सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उदारताले आनन्द दिन्छ

उदारताले आनन्द दिन्छ

उदारताले आनन्द दिन्छ

मायालु मसीही निरीक्षकको हैसियतमा प्रेरित पावल आफ्ना सँगी विश्‍वासीहरूको हित नै चाहन्थे। (२ कोरिन्थी ११:२८) अतः हाम्रो सामान्य युगको प्रथम शताब्दीको ५० औं वर्षको बीचतिर तिनले यहूदियामा खाँचोमा परेका मसीहीहरूको निम्ति पैसा संकलन गर्न प्रबन्ध मिलाए र उक्‍त अवसरमा तिनले उदारताबारे अनमोल पाठ सिकाए। खुला मनले दिएको कुराको यहोवाले एकदम कदर गर्नुहुन्छ भनेर पावलले जोड दिए: “हरेक मानिसले आफ्नो मनमा अडकले बमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.

अत्यन्तै गरिब तर उदार

प्रथम शताब्दीका अधिकांश मसीहीहरू समाजका प्रतिष्ठित व्यक्‍तिहरू थिएनन्‌। तिनीहरूमध्ये थुप्रै “शक्‍तिमान” थिएनन्‌ भनेर पनि पावलले बताए। तिनीहरू “संसारका निर्बल कुराहरू,” “संसारका नीच” कुराहरू थिए। (१ कोरिन्थी १:२६-२८) उदाहरणका लागि, म्यासिडोनियामा बस्ने मसीहीहरू “अगाध दरिद्रता” र “कष्टको ठूलो परीक्षामा” थिए। तैपनि, ती नम्र म्यासिडोनियालीहरूले “पवित्र जनहरूको सेवाको” निम्ति आर्थिक मदत दिने सुअवसरको निम्ति बिन्ती गरिरहे अनि तिनीहरूलाई सुअवसर दिंदा “औकातभन्दा बढता” दिए भनी पावल बताउँछन्‌!—२ कोरिन्थी ८:१-४.

तैपनि, तिनीहरूले दिएको रकमअनुसार तिनीहरूको उदारता नापिएन। बरु, उत्प्रेरणा, इच्छुकता र मनोवृत्ति महत्त्वपूर्ण थियो। अनुदान दिनुमा मन अनि हृदय दुवै संलग्न छ भनेर कोरिन्थका मसीहीहरूलाई पावलले बताए। तिनले यसो भने: “म तिमीहरूको तत्परता जान्दछु, जसको विषयमा म म्यासिडोनियनहरूका सामने तिमीहरूका पक्षमा घमन्ड गर्दछु, . . . र तिमीहरूको जोशले तिनीहरूका धेरै जसोलाई उत्तेजित पारेको छ।” उदारतासाथ दिन तिनीहरूले ‘मनमा अडकल’ गरिसकेका थिए।—२ कोरिन्थी ९:२, ७.

‘तिनीहरूको मन इच्छुक भयो’

प्रेरित पावलले आफ्नो समयभन्दा १५ शताब्दीअघि उजाडस्थानमा भएको उदारताको घटनालाई सम्झेका हुनसक्छन्‌। इस्राएलका १२ कुल मिश्रबाट मुक्‍त गरिएका थिए। तिनीहरू सीनै पर्वतको फेदमा पुगे र यहोवाले तिनीहरूलाई उपासनाको निम्ति पवित्रस्थान निर्माण गर्नुका साथै उपासनाका सबै सामग्रीहरू जोडजाम गर्ने आदेश दिनुभयो। यसको लागि निकै खर्च हुने थियो। अतः पूरै जातिलाई मदत गर्न आह्वान गरियो।

इस्राएलीहरूले कस्तो प्रत्युत्तर दिए? “जस जसका हृदय प्रेरणाले भऱ्‍यो, र हरेक जसको मन इच्छुक भयो, तिनीहरूले भेट हुने पालको काम त्यसका सबै सेवाका काम र पवित्र पोशाकको निम्ति परमप्रभुको लागि भेटी ल्याए।” (प्रस्थान ३५:२१) के त्यस राष्ट्रले खुला मनले दियो? अवश्‍य! मोशालाई यस्तो रिपोर्ट दिइयो: “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएका कामको निम्ति चाहिएको भन्दा पनि औधि ज्यादा सामानहरू मानिसहरूले ल्याउँदैछन्‌।”—प्रस्थान ३६:५.

त्यतिबेला इस्राएलीहरूको आर्थिक अवस्था कस्तो थियो? केही समयअघि मात्र तिनीहरू दयनीय अवस्थामा दासको जीवन बिताइरहेका थिए। ‘सताउन अघोर भार लगाएको’ कारण “अत्याचार[को]” “खल्लो जीवन” बिताइरहेका थिए। (प्रस्थान १:११, १४; ३:७; ५:१०-१८) अतः तिनीहरू आर्थिक तवरमा समृद्ध थिएनन्‌ भने पनि हुन्छ। हो, इस्राएलीहरूले दासत्वबाट मुक्‍ति पाउँदा भेडाबाख्रा र गाईगोरु लिएर गएका थिए। (प्रस्थान १२:३२) तर त्यो पनि त्यति धेरै नहुनसक्छ किनभने मिश्र छोडेको केही समय नबित्दै तिनीहरूले खान न मासु छ न रोटी छ भनेर गनगन गरेका थिए।—प्रस्थान १६:३.

त्यसोभए, पवित्रस्थान बनाउनको निम्ति मूल्यवान्‌ सामानहरू इस्राएलीहरूले कहाँबाट पाए त? तिनीहरूका पहिलाका मालिक अर्थात्‌ मिश्रीहरूबाट। बाइबल यसो भन्छ: “तिनीहरूले मिश्रीहरूलाई सुनका गहना, चाँदीका गहना र लुगाफाटा मागे। . . . र [मिश्रीहरूले] उनीहरूलाई ती सब दिए।” मिश्रीहरूको यस्तो उदार कार्य फिरऊनबाट होइन तर यहोवाबाटको आशिष्‌ थियो। ईश्‍वरीय रेकर्ड यसो भन्छ: “परमप्रभुले इस्राएलीहरूलाई मिश्रीहरूको निगाहमा राखिदिनुभयो, र तिनीहरूले उनीहरूलाई ती सब दिए।”—प्रस्थान १२:३५, ३६.

अतः इस्राएलीहरूले कस्तो महसुस गरे होलान्‌, कल्पना गर्नुहोस्‌ त। पुस्तौं पुस्ताले दासत्वको कारण धेरै दुःखकष्ट भोगेका थिए। अहिले स्वतन्त्र हुनुका साथै तिनीहरूसित निकै धनसम्पत्ति पनि थियो। अब आफूसित भएको धनको केही भाग दिनुपर्दा तिनीहरूले कस्तो महसुस गरे? आफूले कमाएको धन आफूले नै राख्न पाउनुपर्छ जस्तो तिनीहरूलाई लागेको हुनसक्छ। तथापि, शुद्ध उपासनाको निम्ति आर्थिक सहयोग दिने आह्वान गरिंदा तिनीहरूले कन्जुस्याइँ वा दिऊँ कि नदिऊँ गरी होइन तर पूरा मनले सहयोग गरे! यहोवाकै कारण ती भौतिक धनसम्पत्ति जम्मा गर्न सकेका हुन्‌ भनेर तिनीहरूले बिर्सेनन्‌। तसर्थ, तिनीहरूले चाँदी, सुन र गाईवस्तु प्रशस्त मात्रामा दिए। तिनीहरूले “राजी-खुशीसँग” दिए। तिनीहरूको “हृदय प्रेरणाले भऱ्‍यो।” ‘तिनीहरूको मन इच्छुक भयो।’ यो साँच्चै यहोवाको निम्ति “राजीखुशीका भेटी” थियो।—प्रस्थान २५:१-९; ३५:४-९, २०-२९; ३६:३-७.

इच्छुकता

दानको मात्राले दाता कत्तिको उदार छ भनेर थाह हुन्छ भन्‍ने छैन। एक चोटि येशू ख्रीष्टले मन्दिरको ढुकुटीमा मानिसहरूले दान दिएको हेरिरहनुभएको थियो। धनी मानिसहरूले धेरै सिक्का खसाले तर एकदमै कम मूल्यको दुई पैसा खसाल्ने गरिब विधवा देखेर येशू प्रभावित हुनुभयो। उहाँले भन्‍नुभयो: “यस गरीब विधवाले अरू सबैले भन्दा बढता चढाएकी छ। किनकि . . . यसले चाहिं आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चढाएकी छ।”—लूका २१:१-४; मर्कूस १२:४१-४४.

कोरिन्थ शहरका मसीहीहरूलाई पावलले लेखेका कुरा येशूको यस सोचाइअनुरूप थियो। खाँचोमा परेका सँगी विश्‍वासीहरूलाई मदत गर्न दान दिने सन्दर्भमा पावलले यस्तो टिप्पणी गरे: “तत्परता छ भने, आफूसित नभएअनुसार होइन, तर आफूकहाँ भएअनुसार यो ग्रहणयोग्य हुन्छ।” (२ कोरिन्थी ८:१२) हो, अनुदान भनेको प्रतिस्पर्धा वा तुलना गर्ने कुरा होइन। जसले मन गर्छ उसले आफ्नो गच्छेअनुसार दिन्छ र यहोवा तिनको उदार मन देखेर खुसी हुनुहुन्छ।

सबै कुराका मालिक यहोवालाई वास्तवमा कसैले केही दिएर धनी बनाउन नसके तापनि दान दिनु उहाँप्रति आफ्नो प्रेम व्यक्‍त गर्ने सुअवसर हो। (१ इतिहास २९:१४-१७) आडम्बर वा स्वार्थी मनसायले होइन तर असल मनसायले साँचो उपासना प्रवर्धन गर्न दिइएको अनुदानले आनन्द दिन्छ र परमेश्‍वरको आशिष्‌ पाइन्छ। (मत्ती ६:१-४) येशूले यसो भन्‍नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) यहोवाको सेवामा आफ्नो बल खर्च गरेर आफ्नो सरसम्पत्तिको केही भाग साँचो उपासना र खाँचोमा परेकाहरूको मदतको निम्ति छुट्ट्याएर हामीले त्यस आनन्दको अनुभव गर्नसक्छौं।—१ कोरिन्थी १६:१, २.

वर्तमान समयमा पनि दिन तयार

आज, यहोवाका साक्षीहरू विश्‍वभरि “सुसमाचार” प्रचार गर्ने काममा भइरहेको प्रगति देखेर रोमाञ्चित छन्‌। (मत्ती २४:१४) बीसौं शताब्दीको अन्तिम दशकमा ३०,००,००० भन्दा बढी मानिसहरूले बप्तिस्माद्वारा यहोवा परमेश्‍वरलाई आफ्नो जीवन समर्पण गरे र झन्डै ३०,००० नयाँ मण्डलीहरू स्थापित भए। हो, आज यहोवाका साक्षीहरूका मण्डलीहरूमध्ये एक तिहाइ गत दस वर्षको दौडान स्थापना गरिएका हुन्‌! यो प्रगति मसीही पुरुष तथा स्त्रीहरूले आफ्नो छरछिमेकमा यहोवाको उद्देश्‍यबारे बताउन खर्च गरेको समय र कडा मेहनतको फल हो। यो प्रगतिको श्रेय केही हदसम्म मिसनरीहरूलाई पनि जान्छ जो आफ्नो घर छोडेर टाढा टाढा राज्य प्रचारकार्यको निम्ति जान्छन्‌। यस वृद्धिले गर्दा नयाँ क्षेत्रहरूको व्यवस्था मिलाउनुका साथै नयाँ क्षेत्रीय निरीक्षकहरू नियुक्‍त गर्नुपरेको छ। यसबाहेक, प्रचारकार्य र व्यक्‍तिगत अध्ययनको निम्ति अझ बढी बाइबल चाहिएको छ। थप मुद्रित प्रकाशनहरू आवश्‍यक परेको छ। अनि एकपछि अर्को देशमा शाखा कार्यालय बिस्तार गर्नु वा अर्कै ठूलो ठाउँमा सार्नुपरेको छ। यी सबै थप आवश्‍यकताहरू यहोवाका जनहरूको स्वेच्छिक चन्दाद्वारा नै पूरा गरिएका हुन्‌।

राज्यभवनहरूको आवश्‍यकता

यहोवाका साक्षीहरूको वृद्धिसँगसँगै राज्यभवनको टड्‌कारो आवश्‍यकता परेको छ। सन्‌ २००० को सुरुतिर गरिएको सर्वेक्षणअनुसार आर्थिक तवरमा पछि परेका विकासोन्मुख राष्ट्रहरूमा ११,००० भन्दा बढी राज्यभवन आवश्‍यक छ। उदाहरणका लागि, अंगोलालाई लिनुहोस्‌। वर्षौंको गृहयुद्धको बावजूद त्यहाँ प्रत्येक वर्ष राज्य प्रकाशकहरूको संख्यामा सरदर १० प्रतिशतको दरले वृद्धि भइरहेको छ। तथापि, यस विशाल अफ्रिकी देशमा ६७५ वटा मण्डली बाहिर खुला ठाउँमै भेला हुन्छन्‌। त्यस देशमा जम्मा २२ वटा राज्यभवन छन्‌ र तीमध्ये पनि १२ वटामा मात्र छत छ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा पनि अवस्था त्यस्तै छ। त्यहाँको राजधानी किन्शाशामा झन्डै ३०० वटा मण्डली भए तापनि जम्मा १० वटा मात्र राज्यभवन छ। देशभरि अहिले तुरुन्तै १,५०० भन्दा धेरै राज्यभवन आवश्‍यक छ। पूर्वी युरोपेली देशहरूमा भएको तीव्र वृद्धिको कारण रूस र युक्रेनले सयौं राज्यभवनको आवश्‍यकताबारे रिपोर्ट गरेको छ। ल्याटिन अमेरिकामा द्रुत गतिमा भइरहेको वृद्धिको प्रमाण ब्राजिल हो, त्यहाँ ५ लाखभन्दा बढी साक्षीहरू छन्‌ र अझ बढी राज्यभवनको एकदमै खाँचो छ।

यस्ता देशहरूको आवश्‍यकता पूरा गर्न यहोवाका साक्षीहरूले राज्यभवनको निर्माणमा तीव्रता ल्याउने कार्यक्रमहरू बनाउँदैछन्‌। यो कार्यक्रम विश्‍वव्यापी भातृत्वले उदारचित्तसाथ दिएको अनुदानले चल्छ ताकि सबैभन्दा गरिब मण्डलीको पनि एउटा सुहाउँदो उपासना केन्द्र होस्‌।

पुरातन समयमा झैं निष्कपट मसीहीहरूले ‘आफ्नो धनसम्पत्तिले यहोवाको आदर’ गर्ने भएकाले यी सबै आवश्‍यकता पूरा गर्न सकिन्छ। (हितोपदेश ३:९, १०) यस अवसरमा हृदय भरिएर दिन प्रेरित हुनेजति सबैलाई यहोवाका साक्षीहरूको परिचालक निकाय गहिरो कृतज्ञता व्यक्‍त गर्न चाहन्छ। अनि झन्‌ झनै बढ्‌दै गइरहेको राज्य कार्यका आवश्‍यकता पूरा गर्न यहोवाको आत्माले आफ्ना जनहरूको हृदय उत्प्रेरित गर्नेछ भनेर हामी विश्‍वस्त हुनसक्छौं।

विश्‍वव्यापी काम बढ्‌दै जाँदा हाम्रो बल, समय, स्रोत दिने इच्छुकता र आनन्द देखाउने सुअवसरहरूको खोजी गरिरहौं। अनि त्यस्तो उदारचित्तसाथ दिंदा अनुभव हुने साँचो आनन्द महसुस गरौं।

[पृष्ठ २९-मा भएको पेटी]

“बुद्धिमानीपूर्वक चलाउनुहोस्‌ !”

“म दस वर्षकी भएँ। म तपाईंहरूलाई यो पैसा कागज वा किताब बनाउनको निम्ति चाहिने सामानहरू किन्‍न पठाउँदैछु।”—सिन्डी।

“हाम्रोनिम्ति अझ धेरै पुस्तकहरू बनाउनुहोस्‌ भनेर म तपाईंहरूलाई यो पैसा पठाउँदैछु। मैले यो पैसा बुबालाई मदत गरेर जम्मा गरेकी हुँ। त्यसैले यसलाई बुद्धिमानीपूर्वक चलाउनुहोस्‌!”—प्याम, वर्ष सात।

“आँधीबेहरीको कुरा सुन्दा दुःख लाग्यो। तपाईंहरू सकुशल नै हुनुहुन्छ होला। मेरो खुत्रुकेमा भएका सबै पैसा [२ अमेरिकी डलर] पठाउँदैछु।”—एलिसन, वर्ष चार।

“मेरो नाउँ रुडि हो र म ११ वर्षको भएँ। मेरो भाइ राल्फ छ वर्षको भयो। अनि मेरी बहिनी जुडिथ अढाइ वर्षकी भइन्‌। हामीले [युद्धग्रस्त इलाकाका] भाइहरूलाई मदत गर्न तीन महिनादेखि हाम्रो पाकेट खर्च जम्मा गर्दै आएका छौं। हामीले जम्मा गरेको २० डलर पठाउँदैछौं।”

“भाइहरू [आँधीबेहरीबाट] प्रभावित भएको सुन्दा नमीठो लाग्यो। बुबासँग काम गरेर मैले १७ डलर जम्मा गरेको थिएँ। मैले यो पैसा कुनै खास कामको लागि पठाएको होइन, तपाईंहरू आफैले हेरेर खर्च गर्नुहोस्‌।”—म्याकलिन, वर्ष आठ।

[पृष्ठ ३१-मा भएको पेटी]

केही व्यक्‍तिहरूले स्वेच्छासाथ

विश्‍वव्यापी कामका लागि चन्दा दिने तरिकाहरू

“सोसाइटीको विश्‍वव्यापी कामका लागि चन्दा—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा दिन धेरैजसोले केही पैसा छुट्ट्याउँछन्‌ वा बजेट बनाउँछन्‌। त्यसपछि, हरेक महिना मण्डलीहरूले स्थानीय शाखा कार्यालयमा यी धनराशि पठाउँछन्‌।

स्वेच्छापूर्वक चन्दा दिइएको रुपियाँ-पैसा The Watch Tower Bible and Tract Society of India, H-58 Old Khandala Road, Lonavla 410 401, Maharashtra मा वा तपाईंको देशमा भएको शाखा कार्यालयमा सीधै पठाउन सकिन्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यी चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।

नियोजित दान

पूर्णतया दान र शर्तनामा चन्दाबाहेक विश्‍वव्यापी राज्य सेवाको लागि लाभप्रद साबित हुनसक्ने अन्य केही तरिकाहरू पनि छन्‌। ती हुन्‌:

बिमा: वाच टावर सोसाइटीलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप खाता वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकको आवश्‍यकताअनुरूप वाच टावर सोसाइटीलाई सुम्पिन, वा शेषपछि हस्तान्तरण, गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू पनि सोसाइटीलाई पूर्णतया दान वा चन्दादाताले आम्दानी पाउने प्रबन्ध मिलाएर चन्दा दिन सकिन्छ।

घडेरी: बिक्री गर्न मिल्ने घडेरी पनि वाच टावर सोसाइटीलाई चन्दास्वरूप दिन सकिन्छ। घडेरीलाई पूर्णतया दान वा चन्दादाता बाचुञ्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। सोसाइटीलाई कुनै घडेरी दिनुअघि सोसाइटीसित सम्पर्क राख्नुपर्छ।

वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीलाई हस्तान्तरण गर्न सकिन्छ। अथवा सोसाइटीलाई कोशको हकदार बनाउन सकिन्छ। सोसाइटीलाई हकदारको रूपमा वसियतनामा बनाउँदा कृपया, इन्डियन सक्सेसन एक्ट-को धारा ११८ मा पाइएको निम्न कुरालाई ध्यान दिनुहोस्‌, “भानिज, भतिजी वा अन्य कुनै नजिकको नातेदार भएको मानिसले आफ्नो जायजेथा धार्मिक वा परोपकारी कार्यको निम्ति दिन मिल्दैन र यदि दिने नै हो भने पनि तिनले स्वेच्छाले आफ्नो मृत्युभन्दा बाह्र महिनाअघि वसियतनामा गर्नुपर्छ र वसियतनामा गरेको छ महिनाभित्र कानुनअनुसार कुनै जीवित व्यक्‍तिको जिम्मामा सुम्पनुपर्छ।”