विश्वदर्शन
विश्वदर्शन
मंगलग्रहमा गएको अन्तरिक्षयानको समस्या
डिसेम्बर महिनामा मार्स पोलार ल्यान्डर मंगलग्रह पुगेपछि नासाले त्यससित सम्पर्क राख्न सकेन। मार्स क्लाइमेट अर्बिटरले पृथ्वीमा जानकारी प्रसारण गर्न नसकेको दुई महिना नबित्दै यो असफल भएको हो। ल्यान्डर किन असफल भयो पत्ता लागेको छैन। तर अरबिटर असफल हुनुको विभिन्न कारणहरूमध्ये एउटा अन्तरिक्षयानको मार्ग निर्देशनको व्यापक रूपमा चलाइने मेट्रिक प्रणालीको सट्टा त्यो अंग्रेजी युनिटमा थियो! यस भिन्नताले गर्दा नासाको उडान टोली र अर्को टोलीबीच नाविक तथ्यांकहरू प्रसारण गर्न समस्या भयो। असफलताको कारण नासाका वैज्ञानिकहरू निराश भए तापनि तिनीहरू आफ्नो लक्ष्यमा अघि बढिरहने छन् भनी सि एन एन बताउँछ। यो “रातो ग्रहको मौसम र भौगोलिक इतिहास जान्न, जीवनको अस्तित्व भएको संकेत छ छैन हेर्न र अनुसन्धानको निम्ति मानिसहरूलाई जग बसाल्न हो।”
लोप हुँदै गएको चिनियाँ लेखनशैली
नुँ शु नाउँ गरेको अनुपम लेखनशैली महिलाहरूले मात्र बुझ्छन् र यो शताब्दीयौंदेखि दक्षिणी चीनको हुनान प्रान्तको एउटा सानो गाउँमा चलाउँदै आइएको छ। केटीहरूलाई औपचारिक शिक्षा लिन निषेध गरिएको समयमा कृषक महिलाहरूले यस लेखनशैली विकास गरेका थिए। यस लिपिमा झन्डै ७०० वटा ध्वन्यात्मक शब्दहरू छन् भने चिनियाँ कलात्मक अक्षरहरू हजारौं छन्। नुँ शु कोमल तरिकामा आकुञ्जन र धर्सो तानेर लेखिन्छ। नुँ शुबारे वृत्तचित्र बनाउने निर्माता याङ युकिंङले यसलाई “एकदमै स्त्रीत्व झल्काउने सुन्दर लेखनशैली” भनी व्याख्या गर्नुका “साथै लुगा वा कुनै बुट्टामा भरिने भएकोले अत्यन्तै कलात्मक हुन्छ” भनी लण्डनको द सन्डे टाइम्स-ले रिपोर्ट गर्छ। स्त्रीहरूले आफ्नो परम्परा र अवस्थाबारे नुँ शुमा गीत तथा कविताहरू लेख्थे। सन् १९४९ मा चीनमा स्त्रीहरूलाई समान हक दिएपछि नुँ शुको प्रयोग कम हुन थाल्यो। आज जम्मा तीन जना मानिसलाई मात्र यस पुरातन लिपि लेख्न आउँछ र तिनीहरू वृद्ध स्त्रीहरू हुन्।
हिंस्रक भिडियो गेम
क्यानाडाको ब्रिटिश कोलम्बियामा अवस्थित साइमन फ्रेजर विश्वविद्यालयका अनुसन्धानकर्ता ब्रेन्ट स्टाफोर्डले भिडियो गेम खेल्ने ६०० जवान व्यक्तिहरूमा गरेको अध्ययनको आधारमा थुप्रै भिडियो गेमले “हाम्रा बच्चाहरूलाई हिंसामा रमाउन सिकाइरहेको छ” भनेर चेताउनी दिए। म्याक्लिन पत्रिका यस्तो रिपोर्ट गर्छ: “हिंस्रक र साँच्चैको जस्तो भान पार्ने गेमहरू खेल्न खग्गू भइसकेका केटाकेटीले एक रातमा कम्तीमा पनि १,००० ‘अवतारहरूलाई’ (पात्रहरू) रक्तपातपूर्ण दृश्यमा ‘मार्छन्।’ यस्ता हिंस्रक भिडियो गेमहरू कुन हदसम्म मानिसहरूको भावनालाई आकर्षित गर्न र “जवान मनहरूलाई हिंसा र हत्याप्रति समेत भावशून्य” बनाउन तयार पारिएका हुन्छन् भनेर पनि उक्त अनुसन्धानमा बताइएको थियो। वर्षेनी झन्डै १७ अरब अमेरिकी डलर आम्दानी हुने भिडियो गेम व्यापार “चलचित्र र टेलिभिजनहरू भन्दा” पनि ठूलो छ। स्टाफोर्ड, आमाबाबुलाई आफ्ना छोराछोरी कस्तो गेमहरू खेल्दै छन् र नखेली नहुने जस्ता कुनै झुकाउ देखाएमा सजग हुन आग्रह गर्छन्।
युद्धका रिपोर्टहरू
साइक्लोजी टुडे यस्तो उल्लेख गर्छ: “विश्वभरि अहिले २७ वटा सक्रिय युद्धहरू भइरहेका छन्।” स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले रिपोर्ट गरेअनुसार लाइबेरियाको सात वर्ष लामो गृहयुद्धमा १,५०,००० भन्दा बढीको मृत्यु भयो र अंगोलामा १५ वर्ष लामो आन्तरिक भिडन्तको दौडान ५,००,००० मानिसको मृत्यु भयो। सन् १९८४ देखि टर्कीमा भएको भिडन्तले ३७,००० भन्दा बढीको ज्यान लिइसक्यो भने सन् १९८३ देखि श्रीलंकामा भएको युद्धले ६०,००० भन्दा बढीको ज्यान लिइसक्यो। त्यस पत्रिकाले यसो भन्छ, “दोस्रो विश्वयुद्धको अन्त भएदेखि यता युद्धले जम्माजम्मी २ करोडभन्दा बढी मानिसहरूको ज्यान लिइसक्यो र जसमध्ये धेरै नागरिक पर्छन्।” “अर्थतन्त्रको कारण . . . युद्धहरू भइरहनेछन्। युद्ध संसारको सबैभन्दा ठूलो उद्योगहरूमध्ये एउटा हो। वर्षेनी ८ खरब अमेरिकी डलरभन्दा बढी खर्च हुन्छ र निकै फाइदा पनि हुन्छ।” सम्पादकियले यस्तो टिप्पणी गर्छ: “आफ्नै सँगी मानवहरूप्रति निर्दयी हुने हामी कस्ता प्राणी हौं।” संयुक्त राष्ट्र संघले यस वर्ष अन्तरराष्ट्रिय शान्ति वर्ष घोषणा गरेको छ।
धूम्रपान र अन्धोपन
“अन्धो हुनुको मुख्य कारण धूम्रपान हो” भनी क्यानबेरा टाइम्स अखबार रिपोर्ट गर्छ। अस्ट्रेलियन नेसनल युनिभर्सिटी र सिड्नी युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले
अन्धो हुने ५० वर्षभन्दा बढी उमेरका मानिसहरूमध्ये २० प्रतिशत धूम्रपानको कारण भएको हो भनेर अनुमान लगाउँछन्। अनुसन्धानकर्ताहरूले अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका र युरोपमा गरिएका अध्ययनहरू पनि यो उद्धृत गरेका छन् र ती अध्ययनहरूले धूम्रपान गर्ने व्यक्तिहरूमा उमेरसँगसँगै दृष्टि कमजोर हुने सम्भावना दुईदेखि पाँच गुणा बढी भएको संकेत गरेको छ। अस्ट्रेलियन नेसनल युनिभर्सिटीका डा. वेन स्मिथले चुरोटका बट्टाहरूमा यस्तो चेताउनी राख्न सुझाउ दिए: “धूम्रपान अन्धोपनको प्रमुख कारक हो।”बेवास्ता र बाल दुर्व्यवहार
जापानमा सन् १९९८ आर्थिक वर्षमा गत वर्षको तुलनामा बाल दुर्व्यवहारको संख्या ३० प्रतिशतले वृद्धि भयो भनी आशाही इभनिङ न्युज-ले बतायो। विशेषज्ञहरू यसको मुख्य कारण “आमाहरू एक्लैले बच्चाको देखभाल गर्नुपर्दा सामना गर्नुपर्ने बढ्दो तनाउहरूका” साथै दुर्व्यवहार वा बेवास्ताको रिपोर्ट गर्नुपर्छ भन्नेबारे जनसाधरणबीच बढ्न थालेको सजगता हो। द डेलि योमिउरी-अनुसार जापानमा घर वा बिसाएको गाडीमा एक्लै छोडिएको स-साना बच्चाहरूको मृत्युको संख्यामा पनि वृद्धि भएको छ। कुनै कुनै अवसरमा तिनीहरूका आमाहरू पाचिन्को पिनबल खेलेर जुवा खेलिरहेका भेटिएका छन्। यस्ता मुद्दाहरूमा आमाबाबुलाई दोषी ठहऱ्याउन थालिएको भर्खर मात्र हो। तथापि, अहिले अत्यन्तै लापरवाही आमाबाबुलाई दण्ड दिन अधिकारीहरू अघि सरेका छन्।
नवजात शिशुलाई एच आइ भी
युनाइनेड प्रेस इन्टरनेसनलको रिपोर्टअनुसार “अफ्रिकामा जन्मेका आधा बच्चाहरू एड्स लाग्ने एच आइ भी जिवाणुबाट संक्रमित छन्।” एचआइभी/एड्सको जोइन्ट युनाइटेड नेसन्स् प्रोग्रामका कार्यकारी निर्देशक डा. पिटर पियोटले अफ्रिकाको कुनै कुनै भागमा आयु २५ वर्षले घटेको उल्लेख गरे। रिपोर्ट अझ यसो भन्छ: “एच आइ भी-द्वारा सबैभन्दा संक्रामित २१ वटा देशहरू अफ्रिकामा छन् र ती देशहरूमध्ये १० वटा देशमा कम्तीमा पनि १० प्रतिशत जनता संक्रमित छन्।” एड्ससित सम्बन्धित विश्वव्यापी मृत्युहरूमध्ये ८० प्रतिशत त अफ्रिकामै हुन्छ।
पाउदानको शक्ति
“यताउता जान सबैभन्दा कुशल साधनहरूमध्ये एउटा साइकल हुनसक्छ। किनकि साइकलले पाउदान शक्ति चलाउने मात्र होइन तर यसको डिजाइन कम उर्जा खेर जाने किसिमले बनेको हुन्छ” भनी रोइटर्स रिपोर्ट गर्छ। इन्फ्रारेड क्यामराको मदत लिएर कम्प्युटरद्वारा नियन्त्रित साइकलको जाँच गर्दा बाल्टीमोरको जोन एन्थोनि हप्किन्स् युनिभर्सिटीका इन्जिनियरहरूले जन्जिरले कम ताप उत्पादन गरेको पाए। “इन्जिनियरहरू नै छक्क पर्ने गरी जन्जिरको प्रभावकारिता ९८.६ प्रतिशत थियो र यसको अर्थ २ प्रतिशतभन्दा पनि कम शक्ति मात्र तापको रूपमा खेर जान्छ” भनी रिपोर्टले बताउँछ। “साइकलको सबैभन्दा कम प्रभावकारिता भनेको नै ८१ प्रतिशत थियो।” यस अध्ययनमा नेतृत्व लिएका जेम्स स्पाइसरले यसो भने: “मलाई अझ छक्क लागेको कुरा त के हो भने, जन्जिरको रचनामा विगत १०० वर्षभन्दा बढीदेखि खास परिवर्तन भएको छैन।”
“खराब वर्षा”
चीनको सिक्कियाङ उघुर स्वशासित क्षेत्रको टर्पानमा खराब वर्षा भनेर चिनिने एउटा चक्र हुन्छ। अत्यन्तै कालो बादल लागे तापनि तल जमिनमा गर्मी र सुक्खा हुन्छ भनेर चाइना टुडे रिपोर्ट गर्छ। वर्षा भएजस्तो देखिन्छ र हातमा पानीको छिट्टा परेको महसुस पनि हुन्छ। तथापि, टर्पानको सुक्खा मौसममा वाष्पीकरण प्रक्रिया वर्षाभन्दा पनि छिटो हुन्छ। तसर्थ, “खराब वर्षा” जमिनमा पुग्नुअगावै वाष्पीकरण हुन्छ।
खतरनाक भोजन
हालै पश्चिमी भारतको कच प्रान्तमा एक पशु चिकित्सकले एउटा बिरामी गाईको पेटबाट ४५ केजी प्लास्टिकको झोला निकाले भनी भारत, केरलाको द विक पत्रिका रिपोर्ट गर्छ। प्लास्टिक झोलाको अलावा तिनले कपडा, नरिवलको खोस्टा, तार र पेच पनि भेट्टाए। भारतमा छाडा छोडिएका गाईहरूले अक्सर फोहरमैला नै खान्छन् र फालिएका प्लास्टिकका झोलाहरू तिनीहरूको निम्ति खतरनाक छ। पाल्तु गाईहरूले समेत चराउन लग्दा बाटोमा फालिएको फोहर खान्छन्। गाईहरूको निम्ति मुख पाक्ने रोगपछि दोस्रो ठूलो खतरा प्लास्टिक हो भनी पशु चिकित्सक डा. जडेजा भन्छन्। पचाउन नसक्ने यस वस्तुले आन्द्रामा बाधा पुऱ्याउँछ र गाईहरूले उग्राउन सक्दैनन्। त्यस्ता गाईहरू अक्सर मर्छन्। यस्तो अवस्थाबारे डा. जडेजालाई सार्कीहरूले सजग गराएका थिए किनभने तिनीहरूले मरेको गाईको छाला निकाल्दा थुप्रै प्लास्टिक भेट्टाएका थिए।