सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

खित्काको शक्‍ति

पोलिश साप्ताहिक शियाचुका भन्छ, “आधा मिनेटको खित्का, ४५ मिनेट आराम गरे जत्तिकै हुन्छ। एक चोटि स्वभाविक खित्का छोड्‌दा तीन मिनेट एरोबिक व्यायाम गरे जत्तिकै हुन्छ। अनि दस चोटिको मिठो मुस्कानले मेसिनको साहारामा दस मिनेट व्यायाम गर्दा जत्तिकै फाइदा गर्छ।” खित्का छोड्‌दा फोक्सोले तीन गुना धेरै हावा तान्छ, रक्‍तसञ्चार र पाचनक्रिया राम्रो हुन्छ, मस्तिष्क राम्ररी चल्छ, शरीरबाट विकारहरू निस्कन्छ। पत्रिकाको सुझाव यस्तो छ, मुड ठिक राख्न बिहान उठ्‌ने बित्तिकै मुस्कुराउनुहोस्‌। पति वा पत्नी र छोराछोरीलाई मिठो मुस्कान दिनुहोस्‌। पत्रिका अझै लेख्छ, “हरेक कुराको मज्जा लिन सिक्नुहोस्‌। विपत्तिको पहाडै टुटे पनि राम्रो पक्ष हेर्ने कोसिस गर्नुहोस्‌।” (g05 10/22)

घाममा सेकाउँदा रातमा मस्त निद्रा

हालै ५६ जना स्वस्थ बच्चाहरूको निद्राबारे गरिएको अनुसन्धानलाई जर्नल अफ स्लिप रिसर्च-मा प्रकाशित गरियो, “दिउँसोको मध्य घाममा मजाले सेकाएको बच्चा राती मस्त सुत्छन्‌।” तर बिहान र साँझको घामले भने निद्रामा कुनै असर गरेन। यस अनुसन्धानका प्रमुख बेलायत, लिभरपुल जोन मूर्स विश्‍वविद्यालयका डा. ईभोन ह्‍यारिसन आफै पनि एक आमा हुन्‌। बूढाबूढी दिउँसो मजाले घाममा बस्दा राती राम्ररी सुतेको तथ्यबाट बच्चाहरूमा पनि यस्तो अनुसन्धान गर्न उनी हौसिएकी थिइन्‌। (g05 10/22)

ढोल पिटी कर असुली

रोइटर्स समाचार सेवाअनुसार भा.रू. पाँच करोड सम्पत्ति कर उठाउन भारतस्थित राजामन्द्री सहरका आधिकारीहरूले सुरुमा त जरिवाना र ब्याज मिनाहा गरे। तर करदाताहरू टसमस भएनन्‌। केही सीप नलागेपछि कर नतिर्नेहरूको घर अगाडि ढोल पिट्‌न २० वटा टोली झिकाइयो। “आँगनमा ढोल पिटियो, तमाशा भयो, कर नतिर्नेहरू घरबाहिर निक्लन बाध्य भए, सकभर छिटो कर तिर्नुपर्ने कुरा सम्झाइयो। कर तिर्न नमानेसम्म ढोल पिट्‌न छाडिएन,” नगर कमिश्‍नर टि.एस.आर. अन्जनेयुलु भन्छन्‌। प्रयास खेर गएन। केवल एक हप्ताको ढोल पिटाइले १८ प्रतिशत सम्पत्ति कर उठ्यो। (g05 9/22)

भऱ्‍याङ चढ्‌दा खतरा

अमेरिकी पत्रिका द विक भन्छ, “हरेक वर्ष मोटरगाडीबाट हुने भन्दा भऱ्‍याङ चढ्‌दा हुने चोटपटकका घटनाहरू धेरै छन्‌।” पत्रिका लेख्छ, “हरेक वर्ष लगभग १,०९१ अमेरिकीहरू भऱ्‍याङ चढ्‌दा लडेर मर्छन्‌ र ७,६९,४०० घाइते हुन्छन्‌।” लड्‌नुको कारण के हो? “दूरी ठम्याउन सक्दैनन्‌ र गलत ठाउँमा पाइला टेक्छन्‌,” द विक लेख्छ। (g05 9/22)

उकालो कि ओरालो?

उकालो हिंड्‌नुस्‌ या ओरालो, स्वास्थ्यमा केही फरक पर्छ? फरक पर्छ, अनुसन्धानकर्ताहरू भन्छन्‌। आल्प्स्‌ पर्वतमा एउटा अध्ययन गरियो, जसमा ४५ व्यक्‍तिहरू २ महिनासम्म ३० डिग्री कोणको उकालो चढे र केबुलकारबाट तल झरे। अर्को दुई महिना चाहिं उक्लँदा केबुलकार चढे र पैदल ओर्ले। अध्ययन यसो भन्छ, चाहे उकालो चढ्‌नुहोस्‌ या ओरालो झर्नुहोस्‌, हानिकारक कोलस्ट्रोलको मात्रा कम त हुन्छ नै। तर “उकालो चढ्‌दा चाहिं ट्राईग्लीसिराइड बोसोको मात्र घट्यो र ओरालो झर्दा चाहिं रगतमा चिनीको मात्र घट्यो र ग्लुकोज पचाउने क्षमता पनि सुध्रियो,” टफ्ट्‌स युनिभर्सिटी हेल्थ एण्ड न्युट्रिशन लेटर भन्छ। त्यसैले, मधुमेहका रोगी र भर्खरै व्यायाम गर्न थालेकाहरूका लागि ओरालो झर्नु राम्रो हुन सक्छ। नगरवासीहरूले भने लिफ्ट चढेर अग्लो भवनको माथिल्लो तल्लासम्म पुग्ने र पैदल ओर्लने गर्न सक्छन्‌ अथवा कार चढेर उकालो जाने र पैदल ओर्लने गर्न सक्छन्‌। तर ओरालो झर्दा घुँडामा भने धक्का पुग्छ। (g05 10/8)

चकलेटले कुकुरको ज्यान लिन्छ

बी बी सी भन्छ, चकलेट खुवाउँदा “कुकुरले बान्ता गर्छ। मांसपेशी बाउँडिन्छ। धेरै खुवाएमा मर्न पनि सक्छ।” चकलेटमा थियोब्रोमाइन भन्‍ने रसायन हुन्छ। यो कुकुरको लागि विष हो। यसले कुकुरको मुटु, मृगौला र केन्द्रिय स्नायु प्रणालीलाई आक्रमण गर्छ। रिपोर्ट भन्छ, “२०० ग्राम शुद्ध चकलेटले पोथी ल्याब्रडोर जस्ता २५ किलो तौलका कुकुरहरूको त ज्यानै लिन सक्छ।” केक र कुकीज पकाउँदा प्रयोग गरिने चिनी नभएको ३० ग्राम चकलेटले छाउरा-छाउरीलाई ठहरै पार्न सक्छ। तर कुकुरकै लागि तयार पारिएको चकलेटले भने हानि गर्दैन। (g05 10/8)

कार चोरी भयो भने

एल युनिभर्सल लेख्छ, मेक्सिको सिटीमा कार चोरी रातारात मालामाल हुने धन्धा भएको छ। हरेक दिन लगभग ८० वटा कार चोरेर बेचिन्छ। एक वकिलअनुसार चोरहरूलाई महिला भन्दा एक्लै यात्रा गरिरहेको पुरुषलाई सिकार बनाउन सजिलो लाग्छ किनकि महिलाहरू अक्सर चिच्याउने गर्छन्‌ र उनीहरूको साथमा बच्चाहरू पनि हुने गर्छ। पक्राउ परेका ८५ प्रतिशत चोर १८ देखि २५ वर्षका छन्‌। अक्सर ट्राफिक बत्तीमा गाडी रोकिएको बेला बन्दुक तेर्साएर, गाडीलाई ठक्कर दिई चालकलाई कारबाट निक्लन बाध्य बनाएर अनि चालकले ग्यारेजको ढोका खोल्दै गर्दा आक्रमण गरेर कार चोर्ने गरिन्छ। चोरसित हातहतियार छ भने प्रतिकार नगर्न, बरु चुपचाप चोरको हुलिया जतिसक्दो राम्ररी नियाल्ने सल्लाह यो अखबार दिन्छ। चालकले कारको नम्बर, रङ र धेरैभन्दा धेरै जानकारी जतिसक्दो चाँडो प्रहरीलाई दिएमा कार खोज्न सजिलो हुन्छ। (g05 10/8)

किशोरकिशोरीहरूको हातमा स्टेरिङ

हालै अमेरिकी राष्ट्रिय स्वास्थ्य संघले गरेको अनुसन्धानद्वारा पत्ता लागेको छ, किशोरावास्थाका आफ्ना छोराछोरीलाई गाडी चलाउन नदिएर आमाबाबुहरूले ठिकै गरेका रहेछन्‌। द मायामी हेराल्ड-को अन्तरराष्ट्रिय संस्करण लेख्छ, “जोखिम मोल्न रोक लगाउने मस्तिष्कको भाग २५ वर्ष नपुगेसम्म पूर्ण विकसित भइसकेको हुँदैन।” पहिले-पहिले, १८ वर्ष उमेरसम्ममा स्नायुको विकास भइसक्ने र त्यसले राम्ररी प्रतिक्रिया देखाउने भएकोले मस्तिष्क परिपक्व भइसक्छ भन्‍ने सोचाइ राखिन्थ्यो। तर राजमार्ग सुरक्षासम्बन्धी बिमा कम्पनीहरूले बटुलेको तथ्याङ्‌कअनुसार किशोरकिशोरीहरूले गाडी हाँक्दा यताउता ध्यान दिने र जोखिम मोल्ने हुनाले “पाकाहरूभन्दा किशोरकिशोरीहरू चार गुना धेरै दुर्घटनामा पर्न र तीन गुना धेरै मर्न सक्छन्‌।” (g05 10/8)