हामी यहोवाको बलमा भर पऱ्यौं
जीवनी
हामी यहोवाको बलमा भर पऱ्यौं
एर्जबेट ह्याफनरको वृत्तान्तमा आधारित
मलाई चेकोस्लोभाकिया छोड्ने आदेश दिइएको थाह पाएपछि टिबर ह्याफनरले मलाई यसो भन्नुभयो, “म तिमीलाई देश निकाला हुन दिनेछैनँ।” उहाँले अझ यसो भन्नुभयो: “तिमी राजी भएमा म तिमीसँग बिहे गर्छु र तिमी सदाको लागि मसँग हुनेछ्यौ।”
यस्तो सोच्दै नसोचेको विवाहको प्रस्ताव आएको केही हप्तामै जनवरी २९, १९३८ का दिन म टिबरसँग विवाह बन्धनमा बाँधिएँ। उहाँ एक जना मसीही भाइ हुनुहुन्थ्यो र हाम्रो परिवारलाई साक्षी दिने पहिलो व्यक्ति हुनुहुन्थ्यो। यो निर्णय गर्न सजिलो त भएन। मैले भर्खरै १८ वर्षमा पाइला टेकेकी थिएँ र यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकको हैसियतमा म आफ्नो युवावस्था पूर्णतया परमेश्वरको सेवामा समर्पित गर्न चाहन्थें। म रोएँ। मैले प्रार्थना गरें। मन अलि शान्त भएपछि मात्र मसित विवाह गर्ने टिबरको प्रस्ताव दयाको अभिव्यक्ति मात्र होइन र मलाई साँचो माया गर्ने ती व्यक्तिसित जीवन बिताउन चाहन्छु भन्ने लाग्यो।
मेरो देश निकाला हुने अवस्था कसरी आइपऱ्यो? आखिर म प्रजान्त्रिक र धार्मिक स्वतन्त्रताको लागि गर्व गर्ने देशमा बसोबास गर्थें। तर त्यसभन्दा पहिला म तपाईंलाई मेरो पृष्ठभूमिबारे केही बताउन चाहन्छु।
मेरो जन्म डिसेम्बर २६, १९१९ मा हंगेरीको बुडापेस्टबाट झन्डै १६० किलोमिटर पूर्वमा शायोसेन्टपिटर भन्ने गाउँमा भएको थियो र मेरा आमाबाबु ग्रीक-क्याथोलिक चर्चको सदस्य हुनुहुन्थ्यो। दुःखको कुरा, म जन्मनुअघि नै मेरो बुबा बित्नुभयो। केही समयपछि मेरी आमाले चार जना छोराछोरी भएको विधुरसँग विवाह गर्नुभयो र हामी त्यतिबेला चेकोस्लोभाकिया भनिने देशको सुन्दर नगर लुसनेक सऱ्यौं। ती दिनहरूमा सौतेनी परिवारमा बस्नु सजिलो थिएन। पाँच जना छोराछोरीमध्ये म कान्छी भएकीले कहिलेकाहीं मलाई आफू गाडीको जगेडा टायर जस्तो लाग्थ्यो। आर्थिक अवस्था राम्रो थिएन र भौतिक कुराहरूबाट मात्र होइन तर आमाबाबुले सामान्यतया दिनुपर्ने ध्यान र प्रेमबाट पनि म वञ्चित भएँ।
के कसैसित जवाफ छ?
म १६ वर्षकी हुँदा मलाई गम्भीर प्रश्नहरूले पिरोल्न थाल्यो। प्रथम विश्वयुद्धको इतिहास मैले एकदमै चासो लिएर पढें र मसीही भनौदा सभ्य राष्ट्रहरूबीच भएको मारकाट देखेर म अवाक् भएँ। यसबाहेक मैले सबैतिर सैन्यवाद बढिरहेको देखें। छिमेकीप्रतिको प्रेमबारे मैले चर्चमा सिकेको कुरा वास्तविकतासित पटक्कै मेल खाँदैन थियो।
त्यसैले म रोमन क्याथोलिक पादरीकहाँ गएँ र तिनलाई यस्तो प्रश्न गरें: “मसीहीको हैसियतमा कुन आज्ञाले हामीलाई बाँध्नुपर्छ—युद्धमा जाने र आफ्नो छिमेकीलाई मार्ने वा तिनीहरूलाई प्रेम गर्ने?” मेरो प्रश्नको कारण झर्को मान्दै तिनले उच्च अख्तियारबाट के आयो त्यही सिकाएको हो भनी जवाफ दिए। क्याल्भिनिस्ट धर्मगुरु र यहूदी रब्बीकहाँ जाँदा पनि त्यस्तै भयो। मैले कुनै जवाफ पाइनँ केवल मेरो अनौठो प्रश्नको लागि छक्कलाग्दो प्रतिक्रिया पाउँथें। अन्तमा म लुथरियन पादरीकहाँ गएँ। तिनी पनि रिसाए तर म निस्कनुअघि मलाई यसो भने: “तिमी यसबारे साँच्चै केही थाह पाउन चाहन्छौ भने यहोवाका साक्षीहरूलाई सोध।”
मैले साक्षीहरूलाई भेट्टाउने कोसिस गरें तर भेट्टाउनै सकिनँ। केही दिनपछिको कुरा हो, म कामबाट घर फर्कंदै गर्दा मैले घरको ढोका आधी खुल्लै देखें। एक जना सुन्दर लक्का जवानले आमालाई बाइबलबाट पढेर सुनाइरहेका थिए। ‘यिनी नै साक्षी हुनुपर्छ!’ भनी मेरो दिमागमा झट्टै आयो। टिबर ह्याफनर नाउँ गरेको यी मानिसलाई हामीले भित्र बोलायौं र मैले फेरि मेरो प्रश्न दोहोऱ्याएँ। उनले आफ्नै शब्दमा जवाफ दिनुको सट्टा साँचो मसीहीहरूको चिनारीका साथै हामी बाँचिरहेको समयबारे बाइबलले के भन्छ भनी देखाए।—यूहन्ना १३:३४, ३५; २ तिमोथी ३:१-५.
केही महिना भित्रै, १७ वर्षको उमेर पनि नहुँदै मैले बप्तिस्मा लिएँ। मैले यत्ति कष्ट गरेर भेट्टाएको अनमोल सच्चाइ सबैलाई बताउनुपर्छ जस्तो मलाई लाग्यो। मैले पूर्ण-समय प्रचार गर्न थालें र चेकोस्लोभाकियामा १९३० दशकको अन्ततिर यसो गर्नु एउटा चुनौतीपूर्ण काम थियो। हाम्रो काम कानुनी रूपमा दर्ता भएको भए तापनि हामीले पादरीहरूबाट उक्साइएको कठोर विरोधको सामना गर्नुपऱ्यो।
सतावटको पहिलो अनुभव
सन् १९३७ को अन्ततिर म लुसनेक नजिकैको एउटा गाउँमा अर्की एउटी मसीही बहिनीसँग प्रचारकार्यमा भाग लिंदै थिएँ। हामी छिट्टै पक्राउमा पऱ्यौं र झ्यालखानामा लगियौं। हाम्रो कोठरीको ढोका ढ्याम्म बन्द गर्दै गार्डले यसो भने, “अब तिमीहरू यहीं मर्नेछौ।”
साँझसम्ममा हाम्रो कोठरीमा अरू चार जना थपिइसकेका थिए। हामीले तिनीहरूलाई सान्त्वना दिनुका साथै साक्षी दिन थाल्यौं। तिनीहरू शान्त भए र रातभर हामी तिनीहरूलाई बाइबल सत्य सुनाउनमा व्यस्त थियौं।
बिहान छ बजे मलाई गार्डले बोलाए। मैले मेरो साथीलाई यसो भनें: “हामी फेरि परमेश्वरको राज्यमा भेट्नेछौं।” तिनी बाँचिन् भने मेरो परिवारलाई मेरो खबर सुनाइदिनु भनेर मैले तिनलाई आग्रह गरें। मैले मनमनै प्रार्थना गरें र गार्डको पछि लागें। मलाई तिनले झ्यालखानाको परिसरमै भएको तिनको कोठामा लगे। तिनले मलाई यसो भने, “म तिमीलाई केही प्रश्नहरू गर्न चाहन्छु। हिजो राति तिमीले परमेश्वरको नाउँ यहोवा हो भन्यौ। के तिमी यो बाइबलबाट देखाउन सक्छ्यौ?” मलाई छक्क लाग्नुका साथै कत्ति ढुक्क महसुस भयो! तिनले आफ्नो बाइबल ल्याए र मैले तिनी र तिनकी पत्नीलाई यहोवाको नाउँ देखाइदिएँ। हामीले कोठरीमा रातभरि चार जना स्त्रीहरूसित छलफल गरेका विषयहरूमा तिनका अरू थुप्रै प्रश्नहरू थिए। जवाफ चित्त बुझेपछि तिनले आफ्नी पत्नीलाई म र मेरो साथीको लागि बिहानको खाजा बनाइदिन लगाए।
केही दिनपछि हामीलाई छोडियो तर म हंगेरीको नागरिक भएको कारण मैले चेकोस्लोभाकिया छोड्नुपर्छ भन्ने फैसला न्यायाधीशले सुनाए। यसपछि नै हो, टिबर ह्याफनरले मलाई उहाँसित विवाह गर्न प्रस्ताव राख्नुभएको। हामीले बिहे गऱ्यौं र म उहाँको आमाबाबुको घरमा सरें।
सतावट झनै तीव्र हुन्छ
दम्पतीको रूपमा हामी प्रचारकार्यमा लागिरह्यौं। टिबरको चाहिं संगठनात्मक कार्यभार पनि थियो। हंगेरीका सेनाहरू नोभेम्बर १९३८ मा हाम्रो सहरमा प्रवेश गर्नुभन्दा केही दिनअघि हाम्रो छोरा टिबर जुनियरको जन्म भयो। युरोपमा दोस्रो विश्वयुद्धको बादल मडारिरहेको थियो। चेकोस्लोभाकियाको ठूलो भूभाग हंगेरीले कब्जा गऱ्यो जसले गर्दा कब्जा गरेका ती इलाकाहरू नजिकै बसोबास गर्ने यहोवाका साक्षीहरूले अझै सतावटको सामना गर्नुपऱ्यो।
अक्टोबर १०, १९४२ मा टिबर केही भाइहरूलाई भेट्न डेब्रेसेन जानुभयो। तर यसपालि उहाँ फर्कनुभएन। पछि उहाँले मलाई यसको कारण बताउनुभयो। भाइहरूसँग भेट्न मिलाइएको पुलमा भाइहरूको सट्टा पुलिसहरू कामदारको पहिरनमा बसिरहेका थिए। तिनीहरू त्यहाँ सबैभन्दा अन्तमा आइपुगेका मेरो श्रीमान् र पाल न्याजपाललाई पर्खिरहेका थिए। पुलिसले उहाँहरूलाई झ्यालखानामा लगेर नाङ्गो पैतालामा बेहोस नहोउन्जेलसम्म डन्ठाले कुट्नसम्म कुटेछन्।
त्यसपछि उहाँहरूलाई बुट लगाएर उभिन भनेछन्। त्यो दुखाइको बावजुद उहाँहरूलाई रेल स्टेसनसम्म जबरजस्ती लगिएछ। पुलिसले अर्को मानिसलाई पनि त्यहाँ ल्याए र त्यो मानिसको आँखा नै छोपिने गरी टाउकोमा ब्यान्डेज लगाइएको थियो। ती मानिस भाइ आन्ड्रियास पिलिङ थिए। तिनी पनि भाइहरूलाई भेट्न आएका थिए। मेरो श्रीमान्लाई बुडापेस्ट नजिकै आलाग भन्ने ठाउँमा थुन्नको लागि रेलबाट लगियो। छियाछिया भएको टिबरको पैताला देख्ने एक जना गार्डले व्यङ्ग्य गर्दै यसो भने: “कोही मानिसहरू कत्तिको क्रूर हुन सक्छन्! पीर नगर, हामी तिमीलाई निको पारिदिन्छौं।” अरू दुई जना गार्डले टिबरको पैतालामा हिर्काउन थाले जसले गर्दा उहाँको पैताला रगतपच्छे भयो। केही मिनेटपछि उहाँ बेहोस हुनुभयो।
त्यसपछिको महिना टिबरलगायत अरू ६० भन्दा बढी भाइबहिनीहरूलाई पुर्पक्षमा राखियो। भाइ आन्ड्रास बार्टा, डेनिस फालुभेज र यानोस कोनराडलाई झुन्ड्याएर मार्ने सजाय सुनाइयो। भाइ आन्ड्रियास पिलिङलाई आजीवन कैद सजाय दिइयो र मेरो श्रीमान्लाई चाहिं १२ वर्षको कैद सजाय सुनाइयो। उहाँहरूको अपराध? अभियोक्ताले उहाँहरूलाई राष्ट्रघात, सैन्य सेवा गर्न इन्कार गरेको, जासुसी र सबैभन्दा पवित्र चर्चको निन्दा गरेको अभियोग लगाए। मृत्युदण्डको सजायलाई पछि परिवर्तन गरेर आजीवन कैद बनाइयो।
मेरो श्रीमान्लाई पछ्याउँदै
डेब्रेसेनमा जानको लागि टिबर हिंड्नुभएको दुई दिनपछि म बिहान छ नबज्दै उठेर लुगामा इस्त्री लगाउँदै थिएँ। अकस्मात् ढोका ढकढक गरेको आवाज सुनियो। ‘लौ तिनीहरू आइपुगे’ भन्नेजस्तो मलाई लाग्यो। नभन्दै छ जना प्रहरी घरभित्र घुसे र तिनीहरूसँग मेरो घरको खानतलासी गर्ने अनुमति भएको कुरा बताए। तीन वर्षको मेरो छोरालगायत घरका सबैलाई पक्रेर पुलिस थाना लगियो। सोही दिन हामीलाई हंगेरीको पेटरभासारा झ्यालखानामा लगियो।
त्यहाँ पुगेपछि मलाई ज्वरो आयो र अरू कैदीहरूबाट अलग राखियो। म निको हुँदा दुई जना सेना मेरो कोठरीमा थिए र तिनीहरू मेरो विषयमा झगडा गरिरहेका थिए। “हामीले यसलाई गोली हान्नुपर्छ! म हान्छु!” भनी एक जना कराउँदै थियो। तर अर्को चाहिं मलाई गोली हान्नुअघि मेरो स्वास्थ्य अवस्था हेर्न चाहन्थ्यो। मलाई नमार्न तिनीहरूलाई मैले बिन्ती गरें। तिनीहरू अन्ततः मेरो कोठरीबाट गए र मलाई मदत गर्नुभएकोमा यहोवालाई धन्यवाद चढाएँ।
गार्डहरूको हामीलाई केरकार गर्ने विशेष तरिका थियो। तिनीहरूले मलाई घोप्टो पर्ने आदेश दिए, मुखमा मोजा कोचिदिए, मेरो हातखुट्टा बाँधिदिए अनि रगताम्मे नहोउन्जेलसम्म पिटे। एक जना सिपाहीले थकाइ लाग्यो भनेपछि मात्र तिनीहरूले कुट्न छोडे। मेरो श्रीमान् पक्राउ पर्नुभएको दिनमा उहाँले कसलाई भेट्न लाग्नुभएको थियो भनी तिनीहरूले सोधे। मैले तिनीहरूलाई बताइनँ त्यसैले
तीन दिनसम्म मलाई कुटेको कुट्यै गरे। चौथो दिनमा तिनीहरूले मलाई मेरो छोरालाई मेरी आमाकहाँ पुऱ्याउन दिए। कठाङ्ग्रिने चिसोमा मेरो सानो छोरालाई घाउ नै घाउले भरिएको पिठ्यूँमा बोकेर म रेल स्टेसनसम्म झन्डै १३ किलोमिटर हिंडें। त्यहाँबाट म घरसम्म रेलमा त गएँ तर म त्यही दिन शिविरमा फर्कनुपर्ने थियो।मलाई बुडापेस्टको झ्यालखानामा छ वर्षको कैद सजाय दिइयो। त्यहाँ पुगेपछि टिबर पनि त्यहीं भएको थाह पाएँ। फलामको बारबाट केही मिनेटको लागि भए पनि एकअर्कासँग कुरा गर्न पाएकोमा हामी कत्ति खुसी भयौं! हामी दुवैले यहोवाको प्रेम महसुस गऱ्यौं र यस्ता अनमोल क्षणहरूद्वारा बल प्राप्त गऱ्यौं। हाम्रो फेरि भेटघाट हुनुअघि हामी दुवैले भीषण परीक्षाहरू सहनुपर्ने थियो र अक्सर मृत्युको मुखबाट अलिकतिले मात्र बच्यौं।
एकपछि अर्को झ्यालखानाहरूमा
हामी झन्डै ८० जना बहिनीहरूलाई एउटै कोठरीमा कोचिएको थियो। हामी आध्यात्मिक भोजनका लागि भोकाएका थियौं तर बाहिरबाट झ्यालखानामा केही भित्र्याउनु त असम्भव जस्तै थियो। झ्यालखानाभित्रबाटै के हामी केही पाउन सक्छौं? हामीले के गऱ्यौं तपाईंहरूलाई म सुनाउँछु। म झ्यालखानाका कर्मचारीहरूको मोजा मर्मत गर्न राजी भएँ। झ्यालखानाको पुस्तकालयमा बाइबलको दर्ता नम्बर कति हो भनेर मैले एउटा सानो कागतमा लेखेर मोजामा घुसाइदिएँ। शङ्का गर्लान् भनेर मैले अर्को दुइटा नाउँ पनि लेखें।
मैले भोलिपल्ट कर्मचारीहरूबाट मोजाको अर्को चाङ पाएँ। तीमध्ये एउटामा मेरो जवाफ थियो। त्यसपछि मैले गार्डहरूलाई त्यो नम्बर दिएर ती पुस्तकहरू मागें। बाइबललगायत ती पुस्तकहरू पाउँदा हामी कत्ति खुसी भयौं! बाँकी किताबचाहिं हरेक हप्ता साटासाट गर्थ्यौं तर बाइबलचाहिं राखिरहने गर्थ्यौं। गार्डहरूले यसबारे सोध्दा हामी सधैं यसो भन्थ्यौं: “यो किताब कत्ति ठूलो छ र फेरि सबैलाई पढ्न मन लाग्छ।” यसरी हामीले बाइबल पढ्न पायौं।
एक दिन एक जना अधिकारीले मलाई तिनको कार्यालयमा बोलाए। तिनी पत्याउनै नसकिने गरी नरम देखिन्थे।
“श्रीमती ह्याफनर, तपाईंको लागि एउटा शुभ-समाचार छ” तिनले भने। “तपाईं घर जान सक्नुहुन्छ। सायद भोलि नै जान सक्नुहुन्छ। रेल छ भने त आजै पनि जान सक्नुहुन्छ।”
“यो त साँच्चै कस्तो राम्रो हुनेछ” मैले जवाफ दिएँ।
“पक्कै पनि यो राम्रो हुनेछ। तपाईंको बच्चा छ अनि तपाईं उसलाई आफै हुर्काउन चाहनुहुन्छ होला” तिनले भने। त्यसपछि तिनले यसो भने, “यसको लागि यो चिठीमा हस्ताक्षर मात्र गर्नुहोस्।”
“यो के हो?” मैले सोधें।
तिनले भने, “चिन्ता नगर्नुहोस्। हस्ताक्षर गर्नुहोस् र तपाईं जान सक्नुहुन्छ।” त्यसपछि तिनले यसो भने: “घर पुग्नेबित्तिकै तपाईं जे मन लाग्छ त्यही गर्नुहोस्। तर तपाईंले अहिले आफू यहोवाको साक्षी हुन छोडेकी हुँ भनी हस्ताक्षर गर्नुपर्छ।”
म पछि हटें र दृढतापूर्वक इन्कार गरें।
“त्यसोभए तिमी यहीं मछ्र्यौ!” तिनी रिसाउँदै कराए र मलाई फिर्ता पठाए।
मे १९४३ मा मलाई बुडापेस्टको अर्कै झ्यालखानामा र त्यसपछि मारियानोस्ट्रा भन्ने गाउँमा सारियो जहाँ हामी झन्डै ७० जना ननहरूसँग मठमा बस्यौं। भोक तथा अन्य कठिनाइहरूको बावजुद हामी तिनीहरूसँग आफ्नो आशा बाँड्न उत्सुक थियौं। एक जना ननले हाम्रो सन्देशप्रति साँचो चासो देखाइन् र यसो भनिन्: “यी शिक्षाहरू साँच्चै राम्रा छन्। मैले यस्तो राम्रो कुरा पहिला कहिल्यै सुनेकी छैनँ। कृपया मलाई अझ बताउनुहोस्।” हामीले तिनलाई नयाँ संसार र त्यहाँ हुने सुन्दर जीवनबारे बतायौं। हामी कुरा गर्दै गर्दा मठको प्रमुख अर्थात् मदर सुपिरियर आइपुगिन्। जिज्ञासु ननलाई तुरुन्तै लगियो र तिनको लुगा खोलेर तिनलाई नराम्रोसँग कोर्रा लगाइयो। हाम्रो फेरि
भेट हुँदा तिनले यस्तो बिन्ती गरिन्: “यहोवाले मलाई बचाऊन् र म यहाँबाट जान पाऊँ भनेर कृपया यहोवालाई प्रार्थना गर्नुहोस्। म तपाईंहरूमध्येकै एक हुन चाहन्छु।”हाम्रो अर्को गन्तव्यस्थान डानुबे नदी नजिकै रहेको सहर कोमारमस्थित पुरानो झ्यालखाना थियो। यो ठाउँ बुडापेस्टबाट झन्डै ८० किलोमिटर पश्चिममा पर्थ्यो। त्यहाँको अवस्था अत्यन्तै नाजुक थियो। अरू थुप्रै बहिनीहरूलाई जस्तै मलाई पनि टाइफाइड भयो, रगत बान्ता भयो र म असाध्यै कमजोर भएँ। हामीसित औषधी थिएन र मलाई मेरो जीवनको अन्त यही हो जस्तो लाग्यो। तर त्यति नै बेला अधिकारीहरू कार्यालयमा काम गर्न सक्ने कसैको खोजीमा थिए। बहिनीहरूले मेरो नाउँ सिफारिस गरे। अतः मलाई केही औषधी दिइयो र स्वास्थ्यलाभ गरें।
मेरो परिवारसित पुनर्मिलन
पूर्वबाट सोभियत सेना आउन थालेपछि हामी पश्चिमतिर सर्न बाध्य भयौं। हामीले सहेको दर्दनाक परिस्थिति सबै बताउन थाल्यो भने कथा एकदमै लामो हुनेछ। थुप्रै चोटि म मृत्युको मुखैमा परें तर यहोवाले सुरक्षित राख्नुभएको कारण बचें। युद्ध सकिंदा हामी प्रागभन्दा झन्डै ८० किलोमिटर टाढा चेकको टाबोर सहरमा थियौं। मेरी नन्द माग्डेलिना र मलाई मे ३०, १९४५ मा हाम्रो घरसम्म पुग्न थप तीन हप्ता लाग्यो।
मैले टाढाबाटै मेरी सासु र मेरो प्यारो छोरा टिबरलाई चोकमा बसिरहेको देखें। मेरो आँखा रसायो र म यसो भनेर कराएँ, “टिबेके!” ऊ दोडँदै, उफ्रँदै मलाई अँगालो हाल्न आयो। “आमा! तपाईं फेरि जानुहुन्न हगि?” उसले मलाई भनेको ती नै पहिला शब्दहरू थिए र ती शब्दहरू मैले कहिल्यै बिर्सनेछैनँ।
यहोवा मेरो श्रीमान् टिबरप्रति पनि दयालु हुनुभयो। बुडापेस्टको झ्यालखानाबाट उहाँलाई अरू झन्डै १६० जना भाइहरूसँगै बोरमा रहेको श्रम शिविरमा पठाइयो। थुप्रै चोटि उहाँहरू मृत्युको मुखैमा पर्नुभयो तर समूहको रूपमा एकअर्कोलाई मदत गर्दै उहाँहरू बच्नुभयो। टिबर मभन्दा झन्डै एक महिनाअघि अप्रिल ८, १९४५ मा घर आइपुग्नुभयो।
युद्धपछि चेकोस्लोभाकियामा कम्युनिस्ट शासनको दौडान अरू ४० वर्षसम्म थप परीक्षाहरू सहन यहोवाको बलको खाँचो पऱ्यो। टिबरलाई फेरि लामो कैद सजाय सुनाइयो र उहाँविना नै मैले हाम्रो छोराको लालनपालन गर्नुपऱ्यो। उहाँको रिहाइपछि उहाँले परिभ्रमण निरीक्षकको हैसियतमा सेवा गर्नुभयो। चालीस वर्षसम्म कम्युनिस्ट शासनको दौडान हामीले आफ्नो विश्वासबारे बताउने हर अवसरको फाइदा उठायौं। हामीले थुप्रैलाई सच्चाइ सिक्न मदत गर्न सक्यौं। यसरी तिनीहरू हाम्रा आध्यात्मिक छोराछोरी भए।
सन् १९८९ मा हामीले धार्मिक स्वतन्त्रता पाउँदा हामी कत्ति हर्षित भयौं! त्यसपछिको वर्ष हाम्रो देशमा एकदमै लामो समयपछि आयोजना गरेको पहिलो अधिवेशनमा हामी उपस्थित भयौं। दशकौंसम्म आफ्नो निष्ठा कायम राखेका हजारौं भाइबहिनीहरूलाई देख्दा तिनीहरू सबैको लागि यहोवा एउटा ठूलो बलको स्रोत हुनुहुन्थ्यो भनी हामीलाई थाह भयो।
मेरो प्रिय श्रीमान् टिबर परमेश्वरप्रति आफ्नो विश्वास कायम राख्दै अक्टोबर १४, १९९३ मा बित्नुभयो र म अहिले मेरो छोरा नजिकै स्लोभाकियाको झेलेना भन्ने ठाउँमा बस्छु। शारीरिक रूपमा त म कमजोर भएकी छु तर यहोवाको बल पाएर मेरो आत्मा अझै बलियो छ। उहाँको बल पाएर नै म यस पुरानो रीतिरिवाजका परीक्षाहरू सामना गर्न सक्छु भनी पक्का छु। यसबाहेक यहोवाको अनुग्रहको कारण सधैंभरि बाँच्न सक्ने समयको म उत्कट प्रतीक्षा गर्छु।
[पृष्ठ २०-मा भएको चित्र]
मैले छोडेर जानुपरेको मेरो छोरा टिबर जुनियर (चार वर्षको हुँदा)
[पृष्ठ २१-मा भएको चित्र]
टिबर सिनियर अन्य भाइहरूसँग बोरमा
[पृष्ठ २२-मा भएको चित्र]
सन् १९४७ मा ब्रुनोमा टिबर र मेरी नन्द माग्डेलिना
[पृष्ठ २३-मा भएका चित्रहरू]
थुप्रै चोटि म मृत्युको मुखैमा परें तर यहोवाले सुरक्षित राख्नुभएको कारण बचें