सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जनावरहरू परमेश्‍वरका वरदान

जनावरहरू परमेश्‍वरका वरदान

जनावरहरू परमेश्‍वरका वरदान

के तपाईं कहिल्यै चिडियाखानामा घुम्न वा सर्कस हेर्न जानुभएको छ? के तपाईंलाई ती जनावरहरूमध्ये कुनै—सायद राजसी ठाँटको सिंह वा बडेमाको साइबेरियाली बाघलाई छुन वा सुमसुम्याउन मन लाग्यो? जनावर प्रशिक्षक वा हेरचाह गर्ने व्यक्‍तिले त्यसो गरेको देख्दा तपाईं रोमाञ्चित हुनुभयो होला। साँच्चै, झन्डै २,००० वर्षअघि एक जना बाइबल लेखकले यसो भने: “हरेक किसिमका जन्तु र पक्षीहरू, घस्रने जन्तुहरू र समुद्रका जीव-जन्तुहरू मानिस जातिबाटनै तह लगाइएको छ, र तह पनि लगाइन्छ।”—याकूब ३:७.

सबै किसिमका जनावरहरू मायालु हेरचाह र अरूले ध्यान दिएको महसुस गर्दा खुसी हुन्छन्‌। तिनीहरूलाई तालिम दिने मायालु व्यक्‍तिहरूसँग तिनीहरू घुलमिल भएको हेर्नु साँच्चै रमाइलो कुरा हुन सक्छ। बाइबल लेखक याकूबका समकालीन रोमी लेखक प्लाइनीले हात्ती, सिंह, बाघ, चील, गोही, सर्प र माछालाई समेत प्रशिक्षण दिएको कुरा गरेका छन्‌।

वास्तवमा, जनावरहरूलाई घरपालुवा बनाउन तालिम दिने काम धेरै पहिलादेखि सुरु भएको थियो। याकूब र प्लाइनीले यो कुरा लेख्नुभन्दा धेरै समयअघि मिश्रीहरूले जङ्‌गली पशुहरूलाई तालिम दिएर घरपालुवा जनावरको रूपमा राख्थे। आज तपाईंले चिडियाखानामा देख्ने थुप्रै जनावरहरूलाई कुनै-कुनै ठाउँमा घरैमा पनि पालिन्छ।

मानिसहरूसँगको पुरानो सम्बन्ध

मानव इतिहासको सबैभन्दा पुरानो रेकर्ड बाइबलले प्रथम मानिस आदमले जनावरहरूको नाउँ राखे भनी बताउँछ। बाइबल यसो भन्छ, “मानिसले हरेक प्राणीलाई जे जे नाउँ दिए त्यही त्यहीनै त्यसको नाउँ भयो। अनि मानिसलेनै सबै पाल्तुपशु, आकाशका पक्षी र सबै वन-पशुहरूका नाउँ राखे।” (उत्पत्ति २:१९, २०) स्पष्टतः जनावरहरूलाई सुहाउँदो नाउँ दिन सक्ने गरी आदमले उनीहरूलाई राम्ररी चिने। तर तिनलाई जङ्‌गली जनावरहरूबाट समेत कुनै सुरक्षा चाहिंदैन थियो। ती जनावरहरू तिनीसँग मिलापमा थिए र तिनले उनीहरूको मित्रताबाट पक्कै पनि आनन्द उठाएको हुनुपर्छ!

परमेश्‍वरले आदम र तिनकी पत्नी हव्वा दुवैलाई जनावरहरूको हेरचाह गर्ने जिम्मेवारी सुम्पनुभयो। बाइबलमा घोषणा गरिएअनुसार परमेश्‍वरको उद्देश्‍य अनुरूप मानिसहरूले “समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पाल्तु-पशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार” गर्नुपर्ने थियो।—उत्पत्ति १:२६.

घनिष्ठ सम्बन्ध अझै छ

मानिसहरूले उचित ढङ्‌गमा पशुहरूमाथि अधिकार जमाउँदा यसको नतिजा हृदयस्पर्शी हुन सक्छ। प्यारो जनावरलाई एउटा अनमोल साथी अनि परिवारको एउटा सदस्यको रूपमा समेत लिन सकिन्छ। यो कुरा हजारौं वर्षअघि पनि साँचो साबित भएको थियो भनी एउटा गरिबको “सानो पाठी[बारेको]” बाइबल विवरणले देखाउँछ। अगमवक्‍ता नातानले राजा दाऊदलाई पाठीबारे बताउँदै त्यस गरिब मानिसको सन्दर्भमा यसो भने: “[पाठीले] उसकै थालमा खान्थ्यो, र उसकै प्यालामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उनले आफ्नो छोरीजस्तै गर्थे।”—छड्‌के अक्षर हाम्रो, २ शमूएल १२:१-३.

एउटा जनावर पनि कसरी एउटा प्यारो साथी, परिवारको सदस्य जस्तै हुन सक्छ भनी आज थुप्रैले बुझ्न सक्छन्‌। जिम्बावेको राजधानी हरारे नजिकै बस्ने एउटा परिवारको उदाहरणलाई लिनुहोस्‌। आमाबाबुले आफ्ना प्रत्येक छोराछोरीलाई साथीको रूपमा एउटा-एउटा कुकुर किनिदिए। त्यतिबेला झन्डै आठ वर्षको एक जना छोरा आफ्नो कुकुरसँगै हिंडिरहेको थियो र अकस्मात्‌ एउटा ठूलो विषालु सर्प तिनकै अगाडि रूखबाट झऱ्‍यो। त्यो सर्पले आक्रमण गऱ्‍यो तर त्यो कुकुर तुफानसँग आएर बच्चाको ज्यान बचायो। त्यस परिवारको लागि त्यो कुकुर कत्ति बहुमूल्य भयो होला भनी के तपाईं कल्पना गर्न सक्नुहुन्छ?

बहिराहरू आफूलाई मदत गर्न तालिम दिइएका कुकुरहरू विशेष गरी अनमोल ठान्छन्‌। एउटी महिला यसो भन्छिन्‌: “ट्‌विन्कीले घण्टीको आवाज सुन्यो भने मेरो खुट्टामा ठकठक गर्छ र मलाई ढोकातिर डोऱ्‍याएर लैजान्छ। त्यस्तै गरी, मेरो ओभनको टाइमर बज्नेबित्तिकै ट्‌विन्की मकहाँ दगुर्दै आउँछ र म उसको पछि लाग्छु। धुँवा निस्क्यो वा आगलागी सचेतक बज्यो भने मेरो ध्यान खिचेर सम्भाव्य खतराबारे जनाउ दिन भुइँमा पल्टन उसलाई तालिम दिइएको छ।”

अन्धो र तिनलाई डोऱ्‍याउने कुकुरबीचको अनमोल सम्बन्ध विशेष गरी उल्लेखनीय छ। डोऱ्‍याउने कुकुरका प्रशिक्षक र दि आइज द्‌याट लिड (अंग्रेजी) भन्‍ने पुस्तकका लेखक माइकल ट्रकरका अनुसार त्यस्ता डोऱ्‍याउने कुकुरहरूले अन्धाहरूलाई “स्वतन्त्रता, स्वाधीनता, आफै यताउता जान सक्ने र संगति” प्रदान गरेर एउटा बिलकुलै नयाँ संसारको ढोका खोलिदिन सक्छन्‌। साँच्चै, त्यस्ता कुकुरहरू र तिनीहरूका मालिकबीचको सम्बन्ध हेर्दै कस्तो मनमोहक हुन्छ!

अन्य तरिकामा असक्‍त व्यक्‍तिहरू र साथीको रूपमा कुकुरको सहारा लिने व्यक्‍तिहरूको अवस्था पनि त्यस्तै हो। ह्वीलचेयरमा बस्नुपर्ने एउटी महिलाको कुकुरलाई फोन उठाइदिन र चिठीमा टाँस्नुपर्ने टिकट चाट्‌न सिकाइएको छ! अर्को एउटा कुकुरले १२० वटा आज्ञा पालन गर्छ र यसमा सुपरमार्केटबाट टिन तथा पोकामा भएका सामानहरू जम्मा गर्ने काम पनि समावेश छ। एक जना अपाङ्‌ग मालिक आफूले छानेको कुराहरू चिनाउन लेजर डट प्रयोग गर्छन्‌ अनि तिनको कुकुरले ती समानहरू तिनीकहाँ ल्याउँछन्‌।

घरपालुवा जनावरहरू वृद्धहरूका लागि पनि उपयोगी हुन्छन्‌। पशु औषधीसम्बन्धी एक जना डाक्टरका अनुसार कुकुरलगायत अन्य घरपालुवा जनावरहरूले “वृद्धहरू अक्सर समाजबाट अलग्याइने समयमा तिनीहरूको जीवनमा एउटा उद्देश्‍य र अर्थ प्रदान गर्छ।” द टोरोन्टो स्टार-ले (अंग्रेजी) यस्तो रिपोर्ट गऱ्‍यो: “साथीको रूपमा त्यस्ता जनावरहरू हुने व्यक्‍तिहरूमा तनाव कम हुने, डाक्टरकहाँ बारम्बार धाउन नपर्ने र हृदयघातपछि बच्ने सम्भावनासमेत धेरै भएको पाइएको छ।”

द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका एउटा यस्तो चाखलाग्दो टिप्पणी गर्छ: “कुनै विशेष सुअवसर पाउनु वा नपाउनु भन्‍ने कुरा आफू कत्तिको जिम्मेवार छ त्यसमा निर्भर हुन्छ र साथै यौनबारे पनि केटाकेटीलाई केही कुरा सिकाउन घरपालुवा जनावरहरूले मौका प्रदान गर्न सक्छ। जोडी भेट्टाउने प्रक्रिया, त्यसपछि गर्भावस्थाको समय र बच्चा जन्मेपछि स-सानाहरूको जन्म र हेरचाह गर्दा आइपर्ने थुप्रै समस्याहरू थाह पाउन सकिन्छ।”

घरपालुवाहरूप्रति प्रतिबद्धता

जनावरहरूको उल्लेखनीय वफादारिताको कारण कोही-कोही मानिसहरू आफ्ना परिवारका सदस्यहरूलाई भन्दा आफ्नो घरपालुवा जनावरलाई बढी माया गर्छन्‌। सम्बन्ध विच्छेदका मुद्दाहरूमा कहिलेकाहीं सम्पत्तिको बाँडफाँडको झगडामा जनावरहरू समेत समावेश हुन्छन्‌। अनि मानिसहरूले आफ्नो अन्तिम इच्छापत्रमा अन्यन्तै ठूलो धनराशि आफ्नो घरपालुवा जनावरको नाउँमा समेत छोडेका छन्‌।

त्यसकारण आजकल घरपालुवा जनावरहरूको व्यापार अत्यन्तै फस्टाउनु कुनै छक्क लाग्दो कुरा होइन! घरपालुवा जनावरहरूसित सम्बन्धित एक-एक कुराहरूबारे सल्लाह दिने किताब तथा पत्रिकाहरू प्रशस्त छन्‌। कुनै-कुनै मालिकहरू आफ्नो पशुको सुविधाको लागि जस्तोसुकै विलासी वस्तुहरूमा पनि पैसा खर्च गर्न तयार छन्‌ भनी थाह भएको हुँदा व्यापारजगत्‌ले पनि पशु मालिकहरूले चाहेको जस्तै सुविधाहरू प्रदान गर्छन्‌।

उदाहरणका लागि, जनावरहरूलाई लाग्ने सबै प्रकारका रोगहरूको उपचार गर्ने अत्यन्तै दक्ष डाक्टरसँग परामर्श लेलान्‌। घरपालुवा जनावरहरूको उपचार गर्ने मनोचिकित्सकहरू पनि छन्‌ जसले जनावरहरूको निराशा कम गर्न औषधीहरू दिन्छन्‌। यसबाहेक, घरपालुवा जनावरका वकिल तथा बिमा एजेन्टहरूका साथै जनावरहरूको पहिरन सेवा र तालिम इन्स्टिच्युटहरू छन्‌। घरपालुवा जनावरहरूको अन्त्येष्टि कार्यक्रम गरिन्छ। अनि घरपालुवा जनावरहरूको क्लोन गर्नेसमेत प्रस्ताव राखिन्छ तर यी सबै सेवा निश्‍शुल्क भन्‍ने पक्कै होइनन्‌!

स्पष्टतः घरपालुवा जनावरहरूप्रतिको प्रेम व्यापक छ। दी एनिमल अट्रयाक्सन (अंग्रेजी) भन्‍ने आफ्नो पुस्तकमा डा. जोनिका न्युबी निष्कर्षमा यसो भन्छिन्‌: “कुकुर आफूकहाँ पुच्छर हल्लाउँदै आएर दिनको सबैभन्दा राम्रो क्षण नै यही हो भनेजस्तै गरी एकदमै खुसी भएर तपाईंलाई चाट्‌न आउँछ भने, त्यसलाई ‘माया’ भन्‍नु ठीकै देखिन्छ।” अनि कोही-कोही मालिकहरू त्यही ‘मायाको’ बदलामा केही गर्न उत्प्रेरित हुनुको कारण बुझ्न सकिन्छ।”

यद्यपि, घरपालुवा जनावरहरूलाई मानिसहरू जस्तै बनाउने प्रयास चाहिं हानिकारक हुन सक्छ। आखिर, सँगी मानवले जस्तो मानिसका आवश्‍यकताहरू घरपालुवा जनावरले पूरा गर्न सक्दैन। यसबाहेक, घरपालुवा जनावरहरूको सहरीकरण—अर्थात्‌ सहरी वातावरणमा घुलमिल हुनु—कोही-कोही मालिक तथा पाल्तु जनावरहरूको लागि समस्या साबित हुन सक्छ। यी विषयहरू हामी अर्को लेखमा छलफल गर्नेछौं। (g04 2/22)

[पृष्ठ ३-मा भएको चित्र]

जङ्‌गली जनावरहरूलाई तालिम दिने सन्दर्भमा लामो इतिहास छ

[स्रोत]

A detail from The Great King of the Parthians Hunts With His Tame Panthers by Giovanni Stradanno: © Stapleton Collection/CORBIS

[पृष्ठ ४-मा भएको चित्र]

इस्राएली गोठालाहरूले आफ्नो पाठीसित अनुकम्पापूर्ण व्यवहार गर्थे

[पृष्ठ ५-मा भएको चित्र]

घरपालुवा जनावरहरूले अशक्‍त तथा वृद्धहरूलाई मदत पुऱ्‍याउन सक्छन्‌