सङ्कलन—सन्तुलन नभई नहुने एउटा सोख
सङ्कलन—सन्तुलन नभई नहुने एउटा सोख
अष्ट्रेलियाका ब्यूँझनुहोस्! लेखकद्वारा
“कुनै न कुनै दिन त” काम लाग्ला भनेर के तपाईंले कहिलेकाहीं चीजबीजहरू थुपार्ने गर्नुभएको छ? तर पछि गएर ती बेकारका रहेछन् भनी थाह पाइसकेपछि सायद तपाईं ती चीजबीजहरू मिल्काइदिनुहुन्छ होला। तर चाखलाग्दो कुरा त के हो भने, खासै केही काम नलाग्ने वस्तुहरू सङ्कलन गर्न पाउँदा पनि धेरै मानिसहरू मक्ख पर्छन्। यी त्यस्ता व्यक्तिहरू हुन् जसको सोख नै सङ्कलन गर्नु हो।
केही सौखिन व्यक्तिहरू साधारणतया मानिसहरूले सङ्कलन गर्ने कुराहरू जस्तै—चट्टान, टिकट वा पुराना मुद्राहरू सङ्कलन गर्छन्। अन्य कतिपय चाहिं पुतली, जनावरहरूका छाला, चम्चा, तक्मा, पोस्टकार्ड, पुराना-पुराना वस्तु, म्युजिक रेकर्डिङ र कतै घुम्न जाँदा चिनो स्वरूप बटुलेका वस्तुहरू सङ्कलन गर्न मरिमेट्छन्। सङ्कलन गर्न सकिने वस्तुहरूको सूची अपार छ! उदाहरणको लागि, एक जना अमेरिकी वकिलले झन्डै २,००,००० रेलमार्गका कीलाहरू सङ्कलन गरेका छन्! उनी त्यस्ता धेरै सौखिन व्यक्तिहरूमध्ये पर्छन् जो मिति छापिएको रेल मार्गका कीलाहरू खोज्न गाउँ-गाउँ चाहर्छन्।
हार्पर्स म्यागेजिन (अङ्ग्रेजी) यसो भन्छ: “दाँत र नक्कली केश, मुर्कट्टा र कुकीज राख्ने भाँडो, ट्रली-कारको टिकट, केश र पङ्खा, चङ्गा र चिम्टा, कुकुर र मुद्रा, लौरो र क्यानरी चरो, जुत्ता . . . टाँक र हड्डी, ह्याटपिन र नक्कली
हस्ताक्षर, पहिलो संस्करण र ग्याँस-मास्कजस्ता वस्तुहरूको मानिसहरूले सङ्कलन गरेको देख्दा अचम्मै लाग्छ।”अनि अनौठा-अनौठा वस्तुहरू सङ्कलन गर्ने सौखिनहरू पनि हुन्छन्। उदाहरणका लागि एक जना रूसी सामन्तकी पत्नी धनी र प्रसिद्ध मानिसहरूका कोपरा सङ्कलन गर्थिन्। एक जापानी राजप्रतिनिधिसित ५,००० कुकुरहरूको सङ्कलन थियो र ती कुकुरहरूलाई सुविधासम्पन्न विलासी खोरहरूमा राखिएको थियो। हार्पर्स म्यागेजिन-अनुसार एक जना धनी सङ्कलकले “स्पिरिट भरिएको सिसीमा प्रत्येक उपियाँलाई सुरक्षित राखी तिनीहरू पाइने ठाउँ अनि तिनीहरू कुन जीव-जन्तु वा मानिसमा पाइएका हुन्, नाउँसहित लेखी सङ्कलन गर्ने गर्थे।”
अनौठा सङ्कलनहरूलाई छोडेर सङ्कलनको सोख कुनै नौलो कुरा चाहिं होइन। उदाहरणको लागि, पुस्तक र पाण्डुलिपिहरूको रासका रास सङ्कलन गर्नु त पुरातन चलनै थियो। लाइट फ्रम दि एन्सियन्ट पास्ट नामक पुस्तकअनुसार एक अश्शूरी राजा अश्शूरबानीपालले (सा.यु.पू. सातौं शताब्दी) निनवेमा रहेको आफ्नो शाही पुस्तकालयको लागि पुरातन रेकर्ड र लेखोटहरूको सङ्कलन गर्न धेरै टाढा-टाढा आफ्ना लेखनदासहरू पठाए। सन् १८५३ मा अश्शूरबानीपालको यस बडेमाको पुस्तकालय रहेको दरबारको उत्खनन् गरियो।
त्यसरी नै युनानी तथा रोमी सामन्तीहरू कलाकृति सङ्कलन गर्नमा सुविख्यात थिए। कलेक्टिङ्ग—एन अनरुल्ली प्यासन (सङ्कलनको सोख—एउटा बेलगाम लहड) नामक पुस्तक यसो भन्छ: “सिसेरो र सिजरको समयमा रोम उत्तम चीजबीजहरू सङ्कलन गर्न पैसाको खोलो बगाउन कसैले छुन नसक्ने एक विजयी साम्राज्य थियो।. . . . कलाकृतिका व्यापारीहरूले चोक भरिभराउ हुन्थ्यो। कोही-कोही अत्यन्तै धनीमानीहरूको त आफ्नै निजी सङ्ग्रहालय पनि हुन्थ्यो।
सङ्कलनप्रति किन यत्तिको मोह?
आज मानिसहरू किन सङ्कलनको सोख पाल्छन्? द इन्साइक्लोपीडिया अमेरिकाना यसो भन्छ: “मानिसहरूले सोख पाल्नुका धेरै कारणहरू छन् तर मुख्य त रमाइलोको लागि नै हो। सोखले तनावलाई कम गरिदिन्छ र दैनिक तालिकामा परिवर्तन ल्याइदिन्छ।” हो, धेरैको लागि आफूलाई मनपर्ने चीजबीचहरू सङ्कलन गर्न समय बिताउनुको मज्जै अर्को छ।
अष्ट्रेलियाको क्यानबेरा टाइम्स अखबारमा छापिएको पत्रिका अझ यसो भन्छ: सोख पाल्ने व्यक्तिको सङ्कलनले “चटक्कै बिर्सिसकेका ठाउँ र मानिसहरूको सम्झनालाई पुनः स्मरणमा ल्याउन सक्छ। यदि सङ्कलन गरिएका वस्तुहरू पुराना छन् भने त झन् उक्त वस्तु पुरानो पुस्ताको सीप र उत्प्रेरणा अनि नयाँ पुस्ताको अनुभवलाई जोड्ने साँघु बन्छ।” हो, वस्तुहरू सङ्कलन गर्नु ज्ञानवर्धक र शिक्षामूलक पनि बन्न सक्छ। उदाहरणको लागि, अष्ट्रेलियाका एक सुपरिचित सङ्कलनकर्ता रेक्स नान किभेललाई लिनुहोस्। उनले न्युजिल्याण्ड र अष्ट्रेलियाको गरी १५,००० भन्दा धेरै पुरातन ऐतिहासिक महत्त्वका चीजबीजहरूको उल्लेखनीय सङ्कलनहरूको थुप्रो लगाए।
सङ्कलन गर्ने सोखले यति धेरै लोकप्रियता हासिल गर्नुको अर्को कारण, पछि गएर आफूले सङ्कलन गरेका वस्तुहरू एउटा राम्रो आर्थिक लगानी बन्न सक्छ भन्ने धेरैको विश्वास रहेको पाइन्छ। उत्नी रिडर यसो भन्छ: “नत्र मानिसहरू किन आफू जाँदै नगएको ‘सन् १९६९ मा सम्पन्न [स-प्रमाणसहितको] ऊडस्टक [रक कन्सर्टको] टिकट’-लाई ८० अमेरिकी डलर तिर्न
अघि सर्छन्? . . . पप संस्कृतिहरूसम्बन्धी चीजबीजहरू सङ्कलन एउटा ठूलै व्यवसाय बनेको छ।”तथापि, सावधानी अपनाउनु आवश्यक छ। द क्यानबेरा टाइम्स-को लेख यसरी सजग गराउँछ: “सङ्कलन गर्नु सधैं रमाइलो हुँदैन। पासोहरू पनि हुन्छन्। सबै बिक्रेताहरू इमानदार हुँदैनन् अनि मूल्यवान् भन्दै धेरैले नैतिकहीन नक्कली र जाली वस्तुहरू बेच्छन्।” आफ्नो “लगानी” बेकारको नक्कली कुरामा गएको थाह पाउनु कत्ति दुःखलाग्दो हुनेछ! त्यसैले हितोपदेश १४:१५ का शब्दहरू सङ्कलनकर्ताहरूको लागि कत्ति व्यावहारिक छ: “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यकतालाई बुझ्छ।”
सन्तुलनको आवश्यकता
सङ्कलनले धेरै समय, शक्ति र पैसा पनि खान सक्छ। एक जना महिला सङ्कलनकर्ताले आफ्नो बानीलाई “कहिल्यै तृप्त नहुने लालसा” भनिन्। एक जना आजीवन सङ्कलनकर्ता एल्स्टर मार्टिनले यस कुरालाई समेत मानिलिए, “कोही सङ्कलनकर्ताहरू सन्काहा हुन्छन्।”
कलेक्टिङ्ग—एन अनरुल्ली प्यासन (अङ्ग्रेजी) नामक आफ्नो पुस्तकमा भर्नर मुइन्सरबर्गरले यसो भने: “केही सङ्कलनकर्ताहरूलाई नियाल्दा उनीहरू आफ्नो इच्छा भएको वस्तु प्राप्त गर्न जे गर्न पनि तयार रहेको अनि उनीहरूमा त्यसप्रति भोक रहेको स्पष्ट हुन्छ। . . . सङ्कलन गरिने वस्तुहरूले मात्र मानिसहरूलाई छक्क तुल्याउँदैन तर कुनै वस्तु प्राप्त गर्न सङ्कलनकर्ताहरूले देखाउने भावनात्मक आशक्ति, ती वस्तुहरू प्राप्त गर्दा तिनीहरूले देखाउने उत्साह र गुमाउँदा देखाउने निरुत्साह अनि प्रायः तिनीहरूले देखाउने सन्काहा आचरण र व्यवहारले गर्दा तिनीहरूमध्ये धेरैले आफैलाई अरूको तमासे बनाउँछन्।”
मूर्ख वा सीमा नै नाघ्ने हदसम्म के कुनै मसीही आफ्नो सोखको मोहमा डुब्नु हुन्छ? हुँदैन। किनभने बाइबल हामीलाई “सन्तुलित हुन” प्रोत्साहित गर्छ। (१ पत्रुस १:१३, NW, पादटिप्पणी) अनि सोख पाल्नु रमाइलो हुन सक्ला तर सोख कुनै ईश्वरभीरु व्यक्तिले खोज्नुपर्ने “अझ बढी महत्त्वपूर्ण” कुराभित्र पर्दैन। (फिलिप्पी १:१०, NW) राजा सुलेमानबाट पाठ सिक्नुहोस्। आफ्ना प्रशस्त धनसम्पत्तिबाट उनले घर, दाखबारी, रूख र वस्तुभाउजस्ता वस्तुहरूको ठूलै सङ्कलन गरेका थिए। सुलेमानले यसरी स्वीकारे, “लोभ लागेको कुरो प्राप्त गर्न मैले आफैलाई इन्कार गरिनँ।” यस्ता कुराहरूमा मरिमेट्दा के उनले गहिरो सन्तुष्टि पाए त? सुलेमान यस्तो जवाफ दिन्छन्: “फर्केर मैले गरेका सबै हातका कामलाई विचारें, मेरा सबै परिश्रम र मेहनतलाई—औ के देखें भने सबै कुरा व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।”—उपदेशक २:३-११.
बढी महत्त्वपूर्ण कुराहरूलाई ओझेलमा पर्न नदिनको लागि तपाईं कसरी सङ्कलन गर्ने आफ्नो इच्छालाई नकार्न सक्नुहुन्छ? तपाईं आफैलाई सोध्न सक्नुहुन्छ, ‘म आफ्नो कुनै सोख अथवा मनोरञ्जनको लागि कति समय उचित हिसाबले बिताउन सक्छु?’ आफूलाई मनपरेको वस्तु सङ्कलन गरिसकेपछि काम सकियो भनेर नसोच्नुहोस्। आफूले सङ्कलन गरेको वस्तुको देखभाल गर्न, नियमित सरसफाइ गर्न, तिनीहरूलाई सजाएर राख्न, त्यसको लेखाजोखा गर्न र त्यसको सुरक्षा गर्न समय लाग्छ। अनि पैसा नि? आफ्नो पारिवारिक जिम्मेवारी वहन गर्ने पैसा कतै तपाईंको सोख पूरा गर्नुमै खर्च हुने त होइन? (१ तिमोथी ५:८) आफूसित किन्ने औकात छैन भने, त्यो किन्दिनँ भन्न सक्ने आत्मसंयम के तपाईंसित छ? एउटा कुरा, तपाईं लाख कोसिस गर्नुस्, सङ्कलन गर्न चाहेका सबै वस्तुहरू जुटाउनु असम्भव छ। सुलेमानले पुस्तकको सन्दर्भमा भनेका कुरा अन्य सङ्कलनमा पनि लागू हुन्छ, “पुस्तकहरूको उपयोगको केही अन्त छैन, औ धेरै अध्ययनले थकाउँछ।” (उपदेशक १२:१२) त्यसैले मसीही सन्तुलन नभई हुँदैन।
माथि बताएझैं भनिन्छ, सङ्कलन एउटा “बेलगाम लहड” हो। तर यसो हुनै पर्छ भन्ने छैन। यदि सन्तुलन कायम राख्दै र अचाक्ली नगरी सङ्कलनलाई उचित स्थानमा राख्यौं भने यो स्फूर्तिदायी, आनन्ददायी र शिक्षामूलक हुन्छ। (g04 12/8)
[पृष्ठ २६-मा भएको चित्र]
समय अनि लागत दुवैलाई विचार गरेर सोखबारे पनि पहिला बसेर हिसाब गर्नु बुद्धिमानी हुन्छ