सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“विविधताले भरिएको मुलुकको” नाटकीय इतिहास

“विविधताले भरिएको मुलुकको” नाटकीय इतिहास

“विविधताले भरिएको मुलुकको” नाटकीय इतिहास

ब्राजिलका ब्यूँझनुहोस्‌! संवाददाताद्वारा

यसलाई “विविधताले भरिएको मुलुक” भनिन्छ र यो युक्‍तिसंगत पनि छ। ब्राजिल उष्ण कटिबन्धीय मुलुक भए तापनि यहाँको तापक्रम दक्षिणको उपउष्णकटिबन्धीयदेखि लिएर भूमध्यरेखाको अमेजोन प्रदेशसम्म भिन्‍नाभिन्‍नै छ। ब्राजिलको इतिहास पनि विविध छ। झन्डै ७,४०० तटवर्ती इलाकालगायत ८५,११,९९९ वर्ग किलोमिटर क्षेत्रफल ढाकेको यो विस्तृत मुलुक वर्षौंदेखि थुप्रै सांस्कृतिक पृष्ठभूमिका मानिसहरूको साझा घर भएको छ।

पुर्तुगालीहरूले ५०० वर्षअघि ब्राजिलमा पाइला टेक्दा तिनीहरूले अनुभव गरेका पहिला गुणहरूमध्ये अतिथि सत्कार पनि थियो। वास्तवमा, सन्‌ १५०० मा पुर्तुगाली नरेश, म्यानुएल प्रथमलाई पत्र पठाउँदा पेरो भाज दी कामिन्हाले स्थानीय ब्रालिजवासीहरू आगन्तुक पुर्तुगालीहरूसित सहजै घुलमिल हुन सकेको र तिनीहरूलाई अंगालो हालेको कुरा लेखेका थिए। तर ती पुर्तुगालीहरू ब्राजिलमा के गरिरहेका थिए?

मार्च ९, १५०० मा पेद्रु एल्भरिश काब्राल थुप्रै जहाजहरूसहित पुर्तुगालबाट समुद्री यात्रामा निस्के। तिनको उद्देश्‍य भारतको कालिकटमा व्यापार केन्द्र पत्ता लगाउनु थियो। तथापि, गन्तव्य स्थान पुग्नु अगावै काब्राल हाल ब्राजिलको बहाइ प्रान्तको तटमा पो आइपुगे। त्यो दिन थियो, अप्रिल २३, १५००.

केही अनुसन्धानकर्ताहरूअनुसार पुर्तुगालीहरूलाई ब्राजिलबारे पहिल्यै थाह थियो र काब्राल त्यहाँ पुग्नु कुनै संयोग थिएन। a कुरा जेसुकै होस्‌, ब्राजिलका मानिसहरूसित अरूलाई दिनसक्ने एक मात्र चीज सिम्रिक रंगको ख्यातिप्राप्त ब्राजिलकाठबाहेक अरू केही थिएन जस्तो देखिन्छ। यो रूखले बजार लिनसक्ने भए तापनि स्थानीय मरमसलाहरू निकै मोलका थिए।

अतः, दस वर्षसम्म पुर्तुगालले पुर्तुगालकै फर्नाङडु दी नोरोन्हालाई ब्राजिल ठेक्कामा दिए र तिनले ब्राजिलकाठ जम्मा गरेर पुर्तुगाली सत्तालाई कर तिर्थे। तर अन्य युरोपेली मुलुकहरू पनि यस नयाँ संसारसित व्यापार गर्न चाहन्थे र नोरोन्हा फ्रान्स, अंग्रेज अनि स्पेनी समुद्री यात्रुहरूलाई गैरकानुनी व्यापार गर्नदेखि रोक्न सक्ने अवस्थामा थिएनन्‌। ब्राजिल हातबाट गुम्ने हो कि भन्‍ने डरले गर्दा पुर्तुगालीहरूले १५३२ देखि त्यहाँ उपनिवेश स्थापित गर्न थाले। चिनी उत्पादन ब्राजिलको सबैभन्दा पहिलो मुनाफादायी व्यापार हुन गयो।

अठाह्रौं शताब्दीतिर सुन खानी र हीरा खानीका व्यापारहरू फस्टाउन थाल्यो। उन्‍नाइसौं शताब्दीको सुरुसम्ममा त रबरको रूखबाट ल्याटेक्स उत्पादन गर्नु अमेजोन प्रदेशकै आर्थिक तवरमा महत्त्वपूर्ण काम हुन गयो। b पछि, ब्राजिलमा कफी खेतीले शहरीकरण गर्नुका साथै रेलमार्गहरू निर्माण गर्न अनि सान्टोस र रियो दे जेनेरोका बन्दरगाहहरूलाई आधुनिक बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्‍यो। उन्‍नाइसौं शताब्दीको अन्तसम्ममा विश्‍वभरि उत्पादन गरिने आधाजसो कफी त ब्राजिलमा नै उत्पादन हुन थाल्यो र साऊ पाऊलु ब्राजिलको व्यापारिक केन्द्र हुन पुग्यो।

अफसोसको कुरा, ब्राजिलको इतिहासमा दासत्वको पनि आफ्नै भूमिका छ। सुरुमा त पुर्तुगालीहरूले ब्राजिलकाठ काट्‌न र ओसार्न रैथानेहरूलाई नै प्रयोग गरे। पछि, यी रैथानेहरूलाई उखु खेतीमा लगाइयो। दुःखको कुरा, थुप्रै स्थानीय बासिन्दाहरूलाई युरोपेली रोग लाग्यो र तिनीहरू मरे। यी कामदारहरूको क्षतिपूर्ति गर्न पुर्तुगालले अफ्रिकाबाट दासहरू ल्याए।

वर्षौंसम्म करोडौं अफ्रिकीहरू ब्राजिलमा दास बनाएर ल्याइए र तिनीहरूले आफूसँगसँगै आफ्नो संस्कृति अनि, पैदाइसी सम्पदाहरू पनि बोकेर ल्याए। यसको प्रभाव साम्बाजस्ता लोकप्रिय संगीत र केपोएरा-लगायत (लड्‌ने तरिका) बंगुरको मासु, ससेज र सुकुटीसित पकाइएको कालो सिमीको परिकार फेझ्वाडुजस्ता खानामा देख्न पाइन्छ। अन्ततः, १८८८ मा ब्राजिलमा दासत्वको अन्त गरियो। लगभग ७,५०,००० मानिसहरू स्वतन्त्र गरिए, जसमध्ये अधिकांश व्यक्‍तिहरू कफी र उखु खेतका कामदारहरू थिए।

उन्‍नाइसौं शताब्दीदेखि इटालेली, जर्मन, जापानी, पोलिस तथा साइरो-लेबानीज कुलको अलावा स्पेनी तथा स्वीसहरू गरी लाखौं विदेशीहरू ब्राजिलमा ओइरिए। ब्राजिल बस्नको लागि रमाइलो ठाउँ हो। त्यहाँ वनस्पति तथा जीवजन्तु प्रशस्त मात्रामा पाइन्छन्‌। सामान्यतया, ब्राजिल प्राकृतिक प्रकोपबाट मुक्‍त छ। यहाँ युद्ध हुँदैन, भूकम्प जाँदैन, ज्वालामुखी फट्‌दैन, तुफान चल्दैन वा समुद्री आँधी आउँदैन। त्यसकारण, एक पटक ब्राजिलका चिरपरिचित स्थानहरूमा आफै पुगेर ब्राजिलबारे अझ राम्ररी जानकारी लिए कसो होला? आजभन्दा ५०० वर्षअधि पुर्तुगालीहरूलाई मोहित पार्ने अतिथि सत्कार तथा प्राकृतिक सुन्दरताको आनन्द तपाईंले पनि उठाउन पाउनुहुनेछ।

[फुटनोटहरू]

a पुर्तुगाली र स्पेनीहरूले १४९४ मा टोर्देसिल्याको सन्धिमा हस्ताक्षर गर्दा तिनीहरूले दक्षिण प्रशान्तको पश्‍चिमतिर पर्ने भू-भागलाई दुई भागमा छुट्याएका थिए। त्यसकारण, कसै कसैको भनाइअनुसार काब्रालले पुर्तुगालका लागि छुट्याइसकेको भूमिमाथि अधिकार जमाउन उक्‍त यात्रा गरेका थिए।

b अवेक!, मे २२, १९९७, पृष्ठ १४-१७ हेर्नुहोस्‌।

[पृष्ठ १७-मा भएको नक्सा/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

अमेजोन प्रदेश

बहाइ प्रान्त

ब्रासिलिया

रियो दे जेनेरो

साऊ पाऊलु

सान्टोस

इग्वाकाउ झरना

[चित्र]

१. पेद्रु एल्भरिश काब्रालब

२. टोर्देसिल्याको सन्धि, १४९४

३. कफी वाहकहरू

४. ब्राजिलबाट देखिने इग्वाकाउ झरना

५. इपिशून इण्डियन

[स्रोत]

Culver Pictures

Courtesy of Archivo General de Indias, Sevilla, Spain

From the book Brazil and the Brazilians, 1857

FOTO: MOURA

[पृष्ठ १८-मा भएको चित्र]

१. ब्राजिलमा प्रशस्तै पुमाहरू पाइन्छ

२. अमेजोन जंगलका सुनगाभा

३. साल्भाडोर, बहाइको परम्परागत पोसाक

४. मकाउ

५. रियो दे जेनेरोको कोपकबान तट। ब्राजिलमा ७००० किलोमिटरभन्दा लामो रमाइलो तटवर्ती इलाका छ

[स्रोत]

Courtesy São Paulo Zoo

[पृष्ठ १९-मा भएको चित्र]

ब्रासिलिया—१९६० देखि ब्राजिलको राजधानी

[पृष्ठ १९-मा भएको चित्र]

साऊ पाऊलु—ब्राजिलको व्यापार केन्द्र

[स्रोत]

FOTO: MOURA

[पृष्ठ १६-मा भएको चित्रको स्रोत]

© 1996 Visual Language