सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘परीक्षण असफल भएको छ’

‘परीक्षण असफल भएको छ’

‘परीक्षण असफल भएको छ’

झन्‌ झनै सानो गाउँजस्तो हुँदै गएको यस संसारमा भनिन्छ, धनी र गरिबहरूबीचको भिन्‍नता बढ्‌दैछ। विश्‍व अर्थतन्त्र निर्माण गर्ने प्रयासबारे टिप्पणी गर्दै एउटा अन्तरराष्ट्रिय कार्यकर्ता समूहले यस्तो घोषणा गऱ्‍यो: “परीक्षण गरेको ५० वर्षपछि यो असफल भइरहेको छ। सबै मानिसहरूलाई आर्थिक लाभ हुनुको सट्टा यसले ब्रह्‍माण्डलाई वातावरणीय विपत्तितर्फ धकेलिरहेको छ, पहिला कहिल्यै नभएको अनुपातमा सामाजिक गोलमाल मच्चिरहेको छ, अधिकांश देशको अर्थतन्त्र नाजुक अवस्थामा छ, गरिबी, भोकमरी, आफ्नो भूमिबाट विस्थापित हुनेहरूको संख्या, बसाइँ सराइ र सामाजिक अराजकता बढ्‌दो छ। अब यस परीक्षणलाई असफल भन्‍न सकिन्छ।”

कहाँ कुरा बिग्रियो त? मानिसहरूको लक्ष्य स्वार्थपूर्ण छ भने हानि त अवश्‍यै हुन्छ। लगानीकर्ता तथा पुँजीपति जर्ज सोरस यस्तो टिप्पणी गर्छन्‌: “वित्त बजारले मानिसदेखि (श्रम) लिएर प्राकृतिक कुराहरू सबैलाई किनबेच गर्न सकिने वस्तुको रूपमा लिन्छ।” यसको लागि मानव असिद्धता पनि दोषी छ। दर्शनशास्त्री कार्ल पोप्परको विचारसँग सहमत हुँदै सोरसले यसो भने: “हाम्रो बुझ्ने क्षमता जन्मजातै त्रुटिपूर्ण छ। तथ्य कुरा के हो भने, समाजको निम्ति शत प्रतिशत सही योजना बनाउनु हाम्रो क्षमताबाहिरको कुरा हो।”

आर्थिक असमानताहरू कुनै नयाँ कुरा होइनन्‌। ख्रीष्ट आउनुभन्दा आठ शताब्दीअघिका बाइबल लेखकले ‘गरिबहरूलाई थिचोमिचो गर्ने, दरिद्रहरूलाई कुल्चने’ मानिसहरूबारे लेखेका थिए। (आमोस ४:१) त्यस्तै प्रकारका अन्यायहरू देखेपछि झन्डै ३,००० वर्षअघि एक जना पुरातन राजनीतिज्ञले यस्तो लेखे: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—उपदेशक ८:९.

यस समस्याको समाधान के हो? के मानिसहरूले अन्तरराष्ट्रिय सहमतिद्वारा यी बढ्‌दो आर्थिक असमानताहरू हटाउनसक्छन्‌? सोरस यसो भन्छन्‌, “व्यक्‍तिविशेषको स्वतन्त्रता, मानव अधिकार र वातावरणको सुरक्षा गर्न वा सामाजिक अन्याय हटाउन हामीसँग पर्याप्त अन्तरराष्ट्रिय संस्थाहरू छैनन्‌ अनि अझ यसमा शान्ति व्यवस्था कायम गर्ने कुरा त उल्लेख नै गरिएको छैन। हामीसँग भएका संस्थाहरू पनि राज्यका हुन्‌ र साधारणतया राज्यले सर्वसाधारणको हित हेर्नुभन्दा पहिला आफ्नै फाइदा हेर्छ। आफ्नै बडापत्रमा गरिएका प्रतिज्ञाहरू पूरा गर्न संयुक्‍त राष्ट्र संवैधानिक तवरमा असमर्थ छ।”

त्यसोभए के हामी निराश हुने त? हुनुपर्दैन। एउटा विश्‍वव्यापी धार्मिक सरकार चाँडै आउन लागेको छ! येशूको प्रचारकार्यको मुख्य विषय पनि यही नै थियो। उहाँले यसलाई “परमेश्‍वरको राज्य” भन्‍नुभयो र आफ्ना अनुयायीहरूलाई यसको निम्ति प्रार्थना गर्न सिकाउनुभयो। (लूका ११:२; २१:३१) परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भइसकेको छ र यसले चाँडै यस पृथ्वीमा व्याप्त अन्यायलाई हटाउनेछ। (प्रकाश ११:१५, १८) परमेश्‍वरको राज्य शासन अस्थायी परीक्षण नभई सदा सर्वदाको लागि रहनेछ। (दानियल २:४४) यसले सदाको लागि गरिबी र शोषणको समस्या समाधान गर्नेछ। गरिब तथा अत्यचारको सिकार भएकाहरूलगायत अन्य सबैको निम्ति कस्तो राम्रो प्रत्याशा! (g01 11/8)

[पृष्ठ १९-मा भएको चित्र]

विश्‍व अर्थतन्त्रले गरिबहरूको समस्या समाधान गरेको छैन—अरबौं मानिसहरूले अझै पानी वा विद्युत्‌को सुविधा पाएका छैनन्‌