पुरातन इस्राएलीहरूले युद्ध लडे तर हामी किन लड्दैनौँ?
दोस्रो विश्वयुद्धको बेला यहोवाका साक्षीहरूको एउटा समूहलाई एक नाजी अफिसरले यसरी धम्काए: “तिमीहरूमध्ये कसैले फ्रान्स र इङ्गल्याण्डविरुद्ध युद्ध लड्न मानेनौ भने एक जना पनि बच्नेछैनौ।” हतियार भिरेका नाजी सिपाहीहरू नजिकै उभिरहेका थिए तैपनि हाम्रा भाइहरूमध्ये कसैले पनि आफ्नो विश्वासमा सम्झौता गरेनन्। कत्ति साहसी! यस उदाहरणबाट यहोवाका साक्षीहरूको यो अडान स्पष्ट हुन्छ: हामी संसारका युद्धहरूमा भाग लिँदैनौँ। मृत्युको मुखैमा परे पनि हामी संसारका विवादहरूमा कसैको पक्ष लिँदैनौँ।
तर ख्रिष्टियन भएको दाबी गर्ने सबै जना यस कुरासित सहमत छैनन्। तिनीहरूको विचारमा ख्रिष्टियनहरूले आफ्नो देशको लागि युद्ध लड्न सक्छन् र लड्नु पनि पर्छ। तिनीहरूले यस्तो तर्क गर्न सक्छन्: ‘पुरातन इस्राएलीहरू परमेश्वरका मानिसहरू थिए र तिनीहरूले युद्धहरू लडे। त्यसोभए अहिले ख्रिष्टियनहरूले युद्ध लड्नु गलत हो त?’ कसैले यस्तो प्रश्न सोधे भने तपाईँ कसरी जवाफ दिनुहुन्छ? यसको लागि तपाईँले तिनलाई पुरातन इस्राएलीहरूको अवस्था र अहिले परमेश्वरका मानिसहरूको अवस्थाबीच ठूलो भिन्नता छ भनेर बुझाउनुपर्ने हुन्छ। आउनुहोस्, पाँच वटा भिन्नता विचार गरौँ।
१. परमेश्वरका मानिसहरू सबै एउटै राष्ट्रका थिए
विगतमा यहोवाले इस्राएल राष्ट्रका मानिसहरूलाई आफ्नो जातिको रूपमा रोज्नुभयो। उहाँले इस्राएलीहरूलाई “सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति हुनेछौ” भन्नुभयो। (प्रस्थ. १९:५) उहाँले तिनीहरूलाई बस्नको लागि एउटा निश्चित इलाका पनि तोकिदिनुभएको थियो। त्यसैले इस्राएलीहरूले परमेश्वरको आज्ञाअनुसारै अरू राष्ट्रसित युद्ध लड्दा तिनीहरूले सङ्गी उपासकहरूसित लडिरहेका थिएनन् वा तिनीहरूलाई मारिरहेका थिएनन्। *
आज साँचो उपासकहरू “हरेक राष्ट्र, कुल, जाति अनि भाषाका” छन्। (प्रका. ७:९) परमेश्वरका मानिसहरूले युद्धमा भाग लिए भने तिनीहरूले आफ्नै भाइबहिनीविरुद्ध हतियार उठाइरहेका हुन्छन् र तिनीहरूको हत्यासमेत गरिरहेका हुन्छन्।
२. यहोवाले नै इस्राएलीहरूलाई युद्ध लड्न आदेश दिनुभयो
विगतमा इस्राएलीहरूले कहिले र किन युद्ध लड्नुपर्छ भनेर यहोवाले नै निर्णय गर्नुहुन्थ्यो। उदाहरणको लागि, उहाँले कनानीहरूलाई सजाय दिन इस्राएलीहरूलाई तिनीहरूविरुद्ध लड्न भन्नुभयो किनकि तिनीहरू भूतप्रेतको उपासना गर्थे, घोर यौन अनैतिकतामा भाग लिन्थे र आफ्ना देवताहरूलाई बच्चाहरूको बलिसमेत चढाउँथे। प्रतिज्ञा गरिएको देशबाट यस्ता दुष्ट मानिसहरूलाई हटाउन यहोवाले इस्राएलीहरूलाई आदेश दिनुभयो। (लेवी १८:२४, २५) इस्राएलीहरू त्यस देशमा बसोबास गरिसकेपछि पनि परमेश्वरले उनीहरूलाई दमन गर्ने शत्रुहरूविरुद्ध लड्न आज्ञा दिनुभयो। (२ समु. ५:१७-२५) तर यहोवाले इस्राएलीहरूलाई कहिल्यै आफूखुसी युद्ध गर्न दिनुभएन। उहाँको अनुमतिविना युद्धमा जाँदा उनीहरूले अक्सर ठूलो क्षति भोग्नुपरेको थियो।—गन्ती १४:४१-४५; २ इति. ३५:२०-२४.
आज यहोवाले मानिसहरूलाई युद्ध लड्ने अनुमति दिनुभएको छैन। राष्ट्रहरू परमेश्वरको इच्छा पूरा गर्न नभई आफ्नो स्वार्थको लागि युद्ध लड्छन्। तिनीहरू आफ्नो देशको सिमाना बढाउन अनि आर्थिक वा राजनैतिक स्वार्थ पूरा गर्न युद्ध लड्छन्। तर कसै-कसैले आफ्नो धर्मको रक्षा गर्न वा परमेश्वरका शत्रुहरूलाई मार्न युद्ध लडेको दाबी गर्छन्। तिनीहरूबारे के भन्न सकिन्छ? यहोवाले भविष्यमा हुने आरमागेडोनको युद्धमा साँचो उपासकहरूको रक्षा गर्नुहुनेछ र शत्रुहरूलाई नाश गर्नुहुनेछ। (प्रका. १६:१४, १६) त्यस युद्धमा उहाँका मानव उपासकहरूले नभई स्वर्गीय दलले उहाँको तर्फबाट युद्ध लड्नेछन्।—प्रका. १९:११-१५.
३. इस्राएलीहरूले यहोवामा विश्वास गर्नेहरूलाई मारेनन्
विगतमा इस्राएलीहरूले अक्सर यहोवामा विश्वास गर्नेहरूलाई कृपा देखाए र परमेश्वरले मृत्युदण्ड दिन लायकको ठहराउनुभएकाहरूलाई मात्र मारे। दुइटा उदाहरण विचार गरौँ। यहोवाले यरिहो सहर नाश यहो. २:९-१६; ६:१६, १७) त्यसैगरि गिबोनीहरूले परमेश्वरको डर मानेकोले गिबोन सहरलाई नाश गरिएन।—यहो. ९:३-९, १७-१९.
गर्ने आदेश दिनुभए तापनि राहाबले विश्वास देखाएकीले इस्राएलीहरूले तिनी र तिनको परिवारलाई मारेनन्। (आज एकअर्कासित युद्ध लडिरहेका राष्ट्रहरूले परमेश्वरमा विश्वास गर्नेहरूलाई समेत दयामाया देखाउँदैनन्। यस्ता युद्धहरूमा निर्दोष नागरिकहरूले पनि ज्यान गुमाउँछन्।
४. इस्राएलीहरूले युद्धसम्बन्धी परमेश्वरको नियम पालन गर्नुपर्थ्यो
विगतमा इस्राएली सिपाहीहरूले परमेश्वरको निर्देशनअनुसार युद्ध लड्नुपर्थ्यो। उदाहरणको लागि, परमेश्वरले कहिलेकाहीँ इस्राएलीहरूलाई शत्रुहरूसित “शान्ति-सम्झौताको प्रस्ताव” राख्न भन्नुभयो। (व्यव. २०:१०) साथै इस्राएली सिपाहीहरूले आफूलाई शारीरिक र नैतिक तवरमा स्वच्छ राख्नुपर्थ्यो अनि छाउनीलाई पनि सफा राख्नुपर्थ्यो। (व्यव. २३:९-१४) छिमेकी राष्ट्रहरूका सिपाहीहरूले आफूले कब्जा जमाएको इलाकाका स्त्रीहरूलाई बलात्कार गर्ने गर्थे। तर यहोवाले इस्राएली सिपाहीहरूलाई त्यसो गर्न निषेध गर्नुभएको थियो। तिनीहरूले सहर कब्जा गरेको एक महिना नबितेसम्म आफूले बन्दी बनाएका स्त्रीहरूसित विवाह गर्न पाउँदैनथे।—व्यव. २१:१०-१३.
आज धेरैजसो राष्ट्रले युद्धसम्बन्धी अन्तरराष्ट्रिय सम्झौताहरूमा हस्ताक्षर गरेका छन्। यस्ता सम्झौताहरूको उद्देश्य नागरिकको रक्षा गर्नु हो। तर धेरैजसो युद्धमा यस्ता सम्झौताहरूमा उल्लेख गरिएका नियमहरू उल्लङ्घन गरिएको देखिन्छ।
५. यहोवाले आफूले रोजेको राष्ट्रको लागि लड्नुभयो
विगतमा यहोवाले इस्राएलीहरूको लागि लड्नुभयो। तिनीहरूलाई विजयी तुल्याउन उहाँले अक्सर चमत्कारहरू गर्नुभयो। जस्तै, यहोवाले इस्राएलीहरूलाई यरिहो सहरमाथि विजयी हुन कसरी मदत गर्नुभयो? उहाँको निर्देशन पालन गर्दै इस्राएलीहरू “ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो” र तिनीहरूले सजिलै सहर कब्जा गर्न सके। (यहो. ६:२०) अनि एमोरीहरूमाथि इस्राएलीहरूले कसरी विजय हासिल गरे? “यहोवा परमेश्वरले . . . ठूलठूला असिना बर्साएर तिनीहरूलाई मार्नुभयो। वास्तवमा इस्राएलीहरूको तरबारले भन्दा असिनाले मर्नेहरूको सङ्ख्या धेरै थियो।”—यहो. १०:६-११.
आज यहोवा कुनै पनि राष्ट्रको लागि युद्ध लड्नुहुन्न। उहाँको राज्य “यस संसारको होइन।” (युह. १८:३६) बरु अहिले सबै मानव सरकार सैतानको अधीनमा छ। संसारमा भइरहेका भयावह युद्धहरूमा सैतानकै दुष्ट मनोभाव देखिन्छ।—लुका ४:५, ६; १ युह. ५:१९.
साँचो ख्रिष्टियनहरू शान्ति कायम गर्छन्
हाम्रो अवस्था र पुरातन इस्राएलको अवस्थाबीच ठूलो भिन्नता छ भनेर हामीले थाह पायौँ। तर यस्ता भिन्नताहरूले गर्दा मात्र हामीले युद्धमा भाग नलिएको त होइन। अरू पनि कारण छन्। उदाहरणको लागि, परमेश्वरले अन्तको दिनमा उहाँबाट शिक्षा पाएकाहरूले “युद्ध गर्न सिक्नेछैनन्” भनेर भविष्यवाणी गर्नुभयो; त्यसैले युद्धमा भाग लिने त कुरै भएन। (यसै. २:२-४) यसबाहेक ख्रिष्टले आफ्ना चेलाहरूलाई “तिमीहरू यस संसारका होइनौ” भन्नुभयो; त्यसैले हामी संसारका विवादहरूमा कसैको पक्ष लिँदैनौँ।—युह. १५:१९.
ख्रिष्टले आफ्ना अनुयायीहरूलाई थप निर्देशन पनि दिनुभयो। उहाँले तिनीहरूलाई द्वेष र रिसरागजस्ता युद्ध निम्त्याउने मनोभाव त्याग्न सल्लाह दिनुभयो। (मत्ति ५:२१, २२) साथै उहाँले तिनीहरूलाई “शान्ति कायम” गर्न र शत्रुहरूलाई समेत प्रेम गर्न भन्नुभयो।—मत्ति ५:९, ४४.
हामी प्रत्येकले कसरी येसुका यी नियमहरू पालन गर्न सक्छौँ? हामी युद्धमा त भाग लिन चाहँदैनौँ तर हाम्रो मनमा कसैप्रति वैरभाव छ भने मण्डलीमा मतभेद वा फूट उत्पन्न हुन सक्छ। त्यसैले आफ्नो मनबाट यस्ता भावनाहरू हटाउन प्रयास गरिरहौँ।—याकु. ४:१, ११.
हामी राष्ट्रहरूबीचको कलहमा मुछिनुको सट्टा हामीमाझ भएको शान्ति र प्रेमलाई बढाउने कोसिस गर्छौँ। (युह. १३:३४, ३५) अब चाँडै यहोवाले पृथ्वीबाट युद्ध नामेट पार्नुहुनेछ। त्यतिन्जेल तटस्थ रहने सङ्कल्प गरौँ।—भज. ४६:९.
^ कहिलेकाहीँ इस्राएलका कुलहरू एकअर्काविरुद्ध लडे तर यहोवा त्यस्ता युद्धहरूदेखि खुसी हुनुहुन्नथ्यो। (१ राजा १२:२४) कुनै-कुनै अवस्थामा भने उहाँले यस्ता युद्धहरूलाई अनुमोदन दिनुभयो किनकि केही कुल उहाँविरुद्ध उठेका थिए वा तिनीहरूले कुनै घोर पाप गरेका थिए।—न्याय. २०:३-३५; २ इति. १३:३-१८; २५:१४-२२; २८:१-८.