सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ”

“समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ”

“समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ”

समझदार मानिस व्यावहारिक र टाठो हुन्छ, सही निर्णय गर्ने अनि छिट्टै कुरा बुझ्ने हुन्छ, होसियार, चतुर, विवेकी र बुद्धिमान्‌ हुन्छ। ऊ कुटिल हुँदैन र उसले षड्यन्त्र पनि रच्दैन। हितोपदेश १३:१६ ले भन्छ, “चतुर [“समझदार”, NRV] मानिस बुद्धिमानी हुन्छ।” हो, समझदार अथवा चतुरपन एउटा मनमोहक गुण हो।

दैनिक जीवनमा हामी कसरी समझदार हुन सक्छौं? हामीले गर्ने छनौट, हामीले अरूलाई गर्ने व्यवहार र विभिन्‍न परिस्थितिहरू सम्हाल्ने तरिकामा यो गुण कसरी झल्किन्छ? चुतर व्यक्‍तिले कस्ता इनामहरू ल्याउँछ? कस्ता विपत्तिहरूबाट जोगिन्छ? पुरातन इस्राएलका राजा सुलेमान यी प्रश्‍नहरूको व्यावहारिक उत्तरहरू दिन्छन्‌, जुन कुरा हितोपदेश १४:१२-२५ मा हामी पढ्‌न सक्छौं। a

बुद्धिमानीसाथ आफ्नो बाटो रोज्नुहोस्‌

बुद्धिमानी छनौट गर्न अनि जीवनमा सफल हुन अवश्‍य पनि असल र खराब छुट्याउने क्षमता चाहिन्छ। तथापि, बाइबल यस्तो चेतावनी दिन्छ: “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमानै पुस्याउने हुन्छ।” (हितोपदेश १४:१२) तसर्थ, साँच्चै सही के हो, अनि सही जस्तो देखिने के हो, हामीले त्यसको भिन्‍नता छुट्याउन सिक्नै पर्छ। “मृत्युमानै पुऱ्‍याउने” अभिव्यक्‍तिले छक्याउने धेरै बाटाहरू हुन्छन्‌ भनी सङ्‌केत गर्छ। हामी सजग हुनुपर्ने र जोगिनुपर्ने केही क्षेत्रहरू विचार गरौं।

संसारका धनी र नाउँ चलेका मानिसलाई अक्सर सम्मान गर्नुपर्ने आदरणीय मानिसको रूपमा हेरिन्छ। तिनीहरूको सामाजिक र आर्थिक सफलताले तिनीहरूको कामकुरा गर्ने शैली ठीकै जस्तो देखिन सक्छ। तर यस्ता व्यक्‍तिहरूमध्ये अधिकांशले कसरी धन र नाम कमाउँछन्‌? के तिनीहरूले सधैं सही र नैतिक तरिकाबाटै धन र नाम कमाउँछन्‌? अनि आफ्नो धार्मिक विश्‍वासको खातिर तिनीहरूले देखाउने जोस प्रशंसनीय छ। के तिनीहरूको निष्कपटताले तिनीहरूको विश्‍वास सही छ भनेर देखाउँछ?—रोमी १०:२, ३.

आत्म-छक्याइले गर्दा कुनै कुरा सही जस्तो देखिन सक्छ। आफूलाई लागेको कुरा सही ठानी त्यसैको आधारमा निर्णय गर्नु आफ्नो हृदयमा भर पर्नु हो जसको डोऱ्‍याइ छली हुन्छ। (यर्मिया १७:९) ज्ञानविहिन र अप्रशिक्षित अन्तस्करणले हामीलाई गलत बाटो पनि सही हो भन्‍ने सोचाइतिर लैजान सक्छ। त्यसोभए सही बाटो रोज्न हामीलाई कुन कुराले मदत गर्नेछ?

“खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रिय” क्षमता हासिल गर्न चाहन्छौं भने हामीले परमेश्‍वरको वचनका गहिरा सत्यहरूको लगनशील व्यक्‍तिगत अध्ययन गर्नै पर्छ। साथै, बाइबलका सिद्धान्तहरू व्यवहारमा उतारेर हामीले यो क्षमतालाई “प्रयोगबाट” प्रशिक्षित गर्नै पर्छ। (हिब्रू ५:१४) ‘जीवनतर्फ पुऱ्‍याउने असजिलो बाटोबाट’ तर्किएर सही जस्तो देखिने बाटोमा हिंड्‌नदेखि हामी जोगिनै पर्छ।—मत्ती ७:१३, १४.

जब “मनमा पीर” हुन्छ

मनमा शान्ति नहुँदा के हामी खुसी हुन सक्छौं? हृदयसम्म गडेको पीडालाई के हाँसो र रमझमले कम गर्न सकिन्छ? नैराश्‍यका भावनाहरूलाई रक्सी, लागूपदार्थले कम गराउन खोज्नु अथवा अनैतिक जीवन शैली अपनाएर यस्ता भावनाहरू हटाउन खोज्नु के बुद्धिमानी हो? कदापि होइन। बुद्धिमान्‌ राजा यसो भन्छन्‌, “मुखमा हाँसो भए पनि मनमा पीर होला।”—हितोपदेश १४:१३क.

हाँसोले पीडा लुकाउन सकिएला तर हटाउन भने सकिंदैन। बाइबल भन्छ: “सबै कुराको लागि समय छ।” साँच्चै, “रूने एउटा समय छ, हाँस्ने एउटा समय। शोक गर्ने एउटा समय छ, नाच्ने एउटा समय।” (उपदेशक ३:१, ४) नैराश्‍य रहिरहँदा यसलाई हटाउन हामीले कदम चाल्नै पर्छ, आवश्‍यक परेमा “निपुण” निर्देशन पनि खोज्नुपर्छ। (हितोपदेश २४:६) b हाँसो र रमझमको केही महत्त्व छ, तर यसको तुलनात्मक मूल्य कम हुन्छ। अनुचित रमझम र बढ्‌ता मनोरञ्जनविरुद्ध सुलेमान यस्तो चेतावनी दिन्छन्‌: “आनन्दको पनि अफसोसमा अन्त हुनसक्ला।”—हितोपदेश १४:१३ख.

पाखण्डी र भला मानिस —कसरी सन्तुष्ट हुन्छन्‌?

इस्राएलका राजा अझै यसो भन्छन्‌, “पाखण्डीले आफ्नो चालको फल भोग्छ, औ भला मानिसले आफ्नै कामको प्रतिफल पाउँछ।” (हितोपदेश १४:१४) पाखण्डी र भला मानिस कसरी आ-आफ्नो कामको परिणामबाट सन्तुष्ट हुन्छ?

पाखण्डी मानिसले परमेश्‍वरलाई लेखा दिनुपर्ने कुरालाई वास्ता गर्दैन। अतः पाखण्डी मानिसको लागि यहोवाको नजरमा असल गर्नुको कुनै महत्त्व हुँदैन। (१ पत्रुस ४:३-५) यस्ता मानिसहरू आफ्नो भौतिकवादी जीवन शैलीबाट सन्तुष्ट हुन्छन्‌। (भजन १४४:११-१५क) अर्कोतर्फ असल मानिसको हृदयमा आध्यात्मिक चासो हुन्छ। आफ्नो सबै काममा ऊ परमेश्‍वरको धार्मिक स्तरअनुसार चल्छ। यस्तो मानिस आफ्नो कामको नतिजाबाट सन्तुष्ट हुन्छ किनकि उसको परमेश्‍वर यहोवा हो अनि सर्वोच्वको सेवा गरेर उसले अतुलनीय आनन्द पाउँछ।—भजन १४४:१५ख.

“जुनसुकै कुरा” नपत्याउनुहोस्‌

अनुभवहीन र चतुर मानिसबीचको भिन्‍नता सुलेमान यसरी बताउँछन्‌: “बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।” (हितोपदेश १४:१५, NRV) चतुर मानिस ठगिंदैन। आफूले सुनेको कुरा सबै पत्याउनुको सट्टा अथवा सधैं अरूको विचार स्वीकार्नुको सट्टा उसले बुद्धिमानीसाथ आफ्ना कदमहरू विचार गर्छ। सबै उपलब्ध तथ्यहरू बुझिसकेपछि आफ्नो ज्ञानद्वारा काम गर्छ।

उदाहरणको लागि यो प्रश्‍नलाई लिनुहोस्‌, “के परमेश्‍वर हुनुहुन्छ?” अनुभवहीन मानिसको कुनै लोकप्रिय अथवा नाम चलेका व्यक्‍तिहरूको विश्‍वासअनुसार गर्ने झुकाव हुन्छ। अर्कोतिर, तथ्यहरू केलाउन समझदार व्यक्‍तिले समय लिन्छ। तिनले रोमी १:२० र हिब्रू ३:४ जस्ता शास्त्रपदहरूमा ध्यान दिन्छ। आध्यात्मिक कुराहरूको सन्दर्भमा चतुर मानिसले धार्मिक नेताहरूको कुरालाई खुरुक्क मानिलिंदैन। तिनले ती ‘परमेश्‍वरबाट हो कि होइन भनी जाँच गर्छ।’—१ यूहन्‍ना ४:१.

‘जुनसुकै कुरा नपत्याउनु’ कत्ति बुद्धिमानी हो! मसीही मण्डलीमा अरूलाई सल्लाह दिने जिम्मेवारी पाएकाहरूले विशेष गरी यस कुरालाई मनमा राख्नुपर्छ। सल्लाहकारलाई संलग्न सबै तथ्यहरूको पूर्ण ज्ञान हुनै पर्छ। आफ्नो सल्लाह अव्यावहारिक अथवा एकतर्फी नहोऊन्‌ भनेर तिनले सबै पक्षहरूबाट राम्ररी सुन्‍नुपर्छ र तथ्यहरू सङ्‌कलन गर्नुपर्छ।—हितोपदेश १८:१३; २९:२०.

“धूर्त मानिस घृणित हुन्छ”

बुद्धिमान्‌ र मूर्खबीचको अर्को एउटा भिन्‍नतालाई औंल्याउँदै इस्राएलका राजा यसो भन्छन्‌: “बुद्धिमान्‌ मानिसले परमप्रभुको भय राख्छ र खराबीदेखि टाढै रहन्छ, तर मूर्खचाहिं गरम मिजासको र असावधानी हुन्छ। रिसाह मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्छ।”हितोपदेश १४:१६, १७, NRV.

गलत मार्ग पछ्याउनदेखि बुद्धिमान्‌ मानिस डराउँछ। अतः ऊ सावधान रहन्छ र आफूलाई खराबीबाट जोगाउन मदत गर्ने कुनै पनि सल्लाहप्रति ऊ आभार प्रकट गर्छ। मूर्खलाई कुनै डर हुँदैन। आफ्नो कुरामा अति विश्‍वस्त हुँदै गर्दा अरूको सल्लाहलाई उसले घमन्डी हुँदै नकार्छ। छिट्टै रिसाउने झुकाव भएकोले यस्तो व्यक्‍तिले मूर्खतापूर्ण कामहरू गर्छ।

“धूर्त मानिस” भनी अनुवाद गरिएको मूल अभिव्यक्‍तिको दुईवटा अर्थ छ। सकारात्मक अर्थमा यसले विवेक अथवा टाठोपनलाई सङ्‌केत गर्न सक्छ। (हितोपदेश १:४; २:११; ३:२१) अथवा नकारात्मक अर्थमा यो वाक्यांशले दुष्ट विचार वा धूर्त सोचाइहरूलाई सङ्‌केत गर्न सक्छ।—भजन ३७:७; हितोपदेश १२:२; २४:८.

यदि मूल अभिव्यक्‍तिले “धूर्त मानिस[लाई]” नै सङ्‌केत गर्ने हो भने यस्तो व्यक्‍तिलाई किन घृणा गरिन्छ भनेर बुझ्न गाह्रो छैन। यदि यसले सकारात्मक अर्थ दिने हो भने सोच्ने क्षमता भएको कुनै मानिससित किन वैनश्‍यता राखिन्छ? के सोच्ने क्षमताको अभाव हुने मानिसले विवेकी मानिसलाई घृणा गर्दैन र?

उदाहरणको लागि, आफ्नो मानसिक क्षमताको अभ्यास गर्न र ‘संसारका नहुन’ रुचाउनेहरूलाई संसारले घृणा गर्छ। (यूहन्‍ना १५:१९) सोच्ने क्षमताको अभ्यास गर्ने अनि अनुचित आचरणहरूबाट जोगिन साथीहरूको अस्वास्थ्यकर दबाबको प्रतिरोध गर्ने मसीही युवाहरूको खिल्ली उडाइन्छ। तथ्य कुरा के हो भने, शैतान अर्थात्‌ दियाबलको अधीनमा परेको संसारले साँचो उपासकहरूलाई संसारले घृणा गर्छ।—१ यूहन्‍ना ५:१९.

“खराब मानिसहरू . . . झुक्नुपर्छ”

एउटा अर्को अर्थमा पनि चतुर र समझदार मानिस अनुभवहीन मानिसहरूभन्दा फरक हुन्छ। “अज्ञानीले मूर्खता कमाउँछ तर समझदारहरूले ज्ञानको मुकुट लगाउँछन्‌।” (हितोपदेश १४:१८, NRV) विवेक नभएकोले अनुभवहीन मानिसहरूले मूर्ख कुराहरू रुचाउँछन्‌। त्यो तिनीहरूको जीवन शैली नै बन्छ। अर्कोतिर, मुकुटले राजाको मान बढाए झैं ज्ञानले समझदारको शोभा बढाउँछ।

बुद्धिमान्‌ राजा सुलेमान यसो भन्छन्‌, “दुष्ट मानिसहरू असल मानिसहरूको सामने र खराब मानिसहरू धर्मी मानिसहरूको ढोकामा झुक्नुपर्छ।” (हितोपदेश १४:१९) अर्को शब्दमा, अन्ततः असल मानिसले दुष्टमाथि विजयी हासिल गर्नेछ। आज परमेश्‍वरका जनहरूको बढ्‌दो संख्या र तिनीहरूले अपनाएको उत्कृष्ट जीवन शैलीलाई विचार गर्नुहोस्‌। यहोवाका सेवकहरूमाथि वर्षिएका यस्ता आशिष्‌हरूलाई देखेर केही विरोधीहरू पृथ्वीका शेष अभिषिक्‍त जनहरूले प्रतिनिधित्व गर्ने यहोवाको लाक्षणिक स्वर्गीय स्त्रीको सामु ‘झुक्न’ बाध्य हुनेछन्‌। आरमागेडोन आउनुअघि तिनीहरूले नस्वीकारे पनि पृथ्वीमा रहेको परमेश्‍वरको संगठनले स्वर्गीय अंशलाई प्रतिनिधित्व गर्छ भनेर स्वीकार्न तिनीहरू बाध्य हुनेछन्‌।—यशैया ६०:१, १४; गलाती ६:१६; प्रकाश १६:१४, १६.

“गरीब मानिसलाई उदारता देखाउने”

मानव स्वभावबारे सुलेमान यसो भन्छन्‌: “गरीब मानिस आफ्नै मित्रको निम्ति अप्रिय हुन्छ, तर धनीको ता धेरै मित्रहरू हुन्छन्‌।” (हितोपदेश १४:२०) असिद्ध मानिसहरूको सन्दर्भमा यो कुरा कत्ति सत्य छ! स्वार्थी झुकाव भएकोले गरिबलाई छोडेर धनीलाई कृपा देखाउने तिनीहरूको झुकाव हुन्छ। धनी मानिसका मित्रहरू त धेरै हुन्छन्‌ तर तिनको धन जत्तिकै ती मित्रहरू पनि क्षणिक हुन्छन्‌। अतः के हामी पैसाको माध्यमले र चापलुसी गरेर मित्रहरू बनाउनुबाट जोगिनु पर्दैन र?

इमानदार आत्म-परीक्षणले हामी धनीलाई मात्र कृपा देखाउँछौं र गरिबलाई तुच्छ ठान्छौं भनेर देखाउँछ भने के गर्ने? यस्तो कृपावादलाई बाइबलले निन्दा गर्छ भन्‍ने कुरालाई हामीले बुझ्नै पर्छ। बाइबल यसो भन्छ: “भोका मानिसलाई अवहेलना गर्नेले अन्याय गर्छ, तर गरीब मानिसलाई उदारता देखाउने सुखी हुन्छ।”हितोपदेश १४:२१.

कठिन अवस्थामा भएकाहरूलाई हामीले दया देखाउनुपर्छ। (याकूब १:२७) हामी कसरी यसो गर्न सक्छौं? यस “संसारको सम्पत्ति[द्वारा]” जसमा पैसा, भोजन, आवास, लुगाफाटा र व्यक्‍तिगत ध्यान जस्ता कुराहरू पर्न सक्छ। (१ यूहन्‍ना ३:१७) यस्ताहरूलाई कृपा देखाउनेहरू आनन्दित हुन्छन्‌ किनकि “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

तिनीहरूले कस्तो फल पाउनेछन्‌?

“मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ” भन्‍ने सिद्धान्त समझदार र मूर्ख दुवैलाई लागू हुन्छ। (गलाती ६:७) पहिलोले असल काम गर्छ, पछिल्लोले खराब युक्‍तिहरू रच्छ। बुद्धिमान्‌ राजा यस्तो प्रश्‍न सोध्छन्‌, “के खराब विचार गर्नेहरू भ्रममा पर्दैनन्‌?” जवाफ हो, अवश्‍य पर्छन्‌; तिनीहरू “बरालिन्छन्‌।” “तर असल योजना बनाउनेहरूले प्रेम र ईमानदारी प्राप्त गर्छन्‌।” (हितोपदेश १४:२२, NRV) असल गर्नेहरूले अरूको शुभेच्छाका साथै परमेश्‍वरको करुणा पाउँछन्‌।

सफलतालाई कडा मेहनतसित र असफलतालाई धेरै बोल्नु र कम काम गर्नुसित जोड्‌दै सुलेमान यसो भन्छन्‌: “मेहनतको फल मीठो हुन्छ, तर कुरा मात्र गर्नाले दरिद्रता बढ्‌छ।” (हितोपदेश १४:२३) हाम्रो आध्यात्मिक प्रयत्नमा यो सिद्धान्त पक्कै लागू हुन्छ। मसीही सेवकाईमा कडा प्रयत्न गर्दा अरू धेरैलाई परमेश्‍वरको वचनको जीवनदायी सत्यबारे परिचित गराउन पाउने इनाम हामी कटनी गर्छौं। जुनसुकै ईश्‍वरतान्त्रिक जिम्मेवारीहरू पनि विश्‍वासीपूर्वक पूरा गर्दा हामी आनन्द र सन्तुष्टि पाउन सक्छौं।

हितोपदेश १४:२४ ले भन्छ: “अन्तर-ज्ञान बुद्धिमानको मुकुट हो, मूर्खता चाहिं मूर्खको प्रमुख गहना हो।” यसको अर्थ हुन सक्छ, बुद्धिमान्‌ले प्राप्त गर्न प्रयास गर्ने बुद्धि तिनको धनसम्पत्ति हो, यो तिनको मुकुट हो, यसले तिनलाई सुशोभित पार्छ। अर्कोतिर मूर्खले केवल मूर्खता मात्र पाउँछ। एउटा सन्दर्भ सामग्रीअनुसार यस हितोपदेशको अर्थ यो पनि हुन सक्छ “जसले आफ्नो सम्पत्ति बुद्धिमानीसाथ प्रयोग गर्छ, त्यो तिनको लागि गहना बन्छ। . . . [जबकि] मूर्खसित केवल तिनको मूर्खता हुन्छ।” जेहोस्‌, बुद्धिमान्‌ले मूर्खले भन्दा राम्रो प्रतिफल पाउँछ।

इस्राएलका राजा यसो भन्छन्‌, “साँचो गवाहीले प्राण जोगाउँछ, तर झूटा दोष लाउनेले असत्यबाहेक केही बोल्दैन।” (हितोपदेश १४:२५) न्यायको सन्दर्भमा यो पक्कै पनि साँचो हो तर हाम्रो सेवकाईमा पनि यो लागू हुन्छ। राज्यप्रचार र चेला बनाउने हाम्रो काममा परमेश्‍वरको वचनको सत्यको साक्षी दिने काम समावेश छ। यस्तो साक्षी कामले निष्कपट मन हुनेहरूलाई झुटो धर्मबाट मुक्‍त गर्छ र जीवन बचाउँछ। आफू स्वयम्‌ र आफ्नो शिक्षामा निरन्तर ध्यान दिएर हामी आफू अनि आफूलाई सुन्‍नेहरूलाई समेत बचाउँछौं। (१ तिमोथी ४:१६) यसो गर्दा, आउनुहोस्‌ जीवनका सबै पक्षहरूमा समझदार हुन सजग होऔं।

[फुटनोट]

b अवेक! अक्टोबर २२, १९८७ अंकको पृष्ठ ११-१६ हेर्नुहोस्‌।

[पृष्ठ १८-मा भएको चित्र]

सही र गलत छुट्याउने हो भने गहिरा सत्यहरूको लगनशील अध्ययन अपरिहार्य छ

[पृष्ठ १८-मा भएको चित्र]

के भौतिकवादी जीवनले साँच्चै सन्तुष्टि दिन्छ?