सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?

के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?

अध्याय ३

के गरें भने आमाबाबुले मलाई बढी स्वतन्त्रता दिनुहुन्छ होला?

तपाईंलाई आफू ठूलो भइसकें जस्तो लाग्ला। शनिबार राति घर ढीला फर्के पनि हुन्छ भन्ठान्‍नु होला तर उहाँहरू भन्‍नुहुन्छ, अहँ, चाँडै घर फर्कनुपर्छ। सबैको मुखैमा झुन्डिएको चलचित्र म पनि हेर्न चाहन्छु भनी तपाईं जिद्दी गर्नुहुन्छ। उहाँहरू भन्‍नुहुन्छ, हेर्नु पर्दैन। तपाईं भन्‍नुहुन्छ, दुइ चार जना नयाँ साथीहरू बनाएको छु, चालचलन राम्रै छ। त्यसैले तिनीहरूसित घुमघाम गर्न जान चाहनुहुन्छ। तर आमाबाबुको भने आफ्नै कुरा छ, हुन्छ वा हुँदैन भन्‍नुअघि ती साथीहरूलाई एकचोटि उहाँहरूले नै भेट्‌नुपर्छ।

किशोरकिशोरी हुनुहुन्छ भने आमाबाबुले तपाईंको जीवन नै निस्सासी दिनुभएको जस्तो लाग्ला। “म गर्न चाहन्छु” भन्‍ने हरेक जवाफको पछाडि “होइन, त्यसो गर्न पाउँदैनौ” भन्‍ने जवाफ आइहाल्छ जस्तो लाग्ला। नता “प्रश्‍नमाथि प्रश्‍न गर्नुहुने” आमाबाबुको नजरबाट तपाईंको जीवनको कुनै भाग नै लुक्नसक्छ। पन्ध्र वर्षीया डेबी भन्छिन्‌: “बुबाले म कहाँ जान लागेको, कति बेला घर फर्कने सबै कुरा कोट्याउनुहुन्छ। धेरैजसो आमाबाबुले त्यसै गर्छन्‌। के उहाँहरूले सबै कुरा थाह पाउनैपर्छ र? उहाँहरूले मलाई अलि बढी स्वतन्त्रता दिनुपर्ने हो नि।”

जवानहरूको अर्को एउटा गुनासो पनि छ, आमाबाबुले तिनीहरूको आदर गर्दैनन्‌। तिनीहरूको कुरा पत्याउनुको साटो कुरै नबुझी दोष दिन्छन्‌। के गर्ने के नगर्ने भनी निर्णय गर्न दिनुको साटो नियमै नियमले घेरिदिन्छन्‌।

“मानसिक तनाउ”

के आमाबाबुले कहिलेकाहीं तपाईंलाई काखे बच्चाजस्तो व्यवहार गर्नुहुन्छ? त्यसो हो भने नबिर्सनुहोस्‌, तपाईं हुर्कनुभएको धेरै पनि त भएको छैन।तपाईं सानो बच्चा छँदा च्याँच्याँ रुनुभएको कुरा आमाबाबुले अझै बिर्सनुभएको छैन। तपाईं बच्चै छँदा गर्नुभएका गल्तीहरू उहाँहरूले अझै बिर्सनुभएको छैन र तपाईंले त्यस्तो सुरक्षा चाहोस्‌ या नचाहोस्‌, तपाईंलाई जोगाउन चाहनुहुन्छ।

तपाईंलाई जोगाउने त्यो इच्छा असाध्यै प्रबल हुन्छ। तपाईंको निम्ति आवास, लत्ताकपडा वा भोजनको प्रबन्ध गर्न त्यति दौडधूप गर्नु नहोला, तैपनि तपाईंलाई सिकाउने, प्रशिक्षण दिने र सुरक्षा दिने सन्दर्भमा उहाँहरू प्रायजसो चिन्तित हुनुहुन्छ। तपाईंको कामकुरामा गहिरो चासो लिनुहुन्छ। तपाईंलाई जसरी हुर्काउनुहुन्छ, त्यसको लागि उहाँहरू परमेश्‍वरसामु जिम्मेवार हुनुहुन्छ। (एफिसी ६:४) अनि तपाईंको सुख र सुस्वास्थ्यलाई कुनै कुराले खतरामा पार्ला जस्तो देख्यो कि उहाँहरू चिन्तित हुनुहुन्छ।

येशू ख्रीष्टका आमाबाबुलाई नै विचार गर्नुहोस्‌। यरूशलेमबाट फर्कंदा येशू त्यहीं छुट्टिएको तिनीहरूलाई पत्तै भएन। आफूसँगै नभएको कुरा थाह पाएपछि तिनीहरू आत्तिंदै येशूलाई खोज्न थाले! अनि बल्लतल्ल “मन्दिरमा” भेट्टाएपछि येशूको आमाले यसो भनिन्‌, “बाबु, तिमीले हामीलाई किन यसो गरेको? हेर, तिम्रा बाबु र म व्याकुल भएर तिमीलाई खोजिरहेका थियौं।” (लूका २:४१-४८) सिद्ध बालक, येशूले त आफ्ना आमाबाबुलाई व्याकुल पार्नुभयो भने तपाईंले आमाबाबुलाई कत्तिको चिन्तित पार्नुहुन्छ, कल्पना गर्नुहोस्‌!

उदाहरणका लागि, घर फर्कने समयबारे सधैंको कचकचलाई विचार गर्नुहोस्‌। यस्तो कडिकडाउ त गर्नु नपर्ने हो जस्तो तपाईंलाई लाग्ला। तर के तपाईंले कहिल्यै आफ्ना आमाबाबुको दृष्टिकोण पनि बुझ्ने प्रयास गर्नुभएको छ? आमाबाबुबारे केटाकेटीको पुस्तक (अंग्रेजी) नामक पुस्तकका लेखकहरूले त्यसो गर्ने प्रयास गरे। तर एउटा कुरा नबिर्सनुहोस्‌, उक्‍त पुस्तकका सबै लेखकहरू स्कूलमा अध्ययनरत विद्यार्थीहरू थिए। “भनेको समयमा बच्चाहरू आइपुगेनन्‌ भने आमाबाबुको दिमागमा के के कुरा घुमिरहन्छन्‌ होला” भनेर तिनीहरूले एउटा लामो सूची तयार पारे। यस सूचीमा ‘लागू पदार्थ सेवन गरिरहेको, दुर्घटनामा परेको, पार्कहरूमा बिनसित्ति डुलिरहेको, पक्राउमा परेको, अश्‍लील चलचित्र हेर्न गएको, लागू पदार्थ बेचबिखन गरिरहेको, बलात्कृत भएको वा पैसा थुतिएको, थुनामा परेको र परिवारको नाउँ बदनाम गरेको’ भन्‍ने चिन्ताहरू थिए।

सबै आमाबाबुहरू त्यस्तो निष्कर्षमा पुगिहाल्दैनन्‌ किनभने प्रायजसो त्यसो हुँदैन। तर के यो कुरा साँचो होइन र, थुप्रै जवानहरू त्यस्तै कामहरूमा साँच्चै फसिरहेका हुन्छन्‌। त्यसकारण ढीला घर नफर्कनू र कुसंगतमा नलाग्नू भन्‍ने सल्लाह दिनुहुँदा झर्किनु ठीक होला त? भनौं भने, येशूका आमाबाबुले समेत उहाँ कहाँ हुनुहुन्थ्यो भनी जान्‍न चाहे!

उहाँहरू किन अचाक्ली गर्नुहुन्छ

केही युवाहरूको सोचाइमा छोरीछोरीले दुःखकष्ट भोग्नुपर्ला भन्‍ने डरले आमाबाबुलाई असाध्यै सताउँछ! तर नबिर्सनुहोस्‌, तपाईंको लागि उहाँहरूले निकै समय खर्च गर्नुभएको छ र तपाईंको असाध्यै ख्याल राख्नुहुन्छ। ठूलो हुनुभएपछि अलग्गै बस्ला भनेर उहाँहरूलाई असाध्यै पीर परिरहेको हुनसक्छ। एक अभिभावकले यसो भने: “मेरो एक्लो छोरो अहिले उन्‍नाइस वर्ष पुग्यो। तिनी अब दुइ चार दिन मात्र मसित हुनेछ र पछि त अलग्गै बस्नेछ भनी सम्झँदा आङ सिरिङ्‌ङ हुन्छ।”

यसकारण केही आमाबाबुले अचाक्ली गर्छन्‌ र छोराछोरीको सुरक्षाको लागि के मात्र गर्दैनन्‌। तर आमाबाबुले त्यसो गऱ्‍यो भन्दैमा तपाईंले पनि उहाँहरूका भावनाहरू नबुझी झर्कनु ठीक हुनेछैन। एक युवतीले यसो भनिन्‌: “म १८ वर्ष नपुगुञ्जेल आमासित असाध्यै घनिष्ठ थिएँ। . . . तर हुर्कंदै जाँदा हाम्रो ठाकठुक पर्न थाल्यो। म अलि बढी स्वतन्त्रता चाहन्थें तर उहाँलाई भने त्यस्तो स्वतन्त्रताले हाम्रो सम्बन्ध कमजोर बनाउनेछ जस्तो लागेको हुनुपर्छ। त्यसपछि उहाँले झन्‌ झन्‌ कडिकडाउ गर्न थाल्नुभयो र मैले पनि जबरजस्ती गर्न थालें।”

केही हदसम्म स्वतन्त्रता ठीकै हो तर पारिवारिक सम्बन्धलाई टुटाएर त्यस्तो स्वतन्त्रता नखोज्नुहोस्‌। पारस्परिक समझदारी, एकअर्कालाई सहने र आदरजस्ता गुनहरूको आधारमा तपाईं आमाबाबुसितको सम्बन्धलाई कसरी मजबुत पार्न सक्नुहुन्छ? एउटा कुरा नबिर्सनुहोस्‌, अरूको आदर कमाउन आफूले पनि आदर गर्नुपर्छ। प्रेरित पावलले एक चोटि यसो भने: “फेरि, हामीलाई अनुशासन गर्ने हाम्रा शारीरिक बाबु थिए, र हामीले तिनको आदर गऱ्‍यौं।” (हिब्रू १२:९) यी प्रारम्भिक मसीहीहरूका आमाबाबुहरूले पनि गल्तीहरू गर्थे। पावलले अझ यसो भने (पद १०): “तिनीहरूले ता साँच्चिनै आफैले असल ठानेबमोजिम . . . अनुशासन गरे।”

कहिलेकाहीं यी मानिसहरूले गलत निर्णयहरू गरे। तैपनि आफ्ना छोराछोरीको आदरका योग्य थिए। तपाईंका आमाबाबु पनि तपाईंको आदरको योग्य हुनुहुन्छ। उहाँहरूले अचाक्ली गर्नुभयो भन्दैमा उहाँहरूको विद्रोह गर्न मिल्दैन। तपाईं जस्तो आदर चाहनुहुन्छ, उहाँहरूको पनि त्यस्तै आदर गर्नुहोस्‌।

एकअर्काको कुरा राम्ररी बुझ्न नसक्नु

नचाहँदा नचाहँदै पनि के तपाईं कहिल्यै घर ढीला पुग्नुभएको छ? के तपाईंका आमाबाबुले सानो कुरालाई पनि ठूलो बनाउनुभयो? यसरी एकअर्काको कुरा राम्ररी नबुझेको परिस्थितिमा तपाईंले आदर जित्ने मौका पाउन सक्नुहुन्छ। व्याकुल भएका आमाबाबुले येशूलाई मन्दिरमा केही शिक्षकहरूसित छलफल गरिरहेको देखेपछि उहाँले के गर्नुभयो, सम्झनुहोस्‌ त। तर येशूलाई आफ्नो कारणले आमाबाबु व्याकुल हुनुभएको रहेछ भनेर पत्तो नै भएन। के येशूले आफ्नो मनसायमा शंका गरेको ठानेर जथाभावी बोल्ने, रोईकराई आमाबाबुसित भनाभन गर्नुभयो? उहाँले शान्तसित कस्तो जवाफ दिनुभयो, ध्यान दिनुहोस्‌: “तपाईंहरूले मलाई किन खोजिरहनुभयो? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाह थिएन?” (लूका २:४९) निस्सन्देह, येशूले यहाँ देखाउनुभएको परिपक्वताबाट उहाँका आमाबाबु प्रभावित भए। “मीठो जवाफले क्रोधलाई शान्त” पार्ने मात्र होइन तर तपाईंका आमाबाबुको आदर जित्न पनि मदत गर्नसक्छ।—हितोपदेश १५:१.

नियमहरू

तपाईं आमाबाबुले भन्‍नुहुने कुरा मान्‍नुहुन्छ या हुन्‍न, त्यसले पनि तपाईंप्रतिको व्यवहारमा ठूलो फरक पार्नेछ। केही युवाहरू ठुस्स पर्छन्‌, झूट बोल्छन्‌ वा कुनै धक नमानी आज्ञा उल्लंघन गर्छन्‌। पाको हुन खोज्नुहोस्‌। राति अबेरसम्म बाहिर बस्ने अनुमति चाहनुहुन्छ भने, बच्चाले जस्तो गनगन नगर्नुहोस्‌ वा “अरू सबै त घर ढीला फर्कन्छन्‌” भनेर कचकच नगर्नुहोस्‌।” लेखिका आन्ड्रिया एगन यस्तो सल्लाह दिन्छिन्‌: “तपाईं के गर्न चाहनुहुन्छ, त्यसबारे सकेसम्म कुरा नलुकाई सबै बताउनुहोस्‌। यसो गर्नुभयो भने उहाँहरूलाई सविवरण थाह हुनेछ। . . . तपाईं कहाँ, कोसित हुनुहुनेछ र राति ढीला फर्कनुपर्ने कारण बताउनुभयो भने . . . शायद उहाँहरूले बिना कुनै हिचकिचाहट अनुमति पनि दिनु होला।”

अथवा आमाबाबुले तपाईंका साथीहरूबारे के कसो सबै कुरा जान्‍न चाहन्छन्‌ भने बच्चाले जस्तो नाइँनास्ती गर्न नखोज्नुहोस्‌। ती सबै कुरा उहाँहरूले जान्‍न पनि खोज्नुपर्छ। सेभेन्टीन पत्रिका यस्तो सुझाउ दिन्छ: “समय समयमा आफ्ना साथीहरूलाई घरमा बोलाउनुहोस्‌। यसो गर्दा तपाईं कुनै साथीसित चलचित्र हेर्न जाँदैछु भन्‍नुहुँदा तपाईंको बुबा अर्को कोठाबाट यसो भन्दै चिच्याउनु हुनेछैन, ‘के रे? कोसित जाने भन्यौ?’ ”

“अरू दिइनेछ”

आफ्नो कान्छो भाइ रनबारे कुरा गर्दा जिम फिस्स हाँस्छन्‌। तिनी भन्छन्‌, “मभन्दा भाइ ११ महिनाले मात्र कान्छो हो। तर आमाबाबुले हामी दुइ जनालाई बेग्लाबेग्लै ढंगमा व्यवहार गर्नुहुन्छ। उहाँहरूले मलाई निकै स्वतन्त्रता दिनुभयो। मैले हाम्रो गाडी पनि चलाउन पाएँ। एक चोटि उहाँहरूले मलाई सबैभन्दा कान्छो भाइ लिएर न्यु योर्क शहर जाने अनुमतिसमेत दिनुभयो।

जिम अझै भन्छन्‌, “तर रनलाई भने त्यसो भएन। उसलाई त्यति धेरै स्वतन्त्रता दिइएन। रनको उमेर पुगिसकेपछि पनि बुबाले उसलाई गाडी चलाउन सिकाउने वास्तै गर्नुभएन। अनि केटी साथीहरूसित घुम्ने उमेरको भइसकें भन्दा समेत आमाबाबुले उसलाई अनुमति दिनुभएन।”

के त्यो पक्षपात गरिएको हो? होइन। जिम यसरी बताउँछन्‌: “रनलाई जिम्मेवारी वहन गर्न वास्तै थिएन। आफू अघि सरेर कुनै कुरा गर्दैन थियो। जुन काम अह्राए पनि प्रायजसो गर्दैन थियो। म आमाबाबुको विरुद्धमा कहिल्यै पनि चुइँक्क बोल्दिन थिएँ तर रनलाई कुनै कुरा चित्त बुझेन भने तुरुन्तै देखाइहाल्थ्यो। यसो गर्दा आखिरमा उसैले गाली खानुपर्थ्यो।” येशूले मत्ती २५:२९ मा यसो भन्‍नुभयो: “किनभने जससँग छ त्यसलाई अरू दिइनेछ, र त्यससँग प्रशस्त हुनेछ। तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।”

के तपाईं अझ बढी स्वतन्त्रता र जिम्मेवारी चाहनुहुन्छ? कुरा मात्र होइन काम पनि गरेर देखाउनुहोस्‌। आमाबाबुले अह्राउनुहुने हरेक कामलाई गम्भीरतापूर्वक लिनुहोस्‌। येशूले बताउनुभएको उखानको केटोजस्तो नहुनुहोस्‌। बुबाले “ए छोरा, गएर आज दाखबारीमा काम गरिदे” भनी अह्राउँदा “म जान्छु” त भन्यो “तर गएन।” (मत्ती २१:२८, २९) जस्तोसुकै काम अह्राउँदा पनि तपाईंले त्यो काम पूरा गरेरै छाड्‌नुहुनेछ भनी आमाबाबु ढुक्क हुन सकोस्‌।

जिम सम्झन्छन्‌, “जिम्मेवारी सँभाल्नसक्छु भनी मैले आमाबाबुलाई देखाएँ। उहाँहरूले मलाई बैंक, विभिन्‍न रसिदहरू तिर्न, बजारमा किनमेल गर्न पठाउनुहुन्थ्यो। अनि आमाले जागिर खानुपर्दा परिवारको लागि भोजनसमेत तयार गर्थें।”

आफू अग्रसर हुने

आमाबाबुले तपाईंलाई त्यस्तो कुनै काम अह्राउनुभएको छैन भने नि? अन्य प्रकारका कामहरू गर्न अग्रसर हुनुहोस्‌। सेभेन्टीन पत्रिकाले यस्तो सुझाउ दियो: “परिवारको निम्ति खाना पकाउने र त्यससित सम्बन्धित भएभरको सबै काम आफै गर्नेछु भनी आमाबाबुलाई बताउनुहोस्‌, जस्तो कि, के खाने भनी निधो गर्ने, किनमेल गर्न सूची तयार गर्ने, पैसा छुट्याउने, बजार जाने, खाना पकाउने र पछि भाँडाकुँडा माझेर सफा गर्ने इत्यादि।” अनि खाना पकाउन त्यत्तिको निपुण हुनुहुन्‍न भने अरू केही गर्न सकिन्छ कि, विचार गर्नुहोस्‌। जूठो भाँडाहरू माझ्न, भुइँ बढार्न वा कोठा सफा गर्न आमाबाबुले गर नभनेसम्म पर्खेर बस्नुपर्दैन।

धेरैजसो युवाहरू गर्मीको बिदा वा स्कूल जानु नपर्ने दिनमा आंशिक जागिर खान्छन्‌। तपाईंले पनि त्यस्तो जागिर खानुभएको छ भने पैसा बचाउनजथाभावी खर्च नगर्न सक्षम हुनुहुन्छ भनेर देखाउनुभएको छ? तपाईंको कोठाको भाडा तिर्न केही रकम दिने गर्नुभएको छ? (तपाईंको इलाकामा घर भाडा कत्तिको महँगो भइसक्यो भनेर थाह पाउनुहुँदा तीन छक पर्नुहोला।) त्यसो गर्दा निजी खर्चको लागि पैसा कम होला तर पैसा जथाभावी खर्च नगरी ठूलो मान्छेले जस्तो सञ्चय पनि गर्नुहुँदो रहेछ भनी आमाबाबुले थाह पाउनुहुनेछ। अनि निस्सन्देह, तपाईंलाई बढी स्वतन्त्रता दिन उहाँहरू हिचकिचाउनु हुनेछैन।

सधैं आमाबाबुको पुच्छर नलाग्ने

आमाबाबुहरू, हाम्रो दुःखसुख पोख्ने साथी, निर्देशन र सल्लाहको खानी हुनुपर्छ। (यर्मिया ३:४ तुलना गर्नुहोस्‌।) तर हरेक सानोतिनो निर्णय गर्न पनि आमाबाबुको पुच्छर लाग्नुपर्छ भनेको होइन। यद्यपि, “ज्ञानेन्द्रियको” अभ्यास नगरेसम्म तपाईं आफ्नो क्षमतामा विश्‍वस्त हुन सक्नुहुन्‍न।—हिब्रू ५:१४.

अतः, सानोतिनो समस्या देख्ने बित्तिकै आमाबाबुकहाँ दौडेर जानुको साटो पहिले आफैले सुल्झाउन खोज्नुहोस्‌। “हतारपतार” वा जोशमा आएर कुनै निर्णय गरिहाल्नुको साटो सर्वप्रथम त्यससित सम्बन्धित जानकारी अर्थात्‌ “ज्ञान” विचार गर्ने बाइबलको सल्लाह पालन गर्नुहोस्‌। (यशैया ३२:४) विशेषगरि बाइबल सिद्धान्तहरू मुछिएका छन्‌ भने अलिकता अनुसन्धान गर्नुहोस्‌। सबै कुरालाई शान्तपूर्वक केलाउनुहोस्‌, त्यसपछि आमाबाबुको सल्लाह लिनुहोस्‌। सधैं, ‘बुबा के गर्ने?’ वा ‘आमा, तपाईं मेरो ठाउँमा हुनुभएको भए के गर्नुहुने थियो?’ भनिरहनुको साटो आफ्नो कुरा स्पष्टसित बताउनुहोस्‌। तपाईंले कस्तो विचार गर्नुभएको छ, त्यसबारे उहाँहरूलाई सुनाउनुहोस्‌। त्यसपछि उहाँहरूको राय बुझ्नुहोस्‌।

अब भने आमाबाबुलाई तपाईंले बच्चाले जस्तो होइन तर ठूलो मान्छेले जस्तो कुरा गरिरहेको लाग्नेछ। फलस्वरूप तपाईं पनि केही स्वतन्त्रताको योग्य हुनुहुँदो रहेछ भनेर तपाईंको आमाबाबुलाई लाग्नेछ। यसपछि त आमाबाबुले तपाईंसित ठूलो मान्छेलाई जस्तो व्यवहार पनि गर्न थाल्नु होला।

छलफलका लागि प्रश्‍नहरू

◻ छोराछोरीको सुरक्षा र तिनीहरू कहाँ के गर्दैछन्‌ भन्‍ने विषयमा आमाबाबु किन अक्सर असाध्यै चिन्तित हुन्छन्‌?

◻ आमाबाबुसित आदरपूर्ण व्यवहार गर्नु किन महत्त्वपूर्ण छ?

◻ आमाबाबु र तपाईंले एकअर्काको कुरा नबुझ्दा गर्नुपर्ने सर्वोत्तम कुरा के हो?

◻ आमाबाबुका नियमहरू पालन गर्दै तपाईंले कसरी स्वतन्त्रता पाउन सक्नुहुन्छ?

◻ तपाईं जिम्मेवारी वहन गर्न सक्नुहुन्छ भनेर आमाबाबुलाई देखाउने केही तरिकाहरू के हुन्‌?

[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]

बुबाले म कहाँ जान लागेको, कति बेला घर फर्कने सबै कुरा कोट्याउनुहुन्छ। के उहाँहरूले सबै कुरा थाह पाउनैपर्छ र?”

[पृष्ठ २७-मा भएको चित्र]

के आमाबाबुले तपाईंलाई बारभित्र हाल्नुभएको जस्तो लाग्छ?

[पृष्ठ ३०-मा भएको चित्र]

एकअर्काको कुरा राम्ररी नबुझेको परिस्थितिहरूमा शान्त रहनु नै उहाँहरूको आदर जित्ने एउटा तरिका हो