चर्चको सदस्य हुनै पर्छ र?
चर्चको सदस्य हुनै पर्छ र?
‘परमेश्वरमा विश्वास गर्न कुनै एउटा चर्चको सदस्य हुनै पर्छ अथवा नियमित तवरमा चर्च धाउनै पर्छ भन्ने जरुरी छैन!’ चर्च अथवा कुनै पनि धार्मिक संगठनको सदस्यता लिने सन्दर्भमा धेरैले यस्तै महसुस गर्छन्। वास्तवमा, कतिपयको भनाइअनुसार चर्चका धार्मिक सेवाहरूमा धाउनुभन्दा खुल्ला प्रकृतिमा रमाउँदा तिनीहरू परमेश्वरसित नजिक भएको महसुस गर्छन्। आज, परमेश्वरमा विश्वास गर्न कुनै धार्मिक समूह अर्थात् सम्प्रदायसित आबद्ध हुनु जरुरी छैन भन्ने आमधारणा रहेको पाइन्छ।
यद्यपि, अन्य कतिपय चाहिं साँचो मनसायले बेग्लै दृष्टिकोण राख्छन्। परमेश्वरको अनुमोदन पाउनको लागि चर्चको सदस्यता लिनु आवश्यक मात्र होइन अपरिहार्य पनि छ भनी तिनीहरू तर्क गर्छन्। त्यसैले, कुनै धार्मिक संगठनसित आबद्ध हुनु साँच्चै आवश्यक छ कि छैन भन्ने प्रश्न केवल तथ्याङ्क अथवा जानकारी हासिल गर्ने उद्देश्यले मात्र महत्त्वपूर्ण छैन। जे होस्, यसमा परमेश्वरसितको हाम्रो सम्बन्ध मुछिएको हुनाले यसबारे परमेश्वरको दृष्टिकोण पत्ता लगाउनु के उपयुक्त नहोला र? त्यसोभए, यस सम्बन्धमा हामी उहाँको वचन बाइबलबाट के सिक्न सक्छौं?
विगतमा परमेश्वरले मानिसहरूसित कस्तो व्यवहार गर्नुभयो
झन्डै ४,४०० वर्ष अगाडि एउटा विनाशकारी जलप्रलयले सारा पृथ्वीलाई जलमग्न बनायो। यस्तो घटनालाई सजिलै बिर्सन सकिंदैन अनि विश्वभरीका मानिसहरूको प्रारम्भिक इतिहासलाई हेर्ने हो भने, जलप्रलयबारे कथाहरू रहेको पाइन्छ। विवरण फरक-फरक भए तापनि थोरै मानिस तथा केही जनावरहरू मात्र बचेका तथ्यलगायत धेरै कुराहरूमा समानता पाइन्छ।
के जलप्रलयबाट बाँचेकाहरू उक्त विनाशबाट केवल संयोगले उम्केका थिए? त्यस्तो भएको थिएन भनी बाइबल विवरणले बताउँछ। उल्लेखनीय कुरा त के छ भने, परमेश्वरले प्रत्येक व्यक्तिविशेषलाई सन्निकट जलप्रलयबारे जानकारी दिनुभएन। तर, उहाँले यसबारे नूहलाई बताउनुभयो र उनैले सन्निकट जलप्रलयबारे आफ्ना उत्पत्ति ६:१३-१६; २ पत्रुस २:५.
सहमानवहरूलाई चेतावनी दिए।—यस एकताबद्ध समूहको भाग हुनु र परमेश्वरले नूहलाई दिनुभएको निर्देशन पालन गर्नुमा बचावट निर्भर थियो। जहाजमा रहेका जनावरहरू समेत यही समूहसित सँगै रहेकाले बचेका थिए। जनावरहरूको जीवनको सुरक्षाको लागि आवश्यक प्रबन्धहरू मिलाउन नूहलाई तोकेरै निर्देशनहरू दिइएको थियो।—उत्पत्ति ६:१७-७:८.
शताब्दीयौंपछि नूहका छोरा शेमबाट आएका नूहका वंशहरू मिश्रमा दास बन्न पुगे। यद्यपि, परमेश्वरको उद्देश्य तिनीहरूलाई मुक्त गर्नु र तिनीहरूका पुर्खा अब्राहामलाई प्रतिज्ञा गरिएको भूमिमा लैजानु थियो। फेरि एक पटक, यो कुरा प्रत्येक व्यक्तिविशेषलाई बताइएन तर तिनीहरूका नेता बन्न चुनिएका मोशा अनि तिनको दाइ हारुनलाई सबैभन्दा पहिला बताइयो। (प्रस्थान ३:७-१०; ४:२७-३१) ती पहिलेका दासहरूलाई समूहगत रूपमा मिश्रबाट छुटाएर ल्याएपछि सीनै पर्वतमा परमेश्वरको व्यवस्था दिइयो अनि पछि गएर तिनीहरू नै इस्राएल राष्ट्र बने।—प्रस्थान १९:१-६.
प्रत्येक इस्राएली व्यक्तिविशेषको मुक्ति, परमेश्वरद्वारा स्थापित समूहसित संलग्न भएको अनि यस समूहका नियुक्त नेताहरूको निर्देशन पालन गरेकोले नै सम्भव भएको थियो। मिश्री व्यक्तिविशेषहरूलाई समेत परमेश्वरको अनुमोदन प्राप्त यस समूहसित संलग्न हुने अनुमति दिइयो। इस्राएलीहरूले मिश्र छोड्दा यी व्यक्तिविशेषहरू पनि तिनीहरूसितै गए र यसरी तिनीहरूले पनि परमेश्वरको आशिष्को प्रत्याशा पाए।—प्रस्थान १२:३७, ३८.
त्यसपछि प्रथम शताब्दीमा मानिसहरूलाई आफ्ना चेलाहरूको हैसियतमा जम्मा गर्नुभएर येशूले आफ्नो प्रचार गतिविधिको सुरुवात गर्नुभयो। उहाँले चेलाहरूको आवश्यकताअनुसार व्यक्तिगत रूपमा तिनीहरूलाई मायालु चासो देखाउनुभए तापनि समूहकै हैसियतमा तिनीहरूसित व्यवहार गर्नुभयो। ती ११ जना विश्वासी प्रेरितहरूलाई येशूले यसो भन्नुभयो: “तर तिमीहरू चाहिं मेरो परीक्षामा मसितै रहेकाहरू हौ, औ मेरा पिताले मेरो निम्ति नियुक्त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्त गर्छु।” (लूका २२:२८, २९) पछि, समूहगत रूपमा एक ठाउँमा भेला हुँदा नै तिनीहरूमाथि परमेश्वरको पवित्र आत्मा खन्याइयो।—प्रेरित २:१-४.
यी उदाहरणहरूले स्पष्टसित देखाउँछन् कि परमेश्वरले विगतमा जहिले पनि आफ्ना जनहरूसित एउटा संगठित समूहको हैसियतमा व्यवहार गर्नुभयो। थोरै व्यक्तिहरू जस्तै: नूह, मोशा, येशू अनि अरू केही व्यक्तिहरूसित परमेश्वरले व्यक्तिविशेषको हैसियतमा व्यवहार गर्नुभए तापनि वास्तवमा उहाँले तिनीहरूलाई एकताबद्ध समूहसित कुराकानी गर्न चलाउनुभएको थियो। परमेश्वरले आज आफ्ना सेवकहरूलाई बेग्लै ढङ्गले व्यवहार गर्नुहुन्छ भनेर विश्वास गर्ने कुनै आधार छैन। निस्सन्देह, यसले गर्दा अर्को एउटा प्रश्न उठ्छ: के जुनसुकै धार्मिक समूहसित आबद्ध भए पनि हुन्छ? हामी यस महत्त्वपूर्ण प्रश्नबारे अर्को लेखमा विचार गर्नेछौं।
[पृष्ठ ४-मा भएको चित्र]
धेरै पहिलेदेखि नै परमेश्वरले आफ्ना जनहरूसित एउटा संगठित समूहको हैसियतमा व्यवहार गर्दै आउनुभएको छ