सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साँचो मसीहीधर्म प्रबल हुन्छ!

साँचो मसीहीधर्म प्रबल हुन्छ!

साँचो मसीहीधर्म प्रबल हुन्छ!

“प्रभुको वचन सामर्थ्यसँग बढ़दै गयो, र प्रबल भयो।”–प्रेरित १९:२०.

१. प्रथम शताब्दीको दौडान भएको मसीहीधर्मको वृद्धिबारे व्याख्या गर्नुहोस्‌।

 पवित्र आत्माको शक्‍तिबाट उत्तेजित भएर प्रारम्भिक मसीहीहरूले परमेश्‍वरको वचन यति जोसका साथ उद्‌घोषणा गरे कि त्यो जोस निभाउनै नसकिने थियो। त्यसबारे, एक जना इतिहासकारले यस्तो लेखे: “रोमी साम्राज्यमा मसीहीधर्म अत्यन्तै द्रुत गतिले फैलिएको थियो। सन्‌ १०० सम्ममा त भूमध्यसागर छेउछाउका प्रायः सबैजसो प्रान्तहरूमा मसीहीहरूको समुदाय खडा भइसकेको थियो।”

२. शैतानले कसरी सुसमाचारको सामना गर्ने प्रयास गऱ्‍यो र यसबारे कसरी भविष्यवाणी गरिएको थियो?

शैतान अर्थात्‌ दियाबलले प्रारम्भिक मसीहीहरूलाई रोक्न सकेन। बरु, त्यसले सुसमाचारको प्रभावको सामना गर्न अर्कै माध्यम चलायो। त्यो हो, धर्मत्याग। येशूले यसबारे गहुँ र सामाको उखानमा भविष्यवाणी गर्नुभएको थियो। (मत्ती १३:२४-३०, ३६-४३) मण्डलीभित्रै झूटा शिक्षकहरूले विनाशकारी गुट खडा गर्नेछन्‌ भनी प्रेरित पत्रुसले चेताउनी दिएका थिए। (२ पत्रुस २:१-३) त्यस्तै गरी, प्रेरित पावलले यहोवाको दिन आउनुअघि धर्मत्याग हुनेछ भनी स्पष्ट चेताउनी दिएका थिए।—२ थिस्सलोनिकी २:१-३.

३. प्रेरितहरूको मृत्युपछि के भयो?

प्रेरितहरूको मृत्युपछि झूटा शिक्षा तथा दर्शनहरू सुसमाचारमाथि प्रबल हुनथाल्यो। भविष्यवाणी गरिएझैं झूटा शिक्षकहरूले सत्यको शुद्ध सन्देशलाई विकृत र प्रदूषित बनाए। बिस्तारै मसीहीजगत्‌ भनिने नकली मसीहीधर्मले साँचो मसीहीधर्मलाई पूर्णतया ढाक्यो। पादरी वर्गको उत्थान भयो र तिनीहरूले सर्वसाधारणको हातमा बाइबल पर्न नदिने कोसिस गरे। मसीही भनौंदा मानिसहरूको संख्यामा वृद्धि भए तापनि तिनीहरूको उपासना शुद्ध थिएन। मसीहीजगत्‌को भौगोलिक रूपमा वृद्धि भयो र यो पश्‍चिमी संस्कृतिको शक्‍ति र प्रभावशाली संस्था भयो। तर यसले न त परमेश्‍वरको आशिष्‌ न उहाँको पवित्र आत्मा नै पायो।

४. परमेश्‍वरको उद्देश्‍य विफल पार्ने शैतानको दाउ किन सफल भएन?

तथापि, यहोवाको उद्देश्‍य विफल पार्ने शैतानको दाउ सफल हुने थिएन। धर्मत्यागको अत्यन्तै अन्धकारमय समयमा समेत कोही कोहीमा साँचो मसीहीधर्म अझै जीवितै थियो। बाइबलका प्रतिलिपी बनाउने व्यक्‍तिहरूले गल्ती नगर्न निकै मेहनत गरे। अतः बाइबलका कुरा सिकाउने अधिकार छ भनी दाबी गर्ने थुप्रै मानिसले यसका सन्देशहरूको गलत अर्थ लगाए तापनि बाइबल आफैचाहिं सग्लो रह्‍यो। शताब्दीयौंको दौडान जेरोम, टिण्डेलजस्ता शास्त्रज्ञहरूले निडरतासाथ परमेश्‍वरको वचन अनुवाद गर्नुका साथै वितरण गरे। करोडौं मानिसहरू बाइबल र मसीहीधर्मको कुनै न कुनै प्रकारको समूहसित परिचित भए, चाहे त्यो नकली नै किन नहोस्‌।

५. ‘साँचो ज्ञानको’ सन्दर्भमा अगमवक्‍ता दानियलले के भविष्यवाणी गरे?

आखिरमा, दानियलको पुस्तकमा भविष्यवाणी गरिएझैं ‘साँचो ज्ञान यता र उता बढ्यो।’ यो “अन्तको समय” अर्थात्‌ अहिले हामी बाँचिरहेको संसारमा पूरा भइरहेको छ। (दानियल १२:४, नयाँ संशोधित संस्करण) पवित्र आत्माले विश्‍वभरिका सत्यका प्रेमीहरूलाई साँचो परमेश्‍वर र उहाँको उद्देश्‍यको सही ज्ञानतर्फ डोऱ्‍याएको छ। धर्मत्यागी शिक्षा फैलिएको शताब्दीयौंपछि पनि परमेश्‍वरको वचन प्रबल छ! आज, आनन्ददायी नयाँ संसारको आशातर्फ मानिसहरूको ध्यानाकर्षण गर्दै संसारभरि सुसमाचार उद्‌घोषणा गरिंदैछ। (भजन ३७:११) आउनुहोस्‌, अब हामी आधुनिक समयमा भएको परमेश्‍वरको वचनको वृद्धि हेरौं।

आज वचनको वृद्धि

६. सन्‌ १९१४ सम्ममा बाइबल स्टुडेन्ट्‌सले कस्ता सत्य कुराहरू बुझे?

उन्‍नाइसौं शताब्दीको अन्ततिर आज यहोवाका साक्षीहरूको रूपमा चिनिने बाइबल स्टुडेन्ट्‌सको सानो समूहलाई बाइबल सत्यले उत्प्रेरित गऱ्‍यो। सन्‌ १९१४ सम्ममा बाइबलमा भएका कुराहरू तिनीहरूले बुझ्न थालेका थिए। तिनीहरूले परमेश्‍वरको उद्देश्‍यसित सम्बन्धित अद्‌भुत सच्चाइ बुझे। आफ्नो पुत्रलाई यस पृथ्वीमा पठाउनुभएर र अतः अनन्त जीवनको निम्ति बाटो खोलिदिनुभएर यहोवाले देखाउनुभएको प्रेमबाट तिनीहरू साह्रै उत्प्रेरित भए। तिनीहरूले परमेश्‍वरको नाउँ र उहाँको व्यक्‍तित्व थाह पाउनुका साथै त्यसको मूल्यांकन गरिसकेका थिए। यसबाहेक, “अन्यजातिहरूको समय” अन्त भइसक्यो र त्यसले परमेश्‍वरको राज्य सरकारले मानिसजातिलाई आशिष्‌ दिने समय नजिक छ भनी संकेत गर्छ भनेर पनि तिनीहरूले बुझे। (लूका २१:२४, नयाँ संशोधित संस्करण) कस्तो महिमित सुसमाचार! यी शक्‍तिशाली सच्चाइ सबैतिर, सबैलाई बाँड्‌नुपर्ने थियो। आखिर, मानिसहरूको जिन्दगीको सवाल थियो!

७. आधुनिक समयमा बाइबल सत्य कसरी प्रबल भएको छ?

यहोवाले ती मुठीभर आत्म-अभिषिक्‍त मसीहीहरूलाई आशिष्‌ दिनुभयो। आज साँचो मसीहीधर्म अँगाल्नेहरूको संख्या ६० लाखभन्दा बढी भइसक्यो। परमेश्‍वरको वचन भौगोलिक रूपमा पनि फैलिएको छ किनभने यहोवाका साक्षीहरू २३५ राष्ट्रहरूमा छरिएर बसेका छन्‌। यसबाहेक, बाइबल सत्यले धार्मिक तथा अन्य अवरोधहरूमाथि प्रबल भएर आफ्नो शक्‍ति प्रदर्शन गरेको छ। यस विश्‍वव्यापी प्रचारकार्यले राज्य शक्‍तिमा येशू उपस्थित हुनुहुन्छ भनी अकाट्य प्रमाण दिन्छ।—मत्ती २४:३, १४.

८. यहोवाका साक्षीहरूको वृद्धिबारे कसै कसैले के भनेका छन्‌?

प्रथम शताब्दीमा मसीहीधर्मको उल्लेखनीय वृद्धिबारे जसरी इतिहासकारहरूले टिप्पणी गरे त्यसरी नै आज थुप्रै शास्त्रज्ञहरूले आधुनिक समयमा यहोवाका जनहरूको वृद्धिबारे टिप्पणी गरेका छन्‌। संयुक्‍त राज्यका दुई शास्त्रज्ञले संयुक्‍त रूपमा यस्तो लेखे: “७५ वर्षको दौडान यहोवाका साक्षीहरूको संख्यामा भइरहेको वृद्धि दर उल्लेखनीय छ . . . र यो वृद्धि विश्‍वव्यापी रूपमा भइरहेको छ।” एउटा पूर्वी अफ्रिकी पत्रिकाले साक्षीहरूबारे यसो भन्यो, “आज संसारमा सबैभन्दा बढी वृद्धि भइरहेको र बाइबलीय शिक्षा पूरै पालन गर्ने अन्तरराष्ट्रिय जगत्‌मै सम्मानित धर्म हो।” अनि युरोपबाट प्रकाशित हुने एक कट्टरपन्थी क्याथोलिक पत्रिकाले “यहोवाका साक्षीहरूको उल्लेखनीय वृद्धिलाई” संकेत गऱ्‍यो। यस्तो वृद्धि हुनुको कारण के हो?

आज पनि पवित्र आत्मा सक्रिय छ

९. (क) आज परमेश्‍वरको वचन प्रबल हुनुको मुख्य कारण के हो? (ख) यहोवाले कसरी मानिसहरूलाई आफूतिर खिच्नुहुन्छ?

परमेश्‍वरको वचन आज पनि प्रबल हुनुको मुख्य कारण प्रथम शताब्दीमा जस्तै यहोवाको आत्मा एकदमै सक्रिय हुनु हो। येशूले भन्‍नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्‍तैन।” (यूहन्‍ना ६:४४) यी शब्दहरूले परमेश्‍वरले योग्य व्यक्‍तिहरूलाई बिस्तारै आफूतिर खिच्नुहुन्छ र तिनीहरूको हृदय छुनुहुन्छ भनी बुझाउँछ। आफ्ना साक्षीहरूले गरिरहेको प्रचारकार्यमार्फत यहोवाले “सबै जाति जातिका धन-सम्पत्तिहरू” अर्थात्‌ यस संसारका नम्र भेडाखाले मानिसहरूलाई उहाँको उपासनातर्फ खिच्दै हुनुहुन्छ।—हाग्गै २:६, ७.

१०. कस्तो प्रकारका मानिसहरूले परमेश्‍वरको वचन सुनेका छन्‌?

१० पवित्र आत्माले परमेश्‍वरका जनहरूलाई पृथ्वीको अन्तसम्मै परमेश्‍वरको वचन लैजान मात्र बल दिएको छैन तर सबै प्रकारका मानिसहरूलाई सुसमाचार सुन्‍न पनि उत्प्रेरित गरेको छ। परमेश्‍वरको वचन अँगाल्ने मानिसहरू साँच्चै “हरेक कुल, भाषा, मानिस र जाति[बाटका]” हुन्‌। (प्रकाश ५:९; ७:९, १०) तिनीहरूमाझ गरिब, धनी, उच्च शिक्षा हासिल गर्ने र अशिक्षित सबै छन्‌। कसैले युद्ध र क्रूर सतावटको परिस्थितिमा वचन स्वीकारेका छन्‌ भने कसैले शान्ति र समृद्धिको समयमा स्वीकारेका छन्‌। हरेक प्रकारको सरकार, संस्कृति, यातना शिविरदेखि दरबारका पुरुष तथा महिलाहरूले सुसमाचारप्रति सकारात्मक प्रतिक्रिया देखाएका छन्‌।

११. परमेश्‍वरका जनहरूको जीवनमा पवित्र आत्मा कसरी सञ्चालन हुन्छ र कस्तो भिन्‍नता स्पष्ट छ?

११ परमेश्‍वरका जनहरूमाझ अत्यन्तै विविधता भए तापनि तिनीहरू आपसमा मिलेर बस्छन्‌। (भजन १३३:१-३) परमेश्‍वरको सेवा गर्नेहरूको जीवनमा पवित्र आत्मा सक्रिय छ भन्‍ने कुराको यो प्रमाण हो। उहाँको आत्माले असल गर्न उत्प्रेरणा दिन्छ। यसले उहाँका सेवकहरूलाई प्रेम, आनन्द, शान्ति, दया र अन्य आकर्षक गुणहरू प्रदर्शन गर्न मदत गर्छ। (गलाती ५:२२, २३) आज, हामी धेरै समयअघि अगमवक्‍ता मलाकीले भविष्यवाणी गरेको कुरा स्पष्टसँग बुझ्छौं: “धर्मी र दुष्ट, अनि परमेश्‍वरको सेवा गर्ने र उहाँको सेवा नगर्नेको भेद तिमीहरू छुट्याउनसक्नेछौ।”—मलाकी ३:१८.

जोसिला कामदारहरूमा परमेश्‍वरको वचन प्रबल हुन्छ

१२. सुसमाचार प्रचारकार्यबारे यहोवाका साक्षीहरू कस्तो महसुस गर्छन्‌ र आफ्नो प्रचारकार्यमा तिनीहरू कस्तो प्रतिक्रियाको आशा गर्छन्‌?

१२ यहोवाका साक्षीहरू आज चर्च धाउने निष्क्रिय मानिसहरू होइनन्‌। प्रचारकार्यमा तिनीहरू सक्रियतासाथ भाग लिन्छन्‌। प्रारम्भिक मसीहीहरूजस्तै तिनीहरू स्वेच्छासाथ परमेश्‍वरको इच्छा गर्न तयार हुन्छन्‌ र यहोवाको राज्यका प्रतिज्ञाहरूबारे अरूलाई सिकाउन अघि सर्छन्‌। तिनीहरू उहाँको पवित्र आत्माअनुरूप यहोवाको सेवाका लागि अरूलाई जम्मा गर्ने परमेश्‍वरका सहकर्मीहरू हुन्‌। त्यसो गरेर तिनीहरूले अर्कै धर्म मान्‍ने मानिसहरूप्रति यहोवाको कृपा र प्रेम प्रतिबिम्बित गर्छन्‌। अनि तिनीहरूले भावशून्यता, गिल्ला र सतावटको बावजूद यो काम गर्छन्‌। येशूले आफ्ना अनुयायीहरूलाई सुसमाचारप्रति मानिसहरूले देखाउने विभिन्‍न किसिमका प्रतिक्रियाको निम्ति तयार गर्नुभयो। उहाँले भन्‍नुभयो: “दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्‌, तिनीहरूले मेरो वचन पालन गरे भने, तिमीहरूको पनि पालन गर्नेछन्‌।”—यूहन्‍ना १५:२०.

१३. मसीहीजगत्‌मा अभाव भएको कुन गुण यहोवाका साक्षीहरूमाझ प्रशस्त छ?

१३ आज यहोवाका साक्षीहरू र प्रथम शताब्दीमा मसीहीधर्म अँगाल्नेहरूबीचको समानतालाई हामी नकार्न सक्दैनौं। यद्यपि, यहोवाका साक्षीहरू र आज मसीहीजगत्‌बीचको भिन्‍नता पनि त्यतिकै छर्लंग छ। प्रारम्भिक मसीहीहरूले प्रचार कार्यमा देखाएको जोसबारे लेखिसकेपछि एक शास्त्रज्ञले यस्तो दुःख व्यक्‍त गरे: “वर्तमान चर्चको सिद्धान्त परिवर्तन भएर फेरि एक चोटि प्रत्येक बप्तिस्माप्राप्त मसीहीले धर्मप्रचारको काम दायित्वको रूपमा नलिएसम्म र विश्‍वासमा नभएकाहरूले तिनीहरूको भन्दा श्रेष्ठ गुणको प्रमाण नदेखेसम्म हामी प्रगति गर्नसक्ने छैनौं।” मसीहीजगत्‌मा अभाव भएको गुण यहोवाका साक्षीहरूमाझ प्रशस्त छ! तिनीहरूको विश्‍वास जीवित तथा साँचो छ र यो विश्‍वास बाइबल सत्यमा आधारित छ अनि सुन्‍नेहरू सबैसँग बाँड्‌न तिनीहरू उत्प्रेरित हुन्छन्‌।—१ तिमोथी २:३, ४.

१४. येशू आफ्नो सेवकाईलाई कस्तो ठान्‍नुहुन्थ्यो र आज उहाँका चेलाहरू कस्तो मनोवृत्ति देखाउँछन्‌?

१४ येशूले आफ्नो सेवकाईलाई एकदमै गम्भीरतासाथ लिनुभयो र यसलाई आफ्नो जीवनको प्रमुख चिन्ताको विषय बनाउनुभयो। उहाँले पिलातसलाई यसो भन्‍नुभयो: “यसैको निम्ति म जन्मेको हुँ, र त्यसैको निम्ति गवाही दिऊँ भनेर म यस संसारमा आएको हुँ।” (यूहन्‍ना १८:३७) परमेश्‍वरका जनहरू पनि येशूले जस्तै महसुस गर्छन्‌। तिनीहरूको हृदयमा बाइबल सत्य गडिएको हुनाले तिनीहरू यो अरूसँग बाँड्‌न सम्भव भएसम्म विभिन्‍न तरिकाहरू खोज्छन्‌। यी तरिकाहरूमध्ये कुनै कुनैमा उल्लेखनीय चतुऱ्‍याइँ देखिन्छ।

१५. सुसमाचार प्रचार गर्ने सन्दर्भमा कसै कसैले कस्तो चतुऱ्‍याइँ देखाएका छन्‌?

१५ एउटा दक्षिण अफ्रिकी देशमा साक्षीहरू मानिसहरूलाई सत्यको सन्देश सुनाउन अमेजोन नदीको सहायक नदीसम्म पुगे। तथापि, सन्‌ १९९५ मा गृह कलह सुरु हुँदा नागरिकहरूलाई नदीको किनाराबाट हिंड्‌न निषेधित गरियो। जिज्ञासु व्यक्‍तिहरूलाई बाइबल साहित्य पुऱ्‍याइरहने संकल्प गरेका यी साक्षीहरूले सन्देशलाई नदीमा बगाएर पठाउने निर्णय गरे। तिनीहरू पत्रहरू लेख्थे अनि ती पत्रहरूसँगै प्रहरीधरहराब्यूँझनुहोस्‌! पत्रिका खाली प्लास्टिकको बोतलभित्र घुसाउँथे। त्यसपछि तिनीहरू त्यो बोतल नदीमा फाल्थे। नागरिकहरूलाई त्यो नदी भएर जान नदेउञ्जेल साढे चार वर्षजति यसै गरियो। नदी वरपर बस्ने मानिसहरूले साक्षीहरूलाई साहित्यको निम्ति धन्यवाद दिए। एक बाइबल विद्यार्थी महिलाले गहभरि आँसु गर्दै तिनीहरूलाई अंकमाल गरिन्‌ र भनिन्‌: “मैले त तपाईंहरूलाई अब फेरि फेरि कहिल्यै भेट्‌ने छैन भन्ठानेकी थिएँ। तथापि, मैले जबदेखि बोतलमा साहित्यहरू पाउन थालें तपाईंहरूले मलाई बिर्सनुभएको छैन रहेछ भनेर थाह पाएँ!” नदी वरपर बस्ने अन्य मानिसहरूले पनि नियमित तवरमा पत्रिकाहरू पढेको कुरा तिनले बताइन्‌। थुप्रै बस्तीको “डाँकघर” थियो। मानिसहरू त्यस्तो “डाँकघर” अर्थात्‌ जलावर्तमा गएर तैरिएका सामानहरू जम्मा गर्थे। जिज्ञासु व्यक्‍तिहरू त्यहाँ आएर कुनै “पत्र” आएको छ कि भनेर हेर्ने गर्थे।

१६. हामी तयार छौं भने कहिलेकाहीं चेला बनाउने कस्ता मौकाहरू उत्पन्‍न हुनसक्छ?

१६ सुसमाचारको प्रचारकार्यमा यहोवा परमेश्‍वर अनि उहाँका शक्‍तिशाली स्वर्गदूतहरूको निर्देशन र समर्थन छ। (प्रकाश १४:६) हामीले आफूलाई तयार मात्र गर्दा पनि कहिलेकाहीं चेला बनाउने सोच्दै नसोचेका मौकाहरू उत्पन्‍न हुन्छन्‌। केन्याको नाइरोबी शहरमा क्षेत्र सेवकाईमा गएका दुई मसीही बहिनीहरूले आफूलाई खटाइएका घरहरूमा प्रचार गर्न सिध्याइसकेका थिए। एक युवती अकस्मात्‌ तिनीहरूकहाँ आएर उत्सुकतासाथ यसो भनिन्‌: “तपाईंहरूजस्तै कसैलाई भेट्‌न पाऊँ भनेर मैले प्रार्थना गरिरहेकी थिएँ।” तिनको घरमा तुरुन्तै छलफलको निम्ति आउन तिनले साक्षीहरूलाई अनुरोध गरिन्‌ र तिनीसँग सोही दिनदेखि बाइबल अध्ययन सुरु भयो। त्यस्तो आतुर गर्दै ती महिला किन दुई मसीहीहरूकहाँ आएकी? झन्डै दुई हप्ताअघि तिनकी सानी छोरीको मृत्यु भएको थियो। त्यसैकारण, जब तिनले एक जना केटाले “के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?” नामक पर्चा बोकेर गइरहेको देख्दा तिनलाई त्यो असाध्यै मनपऱ्‍यो र त्यस केटासँग मागिन्‌। त्यस केटाले दिन मानेनन्‌ तर तिनलाई पर्चा दिने साक्षीहरू भने देखाइदिए। चाँडै त्यस महिलाले आध्यात्मिक तवरमा राम्रो प्रगति गरिन्‌ र आफ्नी छोरी गुमाउनुपरेको पीडा सामना गर्न सकिन्‌।

यहोवाप्रति हाम्रो प्रेम प्रबल हुनैपर्छ

१७-१९. छुडौतीको बलिदानमार्फत यहोवाले मानिसजातिप्रति कस्तो प्रेम देखाउनुभएको छ?

१७ पृथ्वीभरि भइरहेको परमेश्‍वरको वचनको वृद्धिसित ख्रीष्ट येशूको छुडौतीको बलिदानको नजिकको सम्बन्ध छ। छुडौतीको बलिदानजस्तै प्रचारकार्य पनि चारैतिरका मानिसहरूको निम्ति यहोवाको प्रेमको अभिव्यक्‍ति हो। प्रेरित यूहन्‍ना यस्तो लेख्न प्रेरित भए: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।”—यूहन्‍ना ३:१६.

१८ छुडौतीको बलिदानको प्रबन्ध गर्नुभएर यहोवाले देखाउनुभएको प्रेमबारे सोच्नुहोस्‌। युगानुयुगदेखि परमेश्‍वरले आफ्नो एक मात्र प्रिय पुत्र अर्थात्‌ “परमेश्‍वरको सृष्टिको सुरुआत[सँग]” घनिष्ठ सम्बन्धको आनन्द उठाउँदै आउनुभएको थियो। (प्रकाश ३:१४) येशू आफ्नो पितालाई गहिरो प्रेम गर्नुहुन्छ र यहोवा पनि आफ्नो पुत्रलाई “संसारको उत्पत्तिभन्दा पहिलेदेखिनै” प्रेम गर्नुहुन्थ्यो। (यूहन्‍ना १४:३१; १७:२४) मानिसहरूले अनन्त जीवन पाऊन्‌ भनेर यहोवाले आफ्नो प्रिय पुत्रलाई मर्न दिनुभयो। मानिसजातिप्रतिको प्रेमको कस्तो श्रद्धेय अभिव्यक्‍ति!

१९ यूहन्‍ना ३:१७ मा यसो भनिएको छ: “परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँबाट बचोस्‌ भनेर पठाउनुभयो।” अतः यहोवाले आफ्नो पुत्रलाई न्याय गर्न वा दोषी ठहऱ्‍याउन होइन तर उद्धार गर्ने मायालु कामको निम्ति पठाउनुभयो। यो कुरा पत्रुसका शब्दहरूअनुरूप छन्‌: “कोही पनि नष्ट नहोस्‌, तर सबै जनाले पश्‍चाताप गरून्‌ भन्‍ने इच्छा गरेर प्रभुले तिनीहरूतर्फ धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९.

२०. सुसमाचारको प्रचारकार्यसँग मुक्‍ति कसरी सम्बन्धित छ?

२० ठूलो मूल्य चुकाउनुभएर मुक्‍तिको निम्ति कानुनी आधार प्रबन्ध गर्नुभएको हुनाले धेरैभन्दा धेरैले यसको फाइदा उठाएको यहोवा चाहनुहुन्छ। प्रेरित पावलले यस्तो लेखे: “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ। तब जसलाई तिनीहरूले विश्‍वास गरेकै छैनन्‌ उहाँलाई कसरी पुकार्ने? जसलाई तिनीहरूले सुनेकै छैनन्‌ उहाँलाई कसरी विश्‍वास गर्ने? औ प्रचार गर्नेविना तिनीहरूले कसरी सुन्‍नसक्लान्‌?”—रोमी १०:१३, १४.

२१. प्रचारकार्यमा भाग लिन पाएको सुअवसरबारे हामीले कस्तो महसुस गर्नुपर्छ?

२१ यस विश्‍वव्यापी प्रचार र शैक्षिक कार्यमा भाग लिन पाउनु ठूलो सुअवसरको कुरा हो! यो सजिलो काम होइन तर यहोवा आफ्ना जनहरूले सत्यअनुसार जीवन बिताएको र अरूसँग सुसमाचार बाँडिरहेको देख्नुहुँदा हर्षित हुनुहुन्छ! त्यसैले, तपाईंको परिस्थिति जस्तोसुकै भए तापनि परमेश्‍वरको पवित्र आत्मा र प्रेमले यस काममा भाग लिन तपाईंलाई उत्प्रेरित गरून्‌। अनि स्मरण रहोस्‌, हामीले विश्‍वभरि देखिरहेको गतिविधिले यहोवा परमेश्‍वरले आफ्नो प्रतिज्ञाअनुरूप “धार्मिकताले बास” गर्ने महिमित “नयाँ स्वर्ग र नयाँ पृथ्वी” चाँडै ल्याउनुहुनेछ भनी विश्‍वसनीय प्रमाण दिन्छ।—२ पत्रुस ३:१३.

के तपाईंलाई सम्झना छ?

• धर्मत्यागले किन सुसमाचारका प्रचारकहरूलाई रोक्न सकेन?

• हाम्रो समयमा परमेश्‍वरको वचन कसरी प्रबल भएको छ?

• आज परमेश्‍वरको आत्मा कसरी सक्रिय छ?

• छुडौतीको बलिदान कसरी सुसमाचार प्रचारकार्यसित सम्बन्धित छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको ग्राफ/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

बीसौं शताब्दीमा राज्य उद्‌घोषकहरूको संख्यामा वृद्धि

सरदर प्रकाशकहरू (लाखमा)

६०

५५

५०

४५

४०

३५

३०

२५

२०

१५

१०

०५

१९०० १९१० १९२० १९३० १९४० १९५० १९६० १९७० १९८० १९९० २०००

[पृष्ठ १५-मा भएका चित्रहरू]

जेरोम

टिण्डेल

गुटेनबर्ग

हस

[स्रोत]

Gutenberg and Hus: From the book The Story of Liberty, 1878

[पृष्ठ १५-मा भएको चित्र]

सन्‌ १९२० को दशकमा बाइबल स्टुडेन्ट्‌सले सुसमाचार उद्‌घोषणा गरिरहेका

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

संसारभरि मानिसहरूले सुसमाचार सुनिरहेका छन्‌

[पृष्ठ १८-मा भएको चित्र]

प्रचारकार्यले येशू ख्रीष्टको छुडौतीको बलिदानमार्फत परमेश्‍वरले व्यक्‍त गर्नुभएको प्रेमलाई महिमित गर्छ