तपाईं कसका प्रतिज्ञाहरूमा भरोसा गर्न सक्नुहुन्छ?
तपाईं कसका प्रतिज्ञाहरूमा भरोसा गर्न सक्नुहुन्छ?
“तिनका प्रतिज्ञाहरू त्यतिबेला तिनीजस्तै पराक्रमी थिए; तर अहिले तिनको कार्य, तिनीजस्तै शून्य छ।”—विलियम सेक्सपियरद्वारा लेखिएको किङ हेनरी द एट्थ (अंग्रेजी)।
सेक्सपियरले उल्लेख गरेका पराक्रमी प्रतिज्ञाहरू, १६ औं शताब्दीको दौडान बेलाइतमाथि ठूलो राजनैतिक शक्ति जमाएका अंग्रेज कार्डिनल थोमस वल्सेले गरेका प्रतिज्ञाहरू थिए। सेक्सपियरको भनाइ, अचेल सुनिने अधिकांश प्रतिज्ञाहरूसित पनि मेल खान्छ भनेर कसै-कसैले भन्लान्। बारम्बार मानिसहरूसित तीनथुप्रो प्रतिज्ञाहरू गरिन्छन् तर तीमध्ये कमै मात्र पूरा गरिन्छ। यसर्थ, कुनै पनि प्रतिज्ञाबारे तिनीहरूले शंका-उपशंका गर्नुको कारण बुझ्न खासै गाह्रो छैन।
निराशा व्याप्त छ
उदाहरणका लागि, सन् १९९० दशकको दौडान बाल्कन क्षेत्रमा डरलाग्दो द्वन्द्व चर्किंदा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बोस्नियाको एउटा सहर, स्रेब्रिनिकालाई “सुरक्षित क्षेत्र” घोषणा गऱ्यो। त्यो, अन्तरराष्ट्रिय समुदायले दिएको भरपर्दो प्रत्याभूति जस्तो देखिन्थ्यो। स्रेब्रिनिकाका हजारौं मुसलमान शरणार्थीहरूले पनि त्यस्तै सोचेका थिए। तथापि, अन्तमा गएर सुरक्षाको प्रतिज्ञाले कुनै अर्थ राखेन। (भजन १४६:३) सन् १९९५ जुलाईमा आक्रमणकारी सेनाहरूले संयुक्त राष्ट्रसंघका सेनाहरूलाई सजिलै पाखा लगाए र सहरमा कब्जा जमाए। छ हजारभन्दा बढी मुसलमानहरू बेपत्ता भए र कम्तीमा १,२०० सर्वसाधारण मुसलमानहरूको हत्या गरियो।
जीवनको हर पक्ष खोक्रो प्रतिज्ञाले भरिएको छ। मानिसहरू आजका “झूटा तथा छक्याउने किसिमका अनगिन्ती विज्ञापनहरूद्वारा” ठगिएको महसुस गर्छन्। तिनीहरू “हजारौं राजनीतिज्ञहरूले चुनावको बेला गरेका खोक्रा प्रतिज्ञाहरूदेखि” दिक्क भइसकेका छन्। (द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका, खण्ड १५, पृष्ठ ३७) भरोसा गरिएका धार्मिक नेताहरू आफ्नो बगालको हेरचाह गर्ने प्रतिज्ञा त गर्छन् तर तिनीहरूले नै आफ्नो बगालसित अत्यन्त घिनलाग्दो दुर्व्यवहार गर्छन्। शिक्षा तथा चिकित्साजगत् जस्ता अरूप्रति करुणा अनि चासो देखाइन्छ भन्ठानिने पेसाहरूमा समेत कसै-कसैले आफ्नो हेरविचारमा भएका व्यक्तिहरूलाई विश्वासघात गर्नुका साथै तिनीहरूको शोषण अथवा हत्यासमेत गरेका छन्। त्यसैकारण बाइबलले हामीलाई सुनेको एक-एक कुरा पत्याउनदेखि सजग गराउँछ!—हितोपदेश १४:१५.
पूरा गरिने प्रतिज्ञाहरू
निस्सन्देह, थुप्रै मानिसहरूले ठूलै मूल्य चुकाएर भए पनि आफ्नो वचन पूरा गर्छन्। (भजन १५:४) तिनीहरूको वचन ग्यारेन्टी सरह हुन्छ र तिनीहरूले यसको कदर गर्छन्। अन्य कतिपयले चाहिं आफूले गरेका प्रतिज्ञाहरू असल मनसायसाथ निष्कपट भई पूरा गर्न चाहन्छन्। तिनीहरू आफूले प्रतिज्ञा गरेको कुरा पूरा गर्न तयार हुनुका साथै इच्छुक त हुन्छन् तर त्यसो गर्न भने असक्षम हुन्छन्। परिस्थितिले एकदमै राम्रा योजनाहरू समेत निराशामा परिणत गर्न सक्छ।—हितोपदेश ९:११.
कारण जेसुकै होस्, थुप्रै मानिसहरूलाई कुनै पनि व्यक्तिका प्रतिज्ञाहरूमा विश्वास गर्न एकदमै गाह्रो लाग्छ भन्ने कुराचाहिं ध्रुव सत्य हो। त्यसैकारण यस्तो प्रश्न उठ्छ: के हामीले भरोसा गर्न सक्ने त्यस्ता कुनै प्रतिज्ञाहरू छन्? छन्। हामी परमेश्वरको वचन बाइबलमा पाइने प्रतिज्ञाहरूमा भरोसा राख्न सक्छौं। यस विषयमा दोस्रो लेखले के भन्छ, जाँचेर हेर्नुभए कसो होला? साँच्चै परमेश्वरका प्रतिज्ञाहरूमा भरोसा गर्न सक्ने रहेछौं भनेर लाखौं मानिसहरू निष्कर्षमा पुगेझैं तपाईं पनि पुग्न सक्नुहुनेछ।
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
AP Photo/Amel Emric