यहोवा वफादार प्रेममा प्रशस्त हुनुहुन्छ
यहोवा वफादार प्रेममा प्रशस्त हुनुहुन्छ
“परमप्रभु . . . अति करुणामय हुनुहुन्छ।”—भजन १४५:८.
१. परमेश्वरको प्रेम कत्तिको विस्तृत छ?
“परमेश्वर प्रेम हुनुहुन्छ।” (१ यूहन्ना ४:८) मन छुने यो अभिव्यक्तिले यहोवाको शासन गर्ने शैली प्रेममा आधारित छ भनी प्रमाणित गर्छ। हुन पनि, उहाँको आज्ञा पालन नगर्ने मानवहरूले समेत उहाँले मायालु ढंगमा प्रबन्ध गर्नुभएको घाम र वृष्टिबाट लाभ उठाउँछन्! (मत्ती ५:४४, ४५) मानिसजातिप्रति परमेश्वरको प्रेमको कारण उहाँका शत्रुहरूसमेत पश्चात्ताप गरेर उहाँतर्फ फर्कन सक्छन् र जीवन प्राप्त गर्न सक्छन्। (यूहन्ना ३:१६) तथापि, उहाँलाई प्रेम गर्नेहरूले धार्मिक नयाँ संसारमा अनन्त जीवनको आनन्द उठाउन सकून् भनेर सुधार्नै नसकिने दुष्टहरूलाई यहोवाले चाँडै नाश गर्नुहुनेछ।—भजन ३७:९-११, २९; २ पत्रुस ३:१३.
२. यहोवासँग समर्पित सम्बन्धमा गाँसिएकाहरूप्रति उहाँले प्रेमको कस्तो विशेष पक्ष प्रदर्शन गर्नुहुन्छ?
२ यहोवाले आफ्ना साँचो उपासकहरूप्रति अनमोल र चिरकालीन प्रेम देखाउनुहुन्छ। “करुणा” वा “वफादार प्रेम” भनी अनुवाद गरिएको हिब्रू शब्दले त्यस्तो प्रेमलाई चित्रण गर्छ। पुरातन इस्राएलका राजा दाऊदले परमेश्वरको करुणाको अति मूल्याङ्कन गरे। आफ्नो व्यक्तिगत अनुभव र परमेश्वरले अरूसँग गर्नुभएको व्यवहार मनन गरेको आधारमा दाऊदले विश्वस्त भई यसो भन्न सके: “परमप्रभु . . . अति करुणामय [वा, “वफादार प्रेम”] हुनुहुन्छ।”—भजन १४५:८.
परमेश्वरका वफादार जनहरू चिन्ने
३, ४. (क) भजन १४५ ले हामीलाई यहोवाका वफादार जनहरू चिन्न कसरी मदत गर्छ? (ख) परमेश्वरका वफादार जनहरूले कसरी उहाँलाई “धन्य[को]” भन्छन्?
३ यहोवा परमेश्वरको सन्दर्भमा अगमवक्ता शमूएलकी आमा हन्नाले यसो भनिन्: “उहाँले आफ्ना पवित्र जनहरूका [“वफादार जनहरू,” NW] पाइलालाई रक्षा गर्नुहुन्छ।” (१ शमूएल २:९) त्यस्ता “वफादार जनहरू” को हुन्? राजा दाऊदले यसको जवाफ दिन्छन्। यहोवाका अद्भुत गुणहरूको वर्णन गरेपछि तिनी यस्तो उल्लेख गर्छन्: “तपाईंका भक्त जनहरूले [“वफादार जनहरू,” NW] तपाईंलाई धन्यको भन्नेछन्।” तिनीहरूले मुख्यतया उहाँको प्रशंसा गरेर वा उहाँबारे असल कुरा गरेर उहाँलाई धन्यको भन्छन्।—भजन १४५:१०.
४ अतः यहोवाका वफादार जनहरू को हुन् भन्ने कुरा स्पष्ट छ किनभने तिनीहरू उहाँबारे असल कुरा गर्छन्। सामाजिक जमघट र मसीही सभाहरूमा सामान्यतया तिनीहरूको कुराकानीको विषय के हुन्छ? निस्सन्देह, परमेश्वरको राज्य! परमेश्वरका वफादार जनहरू दाऊदका भावनाहरूसित सहमत छन् जसले यस्तो गाए: “तिनीहरूले तपाईंको [यहोवाको] राज्यको महिमाको वर्णन गर्नेछन्। र तपाईंको शक्तिको कुरा गर्नेछन्।”—भजन १४५:११.
५. आफ्ना वफादार जनहरूले उहाँबारे असल कुरा गर्दा यहोवाले याद गर्नुहुन्छ भनी हामी कसरी थाह पाउँछौं?
५ आफ्ना वफादार जनहरूले उहाँको प्रशंसा गर्दा के यहोवाले याद गर्नुहुन्छ? हो, गर्नुहुन्छ र तिनीहरूले भन्ने कुरालाई उहाँ ध्यान दिनुहुन्छ। हाम्रो समयमा साँचो उपासनासित सम्बन्धित भविष्यवाणीमा मलाकीले यस्तो लेखे: “तब परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो, औ उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूका नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।” (मलाकी ३:१६) आफ्ना वफादार जनहरूले उहाँबारे असल कुरा गर्दा यहोवा एकदमै प्रसन्न हुनुहुन्छ र उहाँले तिनीहरूलाई सम्झनुहुन्छ।
६. कस्ता क्रियाकलापहरूले परमेश्वरका वफादार जनहरू चिन्न मदत दिन्छ?
६ यहोवाका वफादार जनहरू को हुन् भनी चिन्ने अर्को तरिका, तिनीहरूले जो साँचो परमेश्वरका उपासक होइनन् उनीहरूसँग कुरा गर्न देखाउने साहस र अग्रसरता हो। साँच्चै, परमेश्वरका वफादार जनहरूले “उहाँका शक्तिशाली कार्यहरू र उहाँका राज्यको शाही महिमा मानिसहरूका सन्तानलाई जनाउनेछन्।” (भजन १४५:१२) के तपाईं यहोवाको राज्यबारे अपरिचित व्यक्तिहरूसित कुरा गर्ने अवसरहरूको खोजी गर्नुका साथै त्यसको पूर्ण सदुपयोग गर्नुहुन्छ? चाँडै बितिजाने मानव सरकारहरूजस्तो नभई उहाँको राज्य अनन्तसम्म रहिरहन्छ। (१ तिमोथी १:१७) मानिसहरूले यहोवाको अनन्त राज्यबारे जान्नु र उहाँको समर्थकको रूपमा आफ्नो अडान लिनु अत्यन्तै जरुरी छ। “तपाईंको राज्य अमर छ, र तपाईंको प्रभुत्व सबै पुस्तासम्म रहिरहनेछ” भनी राजा दाऊदले गाए।—भजन १४५:१३.
७, ८. सन् १९१४ मा के भयो र परमेश्वरले अहिले उहाँको पुत्रको राज्यमार्फत शासन गरिरहनुभएको छ भन्ने कस्तो प्रमाण छ?
७ सन् १९१४ देखि यहोवाको राज्यबारे कुरा गर्ने थप कारण पाइएको छ। त्यस वर्ष, परमेश्वरले दाऊदका पुत्र, येशू ख्रीष्टलाई राजाको रूपमा नियुक्त गर्नुभएर स्वर्गमा मसीही राज्यको स्थापना गर्नुभयो। दाऊदको राज्य सधैंको निम्ति स्थिर रहनेछ भन्ने आफ्नो प्रतिज्ञा यहोवाले यसरी पूरा गर्नुभयो।—२ शमूएल ७:१२, १३; लूका १:३२, ३३.
८ यहोवाले आफ्नो पुत्र येशू ख्रीष्टको राज्यमार्फत शासन गरिरहनुभएको छ भन्ने कुराको प्रमाण अहिले पूरा भइरहेको येशूको उपस्थितिको चिह्नबाट स्पष्ट हुन्छ। त्यस चिह्नको सबैभन्दा उल्लेखनीय पक्ष भनेको परमेश्वरका सबै वफादार जनहरूले गर्नुपर्ने कामबारे येशूले गर्नुभएको भविष्यवाणी थियो। उहाँले त्यसबारे यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:३-१४) परमेश्वरका वफादार जनहरूले जोसका साथ त्यो भविष्यवाणी पूरा गरिरहेको हुँदा अहिले ६० लाखभन्दा बढी पुरुष, स्त्री र केटाकेटीले पछि कहिल्यै नदोहोरिने यस महान् कार्यमा भाग लिइरहेका छन्। चाँडै यहोवाको राज्यका सबै विरोधीहरूको अन्त हुनेछ।—प्रकाश ११:१५, १८.
यहोवाको सार्वभौमिकताबाट लाभ उठाउने
९, १०. यहोवा र मानव शासकहरूबीच कस्तो भिन्नता छ?
९ हामी समर्पित मसीहीहरू हौं भने सर्वोच्च परमेश्वर यहोवासँगको हाम्रो सम्बन्धबाट थुप्रै लाभहरू उठाउँछौं। (भजन ७१:५; ११६:१२) उदाहरणका लागि, हामीले यहोवाको भय मान्ने र धार्मिकता व्यवहारमा उतार्ने भएकोले हामीले उहाँको अनुमोदनको आनन्द उठाउँछौं र आध्यात्मिक तवरमा उहाँसँग नजिक हुन्छौं। (प्रेरित १०:३४, ३५; याकूब ४:८) यसको विपरीत, मानव शासकहरू अक्सर सैन्य नेता, धनी व्यापारी वा खलेकुद र मनोरञ्जन क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको संगतिमा देखिन्छन्। एउटा अफ्रिकी अखबार सोवेटान-अनुसार एक जना शक्तिशाली सरकारी अधिकारीले आफ्नो देशका गरिब इलाकाहरूबारे यसो भने: “हामीमध्ये अधिकांश त्यस्तो इलाकामा जान नचाहनुको कारण म बुझ्छु। कुरा के हो भने हामी त्यस्तो इलाका वास्तवमा छ भन्ने तथ्यलाई बिर्सन चाहन्छौं। यसले हाम्रो अन्तस्करणलाई पिरोल्छ र हामीले हाँक्ने विलासी [सवारीसाधनले] गर्दा हामीलाई अप्ठ्यारो लाग्छ।”
१० निस्सन्देह, कोही-कोही मानव शासकहरू आफ्ना प्रजाको हितबारे साँच्चै चासो राख्छन्। तर तिनीहरूमध्ये सबैभन्दा असल शासकले पनि आफ्ना प्रजाहरूलाई नजिकबाट चिनेका हुँदैनन्। त्यसैकारण हामी यस्तो प्रश्न गर्न सक्छौं: के त्यस्तो कुनै शासक छ जसले आफ्ना सबै प्रजाको अत्यन्तै ख्याल राख्छ अनि तिनीहरूमध्ये कोही पनि समस्यामा पर्दा मदत गर्न तुरुन्तै आइहाल्छ? हो, छ। दाऊदले लेखे: “पतन भएकाहरू सबैलाई परमप्रभुले सह्माल्नुहुन्छ, निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ।”—भजन १४५:१४.
११. परमेश्वरका वफादार जनहरूमाथि कस्ता परीक्षाहरू आइपर्छन् र तिनीहरूले कस्तो मदत पाउन सक्छन्?
११ यहोवा परमेश्वरका वफादार जनहरूमाथि थुप्रै परीक्षा तथा विपत्तिहरू आइपर्नुको कारण तिनीहरूको आफ्नै असिद्धता अनि तिनीहरू “दुष्ट” शैतानको अधीनमा रहेको संसारमा बाँचिरहेकाले हो। (१ यूहन्ना ५:१९; भजन ३४:१९) मसीहीहरूले सतावट भोग्छन्। कोही-कोही दीर्घ रोगबाट पीडित वा शोकाकुल छन्। कहिलेकाहीं यहोवाका वफादार जनहरूको गल्तीको कारण तिनीहरू निरुत्साहले ‘निहुरिएका’ हुन सक्छन्। तथापि, तिनीहरूमाथि जस्तोसुकै परीक्षा आइपरे तापनि यहोवा तिनीहरू प्रत्येकलाई सान्त्वना र आध्यात्मिक मदत दिन सधैं तयार हुनुहुन्छ। राजा येशू ख्रीष्टले आफ्ना वफादार प्रजाहरूमा त्यस्तै मायालु चासो राख्नुहुन्छ।—भजन ७२:१२-१४.
ठीक समयमा सन्तोषजनक आहार
१२, १३. यहोवाले “सबै जीवित प्राणी[को]” आवश्यकता कत्तिको राम्ररी पूरा गर्नुहुन्छ?
१२ उहाँ करुणामा प्रशस्त हुनुभएको कारण यहोवाले आफ्ना सेवकहरूको सबै आवश्यकताहरू पूरा गरिदिनुहुन्छ। यसमा तिनीहरूलाई पोसिलो आहारले सन्तुष्ट पार्नु पनि समावेश छ। राजा दाऊदले यस्तो लेखे: “सबैका आँखाले तपाईंकै [यहोवाको] बाटो हेर्दछन्। र तपाईंले तिनीहरूलाई ठीक समयमा आहार दिनुहुन्छ। तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजन १४५:१५, १६) विपत्तिको समयमा समेत यहोवाले “हामीलाई दिनदिनै हाम्रा दिनहुँको भोजन” प्रबन्ध गर्न परिस्थितिलाई मोड्न सक्नुहुन्छ।—लूका ११:३; १२:२९, ३०.
१३ दाऊदले “सबै जीवित प्राणी” सन्तुष्ट हुनेछन् भनी उल्लेख गरे। त्यसमा पशुहरू पनि समावेश छन्। पृथ्वीको जल र स्थलमा प्रशस्त वनस्पति र बोटबिरुवा नहुँदो हो त, जलप्राणी, चराचुरुङ्गी र जमिनमा बस्ने पशुहरूले सास फेर्न अक्सिजन र खान आहार पाउँदैनथे। (भजन १०४:१४) तथापि, यहोवाले तिनीहरूको आवश्यकता पूरा गर्ने प्रबन्ध मिलाउनुहुन्छ।
१४, १५. आज आध्यात्मिक भोजन कसरी प्रबन्ध गरिंदैछ?
१४ तर पशुहरूको जस्तो नभई मानवहरूको आध्यात्मिक आवश्यकता पनि हुन्छन्। (मत्ती ५:३) यहोवाले कस्तो अद्भुत ढङ्गमा आफ्ना वफादार जनहरूको आध्यात्मिक आवश्यकता पूरा गर्नुहुन्छ! “विश्वासी र बुद्धिमान दास[ले]” येशूका अनुयायीहरूलाई “ठीक ठीक समयमा” आध्यात्मिक भोजन उपलब्ध गर्नेछ भनी येशूले आफ्नो मृत्यु हुनुअघि प्रतिज्ञा गर्नुभयो। (मत्ती २४:४५) आज १,४४,००० का शेष अभिषिक्त जनहरू मिलेर त्यस दास वर्ग बनेको छ। तिनीहरू मार्फत यहोवाले साँच्चै प्रशस्त मात्रामा आध्यात्मिक भोजन उपलब्ध गराउनुभएको छ।
१५ उदाहरणका लागि, यहोवाका जनहरूमध्ये थुप्रैले आज आफ्नै भाषामा बाइबलको नयाँ र सही अनुवादबाट लाभ उठाइरहेका छन्। न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स कस्तो अद्भुत आशिष् साबित भएको छ! यसबाहेक, ३०० भन्दा बढी भाषाहरूमा लाखौं बाइबल अध्ययन सहायकहरू प्रकाशित भइरहेका छन्। यी सबै आध्यात्मिक भोजन संसारभरिका साँचो उपासकहरूका लागि आशिष् साबित भएका छन्। यी सबैको लागि श्रेय पाउने योग्यको को हुनुहुन्छ? यहोवा परमेश्वर। उहाँको महान् करुणाको कारण दास वर्गले “ठीक समयमा आहार” उपलब्ध गराउन सकेका छन्। त्यस्ता प्रबन्धहरू मार्फत वर्तमान आध्यात्मिक प्रमोदवनमा “सबै जीवित प्राणीहरूको इच्छा” सन्तुष्ट हुन्छ। अनि पृथ्वी चाँडै नै साँच्चैको प्रमोदवनमा परिणत भएको हेर्न पाउने प्रत्याशामा यहोवाका सेवकहरू औधी रमाउँछन्!—लूका २३:४२, ४३.
१६, १७. (क) ठीक समयमा आध्यात्मिक भोजन पाएका कस्ता उदाहरणहरू छन्? (ख) शैतानले खडा गरेको मुख्य विवादको सन्दर्भमा परमेश्वरका वफादार जनहरूको भावना भजन १४५ ले कसरी व्यक्त गर्छ?
१६ आध्यात्मिक भोजन ठीक समयमा प्राप्त भएको एउटा उल्लेखनीय उदाहरणलाई विचार गर्नुहोस्। सन् १९३९ को दौडान युरोपमा दोस्रो विश्वयुद्ध सुरु भयो। सोही वर्ष प्रहरीधरहरा-को नोभेम्बर १ अंकमा “तटस्थता” भन्ने शीर्षकमा एउटा लेख छापिएको थियो। त्यस लेखमा प्रस्तुत गरिएको सुस्पष्ट जानकारीको कारण संसारभरिका यहोवाका साक्षीहरूले युद्धरत राष्ट्रहरूको गतिविधिमा पूर्णतया तटस्थ रहनुपर्ने महत्त्वलाई बुझे। यसको कारण छ वर्षसम्म चलेको युद्ध अवधिभरि नै तिनीहरूले दुवै पक्षका सरकारहरूको क्रोध खप्नुपऱ्यो। तथापि, प्रतिबन्ध र सतावटको बावजुद परमेश्वरका वफादार जनहरूले परमेश्वरको राज्यको सुसमाचार प्रचार गरी नै रहे। सन् १९३९ देखि १९४६ सम्ममा तिनीहरूले १५७ प्रतिशत वृद्धिको अनुभव गर्नु अचम्मको कुरा थियो। यसबाहेक, त्यस युद्धको दौडान तिनीहरूको निष्ठाको उल्लेखनीय रेकर्डले गर्दा मानिसहरूले अहिलेसम्म पनि साँचो धर्म चिन्न मदत पाएका छन्।—यशैया २:२-४.
१७ यहोवाले प्रबन्ध गर्नुहुने आध्यात्मिक भोजन समय सुहाउँदो मात्र होइन तर अत्यन्तै सन्तोषजनक पनि छ। दोस्रो विश्वयुद्धको दौडान राष्ट्रहरू युद्धमा पूरै होम्मिएको बेला यहोवाका जनहरूलाई आफ्नो बचाउभन्दा अत्यन्तै महत्त्वपूर्ण काममा केन्द्रित हुन मदत गरियो। यहोवाले तिनीहरूलाई पूरा ब्रह्माण्ड मुछिएको मुख्य विवाद बुझ्न मदत दिनुभयो र त्यो, यहोवाको वैध सार्वभौमिकतासित सम्बन्धित थियो। आफ्नो वफादारिताबाट यहोवाका प्रत्येक साक्षीले यहोवाको सार्वभौमिकता उच्च पार्ने र दियाबल झूटा हो भनी प्रमाणित गर्ने कार्यमा एउटा सानो भाग पाएको थाह पाउनु कस्तो सन्तोषजनक कुरा हो! (हितोपदेश २७:११) यहोवा र उहाँको शासन शैलीको विरोध गर्ने शैतान जस्तो नभई यहोवाका वफादार जनहरूले सार्वजनिक रूपमा यसरी घोषणा गरिरहेका छन्: “परमप्रभु आफ्ना सब मार्गमा धार्मिक . . . हुनुहुन्छ।”—भजन १४५:१७.
१८. सामयिक र अत्यन्तै सन्तोषजनक आध्यात्मिक भोजनबारे हालैको कस्तो उदाहरण छ?
१८ सामयिक र सन्तोषजनक आध्यात्मिक भोजनको अर्को उदाहरण ड्र क्लोज टु जेहोभा (अंग्रेजी) नामक पुस्तक हो जुन विश्वभरि २००२/०३ मा आयोजित “परमेश्वरको राज्यका जोसिला उद्घोषकहरू” भन्ने सयौं जिल्ला अधिवेशनहरूमा विमोचन गरिएको थियो। “विश्वासी र बुद्धिमान दास[द्वारा]” उत्पादन गरिएको र यहोवाका साक्षीहरूद्वारा मुद्रित यो पुस्तकमा भजन १४५ मा उल्लिखित गुणहरूलगायत यहोवा परमेश्वरका अन्य अद्भुत गुणहरूमा ध्यान केन्द्रित गरिएको छ। यस उत्तम पुस्तकले परमेश्वरका वफादार जनहरूलाई उहाँसँग अझ नजिक हुन पक्कै पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
यहोवासँग अझ नजिक हुने समय
१९. कस्तो निर्णायक घडी नजिक आउँदैछ र यसको सामना हामीले कसरी गर्न सक्छौं?
१९ यहोवाको सार्वभौमिकताको विवादलाई सुल्झाउने निर्णायक घडी नजिक आउँदैछ। इजकिएल ३८ अध्यायमा भविष्यवाणी गरिएझैं शैतानले चाँडै ‘मागोग देशको गोगको’ रूपमा आफ्नो भूमिका पूरा गर्नेछ। यसअन्तर्गत यहोवाका जनहरूमाथि विश्वव्यापी आक्रमण हुनेछ। यो, शैतानको पक्षबाट परमेश्वरका वफादार जनहरूको निष्ठा चकनाचूर पार्ने भरमग्दुर प्रयास हुनेछ। अनि यहोवाका उपासकहरूले पहिला कहिल्यै नगरेको हदसम्म मदतको लागि उहाँलाई निष्कपटतासाथ पुकार्नु र गुहार्नु समेत पर्नेछ। के तिनीहरूको परमेश्वरप्रतिको श्रेद्धेय भय र उहाँप्रतिको प्रेम बेकार साबित हुनेछ? पटक्कै हुनेछैन किनभने भजन १४५ यसो भन्छ: “उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकारने सबैका नजीक। उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुनेछ। तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।”—भजन १४५:१८-२०.
२०. निकट भविष्यमा भजन १४५:१८-२० का शब्दहरू कसरी साँचो साबित हुनेछ?
२० यहोवाले सबै दुष्टहरूलाई नाश गर्नुहुँदा उहाँसँगको निकटता र उहाँको सुरक्षात्मक शक्तिको अनुभव गर्न पाउनु कत्ति रोमाञ्चकारी हुनेछ! अत्यन्तै निकट त्यस निर्णायक घडीमा यहोवा केवल “उहाँलाई साँचोसित पुकारने सबैका नजीक” हुनुहुनेछ। उहाँले कपटीहरूको पुकारा पटक्कै सुन्नुहुनेछैन। केही सीप नलागेपछि दुष्टहरूले अन्तमा उहाँको नाउँ पुकार्दा सधैं बेकार साबित भएको परमेश्वरको वचनले स्पष्टसँग देखाउँछ।—हितोपदेश १:२८, २९; मीका ३:४; लूका १३:२४, २५.
२१. यहोवाका वफादार जनहरूले ईश्वरीय नाउँ प्रयोग गर्न पाएकोमा रमाइरहेका छन् भनेर कसरी देखाउँछन्?
२१ यहोवाको भय मान्नेहरूले ‘उहाँलाई साँचोसित पुकार्नु’ अहिलेजति जरुरी पहिला कहिल्यै भएको थिएन। उहाँका वफादार जनहरू आफ्ना प्रार्थना र सभाहरूमा गरिने टिप्पणीहरूमा उहाँको नाउँ प्रयोग गर्न रमाउँछन्। तिनीहरूले व्यक्तिगत कुराकानीमा पनि ईश्वरीय नाउँ प्रयोग गर्छन्। अनि तिनीहरूले आफ्नो सार्वजनिक सेवकाईमा साहसका साथ यहोवाको नाउँ घोषणा गर्छन्।—रोमी १०:१०, १३-१५.
२२. सांसारिक मनोवृत्ति तथा इच्छाहरूको प्रतिरोध गरिरहनु किन अत्यावश्यक छ?
२२ यहोवा परमेश्वरसँग हाम्रो नजिकको सम्बन्धबाट लाभ उठाइरहन भौतिकवाद, अस्वास्थ्यकर मनोरञ्जन, अरूलाई क्षमा नदिने मनोभाव वा खाँचोमा परेकाहरूप्रति भावशून्य हुने जस्ता आध्यात्मिक तवरमा घातक कुराहरूको हामीले प्रतिरोध गर्नु अत्यावश्यक छ। (१ यूहन्ना २:१५-१७; ३:१५-१७) त्यस्ता दौडधूप तथा बानीलाई सच्याइएन भने गम्भीर पापमा फस्न सकिन्छ र अन्ततः यहोवाको अनुमोदन गुमाइन्छ। (१ यूहन्ना २:१, २; ३:६) हामीले कुन कुरा मनमा राख्नु बुद्धिमानी हुनेछ भने, हामी जबसम्म यहोवाप्रति वफादार रहन्छौं तबसम्म मात्र उहाँले हामीलाई करुणा वा वफादार प्रेम देखाउनुहुन्छ।—२ शमूएल २२:२६.
२३. परमेश्वरका सबै वफादार जनहरू कस्तो महान् भविष्यको पर्खाइमा छन्?
२३ त्यसकारण आउनुहोस्, यहोवाका सबै वफादार जनहरूले पर्खिरहेको महान् भविष्यमा हामी आफ्नो ध्यान केन्द्रित गरौं। यसो गर्दा दिन “प्रतिदिन” र “सदा सर्वदा[का]” लागि समेत यहोवाको प्रशंसा, स्तुति र धन्यका भन्नेहरू माझ हुने अद्भुत प्रत्याशा हामीले पाउँछौं। (भजन १४५:१, २) त्यसकारण, ‘अनन्त जीवनको आशा राखी, परमेश्वरको प्रेममा आफूलाई राखिछोडौं।’ (यहूदा २०, २१) स्वर्गमा हुनुहुने हाम्रो पिताले उहाँलाई प्रेम गर्नेप्रति देखाउनुहुने महान् करुणालगायत अन्य अद्भुत गुणहरूबाट लाभ उठाउँदै हाम्रा भावनाहरू पनि भजन १४५ को अन्तमा व्यक्त गरिएको दाऊदका शब्दहरू जस्तै हुन सकून्: “मेरो मुखले परमप्रभुको प्रशंसाको बयान गर्नेछ। र सारा प्राणीले सधैंको निम्ति उहाँको पवित्र नाउँलाई धन्यको भनून्।”
तपाईं कसरी जवाफ दिनुहुनेछ?
• भजन १४५ ले कसरी परमेश्वरका वफादार जनहरूलाई चिन्न मदत गर्छ?
• यहोवाले कसरी ‘सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट’ पार्नुहुन्छ?
• हामी किन यहोवासँग अझ नजिक हुनुपर्छ?
[प्रश्नहरू]
[पृष्ठ १६-मा भएको चित्र]
परमेश्वरका वफादार जनहरू उहाँका शक्तिशाली कार्यहरूबारे कुरा गर्न रमाउँछन्
[पृष्ठ १७-मा भएको चित्र]
यहोवाका सेवकहरूले साहसका साथ अपरिचित व्यक्तिहरूलाई उहाँको राज्यको महिमाबारे सिक्न मदत गर्छन्
[पृष्ठ १८-मा भएका चित्रहरू]
यहोवाले “सबै जीवित प्राणीहरूको” लागि आहार प्रबन्ध गर्नुहुन्छ
[स्रोत]
Animals: Parque de la Naturaleza de Cabárceno
[पृष्ठ १९-मा भएको चित्र]
यहोवाले प्रार्थनामा उहाँको मदत खोज्ने आफ्ना वफादार जनहरूलाई बल र डोऱ्याइ प्रदान गर्नुहुन्छ