सकली पानामा टोपी—इक्वेडरमा बनेको?
सकली पानामा टोपी—इक्वेडरमा बनेको?
इक्वेडरका ब्यूँझनुहोस्! लेखकद्वारा
के ग्राहक ठगियो? झट्ट हेर्दा त्यस्तै लाग्नसक्छ। किनभने ग्राहकले सकली पानामा टोपीको लागि ३०० अमेरिकी डलर तिरे। तर पसलेले टोपी बाकसबाट निकाल्दा त्यसमा त स्पष्टैसँग “इक्वेडरमा बनेको” भनेर लेखिएको थियो! ठगी? पक्कै होइन। वास्तवमा, सकली पानामा टोपी साँच्चै इक्वेडरमै बनाइन्छ। तर त्यस्तो नसुहाउँदो नाउँ कसरी हुनगयो त? अनि त्यस्तो टोपीको मूल्य किन सयौं डलर पर्छ?
सन् १८०० को मध्यतिर सुनको खोजी गर्नेहरू पानामाको इस्थमसको बाटो भएर क्यालिफोर्नियातिर ओइरिए। त्यहाँ तिनीहरूले इक्वेडरबाट आयात गरिएको टोपी किने। समय बित्दै जाँदा टोपी बनेको ठाउँबाट नभई किनेको ठाउँबाट प्रचलित हुन गयो। जे होस्, पानामा टोपी अत्यन्तै लोकप्रिय भयो। उदाहरणका लागि, सन् १८४९ मा इक्वेडरले २,२०,००० भन्दा बढी टोपी निर्यात गरे! त्यसपछि,
सन् १८५५ मा पानामामा बसोबास गर्ने एक जना फ्रान्सेली मानिसले यस टोपीलाई पेरिसमा भएको अन्तरराष्ट्रिय प्रदर्शनीमा प्रस्तुत गरे। यो टोपी बनाउने मिहिन पदार्थ देखेर सधैं नयाँ फेसन अपनाउन चाहने फ्रान्सेलीहरू प्रभावित भए र कसै कसैले त यसलाई “परालको कपडा” भनेर समेत वर्णन गरे। केही समयपछि त यसबाहेक अरू प्रकारको टोपी लगाउनु अकल्पनीय भयो!यो पानामा टोपीको लोकप्रियता २० औं शताब्दीको सुरुआतमा झनै बढ्यो जब संयुक्त राज्यको राष्ट्रपति थियोडोर रुजवेल्ट फेसनदार फिनो अर्थात् राम्ररी बुनिएको टोपी लगाएर देखा परे। यस मनमोहक टोपीको माग झनै बढ्यो। विश्वभरिका प्रमुख कम्पनीहरूले यसको वितरण गर्न थाले। टर्कीमा १९२५ मा आधुनिक तरिका अपनाउन लागू गरेको कानुनले परम्परागत टोपीमा प्रतिबन्ध लगाएर पानामा टोपीको प्रयोग गर्ने आदेश जारी गऱ्यो। सन् १९४४ तिर त इक्वेडरले निर्यात गर्ने प्रमुख वस्तु पानामा टोपी भइसकेको थियो।
तर २० औं शताब्दीको उत्तरार्द्धमा भने यसको लोकप्रियता घट्न थाल्यो। तैपनि, इक्वेडरका यी विशेष टोपीहरूको सान कायमै रह्यो। वास्तवमा, संसारभरिका सिपालु मानिसहरू गुणस्तरीय टोपी बनाउन प्रतिस्पर्धा गर्छन्। विगतदेखि हाम्रो समयसम्मका सुप्रसिद्ध मानिसहरू यस पानामा टोपीको सौन्दर्यले मोहित भएका छन्। यसले विन्सटन चर्चिल, निकीता ख्रुश्चेभ, हम्फ्रे बोगार्ट र माइकल जोर्डन जस्ता थुप्रै नामुद व्यक्तिहरूको शिरको शोभा बढाएको छ।
भनौं भने, सकली पानामा टोपीको नकल गरेर थुप्रै सस्ता टोपीहरू उत्पादन गरिएका छन्। तथापि, यिनीहरूमध्ये धेरैजसो छिटै उध्रिन्छन् भने अरूमा चाहिं हावै छिर्दैन। सकली पानामा टोपी भने त्यस्तो हुँदैन। यो हल्का अनि हावा आवतजावत गर्नसक्ने र आजीवन टिक्ने हुन्छ। हातैले बुनिने भएकोले पनि विशिष्ट प्रकारको हुन्छ। भद्दा किसिमको टोपीको मूल्य दुई/चार अमेरिकी डलरदेखि लिएर मोन्टेक्रीस्टीमा बनेको सुपरफिनोस टोपीको मूल्य १,००० अमेरिकी डलरसम्म पर्नसक्छ। बुनाइको मिहिनपना र चिप्लोपनाका साथसाथै रंगको छनौटले यसको गुणस्तर निर्धारण गर्छ। तर एउटा कुरा भने कहिल्यै नबिर्सनुहोस्: असली पानामा टोपी इक्वेडरमा मात्रै बन्छ। (g01 5/8)
[पृष्ठ १७-मा भएको पेटी/चित्र]
पानामा टोपी बनाउने तरिका
पानामा टोपी कसरी बनाइन्छ? खजुरजस्तै देखिने बोटबाट टोक्वीला भनिने बलियो खालको रेसा बन्छ। इक्वेडरको तटवर्ती इलाकामा यस बोटलाई हुर्कन र फेरि सप्रन उपयुक्त हावापानी पाइन्छ। इक्वेडरका टोपी कारिगरहरू संसारका सबैभन्दा राम्रा कारिगर मानिन्छन् र तिनीहरू टोपी बुन्न साह्रै मेहनत गर्छन्! उच्च कोटीको मोन्टेक्रीस्टी सुपरफिनो बुन्न छ महिना वा त्योभन्दा बढी समय लाग्नसक्छ। टोपीमा प्रयोग गरिने हरेक परालको लम्बाइ अत्यन्तै छोटो हुन्छ। तथापि, सकली पानामा टोपीमा एउटा रेसा कहाँबाट सुरु भएर कहाँ सिद्धिन्छ र कहाँबाट अर्को रेसा सुरु हुन्छ भनेर भन्नै मुस्किल पर्छ। साथै, ती रेसाहरू निकै कस्सिने गरी बुनिने हुनाले पानीसमेत भित्र छिर्न सक्दैन!
मोन्टेक्रीस्टी शहर हातले बुनेका उत्कृष्ट टोपीहरूको लागि प्रख्यात छ। मोन्टेक्रीस्टी क्षेत्रका निपुण कारिगरहरू भूमध्यरेखाको तापक्रमले पराललाई कक्रक्क नपारोस् भनेर बिहान सबेरै अथवा साँझतिर काम थाल्छन्। तिनीहरू टोपीको माथिल्लो भाग बनाउन एउटा रेसामै गोलो माथि गोलो आकार निकाल्दै चाहेको व्यास नपुगुञ्जेल बुनिरहन्छन्। त्यसपछि कारिगरले छेउछाउका भागहरू बुन्दै तलतिर निपुणतासाथ बेर्दै लैजान सकून् भनेर त्यसलाई एउटा बेलनाकार काठमाथि राखेर बुन्छन्। ती छेउहरूलाई धेरै हप्ता लगाएर बुनिसकेपछि तल्लो किनारबाट अर्कोतिर समकोण बनाएर बुन्न थाल्छन्। राम्ररी छाँट्ने, धुने अनि ब्लिच गर्नुका साथै अनेकन् परिष्कृत गर्ने प्रविधिहरू अपनाइसकेपछि ख्याति प्राप्त पानामा टोपी तयार हुन्छ।
[चित्र]
ताछिएको पातबाट निकालिएका परालका रेसाहरू बुन्नुअघि उमालेर सुकाइन्छ
[पृष्ठ १७-मा भएको चित्र]
पानामा टोपी लगाउने सुप्रसिद्ध मानिसहरूमध्ये विन्सटन चर्चिल पनि एक हुन्
[स्रोत]
U.S. National Archives photo