युवाहरू सोध्छन्
खेलकुदबारे मैले के थाह पाउनुपर्छ?
खेलकुदले तपाईंको फाइदा गर्छ या बेफाइदा? यो कुरा तपाईं के खेल्नुहुन्छ, कसरी खेल्नुहुन्छ अनि कति खेल्नुहुन्छ भन्ने कुरामा निर्भर हुन्छ।
यसका फाइदाहरू के-के हुन्?
खेलकुदले स्वास्थ्य राम्रो बनाउँछ। बाइबल यसो भन्छ, ‘शारीरिक तालिमबाट केही फाइदा हुन्छ।’ (१ तिमोथी ४:८) रायन नाम गरेका जवान भाइ यसो भन्छन्, “तन्दुरुस्त रहने एउटा राम्रो तरिका खेलकुद खेल्नु हो। स्वस्थ रहन घरमा बसेर भिडियो गेम खेल्नुभन्दा खेलकुद खेल्नु राम्रो हो।”
खेलकुदले मिलिजुली काम गर्न अनि अनुशासित हुन सिकाउँछ। आत्मसंयमी हुने विषयमा बाइबलले खेलकुदको यस्तो उदाहरण चलाएको छ, ‘सबै धावकहरू दौडन्छन् तर पुरस्कार भने एक जनाले मात्र पाउँछ। प्रतियोगितामा भाग लिने हरेक मानिसले सबै कुरामा आत्मसंयम गर्छ।’ (१ कोरिन्थी ९:२४, २५) यहाँ भन्न खोजिएको कुरा के हो? खेलको नियमअनुसार खेल्न आत्मसंयमी हुनुपर्छ अनि मिलेर खेल्नुपर्छ। अबगेल नाम गरेकी किशोरी भन्छिन्, “खेलकुदले मलाई मिलेर काम गर्न अनि राम्ररी कुराकानी गर्न सिकाएको छ।”
खेलकुदले साथीहरूसितको सम्बन्ध बलियो बनाउँछ। खेल खेल्दा एकअर्कासित नजिक हुन्छौं। जोर्डन नाम गरेका जवान भाइ यसो भन्छन्, “प्रायजसो हरेक गेममा प्रतिस्पर्धा हुन्छ। तर प्रतिस्पर्धाभन्दा पनि रमाइलोको लागि खेल्यौं भने साथीहरूसितको सम्बन्ध बलियो हुन्छ।”
यसमा कस्ता खतराहरू छन्?
तपाईं कस्तो खेल खेल्नुहुन्छ? बाइबल यसो भन्छ, “परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ।”—भजन ११:५, NRV.
कुनै-कुनै खेलहरू हिंसात्मक हुन्छन्। उदाहरणको लागि, लरेन नाम गरेकी जवान बहिनी भन्छिन्, “बक्सिङ भनेकै एउटाले अर्कोलाई हान्ने गेम हो। हामी ख्रीष्टियन भएकोले झगडा गर्दैनौं। त्यसैले आफ्नो रमाइलोको लागि अरूको मारपिट पनि हेर्दैनौं।”
यसबारे सोच्नुहोस्: ‘हिंसात्मक खेल हेर्दैमा वा खेल्दैमा मेरो व्यवहार पनि त्यस्तै हुन्छ भन्ने छैन नि’ भन्ने तर्क गर्नुहुन्छ कि? त्यसो हो भने भजन ११:५ मा भनिएको कुरा सम्झनुहोस्। त्यहाँ बताइएअनुसार यहोवा हिंस्रक काम गर्नेहरूलाई मात्र होइन, “हिंसा रुचाउनेहरूलाई” पनि घृणा गर्नुहुन्छ।”
तपाईं कसरी खेल्नुहुन्छ? बाइबल यसो भन्छ, “वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलिप्पी २:३.
विपक्षी टिम भएको जुनसुकै खेलमा केही हदसम्म प्रतिस्पर्धा त हुन्छ नै। तर हर हालमा जित्नै पर्छ भन्ने मनोभावले खेलको मजा नै हराउँछ। ब्रायन नाम गरेका किशोर यसो भन्छन्, “हामीमा प्रतिस्पर्धी भाव सजिलै आउन सक्छ। त्यसैले खेलकुदमा जति राम्रो हुँदै गयो, त्यति नै नम्र हुन पनि सिक्नुपर्छ।”
यसबारे सोच्नुहोस्: क्रिस नाम गरेका जवान भाइ भन्छन्, “हामी हरेक हप्ता फुटबल खेल्छौं। चोटपटक त लागिरहन्छ।” त्यसैले आफैलाई सोध्नुहोस्, ‘कस्तो अवस्थामा चोटपटक लाग्न सक्ने सम्भावना धेरै हुन्छ? चोटपटक लाग्नदेखि बच्न के गर्न सक्छु?’
तपाईं कति खेल्नुहुन्छ? बाइबल यसो भन्छ, ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्, पक्का गर।’—फिलिप्पी १:१०.
कुन कुरालाई पहिलो स्थान दिने, पक्का गर्नुहोस्। परमेश्वरलाई मन पर्ने कुरालाई पहिलो स्थान दिनुपर्छ। प्रायजसो खेल हेर्न या खेल्न घण्टौं लाग्छ। डर्य नाम गरेकी एक जवान बहिनी भन्छिन्, “टिभीमा गेम हेरेर समय खेर फाल्नुको सट्टा केही राम्रो काममा समय दिए हुन्थ्यो भनेर ममी भनिरहनुहुन्थ्यो। यो विषयमा उहाँसँग विवाद भइरहन्थ्यो।”
यसबारे सोच्नुहोस्: कुन कुरालाई पहिलो स्थान दिनुपर्छ भनेर आमाबुबाले सल्लाह दिंदा के तपाईं त्यो सल्लाह सुन्नुहुन्छ? ट्रिन नाम गरेकी एक बहिनी यसो भन्छिन्, “जरुरी काम छाडेर म भाइबहिनीसित टिभीमा खेलकुद हेर्थें। ‘हामीले गेम हेरे पनि नहेरे पनि खेलाडीहरूले पैसा पाइहाल्छ। तर तिमीहरूले पैसा पाउँछौ?’ भनेर ममीले हामीलाई सोध्नुहुन्थ्यो। उहाँले भन्न खोज्नुभएको कुरा के थियो भने खेलाडीहरूको त खेल नै जागिर हो तर हामीले स्कुलको होमवोर्क गरेनौं अनि अरू महत्त्वपूर्ण कामहरू गरेनौं भने भविष्यमा राम्रो काम पाउन सक्दैनौं। खेल हेर्नु वा खेल्नुलाई जीवनमा पहिलो स्थान दिनु हुँदैन भनेर ममीले भन्न खोज्दै हुनुहुन्थ्यो।”