चुकर हवाईको परदेशी चरा
चुकर हवाईको परदेशी चरा
मेरा साथीहरू र म हवाईको मावी टापुमा घुम्न जाने दिन उत्सुकतासाथ पर्खिरहेका थियौं। हामी खास गरी ३,०५५ मिटरको उचाइमा रहेको हालाकाला ज्वालामुखीबाट सूर्योदय हेर्न चाहन्थ्यौं। यस्तो अनुभव हतपती गर्न पाइँदैन, एकदमै विशेष हुन्छ भनेर हामीले सुनेका थियौं। नमज्जाको कुरा एउटै मात्र के थियो भने, राती दुई बजे उठेर हामी बसिरहेको कापालुआबाट यात्रा थालेर पूरै टापु छिचोल्नुपर्ने थियो। त्यसपछि गाडीबाटै ठाडो उकालो उक्लनु पर्नेथियो। यस्तो रातको बेला बाटोमा अरू कोही पनि हुँदैन होला भन्ठानेका थियौं। तर कहाँ नहुनु! टुप्पासम्म पुग्ने घुमाउरो बाटोमा गाडीहरूको ताँती नै थियो। टुप्पामा असाध्यै चिसो थियो। तर हामीले बाक्लो ओड्ने लगेका थियौं।
बिहान छ बजे सूर्योदय हुने समयमा सयौं मानिसहरू पर्खिरहेका थिए। कौतूहलताको माहोल थियो अनि यो रोमाञ्चक दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न सबै तयार थिए! तर कत्रो बिस्मात्! ठ्याक्क त्यति नै बेला बादलको मुस्लोले ड्याम्मै छेकिहाल्यो! प्रशान्त महासागरको नजिकका पहाडहरूमा यस्तो सम्भावना सधैं हुन्छ। त्यसकारण घाम छिप्पिंदै गएपछि बादल हट्छ होला भनेर आफ्नो चित्त बुझायौं। तर अर्को अचम्मको कुरा भयो! ज्वालामुखीको मुखमा माकुराको जालोजस्तै थुप्रै बाटोको मनमोहक दृश्य देख्यौं। धन्न, यति भए पनि हेर्न पाइयो।
अकस्मात् कतैबाट “चक् चक्-आ” भनिरहेको एउटा अनौठो आवाज सुन्यौं। के रहेछ भनेर बल्ल पो देख्यौं। युरोप र एसियामा पाइने च्याखुरा जातको अत्यन्तै सुन्दर चरा पो रहेछ। यसको ल्याटिन नाउँ एलेक्टोरिस चुकर हो। बच्चा काढ्ने र स्याहार्ने बेला यसले भुइँमै गुँड बनाएर बस्ने गर्छ। यो चरा उडेर होइन तर दौडेर पो भाग्यो।
सुन्दर मावी टापुमा यो चरा कसरी पो आइपुग्यो? यी चराहरू यहाँ अर्कै देशबाट ल्याइएको हुनुपर्छ। उत्तर अमेरिकी महादेशमा सिकारका सौखिनहरूको लागि यो चरा छोड्ने गरिन्छ। यस लजालु चरालाई भए पनि नजिकबाट देख्न पाएकोमा हामी साह्रै खुसी भयौं।—सौजन्यस्वरूप प्राप्त। (g 2/07)