बायोकेमिस्टसितको कुराकानी
बायोकेमिस्टसितको कुराकानी
हाल अमेरिकाको पेन्सिलभेनियास्थित लिहाइ युनिभर्सिटीमा बायोकेमिस्ट्री विषय प्राध्यापन गराइरहेका माइकल जे. बिहीले सन् १९९६ मा डार्विन्स् ब्ल्याक बक्स्—द बायोकेमिकल च्यालेन्ज टु इभुलुसन पुस्तक निकालेका थिए। मे ८, १९९७ अंकको ब्यूँझनुहोस्! (अंग्रेजी) पत्रिकाको “हामी यहाँ कसरी आयौं?—संयोगवश वा रचनाद्वारा?” भन्ने शृंखलाबद्ध लेखमा उनको त्यस पुस्तकबारे चर्चा गरिएको थियो। अहिले डार्विन्स् ब्ल्याक बक्स प्रकाशित भएको एक दशक बितिसकेको छ र क्रमविकासमा विश्वास गर्ने वैज्ञानिकहरू यस पुस्तकमा बिहीले पेस गरेका तर्कहरूको खण्डन गर्न लागिपरेका छन्। बिही रोमन क्याथोलिक हुन्। त्यसैले उनका आलोचकहरू उनको वैज्ञानिक चिनारीलाई उनको धार्मिक आस्थाले ओझेलमा पारेको छ भन्ने आरोप लगाउँछन्। कतिपय भने उनका तर्कहरू अवैज्ञानिक छन् भनेर दाबी गर्छन्। यसै मेसोमा ब्यूँझनुहोस्!-ले प्राध्यापक बिहीसित उनको विचारधाराले यत्तिका वादविवाद पैदा गर्नुको कारणबारे कुराकानी गरेको थियो।
ब्यूँझनुहोस्!: प्राणी तथा वनस्पतिले एक जना बुद्धिमान् रचनाकार हुनुपर्छ भन्ने प्रमाण दिन्छ भनेर तपाईं किन सोच्नुहुन्छ?
प्राध्यापक बिही: कुनै पनि कुराको विभिन्न भागहरू मिलेर जटिल कार्यहरू गरेको देख्दा हामी यसको रचना गरिएको थियो भन्ने निष्कर्षमा पुग्छौं। उदाहरणका लागि, हामीले दिनदिनै प्रयोग गर्ने घाँस काट्ने मेसिन, कार वा त्योभन्दा पनि साधारण कुरालाई नै लिनुहोस्। सबैभन्दा राम्रो त मुसौरोलाई नै विचार गरे पनि पुग्छ। मुसा समात्न सक्ने गरी यसका विभिन्न भागहरू टाकटुक्क मिलाइएकोले रचनाकारविना यो सम्भव छैन भन्ने निष्कर्षमा तपाईं पुग्नुहुन्छ।
प्राणीलाई जीवित राख्न जीवजन्तुहरूको सानोभन्दा सानो अंगले पनि के कसरी काम गर्छ भनेर बुझ्न विज्ञान सक्षम भइसकेको छ। अचम्म लाग्दो कुरा, यी साना अंगहरूले जटिल मेसिनहरूले जस्तै काम गर्छन् भनेर वैज्ञानिकहरूले पत्ता लगाएका छन्। उदाहरणका लागि, जीवित कोषहरूमा एक छेउबाट अर्को छेउमा पोषण तत्त्व ओसारपसार गर्ने “ट्रकहरू” जस्तै संयन्त्र हुन्छ। यी “ट्रकहरू” दायाँ वा बायाँ कता लाग्ने भनेर निर्देशन दिने ससाना “संकेत चिह्नहरू” पनि कोषभित्रै हुन्छन्। कुनै-कुनै कोषहरूमा त “मोटरबोटको पछाडि हुनेजस्तै इन्जिन” पनि हुन्छ, जसले कोषलाई तरल पदार्थमा अगाडि बढ्न मदत गर्छ। एकआपसमा मिलेर काम गर्ने यस्तो जटिल संरचना देख्दा जो कोही पनि यी सबै रचना भएका हुन् भन्ने निष्कर्षमा पुग्छ। डार्विनको सिद्धान्तले जेसुकै बताए तापनि यस्तो जटिलता देखेपछि रचनाकारको अस्तित्व स्वीकार्नुबाहेक हामीसित अरू कुनै विकल्प छैन। यस्ता कुराहरूले रचनाको प्रमाण दिन्छ भनी हामीले अनुभव गरिआएको कुरा हो। त्यसैले यी रचनाहरूको पछाडि एक जना बुद्धिमान् रचनाकारको हात छ भनेर सोच्नु कुनै गलत कुरा होइन।
ब्यूँझनुहोस्!: तपाईंको विचारमा अधिकांश वैज्ञानिकहरू बुद्धिमान् रचनाकारबारे तपाईंको निष्कर्षसित असहमत हुनुको कारण के होला?
प्राध्यापक बिही: बुद्धिमान्
रचनाकारको धारणा विज्ञानले व्याख्या गर्न सक्दैन र यो प्रकृतिभन्दा बाहिरको कुरा हो जस्तो लागेकोले थुप्रै वैज्ञानिकहरू मेरो निष्कर्षसित सहमत छैनन्। मेरो जस्तो निष्कर्षमा पुग्न उनीहरू डराउँछन्। तथापि, मैले सिकेको कुरा यही हो—प्रमाणले जे देखाउँछ, विज्ञानले त्यो पत्याउनै पर्छ। मेरो विचारमा रचनाकारको अस्तित्वको स्वीकारोक्ति सँग-सँगै आइपर्ने नैतिक जिम्मेवारीदेखि पन्छिनकै लागि सुस्पष्ट प्रमाणलाई बेवास्ता गर्नु डरछेरूवापन बाहेक अरू केही होइन।ब्यूँझनुहोस्!: बुद्धिमान् रचनाकार हुनुहुन्छ भन्ने धारणा स्वीकार्नु अज्ञानता हो भन्ने विचारधारा राख्ने आलोचकहरूलाई तपाईं के भन्न चाहनुहुन्छ?
प्राध्यापक बिही: प्रकृतिमा रचनाकारको प्रमाण देख्न सकिन्छ भन्ने निष्कर्षमा पुग्नु अज्ञानता होइन। हामीलाई थाह नभएको कुराको आधारमा होइन तर थाह भएको कुराको आधारमा यस्तो निष्कर्षमा पुगेका हौं। डार्विनले १५० वर्षअघि दि ओरिजि अफ स्पिसिज भन्ने पुस्तक निकाल्दा जीवको उत्पत्ति र जीवित रहने प्रक्रियालाई एकदमै सरल ठानिन्थ्यो। वैज्ञानिकहरू कोषलाई यति साधारण ठान्थे, यो समुद्री हिलोमा आफसेआफ उत्पत्ति हुन सक्छ भन्ने विश्वास गरिन्थ्यो। तर कोष कति जटिल हुँदोरहेछ भन्ने विषयमा त्यस बेलादेखि यता विज्ञानले थुप्रै कुरा थाह पाइसकेको छ। साँच्चै भन्ने हो भने २१ औं शताब्दीमा हामीसित भएको कुनै पनि मेसिन कोषको तुलनामा आउन सक्दैन। यस्तो जटिल कार्यले उद्देश्यसहितको रचनाको प्रमाण दिन्छ।
ब्यूँझनुहोस्!: तपाईंले भर्खरै बताउनुभएको कोषको जटिल कार्य प्राकृतिक छनौटको माध्यमद्वारा क्रमविकासकै उपज हो भनेर विज्ञानले कुनै प्रमाण दिएको छ कि?
प्राध्यापक बिही: जतिसुकै खोज्नुहोस्, तपाईंले एउटा पनि यस्तो विज्ञानका लेखहरू भेट्नुहुनेछैन जुन लेखमा डार्विनले बताएझैं कोषहरूमा कसरी परिवर्तन हुन्छ भनेर गहिरो अध्ययन अनुसन्धान गरिएको होस्। दस वर्षअघि मेरो पुस्तक प्रकाशित भएदेखि यता नेसनल एकेडेमी अफ साइन्सेज र अमेरिकन एसोसिएसन फर दि एडभान्सभेन्ट अफ साइन्स लगायत थुप्रै वैज्ञानिक संगठनहरू जीवित प्राणीहरूले बुद्धिमान् रचनाकारको प्रमाण दिन्छ भन्ने धारणाको विपक्षमा सक्दो वकालत गर्न आफ्ना सदस्यहरूलाई अपील गर्दैछन्। तर अहिलेसम्म एउटै चित्तबुझ्दो खण्डन प्रकाशित गर्न सकेका छैनन्।
ब्यूँझनुहोस्!: वनस्पति वा जन्तुको कुनै-कुनै अंग राम्ररी रचना गरिएको छैन भनेर दाबी गर्नेहरूलाई तपाईं के भन्नुहुन्छ?
प्राध्यापक बिही: जीवजन्तुको कुनै अंगको काम के हो भनेर हामीलाई थाह छैन भन्दैमा यसको आवश्यकतै छैन भन्न मिल्दैन। उदाहरणको लागि, कुनै समय अवशेषाङ्ग (प्रयोजनविहीन देखिने) मानिएका अंगहरूलाई देखाएर मानव शरीर वा अरू जीवजन्तुहरू राम्ररी रचना गरिएको छैन भनिन्थ्यो। जस्तै, पहिले-पहिले एपिन्डिक्स र किलकिलेलाई अवशेषाङ्ग ठानी अप्रेसन गरेर हटाइन्थ्यो। तर यी अंगहरूले रोग प्रतिरोधात्मक क्षमतामा महत्त्वपूर्ण भूमिका खेल्दारहेछन् भनेर पछि मात्र थाह लाग्यो। अहिले यी अंगहरूलाई अवशेषाङ्ग मानिंदैन।
अनि अर्को कुरा जीवविज्ञानमा कुनै-कुनै कुरा अकस्मात् हुन सक्छ। तर यसो भयो भन्दैमा राम्ररी रचना नगरिएको कारण यस्तो भएको हो भन्न मिल्दैन। उदाहरणको लागि, मेरो कार कुच्चियो वा टायर पन्चर भयो भन्दैमा कार वा टायर कसैले रचना नगरी आफसेआफ आयो भन्न मिल्दैन। त्यसै गरी, जीव विज्ञानमा पनि कुनै कुरा अकस्मात् हुनुको मतलब जीवन धान्ने जटिल प्रक्रिया कसैले रचना नगरी आफसेआफ आयो भन्न मिल्दैन। यसो भन्नु चित्तबुझ्दो कुरै होइन। (g 9/06)
[पृष्ठ १२-मा भएको ठूलो अक्षरको क्याप्सन]
“मेरो विचारमा रचनाकारको अस्तित्वको स्वीकारोक्ति सँग-सँगै आइपर्ने नैतिक जिम्मेवारीदेखि पन्छिनकै लागि सुस्पष्ट प्रमाणलाई बेवास्ता गर्नु डरछेरूवापन बाहेक अरू केही होइन”