सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“परमेश्‍वरको नजीक आओ”

“परमेश्‍वरको नजीक आओ”

“परमेश्‍वरको नजीक आओ”

“परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.

१, २. (क) मानिसहरूले अक्सर कस्तो दाबी गर्छन्‌? (ख) याकूबले कस्तो आग्रह गरे र किन यसको आवश्‍यकता पऱ्‍यो?

 परमेश्‍वर हामीसित हुनुहुन्छ।” राष्ट्रिय प्रतीक र सिपाहीहरूका पोसाकसमेत यी शब्दहरूले सजिएका छन्‌। अनि आजकलका असंख्य सिक्का तथा नोटहरूमा “हामी परमेश्‍वरमाथि भरोसा राख्छौं” भनी छापिएका छन्‌। मानिसहरूले परमेश्‍वरसित आफ्नो घनिष्ठ सम्बन्ध छ भन्‍न त भन्छन्‌। तथापि, वास्तवमै यस्तो सम्बन्ध हुन यसबारे कुरा गर्नु वा नारा घन्काउनु मात्र पर्याप्त छैन भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र?

बाइबलले परमेश्‍वरसित सम्बन्ध गाँस्न सम्भव छ भनी देखाउँछ। तथापि, यसको लागि प्रयत्न चाहिन्छ। प्रथम शताब्दीका केही अभिषिक्‍त मसीहीहरूले समेत यहोवा परमेश्‍वरसँगको आफ्नो सम्बन्ध बलियो बनाउनु आवश्‍यक परेको थियो। मसीही निरीक्षक याकूबले कोही-कोहीलाई तिनीहरूको शारीरिक झुकाव र आध्यात्मिक अशुद्धताबारे चेतावनी दिनुपऱ्‍यो। उक्‍त सल्लाह दिनुका साथै तिनले यो जोडदार आग्रह पनि गरे: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूको नजीक आउनुहुनेछ।” (याकूब ४:१-१२) याकूबले “नजीक आओ” भन्‍नुको अर्थ के हो?

३, ४. (क) “परमेश्‍वरको नजीक आओ” भन्‍ने अभिव्यक्‍तिले याकूबका प्रथम शताब्दीका पाठकहरूलाई कुन कुरा सम्झाएको हुनुपर्छ? (ख) परमेश्‍वरसामु जान सम्भव छ भनी हामी किन आश्‍वस्त हुन सक्छौं?

याकूबले आफ्ना अधिकांश पाठकहरूले सजिलै बुझ्न सक्ने अभिव्यक्‍ति चलाए। मोशालाई दिइएको व्यवस्थाले पूजाहारीहरूलाई मानिसहरूको तर्फबाट कसरी यहोवाको ‘नजीक आउने’ वा उहाँसामु जाने भन्‍नेबारे खास निर्देशनहरू दिएको थियो। (प्रस्थान १९:२२) त्यसकारण, यसले याकूबका पाठकहरूलाई यहोवाको नजिक जानु भनेको चानचुने कुरा होइन भनी सम्झाएको हुन सक्छ। यहोवा ब्रह्‍माण्डको सर्वोच्च व्यक्‍ति हुनुहुन्छ।

अर्कोतर्फ, एक जना बाइबलविद्‌ले टिप्पणी गरेझैं “[याकूब ४:८ को] यो आग्रहले ठोस आशा प्रकट गर्छ।” यहोवाले सधैं असिद्ध मानिसहरूलाई आफ्नो नजिक आउने मायालु निमन्त्रणा दिंदै आउनुभएको छ भनी याकूबलाई थाह थियो। (२ इतिहास १५:२) येशूको बलिदानले पूर्ण रूपमा यहोवाको नजिक जाने बाटो खोलिदियो। (एफिसी ३:११, १२) आज, लाखौं व्यक्‍तिहरूको लागि परमेश्‍वरसामु जाने बाटो खुलेको छ! तथापि, हामी कसरी यस अद्‌भुत सुअवसरको फाइदा उठाउन सक्छौं? यहोवा परमेश्‍वरको नजिक जान सक्ने तीनवटा तरिकाहरूबारे हामी संक्षिप्तमा विचार गर्नेछौं।

परमेश्‍वको ‘ज्ञान लिइरहनुहोस्‌’

५, ६. परमेश्‍वरको ‘ज्ञान लिनुमा’ कुन कुरा समावेश छ भनी जवान शमूएलको उदाहरणले कसरी प्रकाश पार्छ?

यूहन्‍ना १७:३ अनुसार, येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” यस पदको थुप्रै अनुवादहरू न्यु वर्ल्ड ट्रान्सलेसन-भन्दा अलि भिन्‍न छन्‌। परमेश्‍वरको “ज्ञान लिऊन्‌” भन्‍नुको सट्टा यिनीहरूमा परमेश्‍वरलाई “चिनून्‌” मात्र भनिएको छ। तथापि, थुप्रै शास्त्रविद्‌हरूको भनाइअनुसार, मौलिक युनानी भाषामा प्रयोग गरिएको यस शब्दले लगातार चलिरहने प्रक्रियालाई बुझाउँछ, जसले अर्को व्यक्‍तिसँग घनिष्ठ सम्बन्ध विकास गर्नतर्फ समेत डोऱ्‍याउन सक्छ।

येशूको समयमा परमेश्‍वरसँग घनिष्ठ हुनु भनेको कुनै नौलो कुरा थिएन। उदाहरणका लागि, हिब्रू धर्मशास्त्रमा शमूएल सानो केटा छँदा तिनले “अझसम्म परमप्रभुलाई चिनेका थिएनन्‌” भनी लेखिएको हामी पाउँछौं। (१ शमूएल ३:७) के यसको मतलब शमूएललाई परमेश्‍वरबारे खासै ज्ञान थिएन त? होइन। तिनका आमाबाबु तथा पूजाहारीहरूले पक्कै पनि तिनलाई थुप्रै कुराहरू सिकाएको हुनुपर्छ। तथापि, एक जना शास्त्रज्ञको भनाइअनुसार, यस पदमा प्रयोग गरिएको हिब्रू शब्द, “एकदमै घनिष्ठ सम्बन्ध” जनाउनको लागि प्रयोग गर्न सकिन्छ। शमूएल पछि यहोवाको प्रवक्‍ताको रूपमा सेवा गर्दा उहाँसँग जति घनिष्ठ भए त्यति पहिला थिएनन्‌। शमूएल जसै हुर्कंदै गए, तिनले यहोवालाई साँच्चै चिने र उहाँसँग व्यक्‍तिगत तवरमा घनिष्ठ सम्बन्ध गाँसे।—१ शमूएल ३:१९, २०.

७, ८. (क) हामी किन बाइबलका गहिरा शिक्षाहरूदेखि हताश हुनुहुँदैन? (ख) हामीले अध्ययन गर्नुपर्ने परमेश्‍वरको वचनका केही गहिरा सत्य कुरा के-के हुन्‌?

यहोवासँग राम्रोसित परिचित हुन के तपाईंले उहाँको ज्ञान लिइरहनुभएको छ? यसो गर्न तपाईंले परमेश्‍वरले प्रबन्ध गर्नुहुने आध्यात्मिक खानाको ‘तृष्णा गर्नुपर्छ।’ (१ पत्रुस २:२) आधारभूत ज्ञानहरूमै चित्त बुझाएर नबस्नुहोस्‌। बाइबलका गहिरा-गहिरा शिक्षाहरू सिक्ने कोसिस गर्नुहोस्‌। (हिब्रू ५:१२-१४) यी शिक्षाहरू त साह्रै गाह्रा छन्‌ भन्‍ने सोच्दै, के तपाईं हताश हुनुहुन्छ? त्यसो हो भने, यहोवा “गुरु” हुनुहुन्छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌। (यशैया ३०:२०) सच्चाइका गहिरा कुराहरू असिद्ध मानिसहरूलाई कसरी बुझाउने भनी उहाँलाई थाह छ। अनि उहाँले सिकाउनुहुने कुरा बुझ्न तपाईंले साँचो प्रयत्न गर्नुभयो भने यसमा उहाँले आशिष्‌ दिन सक्नुहुन्छ।—भजन २५:४.

“परमेश्‍वरका गहीरा गहीरा कुराहरू” आफूले कति बुझेको छु भनी किन नजाँच्ने? (१ कोरिन्थी २:१०) यी विषयहरू धर्मविद्‌ र पादरीहरूले मात्र छलफल गर्ने नीरस विषयहरू होइनन्‌। यी हाम्रा मायालु पिताको मन अनि हृदयबारे रोमाञ्चकारी कुराहरू बुझ्न सकिने लाभकारी सिद्धान्तहरू हुन्‌। उदाहरणका लागि, छुडौती, “रहस्य,” र यहोवाले आफ्ना जनहरूलाई आशिष्‌ दिन तथा आफ्नो उद्देश्‍य पूरा गर्न बाँध्नुभएका विभिन्‍न करारहरूजस्ता विषयहरूका साथै अन्य त्यस्ता विषयहरूमा व्यक्‍तिगत अध्ययन अनुसन्धान गर्नु रमाइलो र इनामदायी हुन्छ।—१ कोरिन्थी २:७.

९, १०. (क) घमण्ड किन खतरनाक हुन्छ र यसबाट जोगिन हामीलाई कुन कुराले मदत गर्नेछ? (ख) यहोवाको ज्ञान लिने सन्दर्भमा हामी किन नम्र हुने कोसिस गर्नुपर्छ?

जसै गहिरा आध्यात्मिक सत्यसम्बन्धी तपाईंको ज्ञान बढ्‌दै जान्छ, त्यससँग-सँगै आउन सक्ने खतरा अर्थात्‌ घमण्डदेखि पनि होसियार रहनुहोस्‌। (१ कोरिन्थी ८:१) घमण्ड खतरनाक हुन्छ किनभने यसले मानिसजातिलाई परमेश्‍वरबाट तर्काउँछ। (हितोपदेश १६:५; याकूब ४:६) नबिर्सनुहोस्‌, कुनै पनि मानिसले आफ्नो ज्ञानमा घमण्ड गर्ने कारण नै छैन। उदाहरणका लागि, मानिसजातिले हालसालै गरेका वैज्ञानिक उन्‍नतिहरूको लेखाजोखा गरिएको एउटा पुस्तकको परिचयमा उल्लिखित यी शब्दहरू विचार गर्नुहोस्‌: “हामी जति धेरै थाह पाउँछौं, हामीलाई त्यति नै केही पनि थाह नभएको महसुस हुन्छ। . . . हामीले सिक्न बाँकी रहेका कुराहरूको तुलनामा हामीले सिकेका कुराहरू त केही पनि होइनन्‌।” यस्तो नम्रता स्फूर्तिदायी छ। यहोवा परमेश्‍वरको ज्ञान अर्थात्‌ सबैभन्दा ठूलो ज्ञानको सन्दर्भमा हामीसँग झनै नम्र हुनुपर्ने कारण छ। किन?

१० यहोवाबारे केही बाइबल भनाइहरू ध्यान दिनुहोस्‌। “तपाईंका विचारहरू अति गम्भीर छन्‌।” (भजन ९२:५) “[यहोवाको] ज्ञान अपार छ।” (भजन १४७:५) “[यहोवाको] समझ अथाह छ।” (यशैया ४०:२८) “अहा! परमेश्‍वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहीरो छ!” (रोमी ११:३३) निस्सन्देह, हामीले यहोवाबारे सबै कुरा कहिल्यै थाह पाउन सक्दैनौं। (उपदेशक ३:११) हामीलाई उहाँले थुप्रै अद्‌भुत कुराहरू सिकाउनुभएको छ। तैपनि हामीले सिक्नुपर्ने कुराहरूको अथाह भण्डार अझै रहिरहनेछ। के यो प्रत्याशा हामीलाई रोमाञ्चक र आफूलाई नम्र तुल्याउनुपर्ने दुवै लाग्दैन र? त्यसकारण, जसै हामी सिक्दै जान्छौं, हाम्रो ज्ञान आफूलाई अरूभन्दा श्रेष्ठ तुल्याउन होइन तर यहोवाको नजिक हुन र अरूलाई पनि त्यसै गर्ने मदत दिन चलाऔं।—मत्ती २३:१२; लूका ९:४८.

यहोवाप्रति आफ्नो प्रेम देखाउनुहोस्‌

११, १२. (क) यहोवाबारे लिने ज्ञानले हामीमा कस्तो असर गर्नुपर्छ? (ख) कुनै व्यक्‍तिले परमेश्‍वरप्रति देखाएको प्रेम साँचो हो कि होइन भनेर कसरी थाह हुन्छ?

११ पावलले ज्ञान र प्रेमबीचको सम्बन्ध दर्शाउनु उपयुक्‍त थियो। तिनले लेखे: “म यही प्रार्थना गर्दछु, कि ज्ञान र सबै विवेकमा तिमीहरूको प्रेम झन्‌ झन्‌ प्रशस्त हुँदै जाओस्‌।” (फिलिप्पी १:९) यहोवा र उहाँका उद्देश्‍यहरूबारे सिकेका हरेक अमूल्य सत्यले हामीलाई घमण्डले फुलाउनुको सट्टा स्वर्गमा बस्नुहुने हाम्रा पिताप्रतिको हाम्रो प्रेम बढाउनुपर्छ।

१२ निस्सन्देह, परमेश्‍वरलाई प्रेम गरेको दाबी गर्ने थुप्रै व्यक्‍तिहरूले वास्तवमा उहाँलाई प्रेम गर्दैनन्‌। तिनीहरूको हृदयमा उठ्‌ने भावनाहरू निष्कपट होलान्‌। यस्ता भावनाहरू सही ज्ञानअनुरूप छन्‌ भने यो राम्रो र प्रशंसनीय हो। तर यस्ता भावनाहरू नै परमेश्‍वरप्रतिको प्रेम हो भन्‍न सकिंदैन। किन? यस्तो प्रेमलाई परमेश्‍वरको वचनले कसरी वर्णन गरेको छ, ध्यान दिनुहोस्‌: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो।” (१ यूहन्‍ना ५:३) त्यसकारण, यहोवाप्रतिको प्रेम आज्ञाकारी कामहरूद्वारा देखिन्छ भने मात्रै यो साँचो प्रेम हो।

१३. ईश्‍वरीय भयले हामीलाई यहोवाप्रति प्रेम देखाउन कसरी मदत गर्नेछ?

१३ ईश्‍वरीय भयले हामीलाई परमेश्‍वरको आज्ञा पालन गर्न मदत गर्नेछ। यहोवाबारे ज्ञान लिंदा तथा उहाँको असीम पवित्रता, महिमा, शक्‍ति, न्याय, बुद्धि र प्रेमबारे सिक्दा उहाँप्रति गहिरो विस्मय र अगाध श्रद्धा उत्पन्‍न हुन्छ। उहाँसँग नजिक हुन यस्तो भय अत्यावश्‍यक छ। वास्तवमा, भजन २५:१४ ले के भन्छ, ध्यान दिनुहोस्‌: “उहाँसँग डराउनेहरूसँगनै परमप्रभुको घनिष्ठता रहन्छ।” त्यसकारण, हामीमा स्वर्गमा हुनुहुने हाम्रो मायालु पिता हाम्रो कारण अप्रसन्‍न हुनुहोला कि भन्‍ने स्वास्थ्यकर भय छ भने, हामी उहाँसँग घनिष्ठ हुन सक्छौं। ईश्‍वरीय भयले हामीलाई हितोपदेश ३:६ मा लिपिबद्ध बुद्धिमानी सल्लाह पालन गर्न मदत गर्नेछ: “आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” यसको अर्थ के हो?

१४, १५. (क) हामीले हरेक दिन कस्ता निर्णयहरू गर्नुपर्ने हुन्छ? (ख) हामी कसरी ईश्‍वरीय भय झल्कने ढंगमा निर्णयहरू गर्न सक्छौं?

१४ तपाईंले हरेक दिन स-साना वा ठूलठूला निर्णयहरू गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, तपाईंले आफ्ना सहकर्मी, सहपाठी तथा छिमेकीहरूसँग कस्तो प्रकारको कुराकानी गर्नुहुनेछ? (लूका ६:४५) तपाईं आफ्नो काम परिश्रमसाथ गर्नुहुनेछ वा काम चोर्न खोज्नुहुनेछ? (कलस्सी ३:२३) तपाईं यहोवाप्रति अलिअलि मात्र प्रेम देखाउने वा प्रेम नै नदेखाउने व्यक्‍तिहरूसँग घनिष्ठ हुनुहुनेछ वा आध्यात्मिक व्यक्‍तिहरूसँग आफ्नो सम्बन्ध बलियो बनाउने कोसिस गर्नुहुनेछ? (हितोपदेश १३:२०) राज्यसम्बन्धी कामकुराहरूलाई बढवा दिन, तपाईं सानो तरिकामा भए पनि कसरी योगदान पुऱ्‍याउन सक्नुहुन्छ? (मत्ती ६:३३) यहाँ उल्लेख गरिएजस्ता धर्मशास्त्रीय सिद्धान्तहरूले तपाईंको दैनिक निर्णयहरूमा मार्गनिर्देशकको काम गर्छन्‌ भने पक्कै पनि तपाईंले “आफ्नो सबै चालमा” यहोवालाई सम्झिरहनुभएको छ।

१५ वास्तवमा भन्‍ने हो भने, हामीले जुनसुकै निर्णय गर्दा पनि यी कुराहरू विचार गर्नुपर्छ: ‘यहोवाले मैले के गरेको चाहनुहुनेछ? मैले कुन मार्ग पछ्याउँदा उहाँलाई आनन्दित तुल्याउँछ?’ (हितोपदेश २७:११) यस ढंगमा ईश्‍वरीय भय देखाउनु यहोवाप्रति प्रेम व्यक्‍त गर्ने अत्युत्तम तरिका हो। ईश्‍वरीय भयले हामीलाई आध्यात्मिक, नैतिक र शारीरिक तवरमा पनि स्वच्छ रहन उत्प्रेरित गर्नेछ। नबिर्सनुहोस्‌, याकूबले मसीहीहरूलाई “परमेश्‍वरको नजीक आओ” भनी आग्रह गरेकै पदमा तिनले यस्तो सल्लाह पनि दिएका छन्‌: “हे पापी हो, तिमीहरूको हात शुद्ध पार, र हे दोमनका हो, तिमीहरूको हृदय पवित्र पार।”—याकूब ४:८.

१६. यहोवालाई दिएर हामी कहिल्यै पनि कुन कुरा पूरा गर्न सक्दैनौं, तर पनि हामी सदैव के गर्न भने सक्छौं?

१६ निस्सन्देह, यहोवाप्रति प्रेम व्यक्‍त गर्नुमा खराबीबाट अलग रहनु मात्र पर्याप्त छैन। प्रेमले हामीलाई सही कुरा गर्न पनि उत्प्रेरित गर्छ। उदाहरणका लागि, यहोवाको असीम उदारताप्रति हामी कस्तो प्रतिक्रिया देखाउँछौं? याकूबले लेखे: “हरेक असल दान र हरेक उत्तम वरदान माथिबाटकै हो, र ज्योतिका पिताबाट आउँछ।” (याकूब १:१७) हुन त, हामीले यहोवालाई आफ्नो धन-सम्पत्ति दिएर उहाँलाई धनी बनाउन सक्दैनौं। सबै असल थोक र स्रोत-साधनहरू उहाँकै हुन्‌। (भजन ५०:१२) अनि हामीले यहोवालाई हाम्रो समय र शक्‍ति दिंदा, उहाँले अन्यथा प्राप्त गर्नै नसक्ने कुरा दिइरहेका हुँदैनौं। हामीले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नै इन्कार गऱ्‍यौं भने उहाँले ढुंगालाई समेत बोल्न लगाउन सक्नुहुन्छ! त्यसोभए, यहोवालाई किन हाम्रो स्रोत-साधन, समय र शक्‍ति दिने त? मुख्य कुरा त, यसो गरेर हामी आफ्नो सारा हृदय, प्राण, बुद्धि र शक्‍तिले उहाँप्रति आफ्नो प्रेम देखाउँछौं।—मर्कूस १२:२९, ३०.

१७. यहोवालाई खुसीसाथ दिन हामीलाई केले उत्प्रेरित गर्न सक्छ?

१७ यहोवालाई दिंदा हामीले खुसीसाथ दिनुपर्छ “किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।” (२ कोरिन्थी ९:७) व्यवस्था १६:१७ मा लिपिबद्ध सिद्धान्तले हामीलाई खुसीसाथ दिन मदत गर्न सक्छ: “परमप्रभु तिमीहरूका परमेश्‍वरले हरेकलाई दिनुभएको आशिषअनुसार परमप्रभु आफ्ना परमेश्‍वरलाई हरेकले आफ्नो औकातअनुसार चढ़ाओस्‌।” यहोवा हामीप्रति कति उदार हुनुहुन्छ भन्‍ने कुरा विचार गर्दा, हामी उहाँलाई खुसीसाथ दिन इच्छुक हुन्छौं। एक जना प्यारो बच्चाको सानो उपहारबाट उसका आमाबाबु खुसी भएझैं, यसरी दिंदा उहाँको हृदय आनन्दित हुन्छ। यसरी हाम्रो प्रेम व्यक्‍त गर्दा हामीलाई यहोवाको नजिक जान मदत गर्नेछ।

प्रार्थनाद्वारा घनिष्ठता बढाउनुहोस्‌

१८. हाम्रा प्रार्थनाहरूको गुणस्तर कसरी बढाउने भनी विचार गर्नु किन उपयुक्‍त हुन्छ?

१८ व्यक्‍तिगत प्रार्थनाले हामीलाई स्वर्गमा हुनुहुने हाम्रो पितासँग आत्मीय र गोप्य कुराकानी गर्ने मूल्यवान्‌ सुअवसर प्रदान गर्छ। (फिलिप्पी ४:६) परमेश्‍वरसँग घनिष्ठ हुने एउटा महत्त्वपूर्ण माध्यम प्रार्थना भएकोले हाम्रा प्रार्थनाहरूको गुणस्तरबारे केही छिन विचार गर्नु उपयुक्‍त हुन्छ। यसको मतलब हाम्रा प्रार्थनाहरू उच्च कोटीको भाषा शैली प्रयोग गरिएको र चिटिक्क मिलेको हुनुपर्छ भन्‍ने होइन, तर हामीले भन्‍ने कुराहरू हृदयदेखि निस्केको निष्कपट अभिव्यक्‍ति हुनुपर्छ। हामी कसरी हाम्रो प्रार्थनाको गुणस्तर बढाउन सक्छौं?

१९, २०. प्रार्थना गर्नुअघि किन मनन गर्नुपर्छ र हामी के-कस्ता विषयहरूमा मनन गर्न सक्छौं?

१९ हामी प्रार्थना गर्नुअघि मनन गर्ने कोसिस गर्न सक्छौं। पहिल्यै मनन गऱ्‍यौं भने हामीले आफ्ना प्रार्थनाहरू स्पष्ट तथा अर्थपूर्ण बनाउन सक्छौं र आफूलाई कण्ठस्थ भएको वा आफ्नो दिमागमा ठप्प बसेका वाक्यांशहरू मात्र दोहोऱ्‍याइरहने छैनौं। (हितोपदेश १५:२८, २९) येशूले आफ्नो आदर्श प्रार्थनामा उल्लेख गर्नुभएका केही विषयहरूबारे चिन्तन गर्नुका साथै यी कसरी हाम्रो परिस्थितिसँग मेल खान्छन्‌ भनी विचार गर्नु मदतकारी हुन सक्छ। (मत्ती ६:९-१३) उदाहरणका लागि, यस पृथ्वीमा यहोवाको उद्देश्‍य पूरा गर्न हामीले कस्तो सानो योगदान पुऱ्‍याउन सक्छौं भनी आफैलाई सोध्न सक्छौं। के हामी यहोवाको लागि यथाशक्य उपयोगी हुने इच्छा व्यक्‍त गर्नुका साथै उहाँले दिनुभएको जुनसुकै जिम्मेवारी पूरा गर्न उहाँको मदतको लागि बिन्ती गर्छौं? के हामी आफ्नो भौतिक आवश्‍यकताहरूको चिन्ताले लादिएका छौं? हामीलाई कस्ता पापहरूको लागि क्षमा चाहिन्छ र हामी कोप्रति अझ बढी क्षमाशील हुनु आवश्‍यक छ? हामीमाथि कस्ता प्रलोभनहरू आइपरेका छन्‌ र यस्तो अवस्थामा हामीलाई तत्कालै यहोवाको सुरक्षा चाहिएको छ भनी के हामी महसुस गर्छौं?

२० यसबाहेक, हामी यहोवाको मदतको खास आवश्‍यकतामा परेका आफूले चिनेजानेका व्यक्‍तिहरूबारे सोच्न सक्छौं। (२ कोरिन्थी १:११) तथापि, हामीले धन्यवाद चढाउन पनि बिर्सनु हुँदैन। हामीले यसबारे केही छिन विचार गऱ्‍यौं भने, हामीले यहोवाको प्रचुर भलाइका लागि दिनहुँ उहाँलाई धन्यवाद दिनुपर्ने र उहाँको प्रशंसा गर्नुपर्ने कारणहरू पक्कै पनि भेट्टाउनेछौं। (व्यवस्था ८:१०; लूका १०:२१) यसो गर्नुको अर्को पनि लाभ छ। यसले हामीलाई जीवनमा अझ सकारात्मक र कृतज्ञ मनोवृत्ति राख्न मदत गर्न सक्छ।

२१. प्रार्थनामा यहोवालाई पुकार्दा कस्ता धर्मशास्त्रीय उदाहरणहरू अध्ययन गर्नु मदतकारी हुन सक्छ?

२१ अध्ययनले हाम्रो प्रार्थनामा पनि उन्‍नति गराउन सक्छ। परमेश्‍वरको वचनमा विश्‍वासी पुरुष तथा स्त्रीहरूका उल्लेखनीय प्रार्थनाहरू लिपिबद्ध छन्‌। उदाहरणका लागि, हामी चुनौतीपूर्ण समस्याको कारण चिन्तित छौं र आफ्नै वा आफ्नो प्रियजनहरूको सुरक्षाको खातिर त्रसित छौं भने, हामी याकूबले बदला लिन कसिएका आफ्नो दाजु एसावसँग भेट गर्नुअघि गरेको प्रार्थना पढ्‌न सक्छौं। (उत्पत्ति ३२:९-१२) वा हामी राजा आसाले, लगभग दस लाख एथियोपियाली फौजले परमेश्‍वरका जनहरूलाई धम्काउँदा गरेको प्रार्थना पढ्‌न सक्छौं। (२ इतिहास १४:११, १२) हामी यहोवाको नाउँमा आँच आउन सक्ने समस्याको कारण चिन्तित छौं भने, एलियाले कर्मेल पर्वतमा बाल उपासकहरूको अगाडि गरेका प्रार्थनाका साथै यरूशलेमको दयनीय अवस्थाबारे नहेम्याहले गरेका प्रार्थनाबारे विचार गर्नु उपयुक्‍त हुन्छ। (१ राजा १८:३६, ३७; नहेम्याह १:४-११) यस्ता प्रार्थनाहरू पढ्‌दा र यसबारे मनन गर्दा यसले हाम्रो विश्‍वास बलियो बनाउनुका साथै हामीलाई कुनै चिन्ताले सताउँदा कसरी अत्युत्तम ढंगमा यहोवासामु जान सकिन्छ भनी सिकाउँछ।

२२. सन्‌ २००३ को वार्षिक पद के हो र हामीले यस वर्षैभरि समय समयमा आफूलाई के सोधिरहन सक्छौं?

२२ स्पष्टतः “परमेश्‍वरको नजीक आओ” भनी याकूबले दिएका सल्लाह पालन गर्नुभन्दा ठूलो सुअवसर र लक्ष्य अरू कुनै छैन। (याकूब ४:८) परमेश्‍वरबारे अझ बढी ज्ञान हासिल गरेर, उहाँप्रति बढीभन्दा बढी प्रेम व्यक्‍त गर्ने कोसिस गरेर र प्रार्थनाहरूद्वारा उहाँसँग घनिष्ठता विकास गरेर हामी यसो गर्न सकौं। सन्‌ २००३ भरि नै याकूब ४:८ लाई वार्षिक पदको रूपमा मनमा राख्दै, हामी साँच्चै परमेश्‍वरको नजिक गइरहेका छौं कि छैनौं भनी आफैलाई जाँचिरहन नछोडौं। तथापि, उक्‍त पदको पछिल्लो भागबारे के भन्‍न सकिन्छ नि? कुन अर्थमा यहोवा तपाईंको “नजीक आउनुहुनेछ” र कस्ता आशिष्‌हरू दिनुहुनेछ? अर्को लेखमा यसबारे विचार गरिनेछ।

के तपाईंलाई सम्झना छ?

• परमेश्‍वरको नजिक जाने कुरालाई किन गम्भीरतापूर्वक लिनुपर्छ?

• यहोवाको ज्ञान लिने सन्दर्भमा हामीले राख्न सक्ने केही लक्ष्यहरू के हुन्‌?

• हामीमा परमेश्‍वरप्रति साँचो प्रेम छ भनी कसरी देखाउन सक्छौं?

• कुन तरिकामा हामी प्रार्थनाद्वारा यहोवासँग अझ बढी घनिष्ठता बढाउन सक्छौं?

[प्रश्‍नहरू]

[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]

सन्‌ २००३ को लागि वार्षिक पद हुनेछ: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।”—याकूब ४:८.

[पृष्ठ ८, ९-मा भएको चित्र]

शमूएल हुर्कंदै जाँदा, तिनले यहोवालाई नजिकबाट चिने

[पृष्ठ १२-मा भएको चित्र]

एलियाले कर्मेल पर्वतमा गरेका प्रार्थना हाम्रोलागि राम्रो उदाहरण हो