सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“मसीहीधर्मको” परिवर्तनशील अनुहार—के परमेश्‍वरलाई ग्रहणयोग्य छ?

“मसीहीधर्मको” परिवर्तनशील अनुहार—के परमेश्‍वरलाई ग्रहणयोग्य छ?

“मसीहीधर्मको” परिवर्तनशील अनुहार—के परमेश्‍वरलाई ग्रहणयोग्य छ?

मानौं तपाईंले एक जना चित्रकारलाई आफ्नो तस्बिर बनाउन लगाउनुभयो। तिनले उक्‍त चित्र कोरिसकेपछि तपाईं रोमाञ्चित हुनुहुन्छ; कत्ति दुरुस्त चित्र! तपाईं आफ्ना बालबच्चा अनि नातिपनातिले उक्‍त चित्र गर्व गर्दै हेरेको कल्पना गर्नुहुन्छ।

तर, केही पुस्ता बितिसकेपछि तपाईंकै सन्तानहरूमध्ये एकले सिउँधो कोरेको राम्रो नलागेर सिउँधो ढाक्न केही थप कपालहरू कोर्न लगाउँछन्‌। अर्कोलाई चाहिं नाकको आकार मन पर्दैन र त्यो परिवर्तन गराउँछन्‌। त्यसपछिका सन्तानहरूले पनि “थुप्रै कुराहरू सुधार्छन्‌” र अन्ततः त्यो चित्र तपाईंको अनुहारसित पटक्कै मिल्दैन। यस्तो हुनेछ भनेर थाह पाउनुभयो भने, तपाईंलाई कस्तो लाग्छ? तपाईं पक्कै रिसाउनुहुन्छ।

यस चित्रको दुःखलाग्दो कथा वास्तवमा नाउँ मात्रको मसीही चर्चको कथासित मिल्छ। ख्रीष्टका प्रेरितहरूको मृत्युको लगत्तैपछि “मसीहीधर्मको” आधिकारिक अनुहार बाइबलले भविष्यवाणी गरेझैं परिवर्तन हुन थाल्यो भनी इतिहासले देखाउँछ।—मत्ती १३:२४-३०, ३७-४३; प्रेरित २०:३०. a

विभिन्‍न संस्कृति अनि युगअनुसार बाइबल सिद्धान्त प्रयोगमा ल्याउनु पूर्णतया जायज छ। तर लोकप्रिय धारणाअनुरूप बाइबलका शिक्षाहरू परिवर्तन गर्नुचाहिं सरासर भिन्‍नै कुरा हो। तर वास्तवमा, ठीक यस्तै भइरहेको छ। उदाहरणका लागि, थुप्रै क्षेत्रमा गरिएका परिवर्तनहरू विचार गर्नुहोस्‌।

चर्च राष्ट्रसित हात मिलाउँछ

येशूले आफ्नो सरकार वा राज्य, स्वर्गीय हो र त्यसले समयमा सम्पूर्ण मानव सरकारलाई नाश गर्नेछ अनि सारा पृथ्वीमाथि शासन गर्नेछ भनेर सिकाउनुभयो। (दानिएल २:४४; मत्ती ६:९, १०) यसले मानव राजनैतिक शासन प्रणालीमार्फत शासन गर्नेथिएन। येशूले भन्‍नुभयो, “मेरो राज्य यस संसारको होइन।” (यूहन्‍ना १७:१६; १८:३६) यसकारण, येशूका चेलाहरू कानुनपरायण भए तापनि राजनीतिबाट अलग रहे।

तथापि, रोमी सम्राट कन्स्टेन्टाइनको पालामा अर्थात्‌ चौथो शताब्दीसम्ममा थुप्रै मसीही भनौंदाहरू ख्रीष्टको पुनरागमनलाई पर्खन र परमेश्‍वरको राज्य स्थापित भएको हेर्न अधीर भए। बिस्तारै, राजनीतितर्फको तिनीहरूको विचारधारा परिवर्तन हुन थाल्यो। युरोप—अ हिस्ट्री पुस्तक यसो भन्छ, “कन्स्टेन्टाइनअघि मसीहीहरूले आफ्नो उद्देश्‍य र विश्‍वासलाई अघि बढाउन [राजनैतिक] शक्‍तिको सहारा लिनुपर्छ भनेर कल्पना गरेका थिएनन्‌। कन्स्टेन्टाइनपछि मसीहीधर्मले राजनीतिसित हातेमालो गर्न थाल्यो।” यो हेरफेर गरिएको मसीहीधर्म, रोमी साम्राज्यको मान्यताप्राप्त “विश्‍वव्यापी” वा “क्याथोलिक” धर्म हुनपुग्यो।

चर्च र राष्ट्रबीचको यो घनिष्ट सम्बन्धको कारण “मसीहीहरूमाथि भयंकर सतावट ओइरिएको मात्र ८० वर्षपछि अर्थात्‌ सा.यु. ३८५ भित्र चर्चले नै क्याथोलिक धर्म छोड्‌नेहरूलाई मृत्युदण्ड दिन थाल्यो र त्यसका पादरीहरूले अन्य सम्राटहरू सरह शक्‍ति परिचालन गर्न थाले” भनी ग्रेट एजेस्‌ अफ म्यान इन्साइक्लोपीडिया उल्लेख गर्छ। यसरी तर्कको बलमा होइन तर तरबारको बलमा धर्मपरिवर्तन गराउने अनि प्रथम शताब्दीका जस्ता नम्र प्रचारकहरूको सट्टा ठूल-ठूला पदवीधारी शक्‍तिका भोका पादरीहरूको युग सुरु भयो। (मत्ती २३:९, १०; २८:१९, २०) इतिहासकार एच. जि. वेल्सले “नासरतका येशूका शिक्षा र” चौथो शताब्दीका मसीहीधर्मबीचको “प्रमुख भिन्‍नताहरूबारे” लेखेका थिए। यी “प्रमुख भिन्‍नताहरूले” परमेश्‍वर र ख्रीष्टबारे आधारभूत शिक्षाहरूलाई समेत असर गरेका छन्‌।

परमेश्‍वरको नयाँ अनुहार

“एउटै परमेश्‍वर पिता हुनुहुन्छ” र उहाँ आफ्नो व्यक्‍तिगत नाउँ यहोवाद्वारा चिनिनुहुन्छ भनेर येशू अनि उहाँका चेलाहरूले सिकाएका थिए। (१ कोरिन्थी ८:६, नयाँ संशोधित संस्करण; भजन ८३:१८) उक्‍त नाउँ बाइबलको प्रारम्भिक हस्तलिपिमा लगभग ७,००० पटक प्रयोग गरिएको छ। येशू, परमेश्‍वरद्वारा सृष्टि गरिनुभएको थियो; उहाँ “सम्पूर्ण सृष्टिको जेठो हुनुहुन्छ” भनी बाइबलको क्याथोलिक डुवे भर्सनको कलस्सी १:१५ ले बताउँछ। आफू परमेश्‍वरको सृष्टि हुनुभएकोले नै येशूले स्पष्टसित “पिता मभन्दा महान्‌ हुनुहुन्छ” भन्‍नुभयो।—यूहन्‍ना १४:२८.

तर तेस्रो शताब्दीसम्ममा केही अत्यन्त प्रभावशाली पादरीहरू युनानी दार्शनिक प्लातोको त्रिएक शिक्षादेखि प्रभावित भएर परमेश्‍वरलाई त्रिएक परमेश्‍वरको नयाँ अनुहार दिन थाले। त्यसपछिका शताब्दीहरूमा तिनीहरूको त्यस्तो सिद्धान्तले अशास्त्रीय ढंगमा येशूलाई यहोवा बराबरको दर्जामा पुऱ्‍याए अनि परमेश्‍वरको पवित्र आत्मा अथवा सक्रिय शक्‍तिलाई व्यक्‍तिमा परिवर्तन गरे।

चर्चले ग्रहण गरेको गैरमसीही धारणाबारे न्यु क्याथोलिक इन्साइक्लोपीडिया यसो भन्छ: “ ‘तीन व्यक्‍तिहरूमा गाभिएको एउटै परमेश्‍वर’ भन्‍ने यो सिद्धान्तले चौथो शताब्दीको अन्त हुनुअघिसम्म बलियो जग बसालिसकेको थिएन। मसीही जीवन तथा विश्‍वासमा पनि पूर्णतया भिजिसकेको थिएन। तर त्यही सिद्धान्तले पछि द ट्रिनिटेरियन डग्मा-को उपाधि हासिल गरेको दाबी गऱ्‍यो। प्रारम्भिक प्रेरितहरूबीच त्यस्तो मानसिकता वा विचारधाराको संकेतसम्म थिएन।”

त्यसै गरी, दी इन्साइक्लोपीडिया अमेरिकाना भन्छ: “प्रथम शताब्दीका प्रारम्भिक मसीहीहरूले परमेश्‍वरबारे जे-जस्तो सिकाए, चौथो शताब्दीका त्रिएकवादीहरूले हुबहु सिकाएनन्‌; बरु, उल्टो शिक्षा पो सिकाए।” दी अक्सफोर्ड कम्प्यानियन टु द बाइबल त्रिएक सिद्धान्त “पछि थपिएका धार्मिक सिद्धान्तहरूमध्ये” एक हो भन्छ। यद्यपि, चर्चले ग्रहण गरेको गैरमसीही धारणा त्रिएक मात्र होइन।

प्राणमा हेरफेर

मानिसहरूको प्राण अमर छ र यो मानव शरीर मरिसकेपछि पनि रहिरहन्छ भन्‍ने आम विश्‍वास छ। तर चर्चको यो शिक्षा पनि पछि थपिएको थियो भनेर के तपाईंलाई थाह थियो? येशूले “मरेकाहरूले ता केही पनि जान्दैनन्‌,” किनकि तिनीहरू केवल सुतिरहेका जस्तै छन्‌ भन्‍नुभएर बाइबलबाट सत्य कुराको पुष्टि दिनुभयो। (उपदेशक ९:५; यूहन्‍ना ११:११-१३) हो, पुनरुत्थानद्वारा फेरि जीवन पाइनेछ अर्थात्‌ मृत्युको चिरनिद्राबाट ‘फेरि उठ्‌नेछन्‌।’ (यूहन्‍ना ५:२८, २९) प्राण अमर हुँदो हो त पुनरुत्थानको आवश्‍यकता नै पर्ने थिएन।

येशूले मरिसकेका मानिसहरूलाई बिउँताउनुभएर पनि पुनरुत्थानसम्बन्धी बाइबलको शिक्षा प्रदर्शन गर्नुभयो। उदाहरणका लागि, मरेको चार दिन भइसकेका लाजरसलाई नै लिनुहोस्‌। येशूले तिनको पुनरुत्थान गर्नुहुँदा लाजरस चिहानबाट जिउँदो अनि सास फेर्दै बाहिर निस्केका थिए। लाजरस मृत्युबाट ब्यूँतदा, स्वर्गको परमसुखलाई छोडेर तिनको अमर प्राण शरीरमा पसेको थिएन। यदि त्यसो हुँदो हो त, येशूले लाजरसलाई बिउँताउनुभएर तिनीमाथि दया देखाउनुभएको पटक्कै ठहरने थिएन!—यूहन्‍ना ११:३९, ४३, ४४.

त्यसोभए, अमर प्राणसम्बन्धी सिद्धान्तको स्रोत के हो? यो धारणा बाइबलको सत्य वचनबाट होइन तर युनानी दर्शनबाट जन्मेको हो” भनी द वेस्टमिनिस्टर डिक्सनरी अफ क्रिस्चियन थिओलोजी बताउँछ। द जुइश इन्साइक्लोपीडिया वर्णन गर्छ: “शरीर मरिसकेपछि पनि प्राण निरन्तर अस्तित्वमा रहिरन्छ भन्‍ने धारणा निष्कपट विश्‍वासमा भन्दा पनि दार्शनिक वा धार्मिक अनुमानमा आधारित छ र यो धारणा पवित्र धर्मशास्त्रमा कतै पनि उल्लेख गरिएको पाइँदैन।”

अक्सर एक झूट ढाक्न सय झूट बोलिन्छ र प्राण अमर छ भन्‍ने शिक्षामा यही कुरा सत्य साबित भएको छ। यो गलत शिक्षाले गर्दा दनदनी आगो बलिरहेको नरकको अनन्त यातनासम्बन्धी गैरमसीही शिक्षाको लागि ढोका खुल्यो। b यद्यपि, बाइबलले स्पष्टैसित भनेको छ, “पापको ज्याला मृत्यु हो,” अनन्त यातना होइन। (रोमी ६:२३) त्यसैकारण, पुनरुत्थानको वर्णन गर्दै किङ जेम्स भर्सन यसो भन्छ: “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, अनि मृत्यु र नरकले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाल्यो।” त्यसै गरी, बाइबलको डुवे भर्सनले “समुद्र . . . र मृत्यु अनि नरकले तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले” भनेको छ। हो, सरल भाषामा भन्‍ने हो भने, नरकमा हुनेहरू मरेका छन्‌ अर्थात्‌ येशूले भन्‍नुभएझैं ‘सुतिरहेका छन्‌।’—प्रकाश २०:१३.

नरकमा अनन्त सास्ती दिने शिक्षाले के मानिसहरूलाई परमेश्‍वरतर्फ आकर्षित गर्छ भनेर तपाईं निस्संकोच विश्‍वास गर्न सक्नुहुन्छ? अहँ, सक्नुहुन्‍न। न्यायी अनि मायालु व्यक्‍तिहरूको लागि यो कुरा सोच्नु मात्र पनि घिनलाग्दो छ! अर्कोतिर बाइबलले “परमेश्‍वर प्रेम हुनुहुन्छ” र मानिसको त कुरै छोडौं जनावरहरूमाथि गरिएको क्रूर व्यवहारलाई समेत घृणा गर्नुहुन्छ भनेर सिकाउँछ।—१ यूहन्‍ना ४:८; हितोपदेश १२:१०; यर्मिया ७:३१; योना ४:११.

आधुनिक समयमा “चित्र” अझै कुरूप बन्छ

परमेश्‍वर र मसीहीधर्मको अनुहार विकृत पार्ने क्रम आजसम्म जारी छ। धर्मसम्बन्धी प्राध्यापकले हालै आफ्नो प्रोटेस्टेन्ट चर्चमा भएको द्वन्द्वलाई “धर्मशास्त्रको अख्तियार तथा विश्‍वास अनि बाह्‍य एवम्‌ मानव विचारधाराबीचको द्वन्द्व, ख्रीष्टको प्रभुत्वमाथि चर्च विश्‍वासी रहनुपर्छ भन्‍ने धारणा अनि युगअनुसार मसीहीधर्ममा परिवर्तन हुनुपर्छ भन्‍ने धारणाबीचको विवाद भनेर वर्णन गरे। चर्चको मार्ग कसले तय गर्छ . . . पवित्र धर्मशास्त्रले अथवा आजको प्रभावशाली विचारधाराले? भन्‍ने प्रश्‍न विवादास्पद छ।”

दुःखको कुरा, जित अझै पनि “आजको प्रभावशाली विचारधाराको” भइरहेको छ। उदाहरणका लागि, थुप्रै चर्चहरूले आधुनिक तथा खुल्ला विचारधाराका कहलाइन विभिन्‍न विषयहरूमा आफ्नो अडान परिवर्तन गरेका छन्‌। यसअघिको लेखमा उल्लेख गरिएझैं विशेष गरी नैतिक मामिलाहरूमा त चर्च एकदमै स्वतन्त्र भएको छ। यद्यपि, बाइबलले करणी, व्यभिचार र समलिंगी आदिलाई परमेश्‍वर विरुद्ध घोर पाप हो अनि यी पापकर्म गर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैन” भनी स्पष्ट पारेको छ।—१ कोरिन्थी ६:९, १०; मत्ती ५:२७-३२; रोमी १:२६, २७.

प्रेरित पावलले माथि उल्लिखित कुराहरू लेख्दा वरपरका युनान-रोमी संसार हर प्रकारका दुष्कर्महरूमा चुर्लुम्म डुबेका थिए। पावल यस्तो तर्क गर्नसक्थे: ‘हो, परमेश्‍वरले सदोम अनि गमोरालाई तिनीहरूको घोर यौन अनैतिकताको कारण खरानी बनाउनुभएको थियो, तर यो त २,००० वर्ष अघिको कुरा हो! आजको यस अत्याधुनिक युगमा यो कुरा लागू हुँदैन।’ तर तिनले त्यसरी सोचेनन्‌; तिनले बाइबललाई भ्रष्ट तुल्याउन इन्कार गरे।—गलाती ५:१९-२३.

मौलिक “चित्रलाई” हेर्दा

आफ्नो जमानाको यहूदी धार्मिक नेताहरूसित कुरा गर्नुहुँदा येशूले तिनीहरूको उपासना ‘व्यर्थको छ’ किनकि तिनीहरू ‘मानिसका आदेशहरू सिद्धान्त जस्ता गरी उपासना गर्छन्‌’ भन्‍नुभयो। (मत्ती १५:९) यी धर्मगुरुहरूले यहोवाले मोशाद्वारा दिनुभएको व्यवस्थालाई त्यस्तै व्यवहार गरे, जस्तो मसीहीजगत्‌का पादरीहरूले ख्रीष्टको शिक्षालाई गरे र गरिरहेका छन्‌। अर्थात्‌ ईश्‍वरीय सत्यको चित्रमाथि तिनीहरूले परम्पराको रंग पोतिदिए। तर येशूले निष्कपट हृदय हुने मानिसहरूको खातिर सम्पूर्ण झूट मेटाइदिनुभयो। (मर्कूस ७:७-१३) लोकप्रिय होस्‌ वा नहोस्‌, येशूले सत्य बोल्नुभयो। उहाँले सधैं परमेश्‍वरको वचनलाई अख्तियारको रूपमा प्रयोग गर्नुभयो।—यूहन्‍ना १७:१७.

अधिकांश मसीही भनौंदाहरूभन्दा येशू कत्ति भिन्‍न हुनुहुन्छ! वास्तवमा, बाइबलले पहिल्यै यसरी पूर्वानुमान गरिसकेको थियो: “मानिसहरू नयाँ कुराहरूप्रति लालची हुन्छन्‌ . . . गुरुहरू आफ्नै इच्छाअनुसार गर्छन्‌; अनि सत्यको साटो तिनीहरू मिथ्याहरू सुन्‍न रुचाउँछन्‌।” (२ तिमोथी ४:३, ४, द जेरुशलेम बाइबल) हामीले छलफल गरिसकेका यी “मिथ्याहरू”-जसमध्ये केही हामीले छलफल गरिसकेका छौं, ती आध्यात्मिक तवरमा नाशकारी छन्‌ तर परमेश्‍वरको वचनले उन्‍नति गराउँछ, निर्माण गर्छ र अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। यहोवाका साक्षीहरूले तपाईंहरूलाई जाँच्न प्रोत्साहन दिने सत्य यही नै हो।—यूहन्‍ना ४:२४; ८:३२; १७:३.

[फुटनोटहरू]

a गहुँ र सामाको उखान अनि फराकिलो र साँघुरो बाटोबारे दिनुभएको दृष्टान्तमा (मत्ती ७:१३, १४) येशूले समयको क्रममा थोरै मानिसहरूले मात्र साँचो मसीहीधर्म मान्‍नेछन्‌ भनेर प्रकट गर्नुभयो। तथापि, तिनीहरूलाई बहुसंख्यक सामाजस्ताहरूले ढाक्ने थिए। ती सामाजस्ताहरूले आफू र आफ्नो शिक्षालाई साँचो मसीहीधर्मको अनुहारको रूपमा अघि सार्ने थिए। हाम्रो लेखले संकेत गर्न खोजेको अनुहार यही हो।

b “नरक” शब्द “चिहान” अर्थ लाग्ने हिब्रू शब्द शिओल र युनानी शब्द हेडिस-को अनुवाद हो। यसकारण, किङ जेम्स भर्सन-का अंग्रेज अनुवादकहरूले शिओल-लाई ३१ पटक “नरक,” ३१ पटकै “चिहान” र ३ पटक “खाडल” भनेर अनुवाद गरेर यी शब्दहरूको अर्थ एउटै हो भनेर देखाएका छन्‌।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

मसीही नाउँको उत्पत्ति

येशूको मृत्यु भएको लगभग दस वर्षसम्म उहाँका चेलाहरू “मार्ग”-सित सम्बन्धित व्यक्‍तिहरू भनेर चिनिन्थे। (प्रेरित ९:२; १९:९, २३; २२:४) किन? किनभने तिनीहरूको जीवनशैली येशू ख्रीष्टमाथिको विश्‍वासमा केन्द्रित थियो र उहाँ “बाटो, सत्य, र जीवन” हुनुहुन्छ। (यूहन्‍ना १४:६) त्यसपछि, सा.यु. ४४ को केही समयपछि येशूका चेलाहरूलाई सिरिया एन्टिओकमा नै “ख्रीष्टियान भनिएका हुन्‌।” (प्रेरित ११:२६) यो नाउँ छिटै सबैको जिब्रोमा र सरकारी कर्मचारीहरूको जिब्रोमासमेत रहन गयो। (प्रेरित २६:२८) तर यो नयाँ नाउँले ख्रीष्टमा आधारित मसीहीहरूको जीवनशैलीमा छाँटकाँट गरेन।—१ पत्रुस २:२१.

[पृष्ठ ७-मा भएका चित्रहरू]

जन सेवकाईद्वारा यहोवाका साक्षीहरू मानिसहरूलाई परमेश्‍वरको वचन बाइबलतर्फ डोऱ्‍याउँछन्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Third from left: United Nations/Photo by Saw Lwin