युवाहरूलाई “हत्या संस्कृति”-बाट उम्कन मदत गर्ने
युवाहरूलाई “हत्या संस्कृति”-बाट उम्कन मदत गर्ने
आजको युवा पीढी मृत्युको विषयसित त्यस्तो मोहित हुनुको कारण के हो? सं.रा.अ.-को इलिनोइ राज्यको प्रतिनिधि हेन्रि हाइडले यसो भने: “यी युवाहरूमा आध्यात्मिक शून्यता छ र तिनीहरूको मन मृत्यु अनि हिंसाका कुराहरूले भरिएका छन्।”
“आजका युवाहरू माझ हत्या संस्कृति व्याप्त हुनुको कारण अल्छी आमाबाबु, हिंसाले भरिपूर्ण मनोरञ्जन र नैतिक तथा आध्यात्मिक निर्देशनको कमी हो” भनी टाइम पत्रिकाका एक पाठकले लेखे।
आजका किशोरकिशोरीहरूको अर्को मुख्य समस्या एक्लोपन पनि हो। कसै कसैको आमाबाबु दुवै जागिरे भएकाले दिनभरि जसो नै घरमा हुँदैनन् र अरू कसैको चाहिं घरमा आमा वा बुबा मात्र हुन्छन्। एउटा पुस्तकअनुसार संयुक्त राज्य अमेरिकाका किशोरहरूले प्रति दिन झन्डै ४ घण्टा एक्लै बिताउँछन् र १९६० को दशकको किशोरहरूको दाँजोमा आजका युवाहरूले आमाबाबुसित ११ घण्टा कम समय बिताउँछन्। साँच्चै भन्ने हो भने, कोही कोही जवानहरूले आफ्नो आमाबाबुबाट पटक्कै भावनात्मक सहयोग वा समर्थन पाउँदैनन्।
आमाबाबुले के गर्नसक्छन्
आजका युवा पीढीले सामना गर्ने “आध्यात्मिक शून्यता”-लाई विचार गर्दा आमाबाबुको भूमिका कति महत्त्वपूर्ण छ? आफ्ना छोराछोरीलाई एकातिर अहानिकारक मनोरञ्जन चाहिन्छ भने अर्कोतिर तिनीहरूलाई नियमित तवरमा व्यक्तिगत सहयोग पनि चाहिन्छ भन्ने
कुरा बुद्धिमान् आमाबाबु बुझ्छन्। मायालु चासो भएका आमाबाबुले आफ्ना छोराछोरीसित तिनीहरूलाई के कस्तो संगीत, टेलिभिजन कार्यक्रम, भिडियो, उपन्यास, भिडियो गेम तथा चलचित्रहरू मन पर्छ भनेर कुरा गर्नसक्छन्। युवा जनहरूले व्यक्त नगरे तापनि तिनीहरू स्नेह र मायालु डोऱ्याइको तृष्णा गर्छन्। तिनीहरूलाई स्पष्ट उत्तरहरू चाहिन्छ किनभने तिनीहरू अनिश्चितताले भरिएको संसारमा बस्छन्। वयस्कहरूले आफ्नो छोराछोरीको संसार तिनीहरूको भन्दा धेरै जटिल छ भनेर बुझ्नुपर्छ।आफ्ना छोराछोरीलाई सुरक्षित राख्न चाहने आमाबाबुले तिनीहरूसित नियमित तवरमा कुरा गर्नेछन्, तिनीहरूको कुरा ध्यान दिएर सुन्नेछन् र आधुनिक संस्कृतिका खतराहरूबारे सजग गराउनेछन्। आमाबाबुले दृढता साथ सीमाहरू तोक्छन् र आफ्ना छोराछोरीसित व्यवहार गर्दा एकरूप, व्यावहारिक साथै स्नेही भएको खण्डमा अक्सर नतिजा राम्रो हुन्छ।—मत्ती ५:३७.
जो यहोवाका साक्षी आमाबाबु हुन् तिनीहरूले आफ्ना छोराछोरीसित बाइबल तथा बाइबल आधारित साहित्य र भिडियोहरू a प्रयोग गरेर नियमित तवरमा छलफलहरू गर्ने प्रयास गर्छन्। अनि यस्ता अवसरहरूमा तिनीहरूले आफ्ना छोराछोरीलाई हप्काउँदैनन् बरु, आध्यात्मिक तवरमा प्रोत्साहनदायी विषयहरू छलफल गर्छन्। यस्ता पारिवारिक जमघटहरूमा आफ्ना प्रत्येक छोराछोरीले सामना गरिरहेका समस्या तथा चुनौतीहरू सुन्छन् र यसो गर्दा तिनीहरूले प्रत्येकलाई व्यक्तिगत तवरमा ध्यान दिनसक्छन्।
आमाबाबुबाट आध्यात्मिक डोऱ्याइ नपाउने युवाहरूले भजन २७:१० बाट बल प्राप्त गर्नसक्छन्। त्यहाँ यसो भनिएको छ: “मेरा बाबु र मेरी आमाले मलाई त्यागेका छन्, तर परमप्रभुले मलाई सह्माल्नुहुनेछ।” अनुकम्पापूर्ण पिता यहोवाले कसरी युवा जनहरूलाई मदत गर्नुहुन्छ? यहोवाका साक्षीहरूको मण्डली थुप्रैको निम्ति शरणस्थान साबित भएको छ। त्यहाँ थुप्रैले स्नेह पाएका छन् र तिनीहरूले आफ्नो शंका उपशंकाहरू हटाएका छन्। होसियाज नाउँ गरेका एक जवान मानिसले यो कुरा सत्य भएको थाह पाए। तिनी यस्तो टिप्पणी गर्छन्: “यहोवाको संगठनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। मलाई आफ्नो जीवन बेकारको छ जस्तो लाग्थ्यो। मेरो जीवनमा न कुनै उद्देश्य थियो न त कुनै आशा। तर म एक्लो छैन भनेर थाह पाउँदा मेरो जीवन पूर्णतया परिवर्तन भयो। मैले गुमाएको परिवार मण्डलीमा भाइहरूमाझ पाएँ। मण्डलीका प्राचीन तथा परिवारहरू भावनात्मक अर्थमा लंगरजस्तै हुन्।”
साँच्चै भन्ने हो भने थुप्रै युवा तथा वयस्कहरूले यहोवाका साक्षीहरूको मण्डलीका सभाहरूमा नियमित तवरमा उपस्थित भएर आफ्नो मानसिक र आध्यात्मिक सुस्वास्थ्यमा उन्नति गरेका छन्। नृवंशशास्त्री प्याट्रिसिया फ्रोट्युनिले आफ्नो निबन्ध लोस टेस्टिगोस डे जेहोभा: युना अल्ट्रनेटीभा रेलिजियोसा पारा एन्फ्रेन्टार एल पिन डेल मिलेनियो-मा (यहोवाका साक्षीहरू: सहस्र वर्षको अन्त सामना गर्नका लागि धार्मिक विकल्प) यसको सकारात्मक प्रभावबारे टिप्पणी गर्दै यसो भने: “यहोवाका साक्षीहरूले दिनहुँ जीवनमा लागू गर्न सुस्पष्ट आज्ञा र सिद्धान्तहरू दिन्छन् जसले सोचाइ र कार्यका लागि निर्देशनको रूपमा काम गर्छ।” यहाँ उल्लेख गरिएको “आज्ञा” र “सिद्धान्तहरू” बाइबलमा आधारित छन्। तसर्थ, यहोवाका साक्षीहरूले आफ्ना छरछिमेकका दबाउहरू सामना गर्नुपरे तापनि तिनीहरू एउटा पुरातन पुस्तकको अनुपम बुद्धिबाट बल प्राप्त गर्छन्। हो, यहोवाका साक्षीहरूले बाइबलमा पाइने स्पष्ट सिद्धान्त तथा नियमहरूमा शरण पाउँछन्।
जब “फेरि मृत्यु हुनेछैन”
यहोवाका साक्षीहरूको राज्यभवनहरूमा दिइने शिक्षाहरूले बारम्बार परमेश्वरले प्रतिज्ञा गर्नुभएको चाँडै आउने नयाँ संसारबारे जोड दिन्छ। त्यस नयाँ संसारमा “धार्मिकताले बास गर्छ” र “कसैले तिनीहरूलाई डर देखाउनेछैन।” (२ पत्रुस ३:१३; मीका ४:४) यसबाहेक, अगमवक्ता यशैया भन्छन्, परमेश्वरले “मृत्युलाई सदाको निन्ति निल्नु[हुनेछ], र परमप्रभु परमेश्वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” प्रथम मानिस आदमको पापको कारण मानिसजाति मर्नुपऱ्यो तर परमेश्वरले चाँडै “फेरि मृत्यु हुनेछैन” भनेर प्रतिज्ञा गर्नुभएको छ।—यशैया २५:८; प्रकाश २१:३, ४; रोमी ५:१२.
तपाईं यदि मदत खोजिरहनुभएको जवान व्यक्ति हुनुहुन्छ भने हामी तपाईंलाई बाइबलमा जीवनको उद्देश्य र आशा पत्ता लगाउन आमन्त्रित गर्छौं। यहोवाका साक्षीहरूको मदतद्वारा तपाईंले परमेश्वरले प्रतिज्ञा गर्नुभएको निकट नयाँ संसारको सर्वोत्तम आशाबारे सिक्न सक्नुहुनेछ।
[फुटनोट]
a यंग पिपल आस्क—हाउ क्यान आइ मेक फ्रेन्ड्स? नामक भिडियो वाचटावर एण्ड बाइबल ट्राक्ट सोसाइटीद्वारा निर्मित हो। हाल यो अंग्रेजी भाषामा मात्र उपलब्ध छ। यसले जवानहरूलाई व्यावहारिक मदत प्रदान गर्छ।
[पृष्ठ ९-मा भएको चित्र]
आमाबाबुले आफ्नो छोराछोरीको कुरा सुन्न र तिनीहरूको समस्या बुझ्न समय दिनुपर्छ
[पृष्ठ १०-मा भएको चित्र]
“यहोवाका साक्षीहरूले दिनहुँ जीवनमा लागू गर्न सुस्पष्ट आज्ञा र सिद्धान्तहरू दिन्छन्”