विवाहलाई किन पवित्र ठान्ने?
बाइबलको दृष्टिकोण
विवाहलाई किन पवित्र ठान्ने?
आज अधिकांश मानिसहरू विवाहको पवित्रतामाथि विश्वास गरेको दाबी गर्ने गर्छन्। त्यसोभए किन यति धेरै वैवाहिक गाँठोहरू छुटानाममा गएर फुस्किन्छन् त? कतिपयको लागि विवाह रोमान्टिक प्रतिज्ञाहरू अनि कानुनी सम्झौताबाहेक अरू केही होइन। अनि प्रतिज्ञाहरू तोड्न सकिन्छ। विवाहप्रति यस्तो दृष्टिकोण राख्नेहरूलाई परिस्थिति आफूले सोचेजस्तो नहुँदा विवाहको अन्त्य गर्न कुनै गाह्रो लाग्दैन।
परमेश्वरले वैवाहिक प्रबन्धलाई कुन दृष्टिले हेर्नुहुन्छ? परमेश्वरको वचन बाइबलको हिब्रू १३: ४ मा यसको जवाफ पाइन्छ: “सबै विवाह चाहिं आदरणीय होस्।” यहाँ “आदरणीय” भनी अनुवाद गरिएको युनानी शब्दले बहुमूल्य अनि उच्च सम्मानको भाव बोकेको छ। जब हामी कुनै वस्तुलाई महत्त्व दिन्छौं, उक्त वस्तुलाई दुर्घटनावशसमेत नगुमाउन र त्यसको सुरक्षा गर्न अत्यन्तै होसियार हुन्छौं। वैवाहिक सम्बन्धमा पनि यही कुरा लागू हुनुपर्छ। मसीहीहरूले विवाहलाई आफूले सुरक्षा दिएर राख्न चाहेको कुनै बहुमूल्य वस्तुलाई जस्तै आदरणीय दृष्टिले हेर्नुपर्छ।
निस्सन्देह, यहोवा परमेश्वरले पति र पत्नीबीच रहने पवित्र प्रबन्धको रूपमा विवाहको सुरुवात गर्नुभयो। हामी विवाहबारे उहाँको जस्तै दृष्टिकोण राख्छौं भनी कसरी देखाउन सक्छौं?
प्रेम र आदर
वैवाहिक प्रबन्धलाई आदर देखाउनको लागि विवाहित दम्पतीले एक-अर्काको आदर गर्नु आवश्यक छ। (रोमी १२:१०) प्रेरित पावलले प्रथम शताब्दीका मसीहीहरूलाई यस्तो लेखे: “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर, औ पत्नीले पनि आफ्ना पतिको डर मानोस्।”—एफिसी ५:३३.
हो, कहिलेकाहीं पति वा पत्नीमध्ये कुनै एक जनाले मायालु अनि आदरयोग्य ढङ्गमा व्यवहार गर्न नसक्लान्। तरैपनि, मसीहीहरूले प्रेम अनि आदर देखाउनै पर्छ। पावलले यस्तो लेखे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर, जसरी प्रभुले [“यहोवा,” NW] पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।”—समय र ध्यान
आफ्नो वैवाहिक गाँठोलाई पवित्र ठान्ने विवाहित दम्पतीहरूले एक-अर्काको शारीरिक तथा भावनात्मक आवश्यकताहरू पूरा गर्न समय निकाल्छन्। यसमा यौनसम्बन्ध पनि समावेश छ। बाइबल यसो भन्छ: “पतिले पत्नीसँग गर्नु पर्ने व्यवहार गरोस्, औ त्यसैगरी पत्नीले पनि पतिसँग।”—१ कोरिन्थी ७:३.
यद्यपि, कोही-कोही विवाहित दम्पतीहरूले अझ बढी पैसा कमाउनको लागि पतिलाई टाढा पठाउनु पर्ने महसुस गर्लान्। कहिलेकाहीं, यसरी छुट्टिएर बस्नुपर्ने समय आफूले सोचेभन्दा लामो हुन्छ। यसरी छुट्टिएर बस्दा अक्सर विवाहमा धेरै तनाव उत्पन्न हुन्छ जसले कहिलेकाहीं व्यभिचार र छुटानामतर्फ उन्मुख गर्छ। (१ कोरिन्थी ७:२, ५) यही कारणले गर्दा धेरै मसीही दम्पतीहरूले आफूले पवित्र ठानेको विवाहलाई खतरामा पार्नुको सट्टा बरु, भौतिक सुखसुविधाहरू नै त्याग्ने निर्णय गरेका छन्।
जब समस्याहरू आउँछ
समस्याहरू आउँदा विवाहलाई आदर गर्ने मसीहीहरू छुट्टिएर बस्न अथवा छुटानाम गर्न हतार गर्दैनन्। (मलाकी २:१६; १ कोरिन्थी ७:१०, ११) येशूले यसो भन्नुभयो: “जसले आफ्नी पत्नीलाई व्यभिचारको कारणबाहेक त्याग गर्ला, उसलाई त्यसले व्यभिचारिणी तुल्याउँछ, र जसले त्याग गरेकोसित विवाह गर्ला, त्यसले व्यभिचार गर्नेछ।” (मत्ती ५:३२) धर्मशास्त्रीय आधारविना छुटानाम अथवा छुट्टिएर बस्न छनौट गर्ने दम्पतीले विवाहको अनादर गर्छन्।
गम्भीर वैवाहिक समस्याहरू हुने व्यक्तिहरूलाई हामीले दिने सल्लाहले पनि विवाहप्रतिको हाम्रो दृष्टिकोण प्रकट गर्छ। के हामी छुट्टिएर बस्ने अथवा छुटानाम गर्ने सल्लाह दिन हतार गर्छौं? हो, कहिलेकाहीं छुट्टिएर बस्ने जायज कारणहरू हुन सक्छन् जस्तै: असह्य शारीरिक दुर्व्यवहार गरिंदा अथवा पति सक्षम हुँदा हुँदै पनि पटक्कै आर्थिक सहायता गर्न नमान्दा। a साथै, माथि बताएझैं दम्पतीहरूमध्ये कुनै एक व्यभिचारको दोषी भएमा मात्र बाइबलले छुटानाम गर्ने अनुमति दिन्छ। यद्यपि, यस्तो बेला मसीहीहरूले अरूको निर्णयमा अनावश्यक दबाब दिनु हुँदैन। आखिर, वैवाहिक समस्या हुने व्यक्तिले नै आफूले गरेको निर्णयका नतिजाहरू भोग्नुपर्छ, सल्लाह दिने व्यक्तिले होइन।—गलाती ६:५, ७.
हल्कासित नलिनुहोस्
कुनै-कुनै देशमा वैध रूपमा बस्नको लागि विवाहलाई एउटा माध्यम बनाउनु सामान्य भइसकेको छ। यसो गर्नेहरूले अक्सर उक्त देशका नागरिकले आफूसित विवाह गरेबापत पैसा दिने सम्झौता गर्छन्। यस्ता दम्पतीहरू विवाह गरे तापनि छुट्टा-छुट्टै बस्छन् र मित्रताको सम्बन्धसमेत राख्दैनन्। अनि वैध रूपमा बस्ने आवश्यक कागजात हात पार्ने बित्तिकै तिनीहरू छुटानाम गर्छन्। तिनीहरूले विवाहलाई केवल एउटा व्यापारिक सम्झौता ठानेका हुन्छन्।
विवाहबारे राखिने यस्तो हल्का दृष्टिकोणलाई बाइबलले समर्थन गर्दैन। तिनीहरूको मनसाय जस्तोसुकै भए तापनि विवाह गर्नेहरू परमेश्वरले जीवनभरको लागि सोच्नुभएको पवित्र प्रबन्धमा प्रवेश गर्छन्। यस्ता सम्झौता गर्नेहरू पति र पत्नीकै रूपमा रहन्छन् अनि यहाँ पनि वैध रूपमा छुटानाम गरेर अरूसित विवाह गर्न सकिने बाइबलको आज्ञा लागू हुन्छ।—मत्ती १९:५, ६, ९.
जुनसुकै अर्थपूर्ण प्रयासमा जस्तै एउटा असल विवाहमा पनि प्रयत्न अनि परिश्रम गरिरहनु आवश्यक छ। यसको पवित्रताको महत्त्व नबुझ्नेहरू सजिलै विवाहको अन्त्य गर्ने निर्णय गर्छन्। अथवा इच्छा नहुँदा नहुँदै पनि समस्याग्रस्त वैवाहिक जीवन बिताउन बाध्य हुन्छन्। अर्कोतिर, विवाहको पवित्रतालाई स्वीकार्नेहरू, तिनीहरू छुट्टिएर होइन तर सँगै बसेको परमेश्वर चाहनुहुन्छ भन्ने कुरालाई मानिलिन्छन्। (उत्पत्ति २:२४) आफ्नो वैवाहिक जीवनलाई सुमधुर बनाउँदा विवाहको प्रबन्धकर्ताको आदर गरिरहेको हुन्छ भन्ने कुरा पनि तिनीहरूले बुझेका हुन्छन्। (१ कोरिन्थी १०:३१) यस्तो दृष्टिकोण राख्दा तिनीहरूले आफ्नो विवाहलाई जोगाउन तथा सफल बनाउन उत्प्रेरणा पाउँछन्। (g04 5/08)
[फुटनोट]
a द वाचटावर, नोभेम्बर १, १९८८, पृष्ठ २२-३ हेर्नुहोस्।