सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसले मानिसमाथि गरेको अत्याचार

मानिसले मानिसमाथि गरेको अत्याचार

मानिसले मानिसमाथि गरेको अत्याचार

उपदेशक ८:९ मा बताइएको कुरा इतिहासले सत्य साबित गरिदिएको छ: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।” अथवा क्याथोलिक जेरूशलेम बाइबल-ले बताएझैं “मानिसले मानिसमाथि अत्याचार गरेको छ।” करोडौं मानिसहरू अन्यायको सिकार भएका छन्‌ र मानिसले अहिलेसम्म शासन गरेको कुनै पनि सरकारले यस्तो अत्याचारबाट मानिसलाई मुक्‍ति दिन सकेको छैन। इन्डियन अफेयर्स अफ द यु.एस. डिपार्टमेन्ट अफ दी इन्टेरियरका सहसचिवले अफिस अफ इन्डियन अफेयर्सको १७५ औं वार्षिकोत्सवको अवसरमा दिएको भाषणले यस पीडालाई पुनः स्मरण दिलायो।

त्यो कुनै उत्सव मनाउने समय नभई “विगतका तीता सत्यताहरूबारे बोल्ने र गल्तीहरूका लागि क्षमा माग्ने समय” थियो। सन्‌ १८३० को दशकमा यस संस्थाको पहिलो योजना दक्षिणपूर्वी जनजातिहरू जस्तै, चेरोकी, क्रिक, चोक्टाउ, चिकासाउ र सेमिनोललाई तिनीहरूको आफ्नै देशबाट हटाउनु थियो भनेर तिनले स्वीकारे। “धम्की, छल र बल प्रयोग गरेर यी ठूला जनजातिहरूलाई त्यहाँदेखि पश्‍चिमतर्फ १,६०० किलोमिटर टाढासम्म हिंड्‌न बाध्य तुल्याइयो भने यात्राको दौडान हजारौं वृद्ध, साना केटाकेटी तथा अशक्‍तहरूको मृत्यु भयो, जसको लासलाई तिनीहरूले राम्ररी गाड्‌न पनि नपाई हिंड्‌नुपरेको थियो।”

तिनले अझै यसो भने: “यद्यपि अहिले प्रचुर मात्रामा ज्ञान उपलब्ध भएको समयमा पनि जानाजानी रोग फैलाउनु, एक प्रकारको राँगालाई धेरै अनुपातमा नाश गर्नु, दिमाग अनि शरीरलाई नष्ट गर्न विषालु पेयपदार्थको प्रयोग गर्नु र आइमाई तथा केटाकेटीहरूको निर्मम हत्या गर्नुजस्ता कुराहरूले यतिबिघ्न दुःखकष्ट बढाउँछ कि यसलाई दुई किसिमको जीवनशैलीबीचको भिडन्तले निम्त्याएको टार्नै नसकिने परिणाम हो भन्‍न पटक्कै मिल्दैन।” a तिनले यसरी स्वीकारे: “यो निकाय सबै आदिवासीहरूलाई नामेट पार्न तम्सिएको थियो। यस निकायले आदिवासी भाषाहरू बोल्न निषेध गरेर आदिवासी मानिसहरूलाई आफ्नो चिनारी दिनसमेत लाजमर्दो बनायो। सबैभन्दा नराम्रो कुरा त, यो ब्युरो अफ इन्डियन अफेयर्सले आफ्ना बोर्डिङ स्कूलमा भर्ना भएका केटाकेटीहरू विरुद्ध भावनात्मक, मानसिक, शारीरिक तथा आध्यात्मिक तवरमा अमानवीय व्यवहार गरेर उनीहरूलाई क्रूर सतावट दियो।”

तिनले निष्कर्षमा यसो भने: “आउनुहोस्‌, विगतमा यस निकायले गरेका कामहरूका लागि हामी गहिरो दुःख व्यक्‍त गरौं। . . . अबदेखि कहिल्यै पनि हामी आदिवासी सम्पत्ति हत्याउने काममा संलग्न हुनेछैनौं। . . . अब उप्रान्त कहिल्यै पनि हामी तपाईंहरूको धर्म, भाषा, रीतिथिति वा अन्य कामकुराहरूमा हस्तक्षेप गर्ने छैनौं।” तिनले यस्तो उल्लेखनीय कुरा भने: “विगतका सात पुस्ताले भोगेको दुःखका लागि हामीले आँसु बगाउनैपर्छ। हामी दुवै पक्ष मिलेर टुक्रिएको हाम्रो हृदयलाई जोडिन दिनुपर्छ।”—भाइटल स्पिचेज अफ द डे, अक्टोबर १, २०००.

मानिसले मानिसमाथि गर्ने अमानवीय व्यवहारको एक मात्र साँचो अनि अनन्त समाधान परमेश्‍वरको राज्य हो। यसले सबैलाई न्याय दिलाउनेछ र “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४. (g01 11/8)

[फुटनोट]

a आदिवासीहरूबीच नै वैमनश्‍यता भएको कारण तिनीहरू अक्सर “जग्गा-जमिन, घोडा र राँगाका लागि निरन्तर” झगडा गरिरहन्थे भनी आदिवासी अमेरिकीहरूको इतिहासले पुष्टि गर्छ।—द पिपल कल्ड एपेक।

[पृष्ठ २२-मा भएको चित्रको स्रोत]

Indian: Artwork based on photograph by Edward S. Curtis; Map: Mountain High Maps® Copyright © 1997 Digital Wisdom, Inc.; Indian dwellings: Leslie’s