आवरण लेख | ईश्वरले दिनुभएको सर्वोत्तम उपहार—के तपाईं स्वीकार्नुहुन्छ?
ईश्वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान् छ?
तपाईंलाई कुनै उपहार के-कस्ता कारणले मूल्यवान् लाग्छ? चार वटा कारण हुन सक्छन्: (१) उपहार कसले दिएको हो, (२) किन दिएको हो, (३) उपहार दिनको लागि कस्तो त्याग गरियो? र (४) उक्त उपहारले तपाईंको खास आवश्यकता पूरा गऱ्यो कि गरेन? यी कारणहरूबारे विचार गर्दा ईश्वरले दिनुभएको सर्वोत्तम उपहार—फिरौतीप्रति अझ धेरै कृतज्ञ हुन सक्छौं।
कसले दिएको हो?
उच्च ओहदामा भएको वा हामीले आदर गर्ने व्यक्तिबाट उपहार पाउँदा हामीलाई त्यो उपहार मूल्यवान् लाग्न सक्छ। अरू उपहार भने थोरै मोलको भए तापनि आफूले माया गर्ने परिवारको सदस्य वा भरोसायोग्य साथीबाट पाएकोले त्यो अनमोल लाग्न सक्छ। अघिल्लो लेखमा चर्चा गरिएको रसलले जोर्डनलाई दिएको उपहार पनि यस्तै किसिमको थियो। फिरौतीको उपहार दिने व्यक्तिबारे चाहिं के भन्न सकिन्छ?
पहिलो कुरा, ‘परमेश्वरले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौं’ भनी बाइबल भन्छ। (१ यूहन्ना ४:९) यो तथ्यले यस उपहारलाई साँच्चै मूल्यवान् बनाउँछ। ईश्वरभन्दा ठूलो ओहदाको व्यक्ति अरू कोही छैन। ईश्वरको बारेमा एक जना हिब्रू भजनरचयिताले यस्तो लेखे: “तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” (भजन ८३:१८) उहाँभन्दा ठूलो ओहदाको व्यक्तिबाट उपहार पाउन असम्भव छ।
दोस्रो कुरा, ईश्वर “हाम्रा पिता” हुनुहुन्छ। (यशैया ६३:१६) कसरी यसो भन्न सक्छौं? उहाँले हामीलाई जीवन दिनुभयो। मायालु बुबाले आफ्नो बच्चाको ख्याल राखेझैं उहाँ पनि हाम्रो ख्याल राख्नुहुन्छ। आफ्ना मानिसहरूलाई एप्रैम भनी सम्बोधन गर्दै ईश्वरले यसो भन्नुभयो: ‘एप्रैम मेरो प्यारो छोरो होइन र? त्यो मेरो लाडे-बालक होइन र? मेरो हृदय त्यसको लागि मायाले भरिएको छ, म निश्चय त्यसलाई दया गर्नेछु।’ (यर्मिया ३१:२०) अहिलेका उहाँका उपासकहरूबारे पनि ईश्वर यस्तै महसुस गर्नुहुन्छ। उहाँ हाम्रो सर्वोच्च सृष्टिकर्ता मात्र नभई हाम्रो वफादार साथी र बुबा पनि हुनुहुन्छ। त्यसैले उहाँबाट आएको सबै उपहार अनमोल छ भन्न मिल्दैन र?
किन दिइएको हो?
बाध्यताले नभई साँचो प्रेमले ओतप्रोत भएर दिइएकोले कुनै-कुनै उपहार अनमोल हुन्छ। निःस्वार्थ व्यक्तिले आफूले गरेको दयालु कामको सट्टा केही पाउने आस गर्दैन।
ईश्वरले हामीलाई प्रेम गरेको कारण हाम्रो खातिर आफ्नो छोरा दिनुभयो। “हाम्रो सन्दर्भमा परमेश्वरको प्रेम यसरी प्रकट भएको छ, कि उहाँले आफ्नो एक मात्र छोरा . . . पठाउनुभयो” भनी बाइबल भन्छ। ईश्वरले किन यसो गर्नुभयो? ‘ताकि येशूद्वारा हामीले जीवन पाउन सकौं।’ (१ यूहन्ना ४:९) के ईश्वर यसो गर्न बाध्य हुनुहुन्थ्यो? हुनुहुन्नथ्यो! “ख्रीष्ट येशूले तिर्नुभएको फिरौती” ईश्वरको “असीम अनुग्रह”-को प्रमाण हो।—रोमी ३:२४.
ईश्वरको उपहारलाई किन “असीम अनुग्रह”-को प्रमाण भन्न सकिन्छ? बाइबल यसो भन्छ: “हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।” (रोमी ५:८) निःस्वार्थ प्रेमले गर्दा ईश्वरले हामीजस्तो कमजोर, असहाय र त्रुटिपूर्ण मानिसहरूको लागि यस्तो प्रबन्ध गरिदिनुभयो। हामी यसको हकदार छैनौं न त हामी ईश्वरलाई यसको मोल नै तिर्न सक्छौं। उहाँको यो उपहार प्रेमको सबैभन्दा ठूलो प्रमाण हो।
कस्तो त्याग गरियो?
उपहार दिने व्यक्तिले ठूलो त्याग गरेकोले पनि कुनै-कुनै उपहार अनमोल हुन्छ। कुनै व्यक्तिले आफूलाई एकदमै मूल्यवान् लागेको कुरा समेत हामीलाई दिन्छ भने त्यस्तो त्याग गरेकोले हामी त्यो उपहारको असाध्यै मोल गर्छौं।
ईश्वरले “आफ्नो एक मात्र छोरा दिनुभयो।” (यूहन्ना ३:१६) उहाँले दिन सक्ने येशूभन्दा प्यारो व्यक्ति अरू कोही थिएन। ईश्वरले यस ब्रह्माण्ड सृष्टि गर्नुहुँदा येशूले करोडौं वर्षसम्म उहाँसँगै मिलेर काम गर्नुभयो अनि “उहाँको प्रिय र आनन्दको पात्र” हुनुभयो। (हितोपदेश ८:३०) येशू ईश्वरको “प्यारो छोरा” र उहाँको “प्रतिरूप” हुनुहुन्छ। (कलस्सी १:१३-१५) उहाँहरूबीच जत्ति घनिष्ठ सम्बन्ध छ, त्यस्तो अरू कसैको पनि छैन।
तर ईश्वरले “आफ्नो छोरालाई समेत बाँकी राख्नुभएन।” (रोमी ८:३२) यहोवाले हामीलाई आफ्नो सबैभन्दा उत्तम कुरा दिनुभयो। उहाँले योभन्दा बढी त्याग गरेर दिनुभएको उपहार अरू कुनै छैन।
वास्तविक आवश्यकता पूरा गर्छ?
कुनै-कुनै उपहारले हाम्रो वास्तविक आवश्यकता पूरा गर्छ, त्यसैले त्यो अमूल्य हुन्छ। उदाहरणको लागि, तपाईंलाई एकदमै गम्भीर रोग लागेको छ। तपाईंसँग उपचार खर्च छैन तर कसैले राजीखुसीले तपाईंको उपचार खर्च तिरिदिन्छ भने तपाईं ऊप्रति कत्ति आभारी हुनुहुन्छ! त्यो उपहार अमूल्य हुन्छ नि, हैन र?
“जसरी आदमले गर्दा सबै मर्दैछन्, त्यसरी नै ख्रीष्टले गर्दा सबैलाई जीवित पारिनेछ।” (१ कोरिन्थी १५:२२) आदमको सन्तान भएकोले हामी सबै जना ‘मर्दैछौं’, पाप र मृत्युको फन्दाबाट जोगिन वा ईश्वरसामु निर्दोष र स्वीकारयोग्य हुन सकेका छैनौं। हामीजस्तो तुच्छ मानिसले आफूलाई वा अरू कुनै मानिसलाई “जीवित” पार्न सक्दैन। बाइबल भन्छ: ‘तिनीहरूमा कसैले पनि कुनै किसिमले आफ्ना भाइलाई मोल तिरेर छुटाउन सक्दैन। तिनीहरूले त्यो कहिल्यै पनि तिर्न सक्दैनन्।’ (भजन ४९:७, ८) हामीलाई साँच्चै मदतको खाँचो छ किनभने हामी फिरौतीको मोल तिर्न सक्दैनौं। हामी आफ्नै भरमा केही गर्न सक्दैनौं।
यहोवाले हामीलाई धेरै प्रेम गर्नुभएको कारण येशूद्वारा ‘सबैलाई जीवित पार्न सकियोस्’ भनेर हाम्रो जीवन बचाउने “उपचारको” मोल उहाँले तिरिदिनुभयो। फिरौतीले कसरी मोल तिर्न सक्छ? “उहाँको छोरा येशूको रगतले हाम्रा सबै पापहरू पखालेर हामीलाई शुद्ध पार्छ।” हो, येशूले बगाउनुभएको रगतमा विश्वास १ यूहन्ना १:७; ५:१३) अनि मरिसकेका हाम्रा प्रिय जनहरूलाई फिरौतीले कस्तो फाइदा पुऱ्याउँछ? “एकै जना पुरुषले गर्दा मृत्यु आयो, त्यसकारण मरेकाहरू पनि [येशूद्वारा] पुनर्जीवित पारिनेछन्।”—१ कोरिन्थी १५:२१. a
गरेको आधारमा पापको क्षमा र अनन्त जीवन पाउन सम्भव भएको छ। (ईश्वरले प्रबन्ध गर्नुभएको फिरौतीको बलिदान साँच्चै अनमोल छ। हामीले अरू कुनै पनि उपहार योभन्दा ठूलो ओहदाको व्यक्तिबाट वा यति धेरै प्रेमले ओतप्रोत भएर पाएका छैनौं। यहोवा परमेश्वरले जस्तो त्याग अरू कसैले पनि गरेको छैन। अनि हाम्रो वास्तविक आवश्यकता अर्थात् पाप र मृत्युबाट छुटकारा दिन सक्ने उपहार अरू कुनै छैन। साँच्चै, फिरौतीजस्तो अमूल्य उपहारलाई अरू कुनै उपहारसँग दाँज्न सकिंदैन।
a मरेकाहरूलाई पुनर्जीवित पार्ने ईश्वरको उद्देश्यको सन्दर्भमा थप जानकारी पाउन चाहनुहुन्छ भने यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ७ हेर्नुहोस्। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ।