुरुसम्म येशूले आफ्नो बुबालाई आध्यात्मिक मन्दिर निरीक्षण गर्ने र शुद्ध पार्ने काममा साथ दिनुभयो। * (मला. ३:१-४) सन्‌ १९१९ देखि गहुँ जम्मा गर्ने काम सुरु भयो। के त्यसोभए ख्रीष्टले आध्यात्मिक भोजन दिन एउटा सङ्गठित माध्यम नियुक्त गर्ने समय आएको थियो? हो, आएको थियो।

१८. येशूले के नियुक्त गर्नेबारे भविष्यवाणी गर्नुभयो? अन्तको दिन सुरु भएपछि कस्तो प्रश्न खडा हुनेथियो?

१८ अन्तको दिनबारे गर्नुभएको भविष्यवाणीमा येशूले “ठीक समयमा भोजन” दिन एउटा माध्यम नियुक्त गर्ने कुरा बताउनुभयो। (मत्ती २४:४५-४७) उहाँले कुन माध्यम प्रयोग गर्नुहुनेथियो? प्रथम शताब्दीमा जस्तै उहाँले फेरि पनि धेरैलाई खुवाउन थोरै मानिस प्रयोग गर्नुहुनेथियो। तर अन्तको दिन सुरु भएपछि यो महत्त्वपूर्ण प्रश्नको जवाफ चाहियो: ती थोरै मानिस को हुनेछन्‌? योलगायत येशूको भविष्यवाणीसम्बन्धी अन्य प्रश्नहरूबारे यसपछिको लेखमा छलफल गर्नेछौं।

 

^ अनु. 3 अनुच्छेद ३: पछि अर्को एउटा अवसरमा येशूले चमत्कारपूर्ण तरिकामा स्त्री र साना केटाकेटीबाहेक ४,००० पुरुषलाई खुवाउँदा पनि खानेकुरा “चेलाहरूलाई दिन थाल्नुभयो र चेलाहरूले भीडलाई बाँडे।”—मत्ती १५:३२-३८.

^ अनु. 7 अनुच्छेद ७: पत्रुसको जीवनकालमा आध्यात्मिक भोजन खाने “साना भेडा” सबैसित स्वर्ग जाने आशा थियो।

^ अनु. 8 अनुच्छेद ८: नयाँ विश्वास अँगालेकाहरूले “प्रेषितहरूको शिक्षा ध्यान दिएर सुन्थे” भन्ने तथ्यले प्रेषितहरूले नियमित रूपमा सिकाउने गर्थे भनेर देखाउँछ। ती प्रेषितहरूमध्ये केहीको शिक्षा परमेश्वरद्वारा प्रेरित पुस्तकहरूमा लिपिबद्ध गरियो जुन अहिले ख्रीष्टियन ग्रीक धर्मशास्त्रको भाग भएको छ।

^ अनु. 12 अनुच्छेद १२: पवित्र शक्ति पाएर चमत्कार गर्ने वरदान प्रेषितहरूबाहेक अरूले पनि पाएका थिए। तर प्रायजसो अवस्थामा प्रेषितहरू स्वयम्ले त्यस्तो वरदान दिन्थे वा उनीहरूको उपस्थितिमा दिइन्थ्यो जस्तो देखिन्छ।—प्रेषि. ८:१४-१८; १०४४, ४५.

^ अनु. 13 अनुच्छेद १३: प्रेषित पावलले प्रेषित २०:२९, ३० मा बताएअनुसार मण्डलीलाई दुईवटा समूहले आक्रमण गर्नेथियो। पहिलो, साँचो ख्रीष्टियनहरूबीच नक्कली ख्रीष्टियनहरू (“सामा”) ‘घुस्नेथिए।’ दोस्रो, साँचो ख्रीष्टियनहरूकै “बीचबाट” कोही-कोही “टेढोमेढो कुरा गरेर” धर्मत्यागी हुनेथिए।

^ अनु. 17 अनुच्छेद १७: यस अङ्कको ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’ भन्ने लेखको पृष्ठ ११, अनुच्छेद ६ हेर्नुहोस्।