प्रकृतिले के सिकाउँछ?
प्रकृतिले के सिकाउँछ?
“गएर पशुलाई सोध्नुहोस् र तिनीहरूले तपाईंलाई सिकाउनेछन्, अथवा आकाशका चराहरूलाई, अनि उनीहरूले तपाईंलाई बताउनेछन्, अथवा पृथ्वीसित बोल्नुहोस्, र त्यसले तपाईंलाई सिकाउनेछ, वा समुद्रका माछालाई तपाईंलाई सिकाउन दिनुहोस्।”—अय्यूब १२:७, ८, NRV.
हालसालै वैज्ञानिक अनि इन्जिनियरहरूले बोटबिरुवा र पशुहरूबाट साँच्चै नै सिक्न थालेका छन्। भनौं भने, विभिन्न प्राणीहरूको क्षमता, रङ तथा बनौटको अध्ययन तथा नकल गर्ने नयाँ विधा नै सुरु भइसकेको छ, जसलाई अंग्रेजीमा बायोमिमेटिक्स भनिन्छ। हाल चालु अवस्थामा रहेका विभिन्न यन्त्रहरूलाई अझ सुधार्न अनि नयाँ किसिमका यन्त्रहरू तयार पार्न वैज्ञानिकहरूले यसो गर्न थालेका हुन्। आउनुहोस्, यसको केही उदाहरणहरू छलफल गरौं र यसरी छलफल गर्दा आफैलाई यो प्रश्न सोध्न नबिर्सनुहोस्: ‘प्रशंसाको वास्तविक हकदार को हुनुहुन्छ? सृष्टिकर्ता वा उहाँको सृष्टिको नकल गर्ने वैज्ञानिक?’
ह्वेल माछाको सिको
हवाईजहाज बनाउने इन्जिनियरहरूले हम्पब्याक ह्वेलमाछालाई हेरेर निकै कुरा सिक्न सक्छन्। पूर्ण वयस्क भइसकेको हम्पब्याक ह्वेल माछाको वजन ३० टन अर्थात् सर-सामानले टन्न भरिएको ट्रकको वजन बराबर हुन्छ। अरू माछाको तुलनामा यसको शरीर दह्रो र पखेटाको आकार पनि चराको जस्तै हुन्छ। तैपनि, १२ मिटर लामो यो जीव पानीमा बडो मजाले पौडन सक्छ। उदाहरणको लागि, यसले आफ्नो आहार—माछा, झिंगे माछा, गंगटो, मसिना कीराहरू इत्यादिलाई कसरी पक्रन्छ ध्यान दिनुहोस्। आफ्नो आहार फेला पारेपछि, त्यसको मुन्तिर फनफनी घुम्दै अनि जोडले हावाका फोकाहरू फ्याँक्दै हम्पब्याक ह्वेल माथि उक्लन्छ। यसरी यसले वेगले फ्याँकेको हावाका फोकाहरूको घेरा १.५ मिटरको मात्र भए तापनि त्यसले माछा पक्रने जालको जस्तै काम गर्छ। किनकि हम्पब्याक ह्वेलले फ्याँकेको यी हावाका फोकाहरू समुद्रको सतहतिर उक्लँदै जाँदा माछा अनि अरू साना जलप्राणीहरू ती फोकाभित्र अल्मलिन्छन्। त्यति भएपछि हम्पब्याक ह्वेललाई के चाहियो र! यसले आरामसित तिनीहरूलाई क्वाप्प निल्छ।
दह्रो जीउ भएको यो १२ मिटर लामो ह्वेल माछा असाध्यै
सानो घेरा बनाएर फनफनी घुम्न सकेको देखेर वैज्ञानिकहरू ताजुब मान्छन्। किनकि दह्रो अनि त्यसमाथि १२ मिटर लामो जीउ हुने प्राणीलाई घुम्न सानो होइन, ठूलै घेरा चाहिनुपर्ने हो। अरू जलप्राणीहरूले यसो गर्न नसक्नु तर हम्पब्याक ह्वेलले मात्र सक्नुको रहस्य यसको पखेटामा लुकेको रहेछ। किनकि यसको पखेटाको किनारा हवाईजहाजको पखेटाजस्तो चिप्लो अनि चिल्लो नभएर करौंतीको दाँतीजस्तो गिर्खा-गिर्खा परेको हुन्छ।यी गिर्खाहरूले हम्पब्याक ह्वेललाई मास्तिर उचाल्नुका साथै पानीलाई मख्खन काटे जस्तै काट्न मदत गर्दो रहेछ। कसरी? नेचुरल हिस्ट्री भन्ने विज्ञान पत्रिकाअनुसार यी गिर्खाहरूले गर्दा पखेटा माथि पानी एकनासले अनि चाँड-चाँडो घुम्न थाल्छ र त्यसले हम्पब्याकलाई मास्तिर तान्छ। यदि यी गिर्खा नहुँदा हुन् त, पानी पखेटामाथि होइन कि पखेटाको पछिल्तिर घुम्छ र त्यसले मास्तिर तान्न मदत गर्दैन। फलस्वरूप सानो घेरा बनाएर उक्लन पनि सक्दैन।
हम्पब्याकको यो क्षमता पत्ता लगाएर फाइदा छ त? फाइदा छ। यदि हवाईजहाजको पखेटा हम्पब्याक ह्वेलको जस्तै बनाउने हो भने हावाको वेगलाई नियन्त्रण गर्न कम यन्त्रहरू भए पुग्छ। यसबाहेक, हवाईजहाज सुरक्षित हुनुका साथै मर्मत सम्भार गर्न पनि त्यत्ति गाह्रो हुनेछैन। बायोमेकानिक विशेषज्ञ जोन लंगअनुसार निकट भविष्यमा “सम्भवतः हरेक जेट विमानको पखेटामा हम्पब्याक ह्वेलको जस्तै गिर्खाहरू हुनेछ।”
सिगल चराको सिको
हुन त, चराहरूको नकल गरेरै हवाईजहाजको पखेटा बनाइएका हुन्। तथापि, अहिले आएर इन्जिनियरहरूले अझ बढी वा अझ राम्ररी चराहरूको सिको गर्न थालेका छन्। न्यु साइन्टिस्ट भन्ने विज्ञान पत्रिकाअनुसार “फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले सिगल भन्ने समुद्री चराजस्तै हावामा तैरन, तेज गतिले तल झर्न वा माथि उक्लन सक्ने रिमोट कन्ट्रोलले चल्ने फुच्चे हवाईजहाज बनाएका छन्।”
सिगलले आफ्नो पखेटालाई कुम र कुहिनानेर खुम्चाएर हावामा गजबले कावा खान सक्छ। सिगलको यस्तो लचिलो पखेटाको सिको गर्दै बनाइएको माथि उल्लिखित “२४ इन्चको हवाईजहाजको मोडेलको पखेटालाई सानो मोटरले विभिन्न तरिकाले मोड्न सकिन्छ” भनी उक्त पत्रिका बताउँछ। सिगलको नकल गरेर बनाइएको यो फुच्चे हवाईजहाज गगनचुम्बी भवन माथि-माथि र बीच-बीचमा पल्टनबाजी खेल्न सक्छ। ठूलठूला सहरहरूमा रासायनिक वा जैविक हतियार खोज्न आफूले चाहेअनुसार चलाउन सकिने यस्तै हवाईजहाज बनाउन अमेरिकी वायुसेना आतुर छ।
माउसुलीको सिको
जमीनमा कुद्ने प्राणीले पनि वैज्ञानिकहरूलाई निकै कुरा सिकाउन सक्छ। जस्तै, भित्ता-भित्ता अनि छतमुनि समेत कुद्न सक्ने माउसुलीलाई लिनुहोस्। बाइबलका लेखकहरूले समेत यो प्राणीको प्रशंसा गरेका छन्। (हितोपदेश ३०:२८, NW) गुरुत्वाकर्षणको नियमलाई चुनौती दिन सक्ने यो प्राणीको क्षमताको रहस्य के होला?
ऐनाजस्तो चिप्लो ठाउँमा समेत टाँसिएर हिंड्न सक्ने यसको क्षमताको रहस्य पैतालामुनिका अति सूक्ष्म रौंहरू हुन्, जसलाई सिटी भनिन्छ। तर माउसुलीको पैतालाले भित्तामा हिंड्न गम निकाल्दैन। भान डर वाल्स भन्ने अति सूक्ष्म शक्तिले गर्दा दुई वटा सतहका अणुहरू एकआपसमा टाँसिन सक्छन् भनेर विज्ञानले पत्ता लगाएको छ। हो, माउसुली यही शक्तिले गर्दा भित्तामा हिंड्न सक्छ। सामान्यतया भान डर वाल्स शक्तिभन्दा गुरुत्वाकर्षणको शक्ति बढी हुन्छ। त्यसैले त हामी भित्तामा हत्केला टँसाएर चढ्न सक्दैनौं नि! तर माउसुलीको कुरा अर्कै छ। यसको पैतालामुनिका अति मसिना सिटीहरूले गर्दा भित्ताको सतहमा यसको पैताला चिप्प परेर टाँसिन्छ। यसरी टाँसिएको यसको पैतालामुनिका हजारौं रौंहरूमा भान डर वाल्स शक्ति फैलँदा माउसुली आफ्नो हलुको भारलाई थामेर छतमुनि समेत उँधो मुन्टो लाएर बस्न सक्छ।
माउसुलीको यो क्षमता पत्ता लगाएर हामीलाई के फाइदा हुन सक्छ त? माउसुलीको पैतालाको नकल गरेर बनाइएको कृत्रिम वस्तुलाई भेल्क्रोको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ। a एक जना वैज्ञानिकलाई उद्धरण गर्दै दि इकोनोमिस्ट पत्रिकाले “माउसुली टेप” अर्थात् माउसुलीको सिटीजस्तै कृत्रिम टेपलाई “विभिन्न उपचारको बेला रासायनिक गम लगाउन नमिल्ने अवस्था आएमा” प्रयोग गर्न सकिन्छ भनेका छन्।
प्रशंसाको वास्तविक हकदार को?
नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसले (नासा) बिच्छी जस्तै हिंड्न सक्ने आठ खुट्टे रोबट बनाउँदैछ भने फिनल्याण्डका इन्जिनियरहरूले ठूलो कीराजस्तै हिंड्ने अनि जस्तोसुकै ठाउँमा चढ्न सक्ने छ खुट्टे ट्र्याक्टर बनाइसकेका छन्। चिसो हुँदा बन्द हुने र सुख्खा हुँदा खुल्ने सल्लाको फलको नकल गरेर केही वैज्ञानिकहरूले नयाँ कपडा तयार पारिसकेका छन्, जसले मौसमअनुसार शरीरलाई न्यानो वा शीतल बनाउन सक्छ। त्यस्तै गरी मोटरगाडी बनाउने एउटा कारखानाले बक्सफिश भन्ने माछाको चिप्लो शरीरलाई हेरेर मोटरगाडी बनाउँदैछ। अरू केही वैज्ञानिकहरूले चाहिं हल्का, मजबुत अनि गोलीले नछेड्ने किसिमको कवच तयार पार्ने उद्देश्यले ढुंगामा टाँसिएर बस्ने एक किसिमको शंखेकीराको अध्ययन गर्दैछन्।
प्रकृतिलाई हेरेर थुप्रै नयाँ-नयाँ उपायहरू सिक्न सकिने भएकोले वैज्ञानिकहरूले हजारौं प्राणीहरूको जानकारी संकलन गरेका छन्। दि इकोनोमिस्ट पत्रिकाअनुसार कुनै नयाँ उत्पादनको डिजाइन गर्दा देखा पर्ने “विभिन्न समस्याको प्राकृतिक समाधान” खोज्न वैज्ञानिकहरूले यही जानकारी केलाउन सक्छन्। यसरी विभिन्न प्राणीहरूको जानकारीको सँगालोलाई वैज्ञानिकहरूले “जैविक प्रतिलिपि अधिकार” भन्ने नाउँ दिएका छन्। सामान्यतया, प्रतिलिपि अधिकार भन्नाले कुनै कम्पनी वा व्यक्तिविशेषले आविष्कार गरेको यन्त्र वा उपाय अरूले नकल गर्न नपाऊन् भनेर त्यसलाई दर्ता गर्ने प्रबन्ध हो। दि इकोनोमिस्ट पत्रिकाअनुसार “प्राकृतिक कुराहरूको अध्ययनबाट नकल गर्न सकिने डिजाइन वा उपायहरूलाई ‘जैविक प्रतिलिपि अधिकार’ नाउँ दिएर वैज्ञानिकहरूले आफूले नकल गरेको डिजाइन वा उपायको वास्तविक अधिकार प्रकृति स्वयम्सित छ भनेर जोड दिंदैछन्।”
प्रकृतिले यति उत्तम उपाय तथा डिजाइन तयार पार्न कहाँबाट सिक्यो? थुप्रै वैज्ञानिकहरू क्रमविकास हुँदै जाँदा प्रकृति आफैले वर्षौंको दौडान विभिन्न गल्ती सुधार्दै सिकेको हो भन्छन्। तर अरू वैज्ञानिकहरूको विचार फरक छ। उदाहरणका लागि, सन् २००५ मा माइक्रोबायोलोजिस्ट माइकल बिहीले न्यु योर्क टाइम्स-मा यस्तो लेखेका थिए: “प्रकृतिका विभिन्न डिजाइनहरूलाई विचार गर्दा एउटा चित्तबुझ्दो तर्कसित सहमत नभई रहन सकिन्न, त्यो हो: हाँसजस्तै देखिने, हाँसजस्तै हिंड्ने, हाँसजस्तै कराउने प्राणी, हाँस होइन भनेर प्रमाण दिन मिल्ने ठाउँ छैन भने त्यो हाँस नै हो भनेर मानि लिनुपर्छ।” उसोभए तिनको निष्कर्ष के त? “प्रकृतिको डिजाइनले के भन्न खोज्दैछ, सुन्नुहोस्।”
सुरक्षित अनि कम इन्धनले चल्न सक्ने हवाईजहाज बनाउने इन्जिनियरले पक्कै पनि त्यसको श्रेय लिन चाहन्छ। त्यसै गरी बहुउपयोगी ब्यान्डेज वा आरामदायी कपडा वा सुविधासम्पन्न अत्याधुनिक मोटरगाडीको आविष्कार गर्ने व्यक्तिले आफूलाई आफ्नो डिजाइनको हकदार सम्झन्छ। वास्तवमा भन्ने हो भने, अरूको डिजाइन वा आविष्कारको नकल गर्ने तर त्यसको मूल डिजाइनरलाई चाहिं श्रेय नदिने व्यक्तिलाई अपराधी मान्न पनि सकिन्छ।
उसोभए विभिन्न प्राणीहरूको हुबहु नकल गरेर नयाँ-नयाँ आविष्कार गर्ने ठूलठूला इन्जिनियरहरूले आफूले सिको गरेको डिजाइन वा उपायको श्रेय बुद्धिविहीन क्रमविकासलाई दिनु तपाईंलाई कत्तिको ठीक लाग्छ? प्रकृतिको नकल गरेर आविष्कार गर्न कुनै चानचुने मान्छे होइन, तर निकै ठूलो विद्धान् चाहिन्छ भनेर तपाईं मानिलिनुहुन्छ भने प्रकृति स्वयम्को
डिजाइन गर्ने पनि कोही हुनुपर्छ भनेर स्वीकार्नुपर्ने होइन र? विद्यार्थीले आफ्नो गुरुको हुबहु नकल गर्दै चित्र कोर्छ भने तपाईं कसलाई बढ्ता श्रेय दिनुहुन्छ? विद्यार्थीलाई वा उसको गुरुलाई?तार्किक निष्कर्ष
प्रकृतिमा देखिने विभिन्न डिजाइनहरूलाई नियालेर हेरेपछि थुप्रै विचारशील मानिसहरू भजन रचयिताजस्तै यो निष्कर्षमा पुगेका छन्: “हे परमप्रभु, तपाईंका कार्यहरू कस्ता किसिम किसिमका छन्। ती सबै तपाईंले आफ्नो बुद्धिले बनाउनुभएको हो। पृथ्वी तपाईंको सम्पत्तिले परिपूर्ण छ।” (भजन १०४:२४) बाइबलको अर्को लेखक पावल पनि त्यस्तै निष्कर्षमा पुगेका थिए। तिनले यस्तो लेखे: “[परमेश्वरको] अदृश्य गुण, अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको कामद्वारा बुझ्न सकिने र छर्लङ्गै देखिने भएको छ।”—रोमी १:१९, २०.
तथापि, बाइबलको आदर गर्ने अनि परमेश्वरमाथि विश्वास राख्ने थुप्रै निष्कपट व्यक्तिहरूले अर्कै निष्कर्ष निकालेका छन्। त्यो हो, सृष्टि गर्दा परमेश्वरले क्रमविकासको सहारा लिनुभएको पनि हुनसक्छ नि। के बाइबलले यस्तै सिकाउँछ? (g 9/06)
[फुटनोट]
a भेल्क्रो पनि कुरोको बोटको नकल गरेर बनाइएको वस्तु हो। भेल्क्रो लुगा, झोला इत्यादिमा चलाइने जिप्परको साटो प्रयोग गरिने अर्को साधन हो।
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
प्रकृतिले यति उत्तम उपाय कहाँबाट सिक्यो?
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
प्रकृतिको प्रतिलिपि अधिकार कोसित छ?
[पृष्ठ ७-मा भएको पेटी/चित्र]
कुनै कुराको नकल गर्न बुद्धिमान् रचनाकार चाहिन्छ भने त्यसको मौलिक रूप बनाउन के कुनै रचनाकार हुनु आवश्यक छैन र?
माउसुलीको पैतालामा न त फोहोर टाँसिन्छ, न त्यसले गम नै निकाल्छ। टेफलोन भन्ने कृत्रिम रेजिनबाहेक सबै ठाउँमा त्यो सजिलै हिंड्न सक्छ। वैज्ञानिकहरू त्यसको नकल गर्ने कोसिस गर्दैछन्
जतासुकै सजिलै उडाउन मिल्ने यो हवाईजहाजको पखेटा, सिगल चराको पखेटाको नकल हो
बक्सफिश भन्ने माछाको अत्यन्तै कम घर्षण हुने डिजाइनको नकल गरेर तयार पारिएको गाडीको नमुना
[स्रोत]
Airplane: Kristen Bartlett/ University of Florida; gecko foot: Breck P. Kent; box fish and car: Mercedes-Benz USA
[पृष्ठ ८-मा भएको पेटी/चित्र]
बुद्धिमान् प्राणी
थुप्रै प्राणीहरू आ-आफ्नो वासस्थान वरपर यताउता ओहोरदोहोर गरेको देख्दा उनीहरू कत्तिको ‘बुद्धिमान्’ हुँदा रहेछन् भनेर देख्ने मौका पाइन्छ। (हितोपदेश ३०:२४, २५) निम्न दुई उदाहरण विचार गर्नुहोस्।
◼ कमिलाको ट्राफिक नियन्त्रण: खानेकुरा खोज्न निस्केको कमिलाको ताँतीले कसरी आफ्नो गुँड फेला पार्छ? बेलाइतका अनुसन्धानकर्ताहरूअनुसार कमिलाले गन्ध छोड्नुको साथै सजिलै घर फर्कन मिल्ने बाटो बनाउन कुनै-कुनैले ज्यामितिको सहायता लिंदा रहेछन्। उदाहरणको लागि, न्यु साइन्टिस्ट भन्ने विज्ञान पत्रिकाअनुसार एउटा जातको कमिलाले (Monomorium pharaonis) “आफ्नो गुँडबाट ५० देखि ६० डिग्री कोणको छड्के बाटाहरू बनाउँछ।” कमिलाले बनाउने यो बाटोको विशेषता? आहार खोजेर गुँडमा फर्केको कमिलाको ताँती जब दोबाटोमा पुग्छ, एउटा अलि बढी छड्के परेको र अर्को कम छड्के परेको दुई वटा बाटो फेला पार्छ। कमिलाहरूले जहिले पनि कम छड्के परेको बाटो नै रोज्छन्, जसले सधैं सीधै गुँडसम्म पुऱ्याउँछ। माथि उल्लिखित लेख अझ के भन्छ भने, यसरी “छड्के परेको बाटोले गर्दा कमिलाहरूलाई आवतजावत गर्न सजिलो हुन्छ। कमिलाहरू दुई विपरीत दिशातर्फ हिंडिरहेका छन् भने पनि घर फर्कंदा सधैं कम छड्के परेको बाटो रोज्ने भएकोले गलत दिशातर्फ हिंडेर शक्ति खेर जाने डर कहिल्यै हुँदैन।”
◼चराको कम्पास: मौसम अनुकूल होस् वा प्रतिकूल, लामो यात्रामा निस्केका चराहरू बाटो बिराउँदैनन्। कसरी? किनकि अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार चराहरूले पृथ्वीको चुम्बकीय शक्ति महसुस गर्न सक्छन्। तथापि, पृथ्वीको “चुम्बकीय शक्ति ठाउँअनुसार फरक हुनुका साथै चुम्बकीय शक्ति सधैं विशुद्ध उत्तर दिशातर्फ फर्केको हुन्छ भन्ने छैन” भनेर साइन्स नामक विज्ञान पत्रिका बताउँछ। उसोभए चराहरूले कसरी ठीक बाटो पत्ता लगाउँछन् त? चराहरूले हरेक साँझ घाम कहाँनेर डुब्छ त्यो हेरेर आफ्नो आन्तरिक कम्पासलाई मिलाउँछन् जस्तो देखिन्छ। पृथ्वीको अक्षांश अनि मौसमअनुसार घाम डुब्ने ठाउँ फरक-फरक हुने गर्छ। तसर्थ, साइन्स पत्रिकाअनुसार यी चराहरू “क्यालेन्डरको काम गर्ने आफ्नो आन्तरिक घडीलाई” पनि मिलाउँदै गन्तव्य स्थानतिर अगाडि बढ्छन् भन्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।
कसले कमिलालाई ज्यामितिको ज्ञान दियो? चरालाई कसले कम्पास, आन्तरिक घडी र यी दुवै क्षमताको प्रयोग गरेर बाटो पत्ता लगाउने बुद्धि दियो? बुद्धिविहीन क्रमविकासले? वा कुनै बुद्धिमान् सृष्टिकर्ताले?
[स्रोत]
© E.J.H. Robinson 2004