सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो दिमागलाई विषाक्‍त बनाउन सक्ने अवगुण ईर्ष्या

हाम्रो दिमागलाई विषाक्‍त बनाउन सक्ने अवगुण ईर्ष्या

हाम्रो दिमागलाई विषाक्‍त बनाउन सक्ने अवगुण ईर्ष्या

नेपोलियन बोनापार्टमा यो कुरा थियो। जुलियस सिजरमा थियो। महान्‌ सिकन्दरमा पनि थियो। आफूले हासिल गरेका सम्पूर्ण शक्‍ति र महिमाको बाबजुद, यी मानिसहरूले दिमागलाई विषाक्‍त बनाउन सक्ने अवगुण आफ्नो मनमा खेती गरे। यी तीनै जनाले कसैको ईर्ष्या गरे।

अङ्‌ग्रेज दार्शनिक बर्ट्‌रान्ड रसेलले यस्तो लेखे: “नेपोलियनले सिजरको ईर्ष्या गरे, सिजरले [महान्‌] सिकन्दरको ईर्ष्या गरे र सायद सिकन्दरले चाहिं अस्तित्वमै नभएको हर्कुलसको ईर्ष्या गरे।” जतिसुकै धनसम्पत्ति भए पनि, जस्तोसुकै असल गुण भए पनि वा जीवनमा जत्ति नै सफल भए पनि ईर्ष्याले जोसुकैलाई पिरोल्न सक्छ।

ईर्ष्या गर्नु भनेको अरूसित भएको चिजबीज, अरूको समृद्धि र अरूले पाएका अवसर र यस्तै अन्य कुराको कारण उनीहरूप्रति द्वेषभाव राख्नु हो। ईर्ष्या र डाहबीचको भिन्‍नतालाई बाइबलसम्बन्धी एउटा किताबले यसरी बताएको छ: “‘डाह’ भनेको अर्को व्यक्‍तिजस्तै हुने चाहना हो भने ‘ईर्ष्या’ भनेको कुनै व्यक्‍तिलाई ऊसँग भएको कुराबाट वञ्चित गराउने चाहना हो।” ईर्ष्यालु व्यक्‍तिले अरूसित भएको कुराको रिस मात्र गर्दैन तर त्यसलाई ऊबाट खोस्नसमेत चाहन्छ।

हामीमा ईर्ष्या कसरी उत्पन्‍न हुन सक्छ र यसको नतिजा कस्तो हुन्छ भनी विचार गर्नु बुद्धिमानी हो। तर ईर्ष्याले हाम्रो जीवनलाई नियन्त्रण गर्न नदिन के गर्नुपर्छ भनी बुझ्नु अझ जरुरी छ।

ईर्ष्यालाई सल्काउन सक्ने मनोभाव

त्रुटिपूर्ण मानिसमा “ईर्ष्या गर्ने झुकाव” हुने भए पनि थुप्रै कुराले यसलाई बढवा दिन र प्रबल बनाउन सक्छ। (याकू. ४:५) तीमध्ये एउटाबारे प्रेषित पावलले यसरी लेखे: “हामी फोस्रो घमन्ड नगरौं, प्रतिस्पर्धा गर्न एक-अर्कालाई नउक्साऔं अनि एक-अर्काको ईर्ष्या नगरौं।” (गला. ५:२६) प्रतिस्पर्धा गर्ने मनोभावले ईर्ष्या गर्ने हाम्रो त्रुटिपूर्ण झुकावलाई झनै प्रबल बनाउन सक्छ। रीता र रमेश a नाम गरेका दुई ख्रीष्टियनले यो कुरा महसुस गरे।

नियमित अग्रगामी सेवा गरिरहेकी रीता भन्छिन्‌: “म आफूलाई अक्सर अरूप्रति ईर्ष्यालु भइरहेकी पाउँछु। मसित नभएको कुरालाई अरूसित भएको कुरासँग तुलना गरिरहेकी हुन्छु।” एक दिन तिनी परिभ्रमण निरीक्षक र उनकी पत्नीसँगै बसेर खाना खाँदै थिइन्‌। आफू र आफ्नो पति रोशनको उमेर पनि ती परिभ्रमण निरीक्षक र उनकी पत्नीको जस्तै भएको र विगतमा उस्तै जिम्मेवारी सम्हालेको कुरा विचार गर्दै रीताले भनिन्‌: “मेरो श्रीमान्‌ पनि त एल्डर हुनुहुन्छ नि! तर तपाईंहरूचाहिं परिभ्रमण कार्य गर्दै हुनुहुन्छ, हामीचाहिं जहाँको त्यहीं, किन?” प्रतिस्पर्धाको मनोभावको कारण सल्किएको ईर्ष्याको आगोले रीतालाई आफू र आफ्नो पतिले गरिरहेका असल कामहरूप्रति अन्धो तुल्यायो र आफ्नो जीवनप्रति असन्तुष्ट बनायो।

रमेश मण्डलीमा सहायक सेवकको रूपमा सेवा गर्न चाहन्थे। तर अरू भाइहरू नियुक्‍त भए पनि आफूचाहिं नहुँदा तिनी उनीहरूप्रति ईर्ष्यालु भए। साथै एल्डरहरूको निकायको संयोजकप्रति पनि नकारात्मक भावना विकास गरे। रमेश स्वीकार्छन्‌: “ईर्ष्याले ममा उक्‍त भाइप्रति घृणा पैदा गरायो र उहाँको हरेक मनसायलाई गलत अर्थले सोच्न थालें। जब ईर्ष्याले तपाईंको जीवनलाई नियन्त्रण गर्न थाल्छ तब तपाईं स्वार्थी हुनुहुनेछ र ठीक तरिकाले सोच्न सक्नुहुन्‍न।”

हामीलाई शिक्षा दिने धर्मशास्त्रीय उदाहरणहरू

बाइबलमा थुप्रै चेतावनीमूलक उदाहरण छन्‌। (१ कोरि. १०:११) तीमध्ये केही उदाहरणले ईर्ष्या कसरी उत्पन्‍न हुन्छ भनेर मात्र होइन तर ईर्ष्यालाई आफ्नो जीवनमा नियन्त्रण जमाउन दिनेहरूलाई यसले कसरी असर गर्छ भनेर पनि देखाउँछ।

उदाहरणको लागि यहोवाले हाबिलको बलिदान स्वीकारेर उसको चाहिं नस्वीकारेकोमा आदम र हव्वाको जेठो छोरो कयिन रिसायो। कयिनले यो अवस्थालाई सुधार्न सक्थ्यो तर ईर्ष्याले उसलाई यति अन्धो बनायो कि उसले आफ्नो भाइलाई माऱ्‍यो। (उत्प. ४:४-८) त्यसकारण बाइबलले कयिनलाई “दुष्टको” अर्थात्‌ सैतानको भनेर सम्बोधन गरेकोमा छक्क मान्‍नुपर्ने कुनै कारण छैन!—१ यूह. ३:१२.

बुबासित यूसुफको विशेष सम्बन्ध भएको देखेर तिनका दस जना दाइले तिनको ईर्ष्या गरे। यूसुफले आफ्ना दाइहरूलाई आफूले देखेका भविष्यसूचक सपनाहरू बताएपछि त उनीहरूले तिनलाई झनै घृणा गर्न थाले। उनीहरू यूसुफलाई मार्नसमेत चाहन्थे। अन्तमा दाइहरूले तिनलाई दासको रूपमा बेचे र यूसुफ मऱ्‍यो भनेर कुनै दयामाया नै नराखी बुबालाई सुनाए। (उत्प. ३७:४-११, २३-२८, ३१-३३) वर्षौंपछि तिनीहरूले आपसमा यसो भन्दै आफ्नो भुल स्वीकारे: “साँच्चिनै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं।”—उत्प. ४२:२१; ५०:१५-१९.

कोरह, दातान र अबीराम पनि आफूले पाएको सुअवसरलाई मोशा र हारूनले पाएको सुअवसरसित तुलना गरेकोले ईर्ष्यालु हुन पुगे। तिनीहरूले मोशालाई ‘नेता बन्‍न खोजेको’ र आफूलाई अरूभन्दा माथि उचालेको आरोप लगाए। (गन्ती १६:१३) तर यो सरासर झूट थियो। (गन्ती ११:१४, १५) मोशालाई यहोवा स्वयम्‌ले नियुक्‍त गर्नुभएको थियो। तर यी विद्रोहीहरूले मोशाले पाएको ओहदाको ईर्ष्या गरे। ईर्ष्या गरेको कारण अन्तमा तिनीहरूले यहोवाको हातबाट विनाश भोग्नुपऱ्‍यो।—भज. १०६:१६, १७.

ईर्ष्याले कुन हदसम्म प्रभाव पार्न सक्छ भन्‍ने कुरा राजा सुलेमानले पनि प्रत्यक्ष रूपमा अनुभव गरे। भर्खरै जन्मेको आफ्नो बच्चा मरेको एउटी स्त्रीले मरेको बच्चा आफ्नो नभई साथीको हो भनेर आफ्नो साथीलाई झुक्याउन खोजी। पछि खोजतलास गरिंदा, जिउँदो बच्चालाई मार्ने कुरामा सहमति जनाउनसमेत ऊ पछि परिन। तर सुलेमानले त्यो बच्चा वास्तविक आमालाई दिलाएरै छोडे।—१ राजा ३:१६-२७.

ईर्ष्याले भयानक नतिजा ल्याउन सक्छ। यसले घृणा, अन्याय र हत्यातर्फ डोऱ्‍याउन सक्छ भनी माथि उल्लिखित उदाहरणहरूले देखाउँछ। माथि उल्लिखित प्रत्येक अवस्थामा, ईर्ष्याको शिकार भएका व्यक्‍तिहरूले आफूमाथि त्यस्तो अवस्था आउनुपर्ने केही काम गरेका थिएनन्‌। ईर्ष्याले आफ्नो जीवनलाई नियन्त्रण गर्न नदिन हामीले गर्न सक्ने कुरा केही छ कि? ईर्ष्याको विषको प्रतिकार गर्ने के कुनै औषधी छ?

प्रभावकारी औषधी!

प्रेम र भ्रातृस्नेह विकास गर्नुहोस्‌। प्रेषित पत्रुसले ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई शुद्ध पारेको हुनाले अब निष्कपट भ्रातृस्नेह देखाओ अनि आपसमा मनैदेखि प्रगाढ प्रेम गर।” (१ पत्रु. १:२२) प्रेम के हो? प्रेषित पावलले लेखे: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, फुर्ती लगाउँदैन, घमन्डले फुल्दैन, अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन।” (१ कोरि. १३:४, ५) आफ्नो मनमा अरूप्रति यस्तो प्रकारको प्रेम खेती गऱ्‍यौं भने के यसले ईर्ष्या गर्ने नकारात्मक झुकावविरुद्ध लड्‌न मदत गर्दैन र? (१ पत्रु. २:१) दाऊदको ईर्ष्या गर्नुको साटो जोनाथनले तिनलाई ‘आफैलाई झैं हृदयले प्रेम गरे।’—१ शमू. १८:२.

परमेश्‍वरको डर राख्ने मानिसहरूसित सङ्‌गत गर्नुहोस्‌। दुष्टहरूले समस्या नभएको र आनन्ददायी जीवन बिताएको देख्दा भजन अध्याय ७३ का रचनाकार तिनीहरूप्रति ईर्ष्यालु भएका थिए। तथापि “परमेश्‍वरको पवित्र स्थानमा” पसेर तिनी ईर्ष्यामाथि विजयी भए। (भज. ७३:३-५, १७) सङ्‌गी उपासकहरूसँगको सङ्‌गतिले यी भजनरचयितालाई ‘परमेश्‍वरको नजिक जादाँ’ पाइने आशिष्‌ महसुस गर्न मदत गऱ्‍यो। (भज. ७३:२८) ख्रीष्टियन सभाहरूमा सङ्‌गी उपासकहरूसँग नियमित रूपमा सङ्‌गत गरेमा हामी पनि यस्तै महसुस गर्न सक्छौं।

असल काम गर्ने मौका खोज्नुहोस्‌। कयिनमा ईर्ष्या र घृणा उत्पन्‍न भएको याद गरेपछि परमेश्‍वरले उसलाई यसो भन्‍नुभयो: “असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र?” (उत्प. ४:७) ‘असल गर्नुमा’ ख्रीष्टियनहरूको लागि के समावेश छ? येशूले भन्‍नुभएअनुसार हामीले ‘यहोवा हाम्रा परमेश्‍वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नुपर्छ र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ।’ (मत्ती २२:३७-३९) आफ्नो जीवनलाई यहोवाको सेवा गर्न र अरूलाई मदत गर्न केन्द्रित गर्दा पाइने सन्तुष्टि ईर्ष्याको विषको प्रतिकार गर्ने प्रभावकारी औषधी हो। राज्य प्रचार र चेला बनाउने काममा अर्थपूर्ण तरिकाले भाग लिनु परमेश्‍वर र आफ्नो छिमेकीको सेवा गर्ने एउटा उत्तम तरिका हो र यसले “परमप्रभुको आशिष” ल्याउँछ।—हितो. १०:२२.

“रमाउने मानिसहरूसित रमाओ।” (रोमी १२:१५) आफ्ना चेलाहरूको सफलतामा येशू रमाउनुभयो र प्रचारकार्यको सन्दर्भमा आफूले गरेको भन्दा ठूला कामहरू चेलाहरूले गर्नेछन्‌ भनी उहाँले सङ्‌केत गर्नुभयो। (लूका १०:१७, २१; यूह. १४:१२) हामी यहोवाका सेवकहरूको रूपमा एक भएका छौं। त्यसैले हामीमध्ये जोसुकैको सफलता सबैको लागि आशिष्‌ हो। (१ कोरि. १२:२५, २६) त्यसोभए, अरूले अझै ठूलो जिम्मेवारी पाउँदा ईर्ष्यालु हुनुको साटो रमाउनुपर्ने होइन र?

सजिलो लडन्त होइन!

ईर्ष्याविरुद्ध लड्‌न लामो समय लाग्न सक्छ। रीता स्वीकार्छिन्‌: “ईर्ष्या गर्ने बलियो झुकाव ममा अझै पनि छ। म यसलाई घृणा गर्छु, तैपनि यो ममा छँदैछ र मैले निरन्तर यसको प्रतिरोध गर्नुपर्छ।” रमेशले पनि यस्तै प्रकारको सङ्‌घर्ष गर्नुपरेको छ। तिनी भन्छन्‌: “एल्डरहरूको निकायको संयोजकका राम्रा गुणहरूको कदर गर्न यहोवाले मलाई मदत गर्नुभयो। यहोवासँगको राम्रो सम्बन्ध मेरो लागि अमूल्य साबित भएको छ।”

हरेक ख्रीष्टियनले “शरीरका कामहरू”-विरुद्ध लड्‌नैपर्छ। ईर्ष्या पनि त्यसमध्ये एउटा हो। (गला. ५:१९-२१) ईर्ष्यालाई आफूमाथि नियन्त्रण जमाउन नदिएमा हामी झनै आनन्दित हुन सक्छौं र स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवालाई प्रसन्‍न तुल्याउन सक्छौं।

[फुटनोट]

a नाम परिवर्तन गरिएका छन्‌।

[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“रमाउने मानिसहरूसित रमाओ”