सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सबैले मन पराएको भियनाको विशाल रोटेपिङ

सबैले मन पराएको भियनाको विशाल रोटेपिङ

सबैले मन पराएको भियनाको विशाल रोटेपिङ

अस्ट्रियाको ब्यूँझनुहोस्‌! लेखकद्वारा

अगाडि मैदानमा भियना शहरको सुन्दर दृश्‍य छ। त्यसको पछाडिपट्टि भियनाका जंगलहरूले ढाकेका डाँडाहरू देख्न सकिन्छ। त्यस ठाउँको वातावरण यस्तो राम्रो छ कि त्यहाँ स्ट्रसका सुरिला धुनहरू गुञ्जिरहेको जस्तो भान हुन्छ। एक जवान मानिसले जानाजानी यो ठाउँ छानेको छ तर आफ्नो मायालुलाई विवाहको प्रस्ताव राख्दा आफ्नो मुटुको ढुकढुकीलाई काबूमा राख्न खोज्छ। तिनीहरू जमिनबाट ६० मिटर माथि छन्‌। कसरी? यस्तो विशेष अवसर पारेर भियनाको सबैले मनपराएको रीजेनराड अर्थात्‌ विशाल रोटेपिङमा चढ्‌न आउने न त तिनी पहिलो न अन्तिम व्यक्‍ति नै हुन्‌।

भियनाको विशाल पार्कमा भएको प्राटर भनिने अग्लो रोटेपिङलाई १०० वर्षभन्दा बढी समयदेखि त्यस शहरका बासिन्दाहरूले निकै मन पराउँदै आएका छन्‌। ‘विशाल रोटेपिङबाट भियना हेर्नुभएको छैन भने तपाईंले भियना शहर नै हेर्नुभएको हुनेछैन’ भनी यसको मूलद्वारमा टाँसिएको निमन्त्रणामा लेखिएको छ। तर संसारकै विशाल रोटेपिङहरूमध्ये सबैभन्दा पुरानो यस रोटेपिङले निकै कठिनाइहरू पार गर्नुपरेको थियो। यत्रो बडेमाको इस्पात कसरी बनियो? समयको दौडान आएका संकटहरूको बावजूद यो कसरी अहिलेसम्म रहिरहन सक्यो?

सबैभन्दा पहिलो रोटेपिङ

रोटेपिङको इतिहास केलाउने हो भने, हामी १९ औं शताब्दी र औद्योगिक क्रान्तिको समयमा फर्कनुपर्छ। त्यसबेला इस्पातलाई औद्योगिक निर्माणको मुख्य साधनको रूपमा सबैले मन पराउन थाले। इस्पातका रूपरेखाहरू विश्‍वका विभिन्‍न राजधानीहरूमा देखिन थाले। जस्तै, इस्पात र सिसाले बनिएको लण्डनको क्रिस्टल पालेस, भियनाको पाम हाउस र पेरिसको आइफल टावर। तथापि, यस प्रकारको वास्तुकलामा सबैभन्दा उल्लेखनीय शहरचाहिं शिकागो थियो र अमेरिकी इन्जिनियर जर्ज फेरिसले १८९३ मा विश्‍व प्रदर्शनीको अवसरमा पहिलो रोटेपिङ त्यहीं निर्माण गरेका थिए।

फेरिसले बनाएको रोमाञ्चकारी रोटेपिङको व्यास ७६ मिटर थियो र त्यसमा ३६ वटा डब्बाहरू थिए। हरेक डब्बामा ४० जना यात्रु बसेर २० मिनेट जति त मजाले शिकागो तथा त्यसको वरपरका दृश्‍यहरू हेर्न सकिन्थ्यो। त्यस प्रदर्शनीमा आएका थुप्रै आगन्तुकहरूका लागि यो सबैभन्दा अविस्मरणीय वस्तु थियो। तर शिकागोको रोटेपिङले अन्ततः आफ्नो ख्याति गुमायो र दुई पटक ठाउँ सारिसकेपछि १९०६ मा यसलाई कबाडीखानामा थन्काइयो। तथापि, रोटेपिङ बनाउने विषयमा यत्रतत्र थुप्रै मानिसहरूले सोच्न थालिसकेका थिए।

विशाल रोटेपिङ भियनामा निर्माण गरिन्छ

शिकागोको रोटेपिङ देखेपछि इन्जिनियर तथा अवकाशप्राप्त ब्रिटिश नाविक अधिकारी वल्टर बासटलाई पनि रोटेपिङ बनाउन असाध्यै सकसक लाग्यो। सन्‌ १८९४ मा तिनले लण्डनको अर्ल्स कोर्टमा रोटेपिङ बनाउने योजना बनाए र पछि तिनले बेलाइतको ब्लाकपूल र पेरिसमा पनि अरू पिङहरू निर्माण गरे। त्यसैबेला, भियनाको मनोरञ्जन व्यापारी गेबोर स्टाइनरले भियनाका लागि नयाँ-नयाँ आकर्षक मनोरञ्जनहरूबारे सोचिरहेका थिए। एक दिन वल्टर बासटको प्रतिनिधिले स्टाइनरलाई भियनामा विशाल रोटेपिङ साझेदारीमा बनाउने सुझाव दिए। तिनीहरूको कुरा मिल्यो र बेलाइतको त्यस नयाँ रोमाञ्चकारी आविष्कारको लागि उपयुक्‍त ठाउँ पनि भेटियो। तर निर्माण स्वीकृति पाउन नि?

स्टाइनरले आफ्नो निर्माण योजना त्यस शहरमा पेस गर्दा एक जना अधिकारीले योजनाको नक्सा र स्टाइनरलाई पल्याकपुलुक हेरिरहे। त्यसपछि तिनले टाउको हल्लाउँदै सोधे: “सञ्चालकज्यू, यस्तो बडेमानको वस्तु निर्माण गर्ने स्वीकृति दिएर त्यसको सम्पूर्ण दायित्व आफ्नो थाप्लोमा लिन चाहने कोही व्यक्‍ति पाइएला त?” स्टाइनरले यस्तो आग्रह गरे: “तर यस्ता पिङहरू लण्डन र ब्लाकपूलमा पनि छन्‌ र तिनीहरू कुनै समस्याविना चलिरहेका छन्‌ !” उक्‍त अधिकारीले पटक्कै मानेनन्‌। तिनले यसो भने, “अंग्रेजहरू आफूले चाहेजस्तो गर्नसक्छन्‌ तर म त्यस्तो खतरा मोल्न चाहन्‍नँ।” स्टाइनरले हिम्मत हारेनन्‌ र आखिरमा निर्माण गर्ने स्वीकृति पाइछाडे।

इस्पातको यो भयानक आकृति अत्यन्तै रोमाञ्चकारी थियो। जिज्ञासु बटुवाहरू हरेक दिन त्यस निर्माण थलोमा भेला भएर यस कार्यको उन्‍नतिबारे आफ्ना विचारधाराहरू पोख्ने गर्थे। आठ महिनापछि नै यसको निर्माण कार्य पूरा भयो। अनि जून २१, १८९७ मा भियनाको लागि बेलाइती राजदूतकी श्रीमती लेडी होरेस रमबोल्डले अन्तिम चोटि घन ठोकेर त्यस रोटेपिङको उद्‌घाटन गरिन्‌। त्यसको केही दिनपछि नै त्यो ठूलो रोटेपिङ चल्नथाल्यो। स्टाइनरले पछि यसो भने: “सबै जना साह्रै खुसी थिए र टिकट घरहरू पनि खचाखच भरिएका थिए।”

विशाल रोटेपिङको रोमाञ्चक इतिहास

अस्ट्रो-हंगेरी राजमुकुटका सम्भाव्य उत्तराधिकारी राजकुमार फ्रान्सिस फर्डिनाण्ड त्यस साम्राज्यको राजधानीलाई रोटेपिङमा चढेर माथिबाट सर्वेक्षण गर्न मन पराउँथे। जून १९१४ मा भएको तिनको हत्या र त्यसको लगत्तै सुरु भएको प्रथम विश्‍वयुद्धले रोटेपिङलाई पनि धेरै असर गऱ्‍यो। यस रोटेपिङले आफ्नो प्रख्यात पाहुना राजकुमार फर्डिनाण्डलाई त गुमाए नै त्यसबाहेक सैनिकहरूले यसलाई आफ्नो गढको रूपमा प्रयोग गर्न थालेपछि सर्वसाधारण जनताको लागि समेत ठप्प बन्द भयो। मे १९१५ मा यो रोटेपिङ पुनः सञ्चालन हुन थाल्यो। तथापि, त्यतिखेर त्यस देशमा फलामको अभाव खट्‌किरहेको कारण त्यहाँका सबै मानिसहरूले यो रोटेपिङ अब धेरै दिन रहनेछैन भन्‍ने अड्‌कल काट्‌न थाले। सन्‌ १९१९ मा यो पिङ प्रागका व्यापारीलाई बेचियो, जसले यसलाई तीन महिनाभित्र भत्काउने विचार गरिरहेका थिए। तर यस्तो जटिल संरचनालाई भत्काउनु यसको फलाम बेचेर पाइने मूल्यभन्दा महँगो पर्ने थियो। त्यसैले उक्‍त प्रख्यात ऐतिहासिक संरचना ‘भत्काइनदेखि’ धन्‍न जोगियो र यसको प्रशंसा गर्ने सर्वसाधारणलाई यसले निरन्तर मनोरञ्जन दिइरह्‍यो।

युद्ध तथा अस्ट्रो-हंगेरी राजतन्त्रको विनाशले गर्दा भियनामा धेरै ठूल-ठूला परिवर्तनहरू भए। सन्‌ १९३० को दशकमा अर्थतन्त्र खस्कन थाल्यो र राजनैतिक परिस्थिति पनि अस्थिर भयो। एकताका सबैले प्रशंसा गरेको मानिस स्टाइनर पनि यहूदी भएको कारण आफ्नो ज्यान जोगाउन भागी-भागी हिंड्‌नुपऱ्‍यो। यस्तो भए तापनि सन्‌ १९३९ र १९४० मा यस रोटेपिङमा चढ्‌नेहरूको संख्या उल्लेखनीय रह्‍यो। त्यसै बखत सुरु भएको दोस्रो विश्‍वयुद्धले मानिसहरूलाई अत्यधिक मात्रामा मनोरञ्जन गर्न उन्मत्त तुल्याएझैं देखिन्थ्यो। तर सेप्टेम्बर १९४४ मा एउटा भयानक खबर शहरभरि फैलियो अर्थात्‌ रोटेपिङमा त आगो लागेछ! छेवैको रोलर कोस्टरमा विद्युतीय गडबडीको कारण लागेको आगो यस रोटेपिङसम्म सर्दा यसका छवटा डब्बाहरू नष्ट भए। तर योभन्दा पनि डरलाग्दो कुरा त हुन बाँकी नै थियो।

अप्रिल १९४५ मा दोस्रो विश्‍व युद्धको अन्ततिर यस पिङमा फेरि आगो लाग्यो। यस पटकचाहिं नियन्त्रण केन्द्रहरूलगायत यसका ३० वटा डब्बाहरू जलेर खाक भए। त्यहाँ बाँकी रहेको चीज भनेको आगोले खाएको रोटेपिङको फलामे आकृति मात्र थियो। तर यस्तो हुँदासमेत यसको अस्तित्व भने नामेट हुन पाएन। युद्धपछि थुप्रै घरहरू नष्ट भए तर यस रोटेपिङका इस्पातका अस्थिपञ्जर भने जस्ताको तस्तै रहिरह्‍यो। यसलाई भत्काउनु फेरि पनि धेरै खर्चिलो हुने भयो। के त्यसको केही विकल्प थियो?

थियो! एकपल्ट फेरि यसलाई पहिलेकै अवस्थामा ल्याइयो तर यसपालि भने सुरक्षाको दृष्टिकोणले आधा जति डब्बाहरू मात्र राखियो। मे १९४७ देखि आजसम्म यसले आफ्ना आनन्दित यात्रुहरूलाई आनन्द दिंदै फन्को मारिरहेको छ। मुख्य संगीतको रूपमा वीणा बाजाको धुन राखिएको द थर्ड म्यान-जस्ता चलचित्रहरूले गर्दा यस रोटेपिङको ख्याति टाढा-टाढासम्म पनि फैलियो।

सुरुमा शिकागो, लण्डन, ब्लाकपूल र पेरिसमा निर्माण गरिएका रोटेपिङहरू कबाडी भइसके तर भियनाको विशाल रोटेपिङ भने जस्ताको तस्तै छ। यो विश्‍वयुद्धपछिका मानिसहरूको पुनर्निर्माण गर्ने दृढ इच्छाको साक्षी भएको छ भने भियनाको चिनो बनेको छ। तपाईं पनि कुनै दिन भियना पुग्नुभयो भने यस विशाल रोटेपिङमा चढ्‌न नभूल्नुहोला। सायद त्यहाँ कुनै एक वृद्धले, मैले यस रोटेपिङको टुप्पामा हुँदा राखेको विवाह प्रस्तावलाई तिमीहरूको हजुरआमाले स्वीकार्दा खुसीले मेरो मुटु कति ढक्क फुलेको थियो भनेर आफ्ना नातिनातिनाहरूलाई कथा सुनाउँदै गरेको तपाईंले देख्नुहोला। (g01 11/8)

[पृष्ठ १३-मा भएको पेटी/चित्र]

रीसेनराड (विशाल रोटेपिङ)

निर्माण: सन्‌ १८९७

उचाइ: ६४.७५ मिटर

रोटेपिङको व्यास: ६०.९६ मिटर

रोटेपिङको वजन: २४५ टन

निर्माण गर्दा प्रयोग भएका सम्पूर्ण फलामको वजन: ४३० टन

गति: २.७ किलोमिटर प्रति घण्टा

[स्रोत]

Source: The Vienna Giant Ferris Wheel, by Helmut Jahn and Peter Petritsch, 1989, page 39

[पृष्ठ १५-मा भएको चित्र]

रोटेपिङबाट देखिने भियनाको उत्तरपूर्वी दृश्‍य