के स्टक बजारमा लगानी गर्नु बुद्धिमानी हो?
के स्टक बजारमा लगानी गर्नु बुद्धिमानी हो?
“थुप्रै मानिसहरूले स्टक बजारमा लगानी गर्न थालेका छन्।”– न्युजवीक, जुलाई ५, १९९९.
स्टक एक्सचेन्ज केन्द्र एकदमै व्यस्त बजारजस्तो देखिन्छ। अर्थ न बर्थको (अनजान व्यक्तिको लागि) हाते संकेत प्रयोग गर्छन्, इलेक्ट्रोनिक उपकरणमा सांकेतिक सन्देश देखा पर्छन् अनि त्यो चाँडचाँडो परिवर्तन भइरहन्छ, यस्तो हल्लाखल्लामा दलालहरू चर्को आवाज निकालेर चिच्च्याइरहेका हुन्छन्।
तथापि, स्टक बजारबारे केही नबुझेका मानिसहरूले समेत स्टकमा लगानी गर्न थालेका छन्। किन? एउटा त, इन्टरनेटले गर्दा लगानीकर्ताहरूले तुरुन्तै आर्थिक समाचार, लगानीसम्बन्धी सल्लाह अनि दलालहरूबारे जानकारी लिन पाउँछन्। वल स्ट्रिट न्युज-का प्रधान सम्पादक पल फारेल यस्तो लेख्छन्: “[निजी लगानीकर्ताहरूका लागि] इन्टरनेटद्वारा लगानी गर्नु एउटा नयाँ माध्यम भएको छ, धन कमाउने नयाँ क्षेत्र, आफ्नो निर्णय आफै गर्ने अनि घरैमा बसेर कमाइ गर्न सकिने मौका।”
अर्कोतर्फ, आफूलाई राम्रो ज्ञान नभएको क्षेत्रमा समेत यति धेरै मानिसहरू लगानी गर्न इच्छुक भएको देखेर वित्तीय सल्लाहकारहरू छक्कै परेका छन्। धितोपत्र व्यापारमा ३८ वर्ष लामो अनुभव सँगालेका एक जना लगानीकर्ताले ब्यूँझनुहोस्!-लाई यसो भने: “धेरै जसो मानिसहरू लगानी गर्न होइन तर नाफा कमाउन व्यापारिक खतरा मोल्ने हिसाबले धितोपत्र किन्छन्। कसै कसैले यो लगानी नै गरेको भन्ठान्लान् तर तिनीहरूलाई आफूले [धितोपत्र] किनबेच गर्ने कम्पनीबारे केही पनि थाह हुँदैन।”
पैसा लगानी गर्नुअघि तपाईंले कुन कुन कुरा विचार गर्नुपर्छ? धितोपत्र किनबेचमा केही खतरा मोल्नुपर्ने हुँदा के यो जुवा खेल्नु बराबर हो? सर्वप्रथम, स्टकबजार कसरी सञ्चालन हुन्छ हेरौं।
‘सेयर’ खरिद
कम्पनी राम्ररी सञ्चालन हुन पुँजीको आवश्यकता पर्छ। कम्पनीको फलिफाप हुन ठूलो पुँजी चाहियो भने कम्पनीको व्यवस्थापनले जनसाधारणलाई आफ्नो सेयर बेच्ने विचार गर्नसक्छ। स्टक बजारसित सम्बन्धित एउटा प्रकाशन यसो भन्छ: “स्टक किन्नु भनेको कम्पनीको साझेदार हुनु हो। स्टक वा सेयर किन्नुहुँदा तपाईं कम्पनीको हिस्सेदार बन्नुहुन्छ।”
सडक बजारमा बिक्रेता र क्रेताहरू भेटेर व्यापार गर्छन्। त्यसरी नै स्टक किन्ने र बेच्नेहरूको लागि स्टक विनिमय पनि बजारै हो। विनिमयको विकास हुनुअघि चिया घर वा सडक छेउमा दलालहरूले स्टक किनबेच गर्थे। यो ६८ वल स्ट्रिटको बटनवुड रूखमनिको किनबेच व्यापार, पछि गएर न्यु योर्क स्टक एक्सचेन्जमा परिणत भयो। a अहिले थुप्रै देशहरूमा स्टक विनिमय छन्। कुनै तोकिएको दिन र घण्टामा संसारको कुनै न कुनै भागमा स्टक बजार चलिरहेकै हुन्छ।
स्टक किनबेच गर्न लगानीकर्ताले दलालसित खाता खोलेर अर्डर गर्छ। आजकाल टेलिफोन, इन्टरनेटद्वारा
वा व्यक्तिलाई नै भेटेर स्टक किनबेच गर्ने अर्डर दिन सकिन्छ। त्यसपछि, दलालले लगानीकर्ताको लागि अर्डर लिनुपर्छ। सेयर बजार भवनमै व्यापार गरिन्छ भने दलाली कार्यालयले आफ्नो कुनै एक जना दलाललाई लगानीकर्ताको लागि स्टक किनबेच गर्न खटाउँछ। हालैका वर्षहरूमा भने कुनै कुनै स्टक विनिमय पूर्णतया इलेक्ट्रोनिक प्रणालीद्वारा गरिने हुँदा अर्डर गरेको छिनभरमै किनबेच गर्न सकिन्छ। यो किनबेचको लागि चलेको भाउ र विनिमय विवरण इलेक्ट्रोनिक उपकरणमा देखिन्छ।लिलाममा जस्तै प्रतिस्पर्धी बोलबोलाइमा स्टक किनबेचको भाउ निर्भर हुन्छ। व्यापार समाचार, कम्पनीको मुनाफा अनि व्यापारका भावी योजनाहरूले स्टकको मूल्यमा फरक पार्नसक्छ। लगानीकर्ताहरू कम मूल्यमा स्टक किनेर नाफा कमाएपछि बढी पैसामा बिक्री गर्न खोज्छन्। कम्पनीले मुनाफा रकमको केही भाग सेयरवालाहरूलाई लाभांशको रूपमा पनि दिने सम्भावना हुन्छ। कोही कोहीले दीर्घकालीन लगानीको लागि स्टक किन्छन्; अरू भने थोरै समयमै भाउ बढ्यो भने नाफा कमाउने हिसाबले स्टक किनबेच गरिरहन्छन्।
स्टक किनबेच गर्ने पुरानो तरिका टेलिफोनद्वारा हो तर इन्टरनेटद्वारा स्टकको किनबेच दिनदिनै लोकप्रिय हुँदै गइरहेको छ। द फाइनान्सियल पोस्ट-ले रिपोर्ट गरेअनुसार अमेरिकामा इन्टरनेटद्वारा स्टक व्यापार गर्नेहरूको संख्या “१९९६ मा प्रति दिन १,००,००० बाट बढेर जून [१९९९] को अन्तसम्म झन्डै ५,००,००० पुग्यो। संयुक्त राज्य अमेरिकामा १६% व्यापार इलेक्ट्रोनिक माध्यमद्वारा गरिन्छ।” स्वीडेनमा १९९९ मा २० प्रतिशत जति स्टक व्यापार इन्टरनेटद्वारा भयो।
बुद्धिमानीपूर्वक लगानी गर्नुहोस्
कम्प्युटरको सुविधाले गर्दा पहिले पहिले दलाल तथा पेसेवर व्यापारीहरूले मात्र पाउने जानकारी अब इन्टरनेटद्वारा सर्वसुलभ उपलब्ध भएको हुँदा थुप्रै लगानीकर्ताहरू दिनरात स्टक किनबेच गरिरहेका हुन्छन्। कतिपय मानिसहरूले आफ्नो एकदमै मुनाफादायी व्यापार छोडेर स्टक व्यापार गर्न थालेका छन्। किन? “यसप्रतिको आकर्षण स्पष्ट छ” भनी मनी पत्रिका बताउँछ। “मालिकको टन्टा छैन, कहाँ र कहिले लगानी गर्ने भनेर आफै निर्णय गर्नसक्ने अनि निकै पैसा कमाउन सक्ने सम्भावनाले गर्दा यसको लोकप्रियता बढेको हो।” एक जना ३५ वर्षीय व्यक्तिले वर्षेनी २,००,००० अमेरिकी डलर आर्जन हुने जागिर छोडेर घरैबाट स्टक व्यापार गर्न थाले र तिनले यसो भने: “आफूसित भएको मालसामानको हिसाब राख्न नपर्ने, कामदारको झन्झट छैन, बहाल तिर्नुपर्दैन। कम्प्युटरमा ट्याकट्याक टुकटुक गरेको भरमा जीविकोपार्जन गर्ने योभन्दा अर्को राम्रो उपाय के होला र?”
स्टक व्यापार नयाँ लगानीकर्ताले सोचेजस्तो सजिलो नहुनसक्छ भनी विशेषज्ञहरू सतर्क गराउँछन्। स्टक व्यापारमा संलग्न व्यक्तिहरूले महसुस गर्ने तनाउबारे विशेष अध्ययन गरेका मनोचिकित्सक यस्तो टिप्पणी गर्छन्: “यो व्यापार एकदमै सजिलो जस्तो देखिन्छ तर मेरो विचारमा सजिलै पैसा कमाउने सबैभन्दा गाह्रो तरिका हो।” वित्तीय समाचार र सरसल्लाहको छेलोखेलोका नकारात्मक पक्षहरू पनि छन्। माथि उल्लिखित पल फारेल यसो भन्छन्: “निजी लगानीकर्ता र संस्थागत व्यापारीमाथि तीन थुप्रो जानकारी तीव्र गतिमा प्रहार भइरहेको छ। यसले गर्दा मन मस्तिष्कमा निकै असर पारेको छ, दिमाग ठेगानमा रहँदैन, निराशा र तनाउ हुन्छ।”
आफूमा बढ्तै भरोसा राख्नु पनि पासो हुनसक्छ। वित्तीय स्तम्भकार जेन ब्रायन्ट क्विन व्यापारीहरूमा व्याप्त खतरनाक मनोवृत्तिबारे यस्तो चेताउनी दिन्छिन्: “सबै कुरा तपाईंको नियन्त्रणमा वा कम्प्युटरको माउस तपाईंको हातमा भएकोले कुनै अप्रिय घटना हुनेछैन भन्ठानुभएको होला। अनि केही भइहालेको खण्डमा समयमै बचाउन सकिन्छ भन्ने सोचाइ राख्नुहोला।”
उनी अझै यसो भन्छिन्: “पेसेवरहरूले प्रयोग गर्ने जानकारी हामीले पाउन सक्ने हुँदा आफू पेसेवरहरू हौं भन्ठान्छौं होला।” स्टक बजारमा लगानी गरेर रातारात धनी भएका व्यक्तिहरूको कथाबारे व्यापक प्रचारप्रसार भए तापनि स्टक व्यापारका खतराहरू नभएका भने होइनन्। कोही कोही स्टक लगानीकर्ताहरू अत्यन्तै सफल भएका छन्। अरू कतिपयको भने सर्वस्व डुबेको पनि छ।लगानी सल्लाहकारहरूले सम्भाव्य लगानीकर्ताहरूलाई कुनै पनि कम्पनीको सेयर किन्नुअघि कम्पनीको पुरानो रेकर्ड तथा भावी योजना, उत्पादकत्व, अरू व्यापारबाटको प्रतिस्पर्धा अनि अरू विभिन्न पक्षहरू विचार गर्ने सल्लाह दिन्छन्। यो जानकारी प्रायजसो दलाल तथा अन्य वित्तीय संस्थानहरूमार्फत प्राप्त गर्न सकिन्छ। थुप्रै लगानीकर्ताले स्टक किन्नुअघि वित्तीय योजनाकारहरूको सरसल्लाह लिन्छन्। b कम्पनीबारे सबै आवश्यक जानकारी हासिल गरिसकेपछि आफ्नो पैसा कुनै बेइमान व्यापारमा लगानी हुनेछैन भनेर ढुक्क हुन सकिन्छ।—अवेक! फेब्रुअरी ८, १९६२, पृष्ठ २१-३ हेर्नुहोस्।
कम्पनी चिट्ठा?
स्टक बजारसित सम्बन्धित खतराहरू विचार गर्दा के स्टक किन्नु भनेको जुवा खेल्नु बराबर हो? सबैजसो वित्तीय लगानीमा धेरथोर खतरा विथोलित हुन्छ। कोही कोही मानिसहरू समयको दौडान घडेरीको भाउ घट्ला वा बढ्ला भन्ने विचारै नगरी जग्गाजमिन किन्छन्। अरू भने बैंकमा पैसा जम्मा गर्नु सबैभन्दा सुरक्षित उपाय ठान्छन्। स्टक बजार कुनै सजिलो व्यापार होइन तर सरल भाषामा भन्ने हो भने, स्टकमा लगानी गर्ने व्यक्तिले आफ्नो व्यापार फस्टाउनेछ र स्टकको भाउ बढ्नेछ भन्ने आशा राखेरै सेयर किन्छ।
यस्तो लगानी गर्नु भनेको जुवा खेल्नु होइन किनभने सेयरधनीले कम्पनीको हिस्सा किनेका हुन्छन्। यी सेयरहरू अरू कसैलाई बेच्न वा पछि भाउ बढ्ला भन्ने आशामा साँचेर राख्न सकिन्छ। क्यासिनो वा भाग्य खेलमा पैसाको दाउ हाल्ने व्यक्तिहरूले भने यसो गर्दैनन्। कुनै सम्भावना नभए तापनि जुवाडेले असम्भाव्य परिणामको आशा गर्छ र हार्नेको भाग खोस्न खोज्छ।
लगानीकर्ताले कतिसम्म खतरा मोल्नु ठीक हुनेछ? यो आ-आफैले निर्णय गर्नुपर्ने विषय हो। निस्सन्देह, आफूले गुमाउन चाहेको पैसाभन्दा बढी लगानी गर्नु बुद्धिमानी हुनेछैन।
पैसाप्रति सन्तुलित दृष्टिकोण
वर्तमान र भावी आवश्यकताहरू पूरा गर्न कसै कसैले स्टक बजारमा लगानी गर्ने निर्णय गरेका छन्। त्यस्तो वित्तीय लगानी गर्नुको कारण स्पष्ट हुनु महत्त्वपूर्ण छ। माथि उल्लिखित जेन ब्रायन्ट क्विन यसो भन्छिन्: “स्टकमा लगानी गरेर संयोगले मुनाफा कमाएकाहरूले जस्तै धन कमाउने लालसा गर्न थाल्यौं भने हामीमा कुभावनाहरू जाग्नसक्छ।” यी शब्दहरूले लगभग २,००० वर्षअघि एक जवान मानिसलाई दिइएको निम्न सल्लाहको महत्त्व दर्शाउँछन्: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्। किनभने रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमोथी ६:९, १०.
आफ्नो पैसा कसरी लगानी गरिन्छ, त्यो व्यक्तिगत मामिला हो। लगानीकर्ताको मन स्थिर छ र जीवनका आवश्यकताहरू पूरा भएकोमा सन्तुष्ट छन् भने आफ्नो पारिवारिक जिम्मेवारी तथा आध्यात्मिक आवश्यकताहरू पूरा गर्दै वित्तीय मामिलालाई त्यसको ठीक ठाउँमा राख्नु बेस हुनेछ।
[फुटनोट]
a अहिले “वल स्ट्रिट” भन्ने पदावलीले आर्थिक बजारलाई संकेत गर्छ।
b सबै सल्लाह व्यावहारिक हुँदैन। नाफा कमाउन आफ्नो सेवाको विज्ञापन गर्ने वा ग्राहकबाट नाजायज फाइदा उठाउने वित्तीय योजनाकार वा दलालहरू पनि हुनसक्छन् भनेर सतर्क हुनुपर्छ।