आफ्नो नाउँ जोगाउनुहोस्
आफ्नो नाउँ जोगाउनुहोस्
सुन्दर भवनहरू डिजाइन गर्ने व्यक्ति निपुण वास्तुकारको रूपमा चिनिन्छन्। शैक्षिक क्षेत्रमा राम्रो गर्ने युवती बुद्धिमती विद्यार्थीको रूपमा चिनिन्छिन्। केही नगर्ने मानिसले समेत अल्छी मानिसको नाउँ कमाउँछ। राम्रो नाउँ कमाउने महत्त्वमा जोड दिंदै बाइबल यस्तो उल्लेख गर्छ: “धेरै धन-सम्पत्ति भन्दा असल नाउँको इच्छा गर्नु धेरै उत्तम हो, सुन अथवा चाँदीभन्दा मान-इज्जत अझ असल हो।”—हितोपदेश २२:१.
असल नाउँ समयको दौडान थुप्रै स-साना कार्यहरू गरेर कमाइन्छ। तर कमाएको नाउँ धूलोमा मिलाउन एउटा मूर्ख्याइँ पर्याप्त हुन्छ। उदाहरणका लागि, एउटा यौन अनैतिक कार्यले असल नाउँ खत्तम हुनसक्छ। बाइबल पुस्तक हितोपदेशको छैठौं अध्यायमा पुरातन इस्राएलका राजा सुलेमानले हाम्रो बदनाम गर्ने र यहोवा परमेश्वरसितको सम्बन्धलाई पनि हानि पुऱ्याउने मनोवृत्ति तथा कार्यहरू विरुद्ध चेताउनी दिएका छन्। यसमा आलस्य, छल र यौन अनैतिकता समावेश छन् र यी कुराहरू यहोवाले घृणा गर्नुहुन्छ। यो सल्लाह पालन गर्दा हामीले आफ्नो असल नाउँ जोगाउन मदत पाउनेछौं।
मूर्ख वाचाहरू गर्नदेखि जोगिनुहोस्
हितोपदेशको छैठौं अध्यायको सुरुमा यसो भनिएको छ: “हे मेरो छोरो, यदि तँ आफै कसैको बन्धकी बसेको छस्, औ कुनै परदेशीको जमानी बसेको छस् भने आफ्नो प्रतिज्ञाको वचनले तँ फँसेको छस्, र आफ्नै मुखको प्रतिज्ञाले बाँधिएको छस् भने, म अब जे भन्दैछु सो गर्, र तैंले आफूलाई बचा, हे मेरो छोरो—जब तँ अरू मानिसको पञ्जामा पर्छस्, तब झट्टै गएर घरिघरि बिन्ती गरिबस्।”—हितोपदेश ६:१-३.
यस हितोपदेशले अरूको र अझ विशेष गरी नचिनेका मानिसहरूको व्यापारिक कारोबारमा नमुछिन सल्लाह दिन्छ। हो, इस्राएलीहरूले ‘अति गरीब भएर आफ्नो देखभाल गर्न नसक्नेहरूको देखभाल गर्नुपर्थ्यो।’ (लेवी २५:३५-३८) तर केही उद्यमी इस्राएलीहरू शंकास्पद व्यापारिक कारोबारमा संलग्न भए अनि अरूलाई आफ्नो लागि ‘बन्धकी’ बस्न फकाएर आर्थिक लाभ उठाए र अतः तिनीहरूलाई ऋणको बोझ बोकाए। त्यस्तै परिस्थिति आज पनि हुनसक्छ। उदाहरणका लागि, वित्तीय संस्थाहरूले जोखिमपूर्ण ठानेका कामहरूको लागि ऋण दिनुअघि अर्को एक व्यक्तिको हस्ताक्षर चाहिन्छ भन्नसक्छन्। अरूको निम्ति तुरुन्तै त्यसरी जमानी बस्ने निर्णय गर्नु कस्तो मूर्खतापूर्ण हुनेछ! यसले हामीलाई आर्थिक तवरमा अप्ठ्यारोमा पार्नसक्छ र बैंक तथा अन्य ऋणदाताहरूमाझ बदनामसमेत हुनसक्छ!
हितोपदेश ६:४, ५) मूर्ख कामहरूमा फस्नुअघि नै त्यसबाट पछि हट्नु बुद्धिमानी हो।
सुरुमा आफूले कुनै काम राम्रै लागेर लिएको तर पछि राम्ररी केलाउँदा मूर्खतापूर्ण रहेछ भनेर थाह पाउँदा नि? यस्तो बेला आफ्नो अहमतालाई त्यागेर “झट्टै गएर घरिघरि बिन्ती” गर्नुपर्छ। समस्या सुल्झाउन हामीले गर्न सकेजति सबै गर्नुपर्छ। एउटा पुस्तक यसो भन्छ: “आफ्नो विपक्षीसित सहमति नभएसम्म र समस्या नसुल्झेसम्म कुनै कसर नछोड्नुहोस् ताकि तपाईंको ऋणपत्र तपाईं अनि तपाईंको विरुद्ध प्रयोग नगरियोस्।” अनि यो तुरुन्तै गरिहाल्नुपर्छ किनभने राजा यसो भन्छन्: “एकछिन पनि विश्राम नली, तेरो आँखालाई निद्रा नदे। शिकारीको पासोबाट मृग उम्केझैं शिकारीको हातबाट चरा फुत्केझैं तैंले आफूलाई बचा।” (कमिलाजस्तो उद्यमी हुनुहोस्
सुलेमान यस्तो सल्लाह दिन्छन्: “ए अल्छे! कमिलाकहाँ गएर त्यसको चाल-ढंग हेर्, र ज्ञान सिक्।” त्यो सानो कमिलाको चाल ढंगबाट हामी के सिक्नसक्छौं? राजा सुलेमान यस्तो जवाफ दिन्छन्: “त्यसको कुनै हेर-विचार गर्ने हुँदैन, कुनै राज्यपाल अथवा शासन गर्ने हुँदैन। तर ग्रीष्म ऋतुमा त्यसले आफ्नो अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ।”—हितोपदेश ६:६-८.
कमिलाहरू अत्यन्तै व्यवस्थित हुनुका साथै असाध्यै मदतकारी हुन्छन्। सहज ज्ञानद्वारा तिनीहरूले भविष्यको निम्ति खाना सञ्चय गर्छन्। तिनीहरूको “कुनै राज्यपाल अथवा शासन गर्ने हुँदैन।” हो, रानी कमिला हुन्छे तर ऊ त्यस अर्थमा मात्र रानी हो किनकि उनले अण्डा पार्छे र समूहकी आमा हो। उसले कुनै आदेश दिन्न। तिनीहरूको नाइके वा निरीक्षण गर्ने कोही नभए पनि कमिलाहरू झिजो नमानी काम गरिरहन्छन्।
के हामी पनि कमिलाजस्तै उद्यमी हुनु पर्दैन र? हामीमाथि सुपरिवेक्षण गरिएको होस् या नहोस्, मेहनत गर्नु र आफ्नो काममा उन्नति गर्ने प्रयास गर्नु असल हो। हो, स्कूल, जागिर र अरूसित आध्यात्मिक कुरा बाँड्दा पनि हामीले यथासक्दो गर्नुपर्छ। उद्यमी भएर कमिलाले फाइदा उठाएझैं परमेश्वर हामीले पनि ‘परिश्रम’ गरेको चाहनुहुन्छ। (उपदेशक ३:१३, २२; ५:१८) सफा अन्तस्करण र व्यक्तिगत सन्तुष्टि मेहनतका फलहरू हुन्।—उपदेशक ५:१२.
दुई आलंकारिक प्रश्नहरू चलाएर सुलेमान अल्छे मानिसलाई घचघच्याउने कोसिस गर्छन्: “ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्?” अल्छे मानिसले दिने जवाफको अड्कल गर्दै राजा अझ यसो भन्छन्: “एक छिनको सुताइ र एक छिनको उँघाइले आरामको निम्ति छातीमा एक छिनको हात रखाइले दरिद्रता तँमाथि डाँकूझैं र अभाव चाहिं हत्याराझैं आइलाग्नेछ।” (हितोपदेश ६:९-११) अल्छे मानिस उत्तानो परेर बसिराखेमा दरिद्रता डाँकूझैं र अभाव हत्याराझैं आइलाग्नेछ। अल्छीको खेत चाँडै झारपात र काँढाले भरिन्छ। (हितोपदेश २४:३०, ३१) तिनको व्यापार चाँडै नोक्सानीमा जान्छ। आखिर कतिञ्जेल मालिकले त्यसको अल्छीपन सहन्छ? अनि अल्छे विद्यार्थीले स्कूलमा राम्रो गर्ने आशा गर्न सकिन्छ र?
इमानदार हुनुहोस्
समाजमा मानिसको नाउँ र परमेश्वरसितको सम्बन्ध बिगार्ने अर्को बानी औंल्याउँदै सुलेमान यसो भन्छन्: “बदमाश, उपद्रवी मानिस त्यही हो जो दुर्वाच्य बोलिहिंड़छ आँखा झिम्क्याएर, खुट्टाले चाल गरेर, औंलाले पनि इशारा गर्छ। विनाशनै त्यसको षड़यन्त्र हो। त्यसले सधैंनै झगड़ा उठाउँछ।”—हितोपदेश ६:१२-१४.
यो विवरण छली मानिसको हो। फटाहाले अक्सर
आफ्नो झूट ढाकछोप गर्न खोज्छ। कसरी? “दुर्वाच्य[ले]” मात्र होइन तर आफ्नो जीउको चालढालले पनि। एक शास्त्रविद् यसो भन्छन्: “इसारा, स्वर र मुहार सबै सुनियोजित ढंगमा ठग्ने माध्यम हुन्। निष्कपट अनुहारपछाडि विकृत मन र वैमनस्यको भाव लुकेको हुन्छ।” त्यस्तो बेकारको मानिसले सधैं दुष्ट दाउपेचहरू रच्नुका साथै बेमेल पैदा गरिरहेको हुन्छ। त्यस्तो व्यक्तिले कस्तो नतिजा भोग्नुपर्छ?इस्राएलका राजा यस्तो जवाफ दिन्छन्: “त्यसमाथि अचानक विपत्ति आइलाग्छ। निरुपाय त्यो एक्कासि नाश हुनेछ।” (हितोपदेश ६:१५) तिनको झूटा कामकुरा उदांग भएपछि फटाहाको नाउँ तुरुन्तै खत्तम हुन्छ। तिनलाई फेरि कसले पत्याउँछ र? वास्तवमा तिनको अन्त बरबादीपूर्ण हुन्छ किनभने “सबै झूटा बोल्नेहरू[ले]” अनन्त मृत्यु भोग्नेछन्। (प्रकाश २१:८) त्यसकारण, जस्तोसुकै अवस्थामा भए पनि हामी “सबै कुरामा इमान्दारीसाथ” रहौं।—हिब्रू १३:१८.
यहोवाले घृणा गर्नुहुने कुरा घृणा गर्नुहोस्
खराब कुराको घृणा—हाम्रो नाउँ धूलोमा मिल्नबाट बचाउने कत्ति राम्रो उपाय हो! के हामीले पनि खराब कुरालाई घृणा गर्नु पर्दैन र? तर हामीले खासमा घृणा गर्नुपर्ने कुरा के हो? सुलेमान भन्छन्: “छवटा कुरालाई परमप्रभु घृणा गर्नुहुन्छ, सातवटा कुरादेखि उहाँ घिनाउनुहुन्छ अहंकारी आँखा, झूट बोल्ने जिब्रो, निर्दोष रगत बगाउने हात, खराबी चिताउने मन, र दुष्ट काम गर्न अग्रसर हुने खुट्टा, धेरै असत्य बोल्ने झूटा गवाही, र दाज्यू-भाइहरूका बीचमा झगड़ा उठाउने मानिस।”—हितोपदेश ६:१६-१९.
हितोपदेशले उल्लेख गरेका सात प्रकारका खराबीले प्रायजसो सबै खराबीलाई ढाक्छ। “अहंकारी आँखा” र “खराबी चिताउने मन” मनमा गरिने पाप हुन्। “झूट बोल्ने जिब्रो” र “धेरै असत्य बोल्ने झूटा गवाही” भनेको पापी शब्दहरू हुन्। “निर्दोष रगत बगाउने हात” र “दुष्ट काम गर्न अग्रसर हुने खुट्टा” दुष्ट कार्यहरू हुन्। अनि शान्तिसित बसिरहेका मानिसहरूबीच विभाजन पैदा गर्ने मानिसहरू यहोवाको नजरमा विशेष गरी घृणित व्यक्तिहरू हुन्। दुष्टहरूको काम छबाट सात हुनुको अर्थ सूची अपूरो छ। किनभने मानिसहरूको दुष्ट कार्यहरू बढ्दै जान्छन्।
साँच्चै, हामीले परमेश्वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्न सिक्नुपर्छ। उदाहरणका लागि, “अहंकारी आँखा” त्याग्नुपर्छ वा घमण्डी हुनु हुँदैन। हानिकारक कुराकानीबाट निश्चय अलग रहनुपर्छ किनभने यसले सजिलै “दाज्यू-भाइहरूका बीचमा झगड़ा” उत्पन्न गर्छ। आफूले सुनेको भरमा हल्ला फैलाएर, अनुचित आलोचना गरेर वा झूटो बोलेर हामीले “निर्दोष रगत बगाउने” त गरिरहेका हुँदैनौं तर अर्को मानिसको बदनाम गरिरहेका हुनेछौं।
“तेरो मनमा त्यसको सुन्दरताको इच्छा नगर्”
सुलेमानले आफ्नो अर्को सल्लाह यसरी सुरु गर्छन्: “हे मेरो छोरो, आफ्ना पिताको आज्ञा पालन गर्, औ आफ्नी आमाको अर्तीलाई इन्कार नगर्। ती तेरो हृदयमा सधैं राख्, र तिनलाई तेरो गलामानै बाँधिराख्।” किन? “तँ जता गए तापनि तिनले तेरो अगुवाइ गर्नेछन्, औ जब तँ जागा हुनेछस् तब तिनले तँसित बातचीत गर्नेछन्।”—हितोपदेश ६:२०-२२.
धर्मशास्त्रमा भनेअनुसार हाम्रो उचित लालनपालन भएको छ भने, के त्यसले हामीलाई यौन अनैतिकताको प्रलोभनबाट बच्न साँच्चै मदत गर्नसक्छ? हो, गर्नसक्छ। हामीलाई यस्तो आश्वासन दिइएको छ: “आज्ञा चाहिं बत्ती र अर्ती चाहिं ज्योति हो, शिक्षा र सुधारले जीवनको मार्ग देखाउँछन्। अर्को मानिसकी पत्नीबाट खराब स्त्रीको लोभ्याउने जिब्रोबाट तँलाई अलग राख्छ।” (हितोपदेश ६:) परमेश्वरको वचनको सल्लाह सम्झँदै र ‘वचन खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालोको’ रूपमा चलायौं भने खराब स्त्री वा पुरुषको जालमा फस्नबाट बच्नेछौं।— २३, २४भजन ११९:१०५.
बुद्धिमान् राजा यस्तो सल्लाह दिन्छन्: “तेरो मनमा त्यसको सुन्दरताको कारण कुइच्छा नगर्, अथवा त्यसको आँखाले तँलाई नफसाओस्।” किन? “किनकि वेश्याले तँलाई एउटा रोटीको टुक्रामा झारिदिनेछे। र व्यभिचारिणीले त तेरो जीवनसमेत शिकार तुल्याउनेछे।”—हितोपदेश ६:२५, २६, नयाँ संशोधित संस्करण।
के सुलेमानले व्यभिचारी पत्नीलाई वेश्या भन्दैछन्? सायद। अनि तिनले वेश्यासित व्यभिचार गर्दा र अर्को मानिसको पत्नीसित व्यभिचार गर्दाका भिन्न नतिजाहरूबारे बताइरहेका पनि हुनसक्छ। वेश्यासित सम्बन्ध राख्ने मानिसलाई त्यसले “एउटा रोटीको टुक्रामा झारिदिनेछे” अर्थात् अत्यन्तै दरिद्र बनाइदिनेछे। तिनलाई पीडादायी घातक एड्सलगायत अन्य यौनजन्य रोगहरू पनि लाग्नसक्छ। अर्कोतर्फ, अर्काको पत्नीसित सम्बन्ध राख्न खोज्ने मानिसले परमेश्वरको व्यवस्था विरुद्ध चलेर आफूलाई तुरुन्तै ठूलो खतरामा पारिरहेको हुनसक्छ। व्यभिचारी पत्नीले आफ्नो अवैध साथीको “सम्पूर्ण जीवन” खतरामा पार्छ। एउटा पुस्तक यसो भन्छ: “यस्तो पथभ्रष्ट कार्यले आफ्नो जीवन छोट्याउने मात्र मात्र खाने होइन . . . तर,” “पापी मृत्युदण्डको योग्य छ।” (लेवी २०:१०; व्यवस्था २२:२२) जे होस्, जति नै सुन्दरी भए तापनि त्यसको पछि लाग्नु ठीक होइन।
‘आफ्नो छातीको लुगा नडढाउनु’
व्यभिचारको खतरालाई अझ जोड दिंदै सुलेमान यस्तो प्रश्न गर्छन्: “आफ्नो लुगा नडढ़ाईकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्नसक्छ? जलि रहेको भुंग्रोमा कुनै मानिस हिंड़यो भने के त्यसको खुट्टा पोल्दैन र?” आफ्नो दृष्टान्त व्याख्या गर्दै तिनी भन्छन्: “अर्काकी पत्नीसित सुत्ने त्यस्तैनै हुन्छ, त्यस्ती स्त्रीलाई छुने कुनै पनि मानिस उम्केर जाँदैन।” (हितोपदेश ६:२७-२९) त्यस्तो पापीले निश्चय पनि सजाय पाउनेछ।
“आफ्नो भोक मार्न चोरी गर्दा पनि के चोर घृणित हुँदैन र?” भनेर हामीलाई सोधिएको छ। तैपनि, “त्यो पक्राउ पऱ्यो भने के त्यसले सात गुणा बढ़ी दिनु पर्दैन र? र त्यसको घरमा भएका सबै थोक त्यसले दिनु पर्दैन र?” (हितोपदेश ६:३०, ३१) पुरातन इस्राएलमा चोरले आफ्नो सरसम्पत्ति सबै खत्तम भए तापनि तिर्नुपर्थ्यो। a अतः त्यस्तो कार्यमा फस्ने कुनै कारण नै नभएको व्यभिचारी झन् कतिको सजायको योग्य हुनेछ!
सुलेमान भन्छन्, “व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो।” ‘आफूमाथि बर्बादी ल्याउने’ मानिससित विवेक हुँदैन। (हितोपदेश ६:३२) बाहिरबाट त तिनी राम्रै नाउँ भएको मानिस होलान् तर तिनको भित्री मनुष्यत्वको राम्रो विकास भएको हुँदैन।
व्यभिचारीले भोग्नुपर्ने नतिजा त्यति मात्रै होइन। “त्यसले मुक्का र तिरस्कारबाहेक अरू केही पाउँदैन, त्यसको अपमान कहिल्यै हट्दैन। किनभने लोग्नेको रीस ईर्ष्याले भरिएको हुन्छ, साटो लिने दिनमा त्यसले केही दया देखाउँदैन। त्यसले कहिल्यै कुनै भर्ना ग्रहण गर्दैन, कतिकै घूसले पनि तैंले त्यसको क्षमा पाउँदैनस्।”—हितोपदेश ६:३३-३५.
चोरले चोरेको कुराको क्षतिपूर्ति दिनसक्छ तर व्यभिचारीले क्षतिपूर्ति दिन सक्दैन। क्रोधित पतिलाई दिनसक्ने कुनै क्षतिपूर्ति छ र? जस्तै बिन्ती गरे पनि गल्ती गर्ने दयाको पात्र हुँदैन। व्यभिचारीले कुनै हालतमा पनि आफ्नो पापको क्षतिपूर्ति तिर्नसक्दैन। त्यसको नाउँमा लागेको दाग रहिरहन्छ। यसबाहेक, ऊ सजायबाट बच्न सक्दैन।
हाम्रो असल नाउँ बदनाम गर्ने र परमेश्वरको नाउँमा कलंक लगाउनसक्ने व्यभिचार तथा अन्य खराब आनीबानी र मनोवृत्तिबाट अलग रहनु कत्ति असल कुरा हो! अतः हामी मूर्ख वाचाहरू गर्नदेखि होसियार होऔं। हामी उद्यमी र इमानदार भनेर चिनियौं। अनि यहोवाले घृणा गर्नुहुने कुरालाई घृणा गर्ने प्रयास गर्दै यहोवा र आफ्ना सहमानवहरूमाझ असल नाउँ कमाऔं।
[फुटनोट]
a मोशालाई दिइएको व्यवस्थाअनुसार चोरले दुई, चार वा पाँच गुणा तिर्नुपर्थ्यो। (प्रस्थान २२:१-४) “सात गुणा” भन्ने पदावलीले मोशालाई दिइएको व्यवस्थाअनुसार पूर्ण सजायलाई बुझाउँछ जुन कहिलेकाहीं तिनले चोरेको भन्दा धेरै हुनसक्छ।
[पृष्ठ २५-मा भएको चित्र]
ऋणको लागि सह-हस्ताक्षर गर्नुअघि विचार गर्नुहोस्
[पृष्ठ २६-मा भएको चित्र]
कमिलाजस्तो उद्यमी हुनुहोस्
[पृष्ठ २७-मा भएको चित्र]
हानिकारक कुराकानीबाट टाढै रहनुहोस्