सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

धैर्य र लगनशीलताबाट इनामदायी परिणामहरू

धैर्य र लगनशीलताबाट इनामदायी परिणामहरू

राज्य उद्‌घोषकहरूको रिपोर्ट

धैर्य र लगनशीलताबाट इनामदायी परिणामहरू

येशू ख्रीष्टले अन्तिम दिनमा “धेरैको प्रेम [सेलाउनेछ]” भनेर भविष्यवाणी गर्नुभयो। परिणामस्वरूप आज संसारका थुप्रै भागहरूमा धेरैजसो मानिसहरू राज्य सन्देशप्रति भावशून्य छन्‌। कसै-कसैले धर्मलाई त अझ हेयको दृष्टिले समेत हेर्छन्‌।—मत्ती २४:१२, १४.

त्यसो भए तापनि, चेक गणतन्त्रबाट प्राप्त निम्न उदाहरणले देखाएझैं विश्‍वास र धैर्यका कारण राज्य प्रकाशकहरूले यस्तो चुनौतीको सफलतापूर्वक सामना गरिरहेका छन्‌।

दुई जना साक्षीले एउटी महिलासित बन्द ढोकाबाटै कुरा गरे। केही छिनपछि त्यो ढोका अलिकति खुलेर एउटा हात बाहिर निस्क्यो र साक्षीहरूले दिन लागेको प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिकालाई च्याप्प समात्यो। त्यसपछि एउटा आवाजले “धन्यवाद” भन्यो र ढोका ढ्याम्म बन्द भयो। “पछि फेरि भेट्‌न आउनुपर्ला र?” भनेर ती साक्षीहरूले सोच्न थाले। तिनीहरूमध्ये एक जना, अग्रगामी अर्थात्‌ पूर्ण-समय सेवकले त्यहाँ फेरि जाने निर्णय गरिन्‌ तर पुनः त्यस्तै भयो र यही प्रक्रिया वर्षभर चल्यो।

आफ्नो शैलीलाई परिवर्तन गर्नुपर्छ भन्‍ने निर्णय गरेपछि ती अग्रगामीले मदतको लागि यहोवालाई प्रार्थना गरिन्‌। अर्को पल्टको भेटमा तिनले पत्रिका दिंदै ती आइमाईलाई मित्रैलो भई यस्ता प्रश्‍नहरू सोधिन्‌: “तपाईंलाई कस्तो छ? तपाईंलाई पत्रिकाहरू कस्तो लाग्यो?” सुरुमा त कुनै जवाफ आएन तर अरू केही भेटपछि भने ती महिला मित्रैलो हुन थालिन्‌। एकपल्ट तिनले ढोका पूरै खोलिन्‌ तैपनि वार्तालाप भने एकदमै छोटो थियो।

ती आइमाई ढोकामा कुरा गर्न अनिच्छुक भएको कुरालाई ध्यानमा राख्दै ती अग्रगामीले त्यस आइमाईलाई आफू बारम्बार आउनुको उद्देश्‍यबारे उल्लेख गर्दै गृह बाइबल अध्ययनको लागि प्रस्ताव राखेर एउटा पत्र लेख्ने निधो गरिन्‌। अन्ततः साढेएक वर्ष धैर्य धारण गर्दै कठिन प्रयास गरेपछि त्यस घरधनीसित ती अग्रगामी बाइबल अध्ययन सुरु गर्न सफल भईन्‌। पछि ती आइमाईले यसो भनेको सुन्दा तिनी छक्क परिन्‌ साथै प्रोत्साहन पनि पाइन्‌: “तपाईंले मकहाँ पत्रिका ल्याउन थाल्नुभएदेखि नै परमेश्‍वरमाथि मैले विश्‍वास गरेकी हुँ।”

साँच्चै, धैर्य र लगनशीलताले राज्य प्रचारकार्य र चेला बनाउने कार्यमा इनामदायी परिणामहरू ल्याउन सक्छ।—मत्ती २८:१९, २०.