सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हृदयविदारक क्षतिको बावजूद आनन्दित र कृतज्ञ

हृदयविदारक क्षतिको बावजूद आनन्दित र कृतज्ञ

जीवनी

हृदयविदारक क्षतिको बावजूद आनन्दित र कृतज्ञ

न्यान्सी ई. पोर्टरको वृत्तान्तमा आधारित

यो सन्‌ १९४७ जून ५ को कुरा हो। हामी त्यतिबेला संयुक्‍त राज्य अमेरिकाको दक्षिणपूर्वी तट नजिकैको टापु बहामासमा थियौं। त्यस दिनको न्यानो साँझपखतिर अप्रत्याशित ढंगमा अध्यागमन अधिकारी मेरो श्रीमान्‌ जर्ज र मलाई भेट्‌न आयो। तिनले हामीलाई एउटा पत्र दिए। पत्रमा त्यस टापुमा हाम्रो उपस्थिति अप्रिय भएको कारण “तुरुन्तै उपनिवेश छोड्‌नुपर्ने” आदेश दिइएको थियो!

जर्ज र म बहामासको सबैभन्दा ठूलो शहर नासाउ आइपुग्ने यहोवाका साक्षीहरूको पहिलो मिसनरीहरू थियौं। न्यु योर्क शहरको उत्तरी भागमा अवस्थित मिसनरी स्कूलको आठौं कक्षाबाट स्नातक प्राप्त गरेपछि हामीलाई यहाँ खटाइएको थियो। त्यहाँ पुगेको तीन महिना पनि नबित्दै त्यस्तो कडा प्रतिक्रिया पाउन लायकको हामीले के काम गरेका थियौं? त्यो घटना घटेको ५० वर्षभन्दा बढी भइसक्यो तर म अझै कसरी यहीं छु?

सेवकाईको निम्ति प्रशिक्षण

मेरोलागि ठूलो प्रेरणाको स्रोत मेरो बुबा ह्‍यारी क्लिनर हुनुहुन्थ्यो। यहोवाको साक्षी हुन थुप्रै त्याग गरेर उहाँले मेरो निम्ति अत्यन्तै राम्रो उदाहरण बसाल्नुभयो। उहाँको स्वास्थ्य कमजोर भए तापनि उहाँ प्रायजसो सबै सप्ताहन्त प्रचारकार्यमा जानुहुन्थ्यो। उहाँ सधैं जोसका साथ परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिनुहुन्थ्यो। (मत्ती ६:३३) सन्‌ १९३० को दशकमा हाम्रो आर्थिक अवस्था राम्रो थिएन तर क्यानाडा, अल्बर्टाको लेथब्रिजमा उहाँको जुत्ता पसल आध्यात्मिक गतिविधिको केन्द्र थियो। अग्रगामीहरू भनिने यहोवाका साक्षीहरूको पूर्ण-समय सेवकहरू हाम्रो घर आएको र अनुभवहरू बताउने गरेको मलाई अझै याद छ।

अल्बर्टाको फोर्ट म्याकलोड र क्लेरेसहोल्म नजिकै मैले १९४३ मा अग्रगामी सेवा सुरु गरें। दोस्रो विश्‍वयुद्धको दौडान विरोधीहरूको गलत जानकारीको कारण त्यतिबेलासम्ममा क्यानाडामा हाम्रो प्रचार गतिविधिमा प्रतिबन्ध लगाइसकिएको थियो। हाम्रो इलाका एउटा कुनादेखि अर्को कुनासम्म ५० किलोमिटर लामो थियो। तर जवान र फूर्तिलो भएको कारण त्यस इलाकाको सानो समुदाय र खेतहरूमा पुग्न साइकल चढ्‌नुपर्दा वा हिंड्‌नुपर्दा हामीलाई केही गाह्रो लागेन। त्यस समयताका मैले गिलियडबाट स्नातक गर्ने कोहीकोहीसँग कुरा गर्ने मौका पाएकी थिएँ र तिनीहरूको अनुभवले ममा मिसनरी हुने इच्छा जगायो।

सन्‌ १९४५ मा मैले जर्ज पोर्टरसँग बिहे गरें। उहाँ क्यानाडाको सास्काट्‌चेवानका बासिन्दा हुनुहुन्थ्यो। उहाँका आमाबाबु सन्‌ १९१६ देखि जोसिला साक्षीहरू हुनुभएका रहेछन्‌ र उहाँले पनि पूर्ण-समय सेवकाईलाई आफ्नो पेसा बनाउनुभएछ। हाम्रो पहिलो असाइनमेन्ट क्यानाडाको उत्तरी भ्यानकुभरको सुन्दर लीन उपत्यका थियो। त्यहाँ गएको केही समय नबित्दै हामीलाई गिलियडमा बोलाइयो।

मैले वर्षौंको दौडान विभिन्‍न धर्मविज्ञानसम्बन्धी पाठशालाबाट स्नातक प्राप्त गरेका मानिसहरूसँग कुरा गरेको छु र तिनीहरूले प्राप्त गरेको प्रशिक्षणको कारण परमेश्‍वर अनि उहाँको वचन बाइबलबाट तिनीहरूको विश्‍वास उडेको देखेकी छु। त्यसको ठीक विपरीत हामीले गिलियडमा सिकेको कुराले हाम्रो सोच्ने शक्‍ति तिखाऱ्‍यो र अझ त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, यसले यहोवा परमेश्‍वर अनि उहाँको वचनमाथिको हाम्रो विश्‍वासलाई झनै बलियो बनायो। हाम्रा सहपाठीहरू चीन, सिंगापुर, भारतलगायत अफ्रिका र दक्षिण अमेरिकी देशहरूमा खटाइए। हाम्रो असाइनमेन्ट उष्ण कटिबन्धीय बहामास टापु हुनेछ भनी थाह पाउँदा म खुसीले गदगद्‌ भएको मलाई अझै याद छ।

हामी त्यहीं रहिरहन कसरी सम्भव भयो

हाम्रा सहपाठीहरूले गरेको यात्राको तुलनामा बहामाससम्मको हाम्रो यात्रा छोटो थियो। चाँडै हामी न्यानो मौसम, नीलो आकास, स्वच्छ पानी, हल्का रंगका भवनहरू र असंख्य साइकलहरूको आनन्द उठाइरहेका थियौं। तथापि, हामीलाई सबैभन्दा अमेट छाप पारेको घटनाचाहिं हाम्रो डुंगालाई कुरिरहेका पाँच साक्षीहरूको समूह हो। हामीले चाँडै यहाँको संस्कृति हाम्रो संस्कृतिभन्दा धेरै फरक भएको थाह पायौं। उदाहरणका लागि, मेरो श्रीमान्‌लाई सार्वजनिक ठाउँहरूमा मलाई प्रिय भनी नबोलाउन आग्रह गरियो किनभने त्यो अभिव्यक्‍तिले यहाँ प्रायजसो पर-पुरुष वा स्त्रीसँगको सम्बन्धलाई संकेत गर्दो रहेछ।

सायद हामी मानिसहरूसँग सजिलै घुलमिल भएको देखेर होला, पादरीहरूले खतरा महसुस गरे र हामीलाई कम्युनिष्ट भन्‍न थाले। फलस्वरूप, हामीलाई देश छोड्‌ने आज्ञा दिइयो। तर त्यतिबेला त्यहाँ भएका लगभग २० जना जति साक्षीहरूले हामीलाई त्यहीं बस्न अनुमति दिइयोस्‌ भनेर निवेदन स्वरूप तुरुन्तै हजारौं हस्ताक्षरहरू संकलन गरे। अतः देश छोड्‌ने आज्ञा फिर्ता लिइयो।

नयाँ इलाकामा

बाइबल सत्यको कारण परमेश्‍वरलाई प्रेम गर्नेहरूको संख्यामा वृद्धि भयो। त्यसैले, बहामासमा अझ बढी गिलियड मिसनरीहरू पठाइयो। अनि सन्‌ १९५० मा शाखा कार्यालय स्थापना गरियो। दस वर्षपछि न्यु योर्क, ब्रूकलिनस्थित मुख्यालयका सदस्य मिल्टन हेन्सेल बहामास आउनुभयो र मिसनरीहरूमध्ये कोही बहामासको अर्को टापुमा काम सुरु गर्न जान इच्छुक छन्‌ कि भनी सोध्नुभयो। जर्ज र म जान तयार भयौं अनि हामी लंग टापुमै ११ वर्ष बस्यौं।

यो टापु बहामासका थुप्रै टापुमध्ये एउटा हो। यसको लम्बाइ १४० र चौडाइ ६ किलोमिटर छ अनि त्यस जमानामा त्यहाँ कुनै शहर नै थिएन। राजधानी क्लेरेन्स शहरमा जम्माजम्मी ५० वटा जति घर थियो। विद्युत्‌, खानेपानी वा भान्छाकोठा जस्ता केही कुराको सुविधा थिएन। भनौं भने, जीवन बाजेबराजुको पालाको जस्तो थियो। त्यसैले, हामीले यो सुदूर टापुमा आफ्नो जीवन छाँटकाँट गर्नुपऱ्‍यो। यहाँका मानिसहरूलाई कुरा गर्न सबैभन्दा मन पर्ने विषय स्वास्थ थियो। त्यसैले, हामीले आफ्नो वार्तालापमा “तपाईं सन्चै हुनुहुन्छ?” भनी प्रश्‍न नगर्न सिक्यौं किनभने त्यस प्रश्‍नको जवाफमा हामीले त्यस व्यक्‍तिको सम्पूर्ण स्वास्थको विवरण सुन्‍नुपर्थ्यो।

हाम्रो अधिकांश साक्षी कार्य एउटा भान्छादेखि अर्को भान्छामा हुन्थ्यो किनभने मानिसहरू अक्सर बाहिर झुपडी र दाउरा बाल्ने चुल्हो भएको भान्छामा भेटिन्थे। त्यहाँका मानिसहरू प्रायजसो गरिब भए तापनि दयालु थिए र तिनीहरू प्रायजसो किसान वा माझीहरू थिए। तिनीहरूमध्ये अधिकांश धार्मिक आस्था भएको मात्र नभई अत्यन्तै अन्धविश्‍वासी पनि थिए। कुनै अनौठो घटना घट्यो भने त्यसलाई केही कुराको लक्षणको रूपमा लिइहाल्थे।

पादरीहरू मानिसहरूको घरमा जबरजस्ती घुसेर हामीले छोडिराखेका बाइबल साहित्यहरू च्यातच्युत पारिदिन्थे। यसरी तिनीहरूले कातरहरूलाई तर्साउँथे तर सबै तिनीहरूसँग डराउँदैनथे। उदाहरणका लागि, एक ७० वर्षीया जोसिलो महिला तिनीहरूदेखि डराएनन्‌। तिनी बाइबलको कुरा बुझ्न चाहन्थिन्‌ र अन्ततः तिनीलगायत अन्य केही व्यक्‍तिहरू साक्षी भए। हामीले चासो भएका मानिसहरू अझ धेरै भेटाउँदै जाँदा जर्जले तिनीहरूलाई हाम्रो सभामा आउन मदत गर्न कुनै कुनै आइतबार त ३०० किलोमिटरभन्दा बढी गाडी हाँकेर जानुपर्थ्यो।

सुरुसुरुका महिनाहरूमा कोही पनि साक्षीहरू नहुँदा जर्ज र मैले नियमित तवरमा सबै सभाहरू सञ्चालन गरेर हाम्रो आध्यात्मिकता कायम राख्यौं। यसबाहेक, हरेक सोमबार लगनशील भई प्रहरीधरहरा अध्ययन लेखका साथै बाइबल पढाइ गर्थ्यौं। हामी प्रहरीधरहराब्यूँझनुहोस्‌!-का नयाँ अंकहरू पाउने बित्तिकै सबै पढ्‌थ्यौं।

हामी लंग टापुमै हुँदा मेरो बुबा बित्नुभयो। त्यसको आउँदो गर्मी याममा अर्थात्‌ १९६३ मा हामीले आमालाई हामीसँगै बस्न आउने प्रबन्ध मिलायौं। उमेरमा पाको हुनुभए तापनि उहाँले परिस्थितिअनुसार छाँटकाँट गर्नुभयो र १९७१ मा आफ्नो मृत्यु नहोउञ्जेलसम्म उहाँ लंग टापुमै बस्नुभयो। आज, लंग टापुमा मण्डली छ र राज्यभवन पनि भर्खरै बनाएको छ।

हृदयविदारक चुनौती

सन्‌ १९८० मा जर्जले आफ्नो स्वास्थ बिग्रन थालेको सुइँको पाउनुभयो। अतः मेरो जीवनको सबैभन्दा पीडादायी अनुभव सुरु भयो। मैले आफ्नो प्रिय श्रीमान्‌, सहकर्मी र साथीलाई आल्जमेयर रोगले शिथिल पार्दै लगेको हेर्नुपऱ्‍यो। उहाँको पूरा व्यक्‍तित्व नै परिवर्तन भयो। अन्तिम र सबैभन्दा दुःखमय भाग सन्‌ १९८७ मा उहाँको मृत्यु नहोउञ्जेलसम्मको अन्तिम चार वर्ष थियो। सम्भव भएसम्म उहाँ सेवकाई र सभाहरूमा मसँग आउनुहुन्थ्यो तर थुप्रै चोटि म उहाँले गर्नुभएको प्रयास देखेर रुन्थें। हाम्रो मसीही भाइहरूले देखाएको प्रेम साँच्चै सान्त्वनादायी छ तर मलाई अझै पनि उहाँको अभाव सधैं खट्‌की रहन्छ।

जर्जसँगको मेरो विवाहमा सबैभन्दा अनमोल पक्ष हाम्रो नियमित र आनन्ददायी कुराकानी थियो। यहोवाले आफ्ना सेवकहरूलाई “सारा प्रार्थना[मा]” “अटूटसँग” “निरन्तर प्रार्थना गरिरहो” भनी आमन्त्रित गर्नुहुन्छ र जर्जको मृत्युपछि परमेश्‍वरले यस्तो निमन्त्रणा दिनुभएकोमा म झनै कृतज्ञ भएकी छु। (१ थिस्सलोनिकी ५:१७; रोमी १२:१२; एफिसी ६:१८) यहोवा हाम्रो हित चाहनुहुन्छ भनी थाह पाउनु अत्यन्तै सान्त्वनादायी छ। म साँच्चै भजनरचयिताले जस्तै महसुस गर्छु, जसले यसो भन्दै गाएका थिए: “हाम्रो बोझ दिनहुँ उठाउनुहुने परमप्रभु धन्यका होऊन्‌।” (भजन ६८:१९) येशूले सल्लाह दिनुभएझैं भोलिको दिनको फ्रिक्री नगरी आफ्ना सीमितताहरूलाई स्वीकारेर प्रत्येक दिन पाउने आशिष्‌हरूको निम्ति कृतज्ञ भई जीवन बिताउनु नै सबैभन्दा उत्तम मार्ग हो।—मत्ती ६:३४.

सेवकाईका आनन्ददायी इनामहरू

मसीही सेवकाईमा व्यस्त रहँदा मैले आफ्नो अतीतबारे धेरै विचार गरी नरहन मदत पाएकी छु। यसरी निराशातर्फ धकेल्न सक्ने भावनाहरूमाथि काबू राख्न सकेकी छु। अरूलाई बाइबल सत्य सिकाउन सक्नु आनन्दको स्रोत भएको छ। यसले व्यवस्थित आध्यात्मिक तालिका प्रदान गर्छ जुन मेरो जीवनको संरचना र स्थिरता भएको छ।—फिलिप्पी ३:१६.

मैले झन्डै ४७ वर्षअघि राज्य सन्देश बाँडेको महिलाले मलाई फोन गरिन्‌। तिनी सन्‌ १९४७ मा हामी बहामास आइपुगेपछि हाम्रो पहिलो बाइबल विद्यार्थीहरूमध्ये एक जनाको छोरी रहेछिन्‌। तिनका आमाबुबा र सबै भाइबहिनीका साथसाथै प्रायजसो छोराछोरी अनि नातानातिनीहरू यहोवाका साक्षीहरू भइसकेका रहेछन्‌। वास्तवमा, यस स्त्रीका ६० भन्दा बढी परिवारका सदस्यहरू यहोवाका साक्षी हुन्‌। तर तिनी आफैले चाहिं कहिल्यै बाइबल सत्य स्वीकारेकी थिइनन्‌। तर अब भने तिनी यहोवा परमेश्‍वरको सेवक हुन तयार भएकी थिइन्‌। जर्ज र म बहामास आइपुग्दाका मुठीभर साक्षीहरू अहिले वृद्धि भएर १,४०० पुगेको हेर्न पाउनु साँच्चै ठूलो आनन्दको कुरा हो!

कहिलेकाहीं मानिसहरूले मलाई छोराछोरी नजन्माएकोमा दुःख लाग्दैन भनी सोध्छन्‌। निस्सन्देह, छोराछोरी हुनु आनन्दको कुरा हो। यद्यपि, मलाई मेरा आध्यात्मिक छोराछोरी, नातिनातिनीहरूले देखाएको प्रेम सायद कमै साक्खे आमाबाबुले महसुस गर्न पाउँछन्‌। साँच्चै, ‘असल काम गरेर धनवान’ हुने मानिसहरू सबैभन्दा आनन्दित मानिसहरू हुन्‌। (१ तिमोथी ६:१८) त्यसकारण, आफ्नो स्वास्थ्यले दिएसम्म म सेवकाईमा व्यस्त रहन्छु।

एक दिन दाँत देखाउने ठाउँमा एक युवती म भएतिर आइन्‌ र भनिन्‌: “तपाईंले मलाई चिन्‍नुहुन्‍न तर म तपाईंलाई चिन्छु अनि म तपाईंलाई धेरै माया गर्छु भनेर तपाईंलाई भन्‍न चाहन्छु।” त्यसपछि तिनले बाइबल सत्य कसरी पाइन्‌ र बहामासमा मिसनरीहरू आएकोमा तिनी एक्दमै कृतज्ञ छिन्‌ भनेर बताइन्‌।

यस्तै अर्को पटकचाहिं बिदाबाट फर्कंदा म अहिले बस्ने यहोवाका साक्षीहरूको नासाउस्थित शाखा कार्यालयको मेरो कोठाको ढोकाबाहिर एउटा गुलाफको फूल राखिएको भेट्टाएँ। अनि त्यससँगै एउटा सानो कागजको टुक्रामा यस्तो लेखिएको थियो, “तपाईं घर फर्कनुभएकोमा हामी खुसी छौं।” मेरो हृदय कृतज्ञताले ओतप्रोत हुन्छ र उहाँको वचन, संगठन अनि आत्माले जन्माएका मानिसहरूको प्रकार देखेर मेरो यहोवाप्रतिको प्रेम झनै बढ्‌छ! साँच्चै, हामी वरपर भएकाहरूमार्फत यहोवाले हामीलाई सम्हाल्नुहुन्छ।

कृतज्ञताले ओतप्रोत

मेरो जिन्दगीमा सधैं सजिलो भएको छैन न त अहिले नै यसका केही पक्षहरू सजिला छन्‌। तर मसँग कृतज्ञ हुने थुप्रै कारण छन्‌। जस्तै, सेवकाईबाट प्राप्त हुने आनन्द, थुप्रै मसीही भाइबहिनीहरूको प्रेम र स्नेह, यहोवाको संगठनको मायालु हेरचाह, बाइबलको सुन्दर सत्य कुराहरू, आफ्ना प्रिय जनहरूको पुनरुत्थान भएपछि तिनीहरूसँग बस्न पाउने प्रत्याशा अनि यहोवाको वफादार सेवकसँगको ४२ वर्ष लामो वैवाहिक जीवनका मीठा सम्झनाहरू। विवाह बन्धनमा बाँधिनुअघि म आफ्नो श्रीमान्‌लाई पूर्ण-समय सेवामा रहिरहन मदत दिन सकूँ भनेर सधैं प्रार्थना गर्थें किनभने उहाँले यो काम असाध्यै मन पराउनुहुन्थ्यो। यहोवाले दयालुपूर्वक मेरो प्रार्थनाको जवाफ दिनुभयो। त्यसैले, म सधैं यहोवाप्रति विश्‍वासी भएर उहाँलाई आफ्नो कृतज्ञता जाहेर गर्न चाहन्छु।

बहामास पर्यटकहरूको निम्ति लोकप्रिय गन्तव्यस्थान हो। यहाँ आएर उनीहरू उष्ण कटबन्धीय मौसमको आनन्द उठाउन हजारौं डलर खर्च गर्छन्‌। यहोवाको संगठनले खटाएको जुनसुकै ठाउँमा गएर सेवा गर्ने मैले निर्णय गरेकी थिएँ। मैले परमेश्‍वरको राज्यको सुसमाचार उद्‌घोषणा गर्न यी टापुहरूको एक छेउदेखि अर्को छेउसम्म यात्रा गर्दाको आनन्ददायी अनुभवहरू सँगालेकी छु। तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा त, मित्रैलो बहामासवासीहरूको प्रेम पाउन र त्यसलाई हृदयमा साँचेर राख्न सिकेकी छु।

मेरो आमाबुबालाई सत्य सिकाउने भाइहरूप्रति म अत्यन्तै कृतज्ञ छु अनि उहाँहरूले मेरो कलिलो मन अनि हृदयमा पनि परमेश्‍वरको राज्यलाई प्राथमिकता दिन सिकाउनुभयो। आजका जवान यहोवाका सेवकहरूले पनि त्यसै गरी आफ्नो सेवकाईलाई बढाउँदै ‘खुला ढोका’ भित्र पस्यो भने त्यस्तै आशिष्‌हरू पाउनसक्छन्‌। (१ कोरिन्थी १६:९) तपाईंले पनि “ईश्‍वरहरूका ईश्‍वर” यहोवाको आदर गर्न आफ्नो जीवन चलाउनुभयो भने कृतज्ञताले ओतप्रोत हुनुहुनेछ।—व्यवस्था १०:१७; दानियल २:४७.

[पृष्ठ २४-मा भएको चित्र]

सन्‌ १९४४ मा भिक्टोरिया, बि.सी.-मा सडक साक्षी कार्य गर्दै

[पृष्ठ २४-मा भएको चित्र]

जर्ज र म १९४६ मा गिलियड स्कूल गयौं

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९५५ मा नासाउ, बहामासमा मिसनरी घरअगाडि जर्जसँग

[पृष्ठ २६-मा भएको चित्र]

डेडम्यान केमा मिसनरी घर, त्यहाँ हामीले १९६१ देखि १९७२ सम्म सेवा गऱ्‍यौं